गाउँमा बाँझोपनको समस्या बढ्दै
काठमाडौं । ग्रामिण तहमा बाँझोपनको समस्या बढ्दै गएको भन्दै चिकित्सकहरुको चिन्ता व्यक्त गरेका छन् ।
चिकित्सकहरुले पछिल्लो केही वर्षयता युवाहरु विदेश जाने क्रम बढेको र उमेर पुगेरपनि विवाह नगर्दा बाँझोपनको समस्या बढ्दै गएको बताएका छन् । उनीहरुले बाँझोपनको समस्या समाधानका लागि परामर्श दिन आवश्यक भइसकेको बताए ।
चिकित्सकहरुका अनुसार बाँझोपनले मानसिक समस्या विकराल बन्दै गइरहेको भन्दै सचेत रहन आग्रह समेत गरेका छन् । प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा.कृतिपाल सुवेदीले बाँझोपन हुनुमा महिला र पुरुषको भुमिका समान हुने बताए ।
उनले विवाह पश्चात पुरुषहरु वैदेशिक रोजगारीमा जानुपनि बाँझोपनको कारण रहेको औंल्याए । उनले खाडी मुलुकमा गएका पुरुषहरु नेपालमा फर्किंदा बच्चा नहुनुको प्रमुख कारण उच्च तापक्रमले शुक्रकिट उत्पादनमा ल्याउने ह्रास रहेको पनि बताए ।
डा.सुवेदीका अनुसार एक वर्ष वा एक वर्ष भन्दा बढी समयसम्म श्रीमान श्रीमती अस्थायी परिवार नियोजनको साधन बिना यौन सम्पर्क गर्दापनि सन्तान उत्पादन नभएमा त्यसलाई बाँझोपन भनिन्छ । डा.सुवेदीले सरकारले बाँझोपनबारे प्रिकन्सेप्सनल काउन्सिलिङ स्थापना गर्ने बेला भइसकेको बताए ।
डा.सुवेदीले भन्छन् ‘अहिलेको अवस्था हेर्दा ग्रामिण तहका युवा पुस्तादेखि विदेश जानका लागि भिसा लाएपछि विवाह गर्ने हो, किन भने त्यो भन्दा अगाडी जागिरको टुंगो छैन । विवाह गरेको १५ दिनमा विदेश जाने हो । दुई वर्षमा आउने हो, दुई महिनाका लागि आउने हो । दुई महिनाको लागि बच्चा चाहियो । यो त प्रकृतिले नै नदिएको कुरालार्ई जित्न नै सकिँदैन नि ! सरकारले प्रिकन्सेप्सनल काउन्सिलिङ स्थापना गर्ने बेला भइसक्यो । त्यसमा पारामेडिक्सहरुले मज्जाले काउन्सिलिङ गर्न सक्नुहुन्छ । काउन्सिलिङ गर्न थालियो भने बिस्तारै बिस्तारै चेतना आउन थाल्छ । फाइदा बेफाइदाबारे जानकारी हुन्छ ।’
वंशाणुगत रोग विशेषज्ञ डा.निलम ठाकुरले बाँझोपन थाहा पाउन महिला पुरुषको स्वास्थ्य जाँच गर्नुपर्ने र बाँझोपनको कारण पत्ता लगाइसकेपछि मात्रै उपचार प्रक्रिया थाल्नुपर्ने बताए । डा.ठाकुरले निःसन्तानपनले मानसिक समस्या निम्त्याएको बताए । समाजमा बाँझोपन बढ्दै गएको भन्दै बाँझोपन सम्बन्धी सरकारले नीति ल्याउन आवश्यक रहेको बताउनु भयो ।
डा.ठाकुरले भने, ‘बाँझोपन थाहा पाउन महिला र पुरुषको जाँचहरु गर्छौं । महिलाको हकमा पाठेघर र पुरुषको हकमा बीर्यको परीक्षण गरिन्छ । त्यसपछि महिलाको अण्डा कति बन्छ ? भिडियो एक्सरे लगायत गरिन्छ । शुरुमा त बाँझोपनको कारण पत्ता लगाइन्छ । कारण पत्ता लगाइसकेपछि उपचारमा जान्छौं । प्रिकन्सेप्सनल काउन्सिलिङ स्थापना गर्न जरुरी छ जस्तो लाग्छ मलाई । जसलाई प्लान गर्नुछ उसलाई पनि प्रिकन्सेप्सनल काउन्सिलिङमा आएर कुरा गरौं । र जसलाई निःसन्तानपनको समस्या देखिएको छ, स्वस्थ छौं की छैनौं भनेरपनि प्रिकन्सेप्सनल काउन्सिलिङ आवश्यक पर्छ । जहाँ चाहीँ उनीहरु गएर कुरा गरुन् । अहिलेको काउन्सिलिङ आवश्यक परिरहेको छ ।’
भ्रुण रोग विशेषज्ञ डा.विनिता थापाले निःसन्तानपनको उपचार गर्न केही समय लाग्ने बताइन् । उनले निःसन्तान कसरी हुन्छ भनेर शुरुमा आम नागरिकमा जनचेतना जगाउन आवश्यक रहेको बताए । निःसन्तानको उपचारका लागि महिनावारीको दोस्रो दिनबाट शुरु भई १३÷१४ दिनसम्म स्क्रिनिङ नै गरेर राख्ने गरिन्छ । लामो समय लाग्ने हुँदा उपचारका लागि विकट ठाउँबाट आउनेहरुका लागि निकै समस्या हुने गरेको बताइन् ।
थापाले भनिन्, ‘पुरुषमा उमेरले फरक नपारे पनि महिलामा चाहीँ उमेरसँगसँगै बाँझोपन हुने समस्या बढ्दै जान्छ भन्छौं । वैदेसिक रोजगारीमा गएर आउनुभएका पुरुषहरुमा एउटा बच्चा पहिल्यै भइसकेको र एउटा बच्चा भएपछि विदेश जानुभयो, फर्केर आउनुभयो, बच्चा नै नबस्ने हुन्छ । सेवा लिन आउनुहुनेहरु भौँतारीनुपर्ने अवस्था पनि छ । सातवटै प्रदेशमा निःसन्तानपन क्लिनिक शुरु गर्ने भन्ने सरकारको योजनामा पनि छ । निःसन्तानपनको उपचार गर्न अलिक समय लाग्छ । निःसन्तान कसरी हुन्छ भनेर शुरुमा त जनचेतना जगाउन आवश्यक पर्छ जस्तो लाग्छ ।’
बाँझोपन पछिल्लो केही वर्षयता सरकारको प्राथमिकतामा परेपनि यसको निराकरणका लागि संवद्ध निकायहरुले बन्न नसकेको चिकित्सकहरु बताउँछन् ।