अबका निर्वाचनहरुमा विदेश बस्ने नेपाली निर्णायक हुनेछन्: पुन – Nepal Press

अबका निर्वाचनहरुमा विदेश बस्ने नेपाली निर्णायक हुनेछन्: पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अबका निर्वाचनहरुमा देश बाहिरका नेपाली निर्णायक हुने बताएका छन् ।

बुधबार पार्टीको उपत्यका विशेष प्रदेशको जिम्मेवारी सम्हाल्ने क्रममा पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा पुनले प्रविधिको उच्चतम विकास र प्रयोगका कारण विदेशमा बसेका नागरिकको हैसियत मुलुकभित्रको राजनीतिक समीकरण नै बदल्न सक्ने अवस्था आएको बताएका हुन् ।

पार्टीहरुले यसअघि नागरिकका घरघरमा गएर विचार प्रवाह गर्ने र संगठन निर्माण गर्ने अवस्थाको अन्त्य हुन सक्ने उनको भनाइ थियो ।

‘आजको युग प्रविधिको हो । पहिला जसरी मानिसका घरघरमा गएर संगठन बनाउने र विचार राख्ने अवस्था अब नरहन सक्छ’, पुनले भने, ‘प्रविधिका कारण अबका निर्वाचनहरुमा देशभित्रका भन्दा विभिन्न सिलसिलामा देश बाहिर रहेका नेपालीहरु निर्णायक हुने जस्तो देखिएको छ ।’

उनले वैचारिक बहसको थलो पनि ‘डायस्पोरा’ नै हुन थालेको उल्लेख गरे । पुनले पार्टी सदस्यदेखि सबै कमिटीका नेता कार्यकर्तालाई आफ्ना एजेण्डाबारे सामाजिक सञ्जालबाट बहस सञ्चालन गर्न निर्देशनसमेत दिए ।

पुनले हरेक घरमा डिजिटल बहस हुने गरेको भन्दै एकै घरमा पनि फरक फरक विचारका मानिसहरु हुन थालेको स्मरण गरे ।

‘पहिला पहिला मुखिया र जिम्मावालहरुको धारणा नै आममानिसको धारणा हुने जस्तो थियो । पछि राजनीतिक दलहरुका धारणामा मानिसहरु विभाजित थिए’, उनले भने, ‘अहिले त एउटा घरमा चार जना छ र फरकफरक पेशामा छ भने चारै थरि विचारको छ, चारै वटा स्वार्थको प्रतिनिधित्व गरेको छ । प्रविधिले गर्दा समाजको चरित्रमा यस्तो खालको बदलाब आएको छ ।’

प्रविधिको उपयोग गर्न नजान्ने र नसक्नेहरुले राजनीतिमा टिक्न नसक्ने भन्दै पुनले पार्टीलाई प्रविधिमैत्री बनाउन आफू सक्रिय रहेको बताए ।

फरक प्रसंगमा पुनले सय केजी सुन प्रकरणमा पार्टीका कोही पनि नेताको संलग्नता पुष्टि हुने आधार भए कानूनी कठघरामा उभिनुपर्ने दोहोराए ।

‘यदि कुनै पनि तहको नेताले गल्ती गरेको रहेछ र छानबिनले देखाए, ऊ जान्छ’, पुनले भने, ‘तर, आरोप लाग्दैमा कोही पनि अपराधी हुँदैन । आरोप लाग्दैमा हो हो भनेर जानु पनि हुँदैन ।’

पुनले सुनमा तस्करी प्रकरणको छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले गरिरहेको भन्दै प्रहरीको छानबिन सकिएपछि प्रतिपक्षी एमालेले भने जस्तो विशेष समिति गठन गर्न सकिने विकल्प बाँकी रहेको औंल्याए ।

पुनलाई केही दिनअघि सकिएको केन्द्रीय समिति बैठकले उपत्यका विशेष प्रदेश समितिको इन्चार्जको जिम्मेवारी दिएको छ । यसअघिका इन्चार्ज लीलामणि पोखरेलको बिदाइ पनि कार्यक्रममा गरियो । पोखरेल मधेस प्रदेशको इन्चार्जमा सरुवा भएका छन् । कार्यक्रममा पोखरेलले पुन जस्तो सक्रिय र राजनीतिक कुशलता भएको नेता पाएको भन्दै विशेष प्रदेश समितिलाई बधाई दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर