भनेअनुसार काम नपाएर फर्किएकालाई क्षतिपूर्ति नदिँदा दुई मेनपावरको लाइसेन्स खारेज – Nepal Press

भनेअनुसार काम नपाएर फर्किएकालाई क्षतिपूर्ति नदिँदा दुई मेनपावरको लाइसेन्स खारेज

काठमाडौं । मेनपावरले भनेअनुसार विदेशमा काम नभएको भन्दै नेपाल फर्किएका नेपालीलाई क्षतिपूर्ति नदिने २ वटा मेनपावरको लाइसेन्स खारेज भएको छ । त्यस्तै तिनीहरुलाई एक–एक लाख जरिवाना पनि गरिएको छ ।

डि-स्क्वार्ड ग्रुप मेनपावरका सञ्चालक देवीमाया थापा र जनक खड्का, पिन्टु पुन र दिनेशकुमार गौतम सञ्चालक रहेको डिलक्स एचचार मेनपावरको लाइसेन्स खारेज भएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहालले करारबमोजिम काम नदिई अलपत्र पार्ने र पीडितलाई क्षतिपूर्ति नदिएका मेनपावरको लाइसेन्स खारेज गरिएको बताए ।

उनले नेपालप्रेसँग भने, ‘विदेशमा मेनपावरले नेपालमा भनेअनुसारको काम दिएन छ । श्रमिक नेपाल फर्किएर आएपछि पटक पटक डिलक्स एचआर सोलुसन र डि-स्क्वार्ड ग्रुप मेनपावरलाई पीडितलाई क्षतिपूर्ति देउ भन्दा मानेन । क्षतिपूर्ति नदिएको कारणले यी दुई मेनपावरको लाइसेन्स खारेज गरेका हौं ।’

डिलक्स एचआर मेनपावरमा विदेश गएर आएका नेपालीले १० लाख क्षतिपूर्ति मागेका थिए । मेनपावरले पनि विभागमा आएर क्षतिपूर्ति दिने सहमति गरेको थियो । तर, क्षतिपूर्ति नदिएपछि लाइसेन्स रद्द भएको हो । डि-स्क्वार्ड ग्रुप मेनपावरमा ८४ लाख क्षतिपूर्ति माग भएकोमा १० लाखमात्रै धरौटी बाँकी रहेको र क्षतिपूर्ति दिन नमानेकाले लाइसेन्स खारेज गरिएको विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताए ।

उनका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५१ बमोजिम पीडितको क्षतिपूर्तिबापतको रकम इजाजतपत्र प्राप्त संस्थाको धरौटीबाट फिर्ता गराइ वा क्षतिपूर्ति भराई इजाजतपत्र रद्द गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर