कैलाली कांग्रेस विवाद: सभापतिको निर्णयविरुद्ध उभिए सचिव
कैलाली । नेपाली कांग्रेस कैलाली जिल्ला सभापतिले कांग्रेसका दुई नेतालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि विवाद सुरु भएको छ।
सोमबार जिल्ला सभापति नारायणदत्त भट्टले गोदावरी नगरपालिका- १ का क्षेत्रीय प्रतिनिधि लोकराज पाण्डे र चुरे गाउँपालिका- ६ का क्षेत्रीय प्रतिनिधि सुरतबहादुर कार्कीलाई अनुशासनको कारबाही भन्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका थिए ।
सभापति भट्टले गरेको कारबाहीका विषयमा सचिव नृप सुनारले पनि विरोध जनाएका छन् । उनले सभापतिलाई भेटेर कारबाही गर्ने अधिकार नभएको बताएको र उक्त निर्णयमा विरोध जनाएको बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले सभापतिको निर्णयमा आफ्नो समर्थन नरहेको जनाएका हुन् ।
‘जिल्ला सभापतिलाई भेटेर तपाईंले गर्नुभएको कारबाहीको निर्णय गलत छ । विधानमा तपाईंले कारबाही गर्न पाउनुहुन्न । गर्नुभयो भने मेरो त्यसमा समर्थन हुँदैन भनेर असहमति जनाएको सबैलाई अवगत गराउन चाहन्छु’, उनले भनेका छन् ।
यसअघि सभापतिले गरेको कारबाहीविरुद्ध उपसभापति भीम बडुवालले पनि विज्ञप्ति जारी गरेर विरोध जनाएका थिए ।
पार्टीको महत्त्वपूर्ण पदीय जिम्मेवारीमा बसेर पार्टी हितको बर्खिलाप हुने गरी र पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता र कार्यकर्ताको मानहानी हुने गरी सार्वजनिक रुपमा अभिव्यक्ति दिने, सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको आरोप लगाउँदै २ जनालाई जिल्ला सभापतिले कारबाही गरेका थिए ।