पूर्व पश्चिम राजमार्गमा लुम्बिनी सरकारका रिफ्रेस सेन्टर- कतै अलपत्र, कतै छैन बनाउने सुरसार – Nepal Press

पूर्व पश्चिम राजमार्गमा लुम्बिनी सरकारका रिफ्रेस सेन्टर- कतै अलपत्र, कतै छैन बनाउने सुरसार

रुपन्देही । पूर्व पश्चिम राजमार्ग भई लामो दुरीको यात्रामा गाडी रोक्ने, स्वस्थकर खाना, नास्ता र केही समय आराम गर्ने उपयुक्त स्थान नहुँदा समस्या छ । पूर्वको होस् या पश्चिमको यात्रा, सबैतिर यही समस्या छ । शौच गर्ने स्थान नपाइँदा यात्रुलाई राजमार्गको खाली स्थान र जंगलभित्र पस्नुपर्ने बाध्यता छ ।

यही समस्या समाधान गर्न लुम्बिनी प्रदेश सरकारले पूर्व पश्चिम राजमार्गअन्तर्गत ५ जिल्लामा ५ वटा स्मार्ट रिफ्रेस सेन्टर निर्माण थालेको थियो । तर, ४ वर्ष पूरा हुँदा पनि रिफ्रेस सेन्टर बन्न सकेको छैन ।

२०७७ सालमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले २ वर्षमा यी योजना पूरा हुने घोषणा गरेका थिए । तर, निर्माण सुरु भएका ३ वटा रिफ्रेस सेन्टरको काम पूरा हुन सकेको छैन । निर्माण सुरु भएको एउटा सेन्टर पनि जग्गा विवादले अलपत्र परेको छ । बाँकी एउटाको त कामै सुरु भएको छैन । तर, लुम्बिनीमा योबीचमा मुख्यमन्त्रीमात्रै चार जना बनिसकेका छन् ।

राजमार्गमा लामो समय यात्रा गरेका यात्रु तथा सवारी चालक र कर्मचारीलाई आरामसँगै शौच गर्न यस्तो विश्राम केन्द्र निर्माण योजना अघि सारिएको थियो । चालक थाकेर दुर्घटना बढेको, जथाभावी शौच गर्ने हुँदा फोहोर बढेकाले राजमार्गलाई सुरक्षित र सफा राख्नेगरी यी योजना अघि बढेका थिए ।

तत्कालीन सरकारले पश्चिम नवलपरासीको बर्दघाट, रुपन्देहीको सैनामैना, कपिलवस्तुको चन्द्रौटा, दाङको लमही र बर्दियामा अत्याधुनिक सुविधासहितका रिफे्रस सेन्टर बनाउने योजना घोषणा गरेको थियो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले २०७७ सालमा अघि बढाएको यी योजनाको तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले शुभारम्भ गरेका थिए । उनले पाँचै जिल्लामा बनेका यी सेन्टरले प्रदेशको पहिचान बनाउने तत्कालीन मुख्यमन्त्री पोखरेलको दाबी थियो । उनीपछि ३ जना मुख्यमन्त्री बनिसके । तर, यी योजना अहिलेसम्म पूरा भएका छैनन् ।

पहिलो चरणमा २०७७ मंसिर १२ गते रुपन्देहीको सैनमैनाको पिपलडाँडामा ३ करोड ५५ लाख ७९ हजारको ठेक्का योजना तत्कालीन मुख्यमन्त्री पोखरेलले शुभारम्भ गरेका थिए । करिब एक बिघा क्षेत्रफलमा निर्माण गरिएको सेन्टरको पहिलो चरणको भौतिक काम सकिएपनि दोस्रो चरणको लागि बजेट नै छुट्याइएन ।

शहरी विकास मन्त्रालयअन्तर्गत रहेको यो आयोजनाका इ. आदित्य धितालले पहिलो चरणको ठेक्काको काम सकिएको तर दोस्रो चरणको लागि बजेट नभएको बताए । दोस्रो चरणमा फोहोर व्यवस्थापन, पार्क निर्माण, चार्जिङ स्टेशन बनाउने योजना छ । तर, बजेट छैन । आयोजनाले यसको सुरक्षाका लागि स्थानीय सरकारलाई अपूरो रुपमै हस्तान्तरण गर्न लागेको धितालले बताए ।

‘बजेट छैन, अब यसको सुरक्षाको कुरा हुन्छ, पहिलो चरणको काम सकाएपछि स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारीमा छौं’, उनले भने, ‘सायद मन्त्रालयले यसको कार्यविधि बनाउँदै होला ।’

रिफ्रेस सेन्टरमा स्मार्ट रेस्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ स्थल, सिटिङ एरिया, पाथ वे, रोड एरिया, कार वासिङ, चार्जिङ स्टेशन र ड्राइभर रुमलगायतका संरचना रहने योजनामा छ ।

पश्चिम नवलपरासीको बर्दघाटमा निर्माण भएको रिफ्रेस सेन्टर पनि सम्पन्न भएको छैन । बर्दघाट नगरपालिका- ४ स्थित पूर्वपश्चिम राजमार्गदेखि ३०० मिटर तल पारिजात सामुदायिक वन हाताभित्र उक्त रिफ्रेस सेन्टर निर्माण थालिएको थियो ।

२०७७ चैत ११ गते सम्झौता भई कोजु इन्जिनियरिङ सञ्जय जेभी काठमाडौंले ३ करोड १८ लाख २६ हजार ६१९ रुपैयाँमा उक्त सेन्टर निर्माणको जिम्मा लिएको थियो । सम्झौताअनुसार २०७९ असोज ११ मा पहिलो फेजको निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै समयमै काम सम्पन्न गर्न सकेन ।

नक्सा डिजाइन र भौगोलिक अवस्थाका कारण क्वान्टिटी मिलाउनुपर्ने भएकाले पुनः भेरियसनका लागि लुम्बिनी प्रदेश मन्त्रालयमा पठाइएको खानेपानी तथा सडक डिभिजन कार्यालय रुपन्देहीका इञ्जिनियर आदित्य धितालले बताए ।

‘मन्त्रालयबाट भर्खरै पुनः भेरियसन भएर फाइल आएको छ । अब काम अघि बढ्छ’, इन्जिनियर धितालले भने, ‘विभिन्न भागहरूमा बिम पिल्लरको लेबल मिलाउनुपर्ने र धेरै संरचना आवश्यकअनुसार थपघट गर्नुपर्ने भएकाले काम रोकिएको छ । बहुवर्षीय योजनाअन्तर्गत दुई चरणमा निर्माण सम्पन्न हुनेछ । बाहिरी भवन निर्माण र इन्टेरियर, सावर ब्लक, ट्वाइलेट गरी दुई चरणमा गरिने तर आयोजना भने निरन्तर रहनेछ ।’

यता सोही कार्यालयका प्रमुख आबिद हुसेन मिया ठकुराइका अनुसार बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको हो । प्रदेश सरकारसँग थप बजेट माग भएको उनले जानकारी दिए ।

प्रदेश सरकार, निर्माण पक्ष र खानेपानी तथा सडक डिभिजन कार्यालयको समन्वय अभाव र ढिलासुस्तीका कारण तीन वर्ष बितिसक्दा समेत पहिलो चरणको काम सम्पन्न हुन सकेको छैन ।

निर्माणकै चरणमा रहँदा एक वर्ष पहिले गुणस्तरहीन सामग्री प्रयोग भएको, ठाउँठाउँमा चर्किएको स्थानीयको गुनासो आएपछि बर्दघाट नगरपालिकाले निर्माणमा रोक लगाएको थियो । प्रदेश सरकार र आयोजना कार्यालयले समेत स्थानीय तहसँग समन्वय नगरेको बर्दघाट नगरपालिकाले जनाएको छ ।

दोस्रो पटकको म्याद थपअनुसार २०८० भदौ ३० गते सम्पन्न गर्नुपर्नेछ । तर, अहिलेसम्म आधा काम पनि सकिएको छैन । जसले गर्दा अझै निर्माण सम्पन्न हुनेमा स्थानीय विश्वस्त छैनन् ।

कपिलवस्तुको चन्द्रौटास्थित रिफ्रेस सेन्टर पनि पूरा भएको छैन । आयोजनाका अनुसार पहिलो चरणको ठेक्काअनुसार निर्माणका धेरै काम सकिएपनि लाइट फिटिङलगायतका केही काम बाँकी छ । तर, दोस्रो चरणका लागि यहाँ पनि बजेट आएको छैन ।

आयोजनाका अनुसार पहिलो चरणको ४ करोड २ लाख ६७ हजार ६६१ रुपैयाँको ठेक्कामा ३ करोड ५५ लाख ६५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।

दाङको लमहीमा भने ठेक्का लागे पनि स्थानीयको अवरोधले काम रोकिएको छ । पहिले स्थानीय अजम्बरी सामुदायिक बन क्षेत्रमा बनाउने सहमति भए पनि पछि विवादका कारण रोकिएको हो ।

शहरी विकास मन्त्रालयका महाशाखा प्रमुख गुणानिधि पोखरेलका अनुसार सरकारले सुरु गरेका ५ योजनामध्ये सैनामैना, चन्द्रौटा र बर्दघाटमा पहिलो चरणको काम भएको, दाङको लमहीमा ठेक्का भएपछि जग्गा विवादले रोकिएको र बर्दियामा जग्गा व्यवस्थापन नभएकाले सुरु नै नभएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर