टेरामक्ससँग नेपाल टेलिकम सशंकित, ग्राहकको गोपनीयता जोगाउन खोज्दा प्राधिकरणको धम्की ! – Nepal Press

टेरामक्ससँग नेपाल टेलिकम सशंकित, ग्राहकको गोपनीयता जोगाउन खोज्दा प्राधिकरणको धम्की !

टेरामक्स जडान गरिए कुन मोबाइलबाट के एसएमस गयो भन्नेसम्मका गोपनीयता चुहावट हुने विज्ञको दाबी, टेलिकमको प्राविधिक टीम अध्ययनमा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले व्यक्तिका गोप्य विवरण रेकर्ड गर्ने टेरमोक्स प्रविधि ल्याउन अघि बढेपछि यसको बारेमा विरोध र बहस भइरहेको छ । नेपाल प्रेसले यसअघि नै टेरामक्स किन ल्याइँदैछ, कसको स्वार्थमा छ र यसले कसरी खुफिया एजेन्सीको काम गर्छ भन्ने वर्णन गरिसकेको छ ।

एनसेल आफ्ना ग्राहकका सबै गोप्य विवरण दिन तयार रहेको तर नेपाल टेलिकमले नमानेको भन्दै प्राधिकरणले सहजीकरणको सुविधालगायत बन्द गर्ने चेतावनी दिएको छ । सरकारकै मातहतमा रहेको टेलिकम आफ्ना ग्राहकका गोप्य विवरण दिन किन तयार भएन ? यसबारेमा हामीले टेलिकमका विभिन्न अधिकारी र विज्ञसँग कुराकानी गरेका छौं ।

टेरामक्स (TERAMOCS – Telecommunication Traffic Monitoring and Fraud Control System) को बारेमा केही कुरा अझै स्पष्ट गर्नु आवश्यक रहेकोले नेपाल टेलिकम यसका वारेमा छलफलको क्रममा रहेको छ ।

पछिल्लो समयमा प्राधिकरणले ग्राहकको डाटामा पहुँच नहुने र आवश्यक परेमा ‘इन्क्रिप्टेड’ समेत गर्न सकिने बताएको छ । तर, सो इन्क्रिप्सन कुन तहको हुने र यसमा नेपाल टेलिकम तथा प्राधिकरणको जिम्मेवारी के के हुने भन्ने वारेमा कुनै कार्यविधि भएमा भविष्यमा यो प्रणालीको सञ्चालनमा सहजता तथा स्पष्टता हुने देखिन्छ । त्यसैले यसका बारेमा छलफल भइरहेको र कम्पनीको प्राविधिक टीमले अध्ययन गरिरहेको जनाएको छ ।

टेरामक्स प्रविधि जडानका लागि अझै केही कुरामा स्पष्ट भएर ग्राहकको गोपनियता सुरक्षित गर्न कम्पनी प्रतिबद्ध रहेको टेलिकमका उच्च अधिकारीले बताए ।

विश्वव्यापीरूपमा घट्दै गएको आम्दानी

सन् २०१४ देखि डाटाको प्रयोग विश्वव्यापीरूपमा बढ्दै गयो । यसअनुसार विश्वभरका टेलिकम सेवा प्रदायकहरूको आम्दानी पनि घट्दै जान थाल्यो । नेपालमा भने सन् २०१६ देखि यसको प्रभाव देखिन थाल्यो । ग्राहक बढ्दै जाने तर आम्दानी भने घट्दै जाने भयो ।

यसरी आम्दानी घट्नुमा विश्वभर ओटीटीको प्रयोग बढ्नु र महसुल दर घट्नु गरी दुई मुख्य कारण रहेका छन् । डाटाको प्रयोग बढ्दै जाँदा विश्वभर फेसबुक र भाइबर लगायतका ओटीटी (ओभर द टप) एपहरुको प्रयोग पनि बढ्न थाल्यो । सेवाग्राहीहरूले यी एपहरुको प्रयोग गर्दै जाँदा भ्वाइस सेवाको प्रयोग कम हुन थाल्यो ।

यसबाट टेलिकम सेवा प्रदायकहरूको आम्दानी घट्न थाल्यो । त्यसैगरी यो क्षेत्रमा भएको तीव्र प्रतिस्पर्धाको कारण सेवाको महसुल दरमा क्रमिकरूपमा कमी हुँदै जान थाल्यो । ग्राहक बढ्ने भन्दा महसुल घट्ने दर तीव्र रह्यो । ग्राहक संख्या र महसुल दर दुवै बढेअनुसार नै आम्दानी बढ्ने हो । तर, यसको सामञ्जस्यता नमिल्दा टेलिकम सेवा प्रदायकहरूको आम्दानी घट्ने गरेको छ ।

यो पनि पढ्नुस् : खुफिया एजेन्सी बन्न खोज्दै प्राधिकरण, टेरामक्स लागू भए यसरी चुहिनेछ व्यक्तिको गोप्य कुराकानी

नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो २०७९ चैत महिनाको एमआईएस प्रतिवेदनअनुसार पनि टेलिघनत्व करिव १२६ छ । यस अनुसार आगामी दिनमा ग्राहक दर बढ्ने सम्भावना छैन । अहिले भइरहेका ग्राहकले नै अन्य कुनै विकल्प प्रयोग गर्ने अवस्था भएमा मात्र ग्राहक संख्या बढ्ने हो । यसैले ओटीटी र ग्राहक संख्या तथा महसुल दरका कारण नै टेलिकम सेवा प्रदायकहरूको आम्दानी घटेको मान्न सकिन्छ ।

नेपालमा थोरै लगानीमा सञ्चालन भएका र थोरै लाइसेन्स शुल्कमात्र तिर्नुपर्ने व्यवस्था भएका सेवा प्रदायकहरुले विभिन्न प्रकारको वाईफाई लगायतका सेवा उपलब्ध गराउने गरेका छन् ।

यो पनि पढ्नुस् – तीन लाख रूपैयाँको अनुमतिपत्रले अर्बौंको अनुमतिपत्र लिएका संस्था स्वाहा !

ठूला सेवा प्रदायकहरूले वार्षिकरूपमा अरबौं राजस्व तिर्नुपर्ने अवस्था भएको समयमा ती सेवा प्रदायकहरुले उपलब्ध गराउने वाईफाईका कारणसमेत मोबाइल डाटाको व्यवसायमा झनै असर पुगेको छ ।

हालको समयमा त्यस्ता विभिन्न सेवा प्रदायकको राजस्वको स्थिति हेर्दा पनि सोही अनुरुप वृद्धि भइरहेको स्पष्ट देखिएको र डाटाको पहुँच तथा क्रयशक्तिमा सुधारपश्चात समेत विश्वव्यापी रुपमा देखिए अनुरुप ठूला सेवा प्रदायकहरुको व्यवसायमा अपेक्षित सुधार देखिएको छैन । यो अवस्थामा एउटा क्षेत्रको मात्र घटेको राजस्वलाई नहेरी समग्र सूचना प्रविधि क्षेत्रको राजस्वको तुलनात्मक अध्ययन हुनु पर्ने देखिन्छ ।

जालसाजी नियन्त्रण

दूरसञ्चार सेवामा विभिन्न प्रकारका प्रविधिहरूको प्रयोग गरी जालसाजी गर्ने र सेवा प्रदायकहरुको आम्दानीमा असर पुर्‍याउने कार्य विश्वव्यापीरूपमै भइरहेका छन् । यो अवस्थामा यस प्रकारका जालसाजी नियन्त्रण (Fraud Control) का लागि विभिन्न सेवा प्रदायकहरूले आफ्नै तरिकाले कार्य गरिरहेका छन् । यसमा प्रहरी लगायतका सुरक्षा निकायको सहयोगसमेत भइरहेको छ ।

केही दिन पहिले पनि भीओआईपीमा संलग्नहरूलाई नेपालको पश्चिम क्षेत्रबाट पक्राउ गरिएको छ । सेवा प्रदायकको आम्दानीको स्रोत नै सुकाउने गरी गरिने यस प्रकारका जालसाजी नियन्त्रणका लागि सेवा प्रदायकहरूले नै यो सिस्टम चलाइरहेको अवस्था छ ।

ग्राहकको गोपनीयता

टेलिकम सेवा प्रदायकहरूले ग्राहकलाई सेवा उपलब्ध गराएबापत आम्दानी गर्ने मात्र होइन, ग्राहकको गोपनीयता कायम राख्नु पनि मुख्य जिम्मेवारी हुन्छ । कानूनले समेत यो जिम्मेवारी प्रदान गरेको छ । यसका लागि ग्राहकको डाटा सुरक्षित राख्नु महत्वपूर्ण कार्य हुन्छ ।

सर्वोच्च अदालतले समेत ‘ग्राहकको कुनै पनि गोप्य विवरण अदालतको आदेश विना वा कुनै नियम कानूनका आधारमा बाहेक अन्य अवस्थामा कसैलाई नदिने’ भनेको छ ।

विश्वव्यापी प्रचलन

संसारका धेरै कम देशहरुमा यो सिस्टम चलाइएको छ । टेलिकम नियामकले त झन चलाएकै छैन । Lawful Interception मा सेक्युरिटी, डिफेन्स, नेसनल सेक्युरिटी आदि क्षेत्रमा कार्यरत संस्थाले कुनै निश्चित समयका लागि मात्र यस प्रकारको सिस्टम चलाउने गरेको पाइन्छ ।

बिलिङ प्रणाली

नेपाल टेलिकमको बिलिङ प्रणालीको उपयुक्तता वारेमा समय समयमा अडिट गर्ने गरिएको छ । यसका साथै आगामी दिनमा यसका लागि आवश्यक प्रणाली नै जडान गरी सञ्चालन गर्ने क्रममा रहेको छ ।

कानूनी पक्ष

दूरसञ्चार ऐन २०५३ को दफा १५ मा आदेश वा निर्देशन दिन सक्ने व्यवस्था छ । जसमा भनिएको छ-

(१) प्राधिकरणले नेपाल सरकारको नीति निर्देशनलाई ध्यानमा राखी अनुमतिपत्र प्राप्त व्यक्तिलाई आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ र त्यस्तो आदेश वा निर्देशनको पालना गर्नु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ ।

(२) प्राधिकरणले अनुमतिपत्र प्राप्त व्यक्तिले गरेको काम कारबाहीको विवरण तथा संचालन गरेका दूरसञ्चार सेवासम्बन्धी विवरण माग गर्न सक्नेछ र त्यस्तो विवरण उपलब्ध गराउनु सम्बन्धित व्यक्तिको कर्तव्य हुनछ ।

दूरसञ्चार ऐन २०५३ को दफा १७

निरीक्षण तथा जाँचबुझ (१) प्राधिकरणले आवश्यक देखेमा जुनसुकै बखत अनुमतिपत्र प्राप्त व्यक्तिले गरेको काम कारबाही वा उपलब्ध गराएको सेवाको सम्बन्धमा निरीक्षण वा जाँचबुझ गर्न सक्नेछ ।

(२) प्राधिकरणले उपदफा (१) बमोजिम निरीक्षण वा जाँचबुझ गर्ने प्रयोजनको निमित्त प्राधिकरणको कुनै व्यक्ति वा निकायलाई तोक्न सक्नेछ ।

(३) निरीक्षण वा जाँचबुझको सिलसिलामा प्राधिकरण वा उपदफा (२) बमोजिम तोकिएको निकाय वा व्यक्तिले मागेको जानकारी वा विवरण तथा कागजात उपलब्ध गराउनु सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिको कर्तव्य हुनेछ ।

(४) यस दफा बमोजिम निरीक्षण वा जाँचबुझ गर्दा अपनाउने कार्यविधि, त्यसको प्रतिवेदन र प्रतिवेदनको कार्यान्वयन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

उपविनियम ४ बमोजिम हाल यस विनियमावली बमोजिमको कार्यविधि आवश्यक हुने देखिन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट मिति २०६८/१२/७ मा स्विकृत ‘नेपाल दूरसञ्चार प्राधिकरणको निरीक्षण तथा जाँचबुझ कार्यविधिसम्बन्धी विनियमावलीको परिच्छेद २ दफा ४’ ले पनि यसबारेमा बोलेको छ ।

नियमितरूपमा निरीक्षण र सुपरीवेक्षण हुने : (१) दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको हैसियतले प्राधिकरणले ऐन तथा नियमावलीको अधिकार प्रयोग गरी अनुमतिप्राप्त व्यक्तिको सेवा सञ्चालन र त्यस सम्बन्धी काम कारवाहीको नियमित रुपमा निरीक्षण, सुपरीवेक्षण वा जाँचबुझ गर्नेछ ।

(२) उपविनियम (१) बमोजिम निरीक्षण, सुपरीवेक्षण वा जाँचबुझ गर्दा प्राधिकरणले स्थलगत (अनसाइट) निरीक्षण, सुपरीवेक्षण, जाँचबुझ वा अनुमति प्राप्त व्यक्तिबाट कागजात माग गरी प्राधिकरणको कार्यालयमा (अफसाइट) नै निरीक्षण, सुपरीवेक्षण तथा जाँचबुझ गर्नेछ ।

(३) उपविनियम (२) बमोजिम निरीक्षण, सुपरीवेक्षण वा जाँचबुझ गर्दा ऐन, नियमावलीमा कुनै कार्यविधिको व्यवस्था भएकोमा सोही बमोजिम र त्यस्तो कार्यविधिको व्यवस्था नभएकोमा यस विनियमावली बमोजिमको कार्यविधि पूरा गरी निरीक्षण, सुपरीवेक्षण वा जाँचबुझ गरिनेछ ।

(४) यस विनियम बमोजिम निरीक्षण, सुपरीवेक्षण वा जाँचबुझ गर्दा प्राधिकरणले देहायका सम्पर्क माध्यमहरु प्रयोग गरी अनुमतिप्राप्त व्यक्तिको काम कारवाहीको निरीक्षण, सुपरीवेक्षण वा जाँचबुझ गर्न सक्नेछ

(क) पत्र वा टेलिफ्रयाक्स

(ख) इमेल

(ग) टेलिफोन र

(घ) श्रव्य दृश्य संवाद (भिडिओ कन्फेरेन्स)

टेरामक्सबाट के हुन्छ ?

प्राविधिक रूपमा सेवाको गुणस्तर सम्बन्धमा प्राधिकरणबाट माग भए बमोजिम नेपाल टेलिकमले नियमित रुपमा मासिक तथा त्रैमासिक रूपमा Key Performance Indicator (KPI) उपलब्ध गराइरहेकोले TERAMOCS सँग आवद्ध गर्न नपर्ने र व्यावहारिक रुपमा विदेशमा रहेको कुन सेवा प्रदायकबाट कति मिनेट कल कुन रुटबाट यस कम्पनीको नेटवर्कमा टर्मिनेट भइरहेको छ भन्ने व्यावसायिक चुहावट(Privacy Leak) हुने देखिन्छ ।

साथै ती सूचनाहरू चुहावट भई भिओआइपी कल टर्मिनेट गर्ने गिरोहहरू सम्म पुगेमा अनुमति पत्र प्राप्त सेवा प्रदायकको लिगल नेटवर्क बाट आउने अन्तर्राष्ट्रिय कलहरू अवैधानिक रुटमार्फत नेपालमा कल टर्मिनेट भई सुरक्षा खतरा बढ्ने तथा कल टर्मिनजेटबापत सेवा प्रदायक तथा नेपाल सरकारलाई प्राप्त हुने राजस्व गुम्ने अवस्था आउनेछ ।

नेपाल टेलिकमको कुन नम्बरबाट कुन स्थानबाट कुन नम्बरलाई कुन समयमा कति अवधि सम्म कल गरेको भन्ने ग्राहकको गोपनीयता चुहावट हुने सम्भावना रहेको ।

नेपाल टेलिकमको कुन मोबाइल नम्बरबाट के एएमएस कुन मोबाइलमा पठाएको हो, उक्त सन्देशको कन्टेन्टसहित चुहावट हुने सम्भावना रहेको विज्ञहरुको दावी छ । नेपाल टेलिकमको कुन मोबाइल कुन समयमा कुन स्थानमा रहेको भन्ने सूचना समेत चुहावट हुने संभावना हुन्छ ।

नेपाल टेलिकममा ती सबै विवरण सुरक्षित छन् । तर, ती सूचनाहरु विद्यमान कानुनको व्यवस्था अनुसार अदालतको स्वीकृतिमा यस कम्पनीले माग गर्ने निकायलाई उपलब्ध गराई आएको अधिकारीहरु बताउँछन् ।

यसरी विश्वव्यापीर”पमा भइरहेको अभ्यास, टेलिकम कम्पनीहर”को व्यवसाय, सम्बन्धित देशको कान”न आदिका आधारमा यस्तो सिस्टम चलाउने वा नचलाउने निर्णय गर्नु आवश्यक हुने रायसमेत टेलिकमले दिएको छ ।

ती अधिकारीले भने, ‘नियामक निकायको निर्देशन पालना गर्नु कम्पनीको कर्तव्य हो । कम्पनीले सो निर्देशन सधैँ पालना पनि गर्दै आइरहेको छ । यद्यपि कुनै नयाँ प्रविधि लागू गर्दा कार्यविधि बनाउने र यसलाई अझै स्पष्ट गर्ने प्रचलनअनुसार टेरामक्सलाई ग्राहकको हितमा अगाडि बढाउन कम्पनी प्रतिबद्ध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर