प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता, मासिक प्रगति विवरण पठाउनुपर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुसँग आ व २०८०/८१ को वार्षिक कार्यसम्पादन सम्झौता भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्रीसँग संघीय सरकारका २१ जना मन्त्रीहरूले आआफ्नो मन्त्रालयले गर्ने कामको कार्यसूचीसहितको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यसम्पादन सम्झौतामा प्रत्येक मन्त्रालयले गरेको कामको अलग अलग कार्यसूची तयार पारिएको छ । सम्झौतापत्रमा हासिल गर्नुपर्ने नतिजा सूचक राखिएको छ, जसमा नतिजा सूचक, भार, इकाइ, आर्थिक वर्ष २०७९/०८० को समग्र स्थिति र आर्थिक वर्ष २०८०/०८१ को लक्ष्य निर्धारण गरिएको छ ।
सम्झौतापत्रमा सम्पादन गर्नुपर्ने प्रमुख कार्यहरू उल्लेख छ, जसमा कार्यक्रम र क्रियाकलापको सूची र सो जिम्मेवारी पूरा गर्नुपर्ने समयसीमा उल्लेख गरिएको छ । मन्त्रालयहरूले गर्नुपर्ने प्रमुख कार्यहरूमा नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम र बजेट, प्रधानमन्त्रीले विभिन्न समयमा प्रतिनिधिसभा र नेपाल सरकारका सचिवहरूलाई गरेको सम्बोधन, नेपाल सरकारको एकीकृत कार्ययोजना आदि सूचकलाई आधार बनाइएको छ ।
सम्झौतापत्रमा अनुगमन तथा अन्य व्यवस्था राखिएको छ । जसमा संघीय सरकारको नीति, कार्यक्रम र बजेट तथा कार्यक्रम कार्यान्वयन कार्ययोजना कार्यसम्पादन सम्झौताको अंगका रूपमा रहने व्यवस्था छ । सम्झौतामा कार्यसम्पादनको प्रगति मासिक रूपमा प्रधानमन्त्री कार्यालयमा अनलाइन प्रणालीबाट पठाउनुपर्ने र त्यसलाई मासिक तथा वार्षिक प्रतिवेदन र मूल्यांकनको आधार बनाइने उल्लेख छ ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले योजनाबद्ध विकास थालेको आधा शताब्दी हुँदा पनि परिणाम र प्रतिफलमा सारभूत उपलब्धि हासिल भएको छैन । कहीं न कहीं हाम्रो नीति, हाम्रो कार्य प्रणाली र शैलीमा आमूल परिवर्तन आवश्यक छ । जनताले विकासको अनुभूति गर्न पाएका छैनन् ।’
जनता विदेशमा गएर निम्नस्तरको रोजगारीमा आश्रित हुनुपरेको यथार्थ हामीमाझ रहेको भन्दै उनले अहिले जनतालाई सरकारले सेवा दिने र विकासलाई गति दिने गरी नयाँ ढंगले काम थालेको बताए ।