विदेशी नक्कली शैक्षिक प्रमाणपत्रको समकक्षता- के भन्छ पाठ्यक्रम विकास केन्द्र ?
काठमाडौं । प्रविणता प्रमाण पत्र तहको नक्कली प्रमाणपत्र पेश गरेर एमबीबीएस अध्ययन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार संघीय सांसदसमेत रहेका सुनिल शर्मालाई पक्राउ गरेको छ ।
यसरी नै एमबीबीएस अध्ययन गरेर पछि डाक्टर बनाएका अरुलाई पनि सीआईबीले धमाधम पक्राउ गरिरहेको छ । उनीहरूले भारतबाट प्रविणता प्रमाणपत्र तह अध्ययन गरेको भन्दै शैक्षिक प्रमाणपत्र पेश गरेर माथिल्लो तहको अध्ययन गरेको सीआईबीको भनाइ छ ।
एमबीबीएस अध्ययनका लागि उच्च अंक प्राप्त गरेको देखाउन प्रविणता प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र बनाएको आरोप उनिहरूमाथि छ ।
विदेशी विश्वविद्यालयले जारी गरेका शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खान वा नेपाल वा विदेशमा थप अध्ययन गर्न पाठ्यक्रम विकास केन्द्रले समक्षकता प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
त्यसका लागि विदेशी शैक्षिक प्रमाणपत्र लगेर पाठ्यक्रम विकास केन्द्रमा समकक्षताका लागि निवेदन दिइन्छ ।
पाठ्यक्रम विकास केन्द्रले प्रमाणपत्रबारे छानबिन राम्रोसँग गर्ने हो भने सक्कली-नक्कली त्यहीँ छुटिन्छ । तर, केन्द्रका निर्देशक पारशमणि यादव शैक्षिक प्रमाणपत्र सक्कली कि नक्कली भनेर छुट्याउने काम आफ्नो क्षेत्राधिकार भित्र नभएको बताउँछन् ।
‘हामी शैक्षिक प्रमाणपत्रहरू नक्कली कि सक्कली भनेर छुट्याउनै सक्दैनौं । त्यसैले समकक्षता प्रमाणपत्रको अन्तिममा झुटा ठहरिए आफैं जिम्मेवार हुनुपर्ने भनेर लेखिदिएका हुन्छौं’, निर्देशक यादवले भने ।
उनले शैक्षिक प्रमाणपत्र सक्कली/नक्कली भनेर छुट्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको बताए । यादवले अत्यन्तै शंका लागेमा मात्र सम्बन्धित विश्वविधालयसँग बुझ्ने गरेको बताए ।
‘कतिपय प्राविधिक विषयमै समस्या देखियो भने हामी रोकेर सम्बन्धित विश्वविधालयमा बुझ्ने गर्छौँ’, उनी भन्छन् ।
विदेशी विश्वविधालयसँग भेरिफाई गर्दा शुल्क लाग्ने र रेस्पन्स पनि नगर्ने कारणले गर्दा सक्कली कि नक्कली भनेर छुट्याउन केन्द्रले नसक्ने उनको यादवले बताए ।
‘हामीले धेरैपटक पत्राचार र इमेल गरेपनि विश्वविद्यालयले जवाफ नफर्काएका धेरै घटनाहरु छन्’, उनले भने ।
नक्कली शैक्षिक प्रमाणको समक्षकता निकालेर त्यसकै आधारमा वर्षौँसम्म सरकारी जागिर खाने अवस्था देखिएको प्रश्नमा यादवले झुटा ठहरिए सजाय हुने कानूनी व्यवस्था रहेको बताए । दैनिक ६० देखि सयवटा विदेशी प्रमाणपत्रको समकक्षता प्रदान भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
पाठ्यक्रम नै विदेशी नक्कल गरेर बनाइएकोमा चै के सजाय हुन्छ ? नेपालका विध्यालयहरूको पाठ्यक्रम नेपाली हावापानी, स्थानियको अावस्यकता, नेपाली माैलिकता लगायत रोजगारीमा अाधारित पाठ्यक्रम हु पर्ने हो । भारतमा अंग्रेजहरूले लादेर गएको नाैकर मनोबृत्तिको पाठ्यक्रमको नक्कल गरेर हुबहु त्यस्तै प्रकारको पाठ्यक्रमलाइ समयमा नै परिवर्तन गरी स्थानियहरूको दैदिनी अावस्यकतामा अाधारित पाठ्यक्रम विकास गरेर लागु गरिनु अत्यावस्यक भै सकेको छ ।