सम्पत्ति कर बढाएको चौतर्फी आलोचनापछि सिनपाले बोलायो विशेष नगरसभा
पत्रकारलाई समाचार सङ्कलनमा रोक
रुपन्देही । एकीकृत सम्पत्ति कर ७ सय प्रतिशतसम्म बढाएको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको चौतर्फी आलोचना भएपछि विशेष नगर सभा बोलाइएको छ ।
सबै दल, नागरिक समाजबाट अस्वाभाविक कर वृद्धिबारे आलोचना भएपछि बिहीबार १४ औँ विशेष नगर सभा बोलाइएको हो ।
नगर सभामा जनप्रतिनिधिले समाचार सङ्कलनका लागि पत्रकारलाई बोलाए पनि पत्रकारलाई कार्यक्रममा जान रोक लगाइएको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ स्थित युनिक बैंक्वेटमा जारी नगर सभामा आन्तरिक कार्यक्रम हो भन्दै पत्रकारलाई समाचार सङ्कलनका लागि कार्यक्रम स्थलमा जानबाट रोक लगाइएको बुटवल टुडेका पत्रकार शशी पन्थीले बताए ।
उक्त बैठकमा जनप्रतिनिधिले पत्रकारलाई कार्यक्रममा बोलाएका थिए । तर नगरपालिकाका प्रेस सल्लाहकार सलमान खानले कार्यक्रम स्थलमा समाचार सङ्कलनका लागि पुगेका पत्रकारलाई यो आन्तरिक कार्यक्रम हो भन्दै फर्काएको ती पत्रकारले जनाएका छन् ।
प्रेस सल्लाहकारले कार्यक्षेत्र नाघेर पत्रकारलाई समाचार सङ्कलनमा रोक लगाउनु खेदजनक भएको नगर सभामा जान नपाएका पत्रकार पन्थीले बताए ।