उद्योग वाणिज्य क्षेत्रका चुनौती समाधान गर्न विश्वविद्यालयसँग सहकार्य बढाइन्छ: अध्यक्ष ढकाल
ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य क्षेत्र र विश्वविद्यालयबीचको साझेदारीले अनुसन्धान, नवप्रवर्तन र दक्ष जनशक्ति विकासमा योगदान पुग्ने भएकाले विश्वविद्यालयहरूसँगको साझेदारीलाई उच्च महत्त्व दिएको बताएका छन् ।
ललितपुरमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले सोमबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले विज्ञान र प्रविधिको क्षेत्रमा उच्च शिक्षा अध्ययन तथा अनुसन्धानमा समर्पित विश्वविद्यालयसँग साझेदारी गर्न महासंघ तयार रहेको बताएका हुन् ।
‘उद्योग व्यवसाय क्षेत्रमा चुनौती छन् । त्यस्ता चुनौतीहरूको समाधान गर्न महासंघ र विश्वविद्यालयबीच सहकार्य गर्दा नयाँ बाटो खुल्नेछ’, उनले भने, ‘यसबाट अन्य क्षेत्र पनि साझेदारीका लागि प्रेरित हुनेछन्।’
अध्यक्ष ढकालले महासंघ र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच डेढ दर्जन क्षेत्रमा साझेदारी गर्न सकिने उल्लेख गरे ।
संयुक्त अनुसन्धान परियोजनाहरूमा सहकार्य गर्ने, उद्योगहरूबाट प्राप्त व्यवहारिक अनुभवहरूसहितको पाठ्यक्रम विकासमा काम गर्ने, विद्यार्थीहरूलाई इन्टर्नसिपहरू र कम्पनीहरूमा काम गर्ने अवसर सृजना गर्ने तथा नयाँ प्रविधिको व्यवसायीकरणका लागि उद्योगहरूमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन सकिने उनको भनाइ थियो ।
महासंघ व्यवसायिक संस्थामात्र नभई सरकार र सरोकारवालाहरुलाई सल्लाह दिने थिंकट्याङ्क भएको अध्यक्ष ढकालको जिकिर थियो । विश्वविद्यालयसँग मिलेर संयुक्त कार्यशाला र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न, अनुसन्धान अनुदान तथा छात्रवृत्तिका लागि कोष स्थापनामा सघाउन महासंघ तयार रहेको अध्यक्ष ढकालले बताए ।
‘बिजनेस इन्क्युबेटर, एक्सेलेटर र इनोभेसन सेन्टर स्थापना तथा सार्वजनिक-निजी-विश्वविद्यालय साझेदारीमाविश्व स्तरीय परीक्षण प्रयोगशालाहरू स्थापना गर्न सक्यौं भने यसले नेपालको निर्यात बढाउन मद्दत गछै’, उनले भने, ‘बदलिँदो प्रविधिलाई उपयोग गर्ने गरी आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा प्रभावकारिता र दक्षता बढाइ नवीन उत्पादन र सेवाहरू दिन सक्ने अवस्थाका लागि पनि विश्वविद्यालयसँग गहन साझेदारीको प्रस्ताव गएको हो ।’
अध्यक्ष ढकालले यी सबै पहलहरूको लागि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सघन साझेदारीका लागि महासंघको तर्फबाट प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।