भासिएको भीमदत्त राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाको निर्देशन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुनर्निर्माण थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
सोमबारदेखि परेको अविरल वर्षाले देशभर ठुलो भौतिक क्षति बनाएको छ भने केही ठाउँमा मानवीय क्षति पनि पुर्याएको छ ।
अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ भने केही स्थानमा पहिरो गएको छ । सडक भासिएपछि आवत–जावत पूर्णरुपमा बन्द भएको छ । बन्द भीमदत्त सडकको तत्काल पुनर्निर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई निर्देशन दिएका हुन ।
निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको उत्तरतर्फको मूल गेट नजिकै पहिरो जाँदा बुटवल पाल्पा सडक अवरुद्ध बनेको छ ।
अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाले सम्बन्धित क्षेत्रका निर्देशकहरुलाई निर्देशन दिएका छन् ।
मन्त्री ज्वालाले मकवानपुरको बागमती गाउँपालिका सिग्रेमा पहिरो परी सन्तमाया स्याङतानको निधन भएकोमा दुख व्यक्त गरेका छन् । सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल संकलन गर्न निर्देशन दिएका हुन।