नृत्य प्रतियोगितापछि पब्लिक युथ क्याम्पसमा अनेरास्ववियु र नेविसंघबीच झडप, दुई जना घाइते
काठमाडौं । काठमाडौंको पब्लिक युथ क्याम्पसमा अनेरास्ववियु र नेविसंघका कार्यकर्ताबीच झडप भएको छ । बिहीबार दिउँसो नेपाल विद्यार्थी संघले आयोजना गरेको वृहत नृत्य प्रतियोगितापछि दुई समूह झडपमा उत्रिएको काठमाडौं प्रहरी प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए ।
उनका अनुसार झडपमा २ जना घाइते भएका छन् । तीमध्ये नेविसंघका क्याम्पस सभापति २५ वर्षीय सन्तोष श्रेष्ठको टाउको र नेविसंघकै सदस्य २५ वर्षीय विक्रम लामाको दाहिने कानमा चोट लागेको छ । घाइते दुवैलाई तत्कालै क्षेत्रपाटी अस्पताल लगिएको थियो ।
त्यहाँबाट थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । के कारणले विवाद भएको भन्नेबारे बुझ्ने काम भइरहेको डीएसपी ढुंगेलले बताए ।