विराटनगरमा डेंगु परीक्षणको ६ सयभन्दा बढी लिन नपाइने
विराटनगर । विराटनगर महानगरपालिकामा डेंगु रोग फैलन थालेपछि महानगरमा सञ्चालित कुनै पनि संस्थाले डेंगु परीक्षणका लागि ६०० रुपैयाँभन्दा बढी लिन नपाउने भएका छन् ।
डेंगु परीक्षणमा मनपरी शुल्क लिन थालेपछि विराटनगर महानगरपालिकाले परीक्षणमा अधिकतम ६०० रुैपयाँभन्दा बढी लिन नपाउने नियम बनाएको छ ।
डेंगुको परीक्षण गर्दा निजी स्वास्थ्य संस्था र अस्पतालहरूले १८ सय रुपैयाँसम्म शुल्क लिने गरेको गुनासो आएको आएपछि ६ सय भन्दा बढी लिन नपाउने नियम बनाएको महानगरका मेयर नागेश कोइरालाले बताए ।
उनले परीक्षणका नाममा मनपरी शुल्क लिएको गुनासोका आधारमा परीक्षण शुल्कको मूल्य निर्धारण गरिएको बताए ।
विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ । महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको कोइरालाले बताए ।
‘महानगरसित भएको स्रोत साधनबाट महानगरवासीलाई अधिकतम सेवा दिने हाम्रो उद्देश्य रहेको छ’, मेयर नागेश कोइरालाले भने, ‘तत्कालका लागि महानगरपालिका मातहत रहेको रानी अस्पताल र वैजनाथपुर अस्पतालमा डेंगुको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ ।’
महानगरले हरेक शुक्रवार डेंगु खोज र नष्ट गर अभियानसमेत सञ्चालन गर्दै आएको छ । हरेक शुक्रबार बिहान ७ देखि ९ बजेसम्म १९ वटै वडामा जनप्रतिनिधि, कर्मचारी, प्रहरी, समाजसेवी, राजनैतिक दल, विभिन्न सङ्घसंस्थाको सहभागितामा ‘खोज र नष्ट गर’ अभियान जारी छ ।