नारीवाद : एक चर्चा – Nepal Press
ब्लग

नारीवाद : एक चर्चा

नेपालमा नारीवाद आन्दोलन विश्व नारीवाद आन्दोलनको प्रभाव भई राजपरिवार, राजनीतिक दलका घराना, सामाजिक अभियन्ता आदिको घरबाट उठान भएको हो । २००७ सालको राणा शासन फालेर प्रजातन्त्र ल्याउने कदम वा २०४६ सालको प्रजातन्त्र पुनर्बहालीको आन्दोलन वा विक्रम संवत् २०६३ सालको वैशाखमा भएको ऐतिहासिक गणतान्त्रिक आन्दोलन तथा मधेशी, आदिवासी, जनजाति समुदायले गरेको अधिकारका आन्दोलनहरूमा महिलाले बिस्तारै आफ्नो सहभागिता बढाएका छन् । अपितु शहादत पनि प्राप्त गरेका छन् । जसकारण नेपालमा आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको निर्माण सम्भव भएको हो । विद्यालय, विश्वविद्यालय तथा सञ्चार जगतमा अध्ययन, विश्लेषण र उच्चतम व्यवहारिक प्रयोग र चेतनाले नै नेपालको शहरगाउँ, धनी, मध्यम वर्गीय परिवार, गरिब, सामान्य महिला आदिको विकास सम्भव छ । आजको शहर तथा शक्तिशाली परिवारमा सीमित नारीवादको प्रभाव शहरदेखि गाउँसम्म समानताको हक उपभोग गर्न पुरूषसँग वैमनस्यता नगरिकन पनि सम्भव छ भन्ने देखाउनु यस लेखको मुख्य उद्देश्य हो ।

लिङ्ग तथा जेन्डरबीच फरक

‘क्रिटिकल थ्योरी टुडे’ पुस्तकका अमेरिकी महिला लेखक लोइस टाइसनका अनुसार नारीवाद समालोचनाले कुनै साहित्यिक तथा सांस्कृतिक सामग्रीभित्र महिलामाथि आर्थिक, सामाजिक, राजनैतिक तथा मनोवैज्ञानिक तरिकाले कसरी विभेद गरिएको छ, त्यसबारे विस्तृत अध्ययन गरिन्छ । टाइसनका अनुसार समाजले पुलिङ्गत्व र स्त्रीत्वबारे समाजले बनाएको धारणा जेन्डरले चिकित्सा पेशा, प्राध्यापन पद्धति, कानून, हामीले बोकिरहेको सांस्कृतिक धारणा तथा जागिर खाने व्यवसायिक परिभाषाहरूले मनुष्यलाई व्यक्तिगत रूपमा निश्चित अवधारणा बनाएर कसैलाई महिला, पुरूष वा अन्य लिङ्गी भनेर फरक व्यवहारका कारणले सोच बनाउँछ, जुन नारीवादभन्दा अलि पर जेन्डर अध्ययन हो ।

यदि कोहीकसैले Woman and Gender Studies पढ्छ भने उसको कार्य भनेकै जेन्डर अर्थात् समाज निर्मित विभिन्न परिभाषाहरू तथा महिलामाथि हुने पुरूषप्रधान सोचले हुने विभेदहरूबीच सहअस्तित्व पत्ता लगाउने हो । अर्थात्, जहाँ जेन्डर भनेको समाजबाट तथा सांस्कृतिक सोच निर्मित सोच हो (महिला यस्तो हुनुपर्छ/पुरूष यस्तो हुनुपर्छ आदि) भने लिङ्ग जैविक निर्माण हो कि कोही कस्तो शारीरिक अङ्ग लिएर जन्मे । तर, पहिला मानिस जन्मिने हो । अनि समाजले शारीरिक, भाषिक, पहिरनलगायतका सांस्कृतिक विशेषणहरू मानिसमा भिडाउने हो । तसर्थ, पहिला लिङ्ग आउँछ अनि पछि जेन्डर ।

कहिले र कहाँबाट गर्ने नारीवादी अध्ययन ?

हामीले यसबारे फरक उत्तर पाउन सक्छौं । किनकि हामी नेपाल-भारतमा अर्थात्, पूर्वीय दर्शनमा लेखिएका साहित्य तथा विभिन्न धार्मिक स्क्रिप्चर अर्थात्, हरफहरू पढेर माथिको उपशीर्षकको उत्तर खोज्दैछौं कि हामी यसको विपरीत पश्चिमी दर्शन अर्थात्, सात समुद्रपारि पश्चिमा दर्शनमा आधारित बेलायत वा अमेरिकी पुस्तकहरू पढेर उत्तर खोज्दैछौं ।

बहुसांस्कृतिक नारीवादको अवधारणा नै यही हो कि आजसम्म जे जति नारी लेखनले नारीप्रति पुरूषहरूबाट ज्यादती भौतिक वा मनोवैज्ञानिक वा आर्थिक तथा भाषिक रूपमा भए, यदि तिनीहरूले पनि कोही महिलाको ‘कथा’लाई समेट्न सकेनन् भने उनले अब नयाँ धार बनाउने छिन् ।

यसपछि लेखेर संसारमा राख्ने डकुमेन्टेशन जुन संसारभरका विश्वविद्यालयहरूमा प्रायः हरेक विषयमा जुन पढाइन्छ, त्यस पश्चिमा डकुमेन्टेड सामग्रीअनुसार जस्तै लोइस टाइसनलाई आधार मान्ने हो भने प्रायः वादहरू द्वितीय विश्वयुद्धपछि खासगरी जब कार्ल मार्क्सको मार्क्सवाद सिद्धान्त दोस्रो विश्वयुद्धपछि मानिसको लागि चिन्तनको विषय बन्यो । अनि यसै मार्क्सवादी सिद्धान्त न केवल नारीवादी सिद्धान्तको आधार बन्यो अपितु धेरै अधिकारवादी आन्दोलनहरूको पनि जननी राजनैतिक चेत फैलाउने दृष्टिले बन्न पुग्यो । जुन प्रत्यक्ष सन् १९६० को दशक र सो पछि मानिन्छ । हुन त नारीवादी साहित्य मार्क्सवादी सिद्धान्तका अतिरिक्त ज्याक्स डेरिडा, ल्युस इरिगेरे तथा जियोफ्रे हार्टमनका विनिर्माण सिद्धान्त तथा सिग्मन्ड फ्राइड र ज्याक्स लकाँहरूको मनोविश्लेषणात्मक सिद्धान्तमाथि पनि आश्रित छ । अर्थात्, यी सिद्धान्तहरूको अध्ययनविना नारीवादलाई बुझ्नै सकिँदैन ।

यसको अर्थ सन् १९६० को दशक वा महारानी भिक्टोरियाको शासनकालअघि नारीवादमा आधारित पुस्तक वा साहित्य नै लेखिँदैनथ्यो भन्ने होइन किनकि बेलायतमा महारानी भिक्टोरियाको शासनकालमा महिलाहरू जर्ज एलियटहरूले नाम बद्लेर छद्म नाममा नारीमाथि पुरूषबाट हुने विभेदमाथि लेख्थे । सन् १९६० को दशक भनेको चेतनायुक्त भई नारीवादमाथि संगठित औपचारिक अध्ययनको मार्क्सवाद र मनोविज्ञानवादमा रहेर गरिएको महाअभियान ! टाइसनका अनुसार त्यतिबेला पनि महिलामाथि पुरूष विभेद सोच, भाषिक, सांस्कृतिक, आर्थिक, राजनीतिक तथा मनोवैज्ञानिकलगायत विभिन्न रूपमा हुन्थे । तदनुसार महिलालाई आफ्नो पकड वा कब्जामा पारिराख्न समाजले विभिन्न शब्दावली तथा वाक्यांशहरू कृत्रिम ढङ्गले समाजमा निर्माण गरेर चलनचल्तीमा ल्याएको देखिन्छ । जुन महिलाको अधिकार कटौतीमात्र गर्ने नभई उनको घरपरिवारमा भूमिका न्यून गर्ने, थिचोमिचो गर्ने, अपमान गर्ने, पुरूष मान्छेसँग प्रत्युत्तर गर्न बन्देज लगाउने, भयत्रास देखाउँछन् ।

उदाहरणका लागि दिमाग लगाउने र गलतलाई गलत तथा सहीलाई सही छुट्याउन सक्नेलाई ‘खराब केटी’ भनिन्थ्यो भने पुरूषले जे गरे पनि नबोल्नेलाई ‘राम्री केटी’ भनिन्थ्यो । ‘राम्री केटी’ चाहिँ ‘घरकी परी’ कहलाउँथिन् । जो आफ्ना सबै इच्छा दबाएर, सबै अपमान सहेर बस्ने ‘Modest’ पुरूषको लागि बन्थिन् । यतिसम्म कि पहिला कतिसम्म विभेद भिक्टोरियनकालसम्म देखिन्थ्यो भने महिला कोही धेरै परपुरूषसँग शारीरिक सम्बन्ध राख्थिन् भने अपमानजनक शब्द ‘स्लट’ भनिन्थ्यो । तर, त्यही उस्तै अमर्यादित दुष्कर्म गर्ने पुरुषलाई भने आदरसूचक बनाएर ‘स्टड’ भनिन्थ्यो ! त्यसैले टाइसन लेख्छिन्- आज जुन शहरबजारमा हामी कोही महिला वा केटीको छोटो लुगा, हाई हिल्स, टाइट स्कर्टहरू हामी देख्छौं, त्यो भिक्टोरियनकालसम्म पहिलादेखि पुरूषहरूले गर्दै आएका शदियौंदेखिको सांकेतिक विद्रोह हो ।

नारीवादका केही नाम तथा प्रयोग

कोही लिङ्ग, जात, समूह आदिले कसैबाट आफूमाथि अन्याय भइरहेको महसुस गर्छ भने ऊ आवाज उठाउँछ र धेरै मान्छे उक्त अभियानमा जोडिन पुग्छ । त्यो सामूहिक आवाज राज्य, विश्विवद्यालयद्वारा सुनिन्छ । अर्थात् ‘वाद’ बन्न जान्छ । जस्तै आज मधेशमै मधेशवाद त्यहाँका मान्छेको पीडा, संस्कृति, मौलिकपनको अभियानको रूप त्यहाँको पहिचानको व्यापक दायराभित्र स्थापित हुँदैछ- मात्र हैन मधेश प्रदेश नै नामकरण भइसक्यो । यो बेग्लै कुरा हो कि कोही अभियन्ता मधेश र मधेशीकै अधिकारबाट उदाएर अब ‘मधेशवाद’ छैन भन्छन् । तर, अध्ययनले यस गलत तर्कलाई नकार्छ । किनकि नामकरणसमेत मधेश प्रदेश भइसक्यो ।

फ्रान्सेली नारीवाद अमेरिकीभन्दा अलि पृथक छ । जसमा भौतिकवादी नारीवाद र मनोवैज्ञानिक नारीवाद गरी दुइटा रूपमा विकसित छन् । फ्रेन्च म्याटेरियलिस्ट फेमिनिज्मले पुरूषप्रधान परम्परागत शैली तथा देशका संस्था/निकायले कसरी भौतिक तथा आर्थिक अवस्थाहरू नियन्त्रण गरेर महिलामाथि दमन गर्छ, सोबारे उजागर गर्छ ।

नारीवादी साहित्य कथा, कविता आधुनिक युगमा युरोपमा राज्यको संरचनामा उच्च पदमा रहेका, आर्थिक रूपले सम्पन्नहरूको घरपरिवारमा पुरूष मान्छेको विशेष छुट वा ‘कृपा’मा उत्पत्ति भएको मानिन्छ । किनकि निमुखा, गरिब, मजदुर, राज्य संरचनाको शक्तिशाली पदमा नरहेका निर्बलको घरमा रहेका महिलाले लेखनमा आउनु कल्पना पनि गरिँदैनथ्यो । किनकि न साक्षरता व्यापक थियो न त लेख्ने समय वा इजाजत ! त्यसैले उच्च घरानाका महिलाले नै विभिन्न पार्टीहरूमा मनोरञ्जन गर्नलाई वा सौख पूरा गर्नलाई नारी साहित्य सिर्जना गरे । त्यो उनीहरूका पुरूषलाई खुशी तुल्याउन हुन्थ्यो र त्यस्तै लेखावट विस्तारै छपाइ पनि हुन थाल्यो । पछि विभिन्न परिस्थितिमा संसारको विभिन्न क्षेत्रमा अन्य आयामसहित महिलाहरूले लेख्न थाले । जसमा सबै समुदायका अलग अलग पुरूषबाट दमित, पीडित कथाहरू बाहिरिन थाले ।

यसै आधारमा संसारका नारीवादी लेखनका केही नामहरू पढ्न र सुन्न पाइन्छ । किनकि यो अन्त्यहीन हो कि भोलि कुन नयाँ रूपमा र संसारको कुन क्षेत्रमा नारीवादी लेखन प्रकट भई आउनेछ, त्यो अनिश्चित छ । तसर्थ, बहुसांस्कृतिक नारीवादको अवधारणा नै यही हो कि आजसम्म जे जति नारी लेखनले नारीप्रति पुरूषहरूबाट ज्यादती भौतिक वा मनोवैज्ञानिक वा आर्थिक तथा भाषिक रूपमा भए, यदि तिनीहरूले पनि कोही महिलाको ‘कथा’लाई समेट्न सकेनन् भने उनले अब नयाँ धार बनाउने छिन् । प्रस्ट भन्नुपर्दा multicultural feminism भनेको European White Mainstream Feminismको घेरालाई व्यापक बनाउनु हो । जस्तैः आजसम्मका सबै युरोपियन तथा युरोपियन मोडेलसँग प्रभावित नारीवादी आन्दोलन र त्यसबाट उत्पादित साहित्यिक उपलब्धि किताब, श्वेत, मध्यम वर्गीय, विपरीत लिङ्गी नारीवादीहरूलाई ध्यानमा राखेर मुख्य रूपमा White Mainstream Feminism हो । अर्थात्, युरोप देशका गोरा महिलाहरूले पहिला पीडा लेखे भने स्वाभाविक छ कि उनीहरूले आफ्ना भोगाइलाई मात्र लेखे ।

त्यस्तै आर्थिक रूपले मध्यम वर्गीय महिलाले आफ्नै परिवेशका लेखे भने शारीरिक रूपमा पुरूषको भन्दा ठीक उल्टो प्रजनन अङ्ग भएका तथा बच्चा पाउन सकिने महिलाले केवल आफ्नै शरीरमाथि पुरूषका ज्यादतीबारे लेखे । तर, यिनीहरूले अफ्रिका, एसियाका महिलाबारे लेखेनन् । अनि आर्थिक रूपले अति गरिब मजदुर, किसान, उद्योग, निजी व्यवसाय आदि ठाउँमा काम गर्ने महिलामाथि हुने पुरूष ज्यादतीबारे लेखेनन् । जो समलिङ्गी छन् वा हेटेरोसेक्चुअल अर्थात् सामान्य रूपमा विपरीत लिङ्गतर्फ आकर्षित हुने तथा बच्चा पाउन सक्ने तर शारीरिक रूपले अन्य भागमा अपाङ्गको बारे त्यस्तै लेस्बियन महिलाको यौनिक अधिकार, पहिचान आदिबारे लेखेनन् । तसर्थ, बाँकीहरूले आआफ्ना पीडा छुट्टै लेख्न थाले र नारीवादी लेखनमा आयामहरू दिनप्रतिदिन थपिँदैछन् ।

केही नाम चलेका नारीवादी साहित्यहरू अमेरिकी नारीवाद, जसको उदाहरण स्वयं लेखक लोइस टाइसन मध्यम वर्गीय, विपरीत लिङ्गप्रति सामान्य आकर्षण हुने र बच्चा पाउन सक्ने, गोरो वर्णकी अमेरिकी, विद्यावारिधि डिग्री प्राप्त र सपरिवार पुरूषको लागि मायालु र ठीक श्रीमतीको रूपमा छिन् । त्यस्तै फ्रान्सेली नारीवाद अमेरिकीभन्दा अलि पृथक छ । जसमा भौतिकवादी नारीवाद र मनोवैज्ञानिक नारीवाद गरी दुइटा रूपमा विकसित छन् । फ्रेन्च म्याटेरियलिस्ट फेमिनिज्मले पुरूषप्रधान परम्परागत शैली तथा देशका संस्था/निकायले कसरी भौतिक तथा आर्थिक अवस्थाहरू नियन्त्रण गरेर महिलामाथि दमन गर्छ, सोबारे उजागर गर्छ ।

यस धारमा धेरै नाम चलेका फ्रान्सेली महिलाहरू छन् । जस्तैः सिमोन डि विभोरको सन् १९४९ मा प्रकाशित पुस्तक ‘द सेकेन्ड सेक्स’ले २ दशक बढीसम्म विचार राख्यो कि पुरूषले जे गर्न, लेख्न पनि स्वतन्त्र छन् भने महिलालाई भर पर्नुपर्ने छन् । अर्थात्, पुरूषले नचाहे लेख्न पाउँदिनन् ।

पुरूषप्रधान संस्कारले महिलाको मनोवैज्ञानिक रूपमा सोच र दिमागलाई पुस्तौंदेखि भाषामार्फत थिचेको छ र यस्ता महिलाले थाहै नपाइकन आफूले सिके जस्तो गरी छोरीलाई पनि पुरूषकै सोचमा ‘योग्य’ बनाउन परम्परागत कुराहरू नै सिकाउँछन् ।

त्यस्तै यस धारका अर्का लेखक क्रिष्टिना डेल्फी हुन् । जसले सन् १९७० को दशकमा फ्रेन्च म्याटेरियलिस्ट शब्द निर्माण गरिन् र विवाहलाई श्रम (सम्झौता)को रूपमा व्याख्या गरिन् । यसै धारका कोलेट्ट गुइलाउमिनले भने महिलाको समय र शरीरलाई पुरूषले आफ्नो ‘सम्पत्ति’ ठान्छन् र जसरी जुन बेला पनि प्रयोग गर्ने आफ्नो अधिकार सम्झन्छन् । उत्ता फ्रेन्च मनोवैज्ञानिक नारीवादले म्याटेरियलिस्ट फेमिनिस्टभन्दा विपरीत अध्ययन गर्छ । जुन महिलाको देखिने भौतिकभन्दा पनि अदृश्य मनोवैज्ञानिक अनुभव तथा उनका काल्पनिक साहित्यिक सिर्जनाको कुरा गर्छ । यसका अगडियाहरू हेलेन सिक्जोअस, लिउस इरिगेरे, जुलिया क्रिस्टेभालगायत छन् । सिक्जोअसले हामीले बोल्ने भाषा पितृसत्तात्मक हो, तसर्थ महिलाले आफ्नो अस्तित्व देखाउन आफ्नै भाषा हुनुपर्छ भनिन् । जस्तैः पुरूषप्रधान समाजले पुरूषमात्रलाई बैठकको अध्यक्षता ‘क्षमता’ देखेकोले Chairman शब्द निर्माण गरेको तर महिलामा पनि त्यो क्षमता छ र उनी पनि बैठकको अध्यक्षता गरिरहेकी छिन् भने त्यो Chairman शब्दले नसमेट्ने भएकोले अब Chairwoman पनि नलेखेर Chairperson वा Chair मात्र सम्बोधन गरौं ।

माथिका सबै शब्दावली उही नयाँ भाषालाई उनले दिएका नामहरू छन् । सिक्जोअसका पुस्तक The Laugh of Medusa प्रसिद्ध छ । त्यस्तै इरिगेरे भन्छिन्- पुरूषप्रधान संस्कारले महिलाको मनोवैज्ञानिक रूपमा सोच र दिमागलाई पुस्तौंदेखि भाषामार्फत थिचेको छ र यस्ता महिलाले थाहै नपाइकन आफूले सिके जस्तो गरी छोरीलाई पनि पुरूषकै सोचमा ‘योग्य’ बनाउन परम्परागत कुराहरू नै सिकाउँछन् । किनकि उनी अचेत छिन् कि म महिला आफैं पनि पृथक अस्तित्वको र प्रकृति र ईश्वरको अगाडि समान प्राणी पुरूष जतिकै हुँ ! उनको यो तर्क लेखनमा हुन्छ कि महिलालाई परपुरूषले मनभित्र नै ठानेका रहेछन् ।

यस समूहकी अर्की विश्व प्रसिद्ध विचारक तथा लेखक हुन् क्रस्टेभा हुन्ज । जसले यी सबैको जड पुरूषप्रधान भाषा हो भन्छिन् । उनले परम्परागत बोलिने भाषाभन्दा अब भाषामा लुकेका इन्टोनेशन, इसारा आदिद्वारा नयाँ अलग किसिमले अर्थ निकाल्ने कुरामा जोड दिन्छिन् र भन्छिन्- हामीले सानो बालकलाई जे सिकाउँछौं त्यही बोले झैं हामीले पुरूषवादी भाषालाई किन पुस्ता दरपुस्ता ढुवानी गर्ने ? तसर्थ, सांकेतिक भाषामा जोड दिनुपर्छ ।

जेन्डर अध्ययनबारे त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागबाट अवकाशप्राप्त प्राध्यापक डाक्टर सञ्जीव उप्रेतीको नाम नेपालमा अगाडि आउँछ । महिला अधिकार प्राप्तिका गतिविधिमा उनका लेखन र साहित्यबाट आउँछ । किनकि उनका विद्वत प्राज्ञिक चिन्तन, विचारले महिला लेखकहरूलाई प्रभावित गरिरहेका छन् । प्राध्यापक उप्रेतीका अक्षर क्रिएशन प्रकाशनले नेपाली भाषामा सन् २०१२ मा लेखिएर सोही वर्ष चौथो संस्करणसमेत प्रकाशन भएको पुस्तकले जेन्डर थ्योरी नारीवादी अध्ययनलाई बुझ्न अझ सजिलो बनाउँछ ।

संसारमा महिलाको ५ प्रतिशत जमिन, १० प्रतिशत आम्दानी र सम्पत्तिको १ प्रतिशतमात्र अंश छ । बाँकी सम्पूर्णमा पुरूषको पकड छ । सोच कतिसम्म पुरूष प्रधान समाजको गिरेको छ भने आज पनि घर बाहिर कार्यालयमा जाने महिलालाई चरित्रहीन बुझिन्छ ।

उनका अनुसार भारतीय लेखक पार्था चटर्जी लेख्छिन्- पुरूषको सोच नै राष्ट्रिय सोच बन्न पुग्छ जसमा पुरूषलाई बाहिरियाको तथा महिलालाई भित्रियाको रूपमा बुझ्छन् र पुरूषले महिलालाई बाह्य आक्रमणबाट जोगाउँछ भन्ने सोच अंग्रेजबाट भारतको स्वतन्त्रता/आजादीकालमा महिलाहरू पनि स्वयं युद्ध लडेकोबाट खण्डित हुन्छ । अर्थात् महिलाले आफ्नो लडाइँ पुरूष जति आफैं लड्न सक्छन् । उनले महाभारतकि पात्र द्रौपदी तथा आधुनिक इतिहासमा झाँसीकी रानीको उदाहरण दिँदै महिलालाई घरमा सीमित रहने सांस्कृतिक परम्परागत बुझाइमा अब उनीहरू विद्रोह र स्वतन्त्रताका प्रतीक पनि हुन् ।

उप्रेती थप्छन्- महिलामाथि पोस्टकोलोनियल कालखण्डमा औपनिवेशिकका साथै घरमा पनि पुरूषहरूको दोहोरो थिचोमिचो सहन गर्नुपरेको एकप्रकारको सबाल्टर्नको स्थिति थियो । मार्क्सवाद नारीवादी सिरिन रायको उदाहरण लिँदै उप्रेती लेख्छन्- संसारमा महिलाको ५ प्रतिशत जमिन, १० प्रतिशत आम्दानी र सम्पत्तिको १ प्रतिशतमात्र अंश छ । बाँकी सम्पूर्णमा पुरूषको पकड छ । सोच कतिसम्म पुरूष प्रधान समाजको गिरेको छ भने आज पनि घर बाहिर कार्यालयमा जाने महिलालाई चरित्रहीन बुझिन्छ । जुलिया क्रिस्टेभाको भनाइ जोड्दै उप्रेती लेख्छन्- पत्रकारिता, व्यवसाय, राजनीति तथा कानूनी पेशासँग सम्बन्धित महिलाहरूलाई पुरूष प्रधान उनका प्रतिस्पर्धीले हेर्ने नजरिया भनेको ‘चरित्रहीनता’ हो । त्यसैले यी पेशाका महिलाहरूले आफ्ना प्रतिस्पर्धी पुरूषको अगाडि ‘महिलापन’ देखाउन बाध्य पारिन्छ । जसकारण उनीहरू उच्चतम कार्यक्षमता प्रदर्शन गर्न सक्दैनन् । क्रिस्टेभाले भनेकी छन्- अफ्रिकातिर अश्वेततिर अन्य भागबाट सांस्कृतिक नक्कल यस क्षेत्रमा राजनैतिक र आर्थिक क्षेत्रमा झैं गरिएको देखिन्छ ।

सारमा, यति नै नारीवादको अध्ययन, प्रणेता तथा पुस्तकहरू हैनन् । नारीवादी अध्ययन मानव समाज निर्माण भएको दिनदेखि आजसम्म हरेक समाजका महिलामाथि हुने शोषणको प्रकृतिअनुसार फरक अध्ययन हो । जुन सीमारहित हो । अर्थात आजको नारीवादका स्वरूपहरू भोलि अर्काे कालखण्ड र अर्काे समाजमा अलग हुनसक्छ । नेपालमा यी कुराहरू उच्च शिक्षामा अवश्य भारतमा झैं अध्ययन गराइन्छ । तर, नेपाल-भारत जस्ता विश्वको पूर्वी गोलार्द्धको अध्ययन अलग्गै स्वादको हाम्रा त्रिपिटिक, महाभारत, रामायण जस्ता धार्मिक स्क्रिप्चरहरूबाट नारीवादी अध्ययन गर्न सकिन्छ ।

आजको नेपालमा शहर र गाउँका महिलाका आर्थिक अवस्था धनी-गरिब, राजनीतिमा घरबाट हुने पहुँच, पहाडी-मधेशी समाजिक परिवेशका महिलालाई दिइने पारिवारिक छुट आदिका आधारमा पृथक-पृथक नारीवादका प्रयोग तथा अनुभवहरू छन् । अहिले महिलाको नाममा ३३ प्रतिशत अधिकार आरक्षित छ । जुन आफैंमा हास्यास्पद छ र त्यो पनि आर्थिक हैसियत बलियो भएको र राज्यसत्तामा तथा राजनैतिक उच्च घरानामा रहेका महिलाहरूले नै राज्यका ती संसदीय कोटा दलहरूमा सीमित राखेका छन् । तसर्थ, नेपालमा महिला वा नारीवादी अध्ययन तथा सर्वसाधारण महिलाको अधिकारको लागि लामो संघर्ष, चेतना जगाउने काम आदि बाँकी नै छ भने महिलाले तत्काल आरक्षण सशक्तीकरणका लागि लिए पनि पछि सक्षमताको आधारमा शत प्रतिशतमै पनि उपभोग गर्ने गरी मेहनत गर्नु पछि पर्न हुन्न ।

(लेखक थोकर सामाजिक अभियन्ता हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *