अवैध नेटवर्किङ धन्दा गर्ने तीन कम्पनीमा इटहरी उपमहानगरले लगायो ताला
विराटनगर । सुनसरीमा अवैध नेटवर्किङ कम्पनी चलाएको भन्दै इटहरी उपमहानगरपालिकाले ३ वटा कम्पनीमा ताला लगाएको छ ।
उपमहानगरमा कार्यालय खोलेर नेटवर्किङ धन्दा चलाएका ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसेट नामक कम्पनीमा तालाबन्दी गरिएको हो ।
ऐन, नियमावलीमा नेटवर्किङ र पिरामिड शैलीको व्यापार व्यवसाय गर्न नपाइने उल्लेख भए पनि कम्पनीहरुले गरिरहेको पाइएकाले तालाबन्दी गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।
इटहरीलाई केन्द्रविन्दू बनाएर अवैध रुपमा सञ्चालनमा रहेका कम्पनीहरुमा उपमहानगरले अनुगमनको क्रममा तालाबन्दी गरेको पौडेलले बताए ।
उनले अवैध नेटवर्किङ धन्दा गर्दै सर्वसाधारणलाई ठगी गर्ने गरेका कम्पनीमा तालाबन्दी गरेर तिनका सञ्चालकलाई तीन दिनभित्र उपमहानगरमा उपस्थित हुन निर्देशन दिएको जानकारी दिए ।
‘कम्पनीमा आबद्ध व्यक्तिहरुले आफ्नो सम्पर्कमा रहेका र नयाँ चिनजानसमेत गरी उनीहरुलाई सामान्य व्यापार व्यवसाय र जागिरहरुको तुलनामा अथाह पैसा कमाउन सकिने आश्वासन बाँड्ने गरेको पाइयो’, मेयर पौडेलले भने ।
जटिल रोग निको पारिने भन्दै सयौं सर्वसाधारणबाट रकम लिने गरिएको छ । अझ सदस्य बनाएवापत औषधि छुटमा पाउने तथा बोनस दिलाइने भन्दै सर्वसाधारणसँग लाखौं रकम उठाएको भेटिएको पौडेलले बताए ।
नेटवर्किङको नाममा ठगी धन्दा गरिएको भन्दै उजुरी परेको कारण अहिले उपमहानगरले अभियानकै रुपमा अनुगमन गरिरहेको छ ।
Scammers haru hun band hunu parx