जनताको बहुदलीय जनवाद र विचारभन्दा माथि देश – Nepal Press

जनताको बहुदलीय जनवाद र विचारभन्दा माथि देश

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस विचारभन्दा माथि देश मान्ने पार्टी नभएको भनी टिप्पणी गरेपछि एउटा रोचक बहस छेडिएको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो राजावादी तर्कलाई बलियो बनाउन नारा स्वरुप विचारभन्दा माथि देश प्रयोग गरेको पाइन्छ । उनले पछि गएर त्यसै नाममा किताब पनि निकाले, जसको प्रमुख उद्देश्य राजसंस्थाका पक्षमा राय निर्माण गर्नु थियो भन्नेमा दुई मत छैन । गगन थापाले टिप्पणी गरेको एक दिन ढिला गरी रवीन्द्र मिश्रले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत जवाफ फर्काएका छन् । यसै सेरोफेरोमा विचारभन्दा माथि देश कि देशभन्दा माथि विचारको बहस झन् पेचिलो बनेको छ । के साँच्चिनै विचारभन्दा माथि देश भन्नु रवीन्द्र मिश्रले प्रस्ताव गरेको जस्तै राजसंस्था पुनःस्थापना गर्नु हो ? के साँच्चै नै गगन थापाले इंगित गरेको जस्तै देशभन्दा विचार ठूलो हो त ?

रवीन्द्र मिश्रले बारम्बार बीपी कोइरालाको मेलमिलापको नीतिलाई बीपी नेपालमा राजसंस्थाको पक्षमा थिए भन्ने तर्कको रुपमा प्रस्तुत गर्ने गरेका छन् । गगन थापालाई लेखिएको खुलापत्रमा पनि उनले यसलाई छुटाएका छैनन् । सामान्यतः कम्युनिष्ट विचारधारामा विश्वास गर्नेहरू वंशमा आधारित राजसंस्था या अन्य कुनै पनि राज्य व्यवस्थामा विश्वास गर्दैनन् । यो बुझाइका बावजुद पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादी चरित्र देखेर उनलाई राजसंस्थाको पक्षमा बोलाउन सकिन्छ कि भन्ने प्रयास राजावादी राय निर्माताहरूबाट नभएको होइन । तर, पछिल्लो केही महिनामा केपी ओलीले इतिहासको सम्मान गर्ने तर उत्कृष्टतामा आधारित राज्य व्यवस्थाभन्दा वंशमा आधारित राज्य व्यवस्थाको पक्षमा आफू र आफ्नो पार्टी सहमत हुन नसक्ने पुष्टि गरिसकेपछि रवीन्द्र मिश्रलगायतका राजावादीहरुसँग कांग्रेसबाहेकको विकल्प नरहेको भान हुन्छ । सायद त्यसैले पछिल्लो चरणमा उनीहरू कांग्रेसमाथि भावनात्मक दबाब सृजना गरिरहेका छन् । यही बुझेर हुनुपर्छ, गगन थापाले कांग्रेस विचारभन्दा माथि देश मान्ने पार्टी होइन भनेको ।

कांग्रेस अहिले विचारको खडेरीमा छ । बीपीले भनेको प्रजातान्त्रिक समाजवाद विधानमा भए पनि कार्यक्रम र व्यवहारतः कांग्रेसले छोडिसकेको भन्नेमा दुई मत छैन । नवउदारवादको चरणमा कांग्रेस पार्टी हिँडिसकेको छ । यो सही हो कि गलत, त्यो निर्णय कांग्रेसको सम्बन्धित समितिले गर्ला । त्यो बहसको विषय हो । हालै सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकले नीति अधिवेशनको साटो महासमितिमार्फत पार्टीको नीति सिद्घान्तसँग जोडिएका विषयहरू टुंग्याउने निर्णय गरेको छ । फेरि नीति महाधिवेशन नगर्ने निर्णय लोकतान्त्रिक पार्टीका लागि सही हो कि होइन ? त्यो त्यसै पार्टीका सदस्यहरूमाझ बहसको विषय हो । तर, कांग्रेसका महामन्त्री गगन थापाले एउटा कुरा के प्रस्ट पारे भने हिजो कम्युनिष्टहरूसँगको लडाइँमा देशभित्रकै एउटा शक्ति राजतन्त्रसँग मिल्न जरुरी थियो । तर, अब कांग्रेस राजसंस्थाको पक्षमा छैन ।

कांग्रेस अहिले विचारको खडेरीमा छ । बीपीले भनेको प्रजातान्त्रिक समाजवाद विधानमा भए पनि कार्यक्रम र व्यवहारतः कांग्रेसले छोडिसकेको भन्नेमा दुई मत छैन । नवउदारवादको चरणमा कांग्रेस पार्टी हिँडिसकेको छ । यो सही हो कि गलत, त्यो निर्णय कांग्रेसको सम्बन्धित समितिले गर्ला ।

मेरो विचारमा विचारभन्दा माथि देश भन्नु देशलाई सर्वोपरि राखेर विचारको निर्माण हुनुपर्छ भन्ने हो । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले एक गहन प्रश्न गरेका थिए- सिद्घान्तका लागि जीवन कि जीवनका लागि सिद्वान्त ? र, उत्तर थियो- जीवनका लागि सिद्घान्त चाहिने हो । सिद्घान्तले मानिसको जीवनलाई सहज बनाउँदैन भने त्यस्तो सिद्घान्तको काम छैन । जनताको बहुदलीय जनवाद, त्यसैको स्वरुप थियो र आज नेकपा एमालेको मार्गदर्शक सिद्घान्तका रुपमा रहेको छ । सायद नेपालका सन्दर्भमा विचारभन्दा माथि देशको योभन्दा सुन्दर नमुना अरु कुनै हुन सक्दैन । देश सान्दर्भिक विचार निर्माण नै विचारभन्दा माथि देशको सही व्याख्या हुन आउँछ ।

विचारको रचनात्मक प्रयोग गर्न सक्नु नै एउटा राजनेतामा हुने गुण हो । सोभियत संघको अवसानपछि मार्क्सवादी आन्दोलन विश्व राजनीतिमा नै पछि धकेलिएको देखिन्छ । गतिशीलता र माटो सुहाउँदो वैचारिक परिमार्जन गर्न नसक्नु नै मार्क्सवादी आन्दोलनका अभियन्ताहरूको गल्ती भएको देखिन्छ । भ्लादिमिर लेनिनले मार्क्सले परिकल्पना गरेको समाजवादी राज्य संगठनात्मक हिसाबले स्थापना गरेका थिए । माओले चीनमा साम्राज्यवादका विरुद्घ एकीकृत मोर्चा निर्माण गरे । साथै औद्योगिक श्रमिकको अभावमा उनले किसानहरूको साथ लिएर समाजवादी राज्य स्थापना गरे । क्युबा र भियतनामको आफ्नै मौलिक शैली छ । पूँजीवादी मुलुकहरू पनि समाजवादका कतिपय राम्रा पक्षलाई अँगालेर अघि बढेका छन् । सामाजिक सुरक्षा कोष, स्वास्थ्य बीमा, निःशुल्क शिक्षा केही उदाहरण हुन् । चीन आफैंले पनि पूँजीवादका कतिपय राम्रा पक्षहरूलाई आफ्ना नीतिहरूमा समेटेको छ । राज्य निर्देशित निजी क्षेत्रलाई व्यापारमा प्रोत्साहन, स्टक मार्केटको अवधारणाहरू उदाहरणको रुपमा हेर्न सकिन्छ ।

कुनै पनि देश विचारको जडसूत्रतामा बाँधिएर प्रगति गरेको उदाहारण छैन । गतिशीलता नै प्रगतिको आधार हो । कम्युनिष्ट आन्दोलनमा लोकतान्त्रिक पाटोको प्रयोग विश्व राजनीतिमा हुन सकेको थिएन । तर, नेपालको मौलिकता सुहाउँदो प्रयोग गर्न जननेता मदन भण्डारी सफल भए । त्यसकै स्वरुप हो- आजको बलियो र देशकै ठूलो राष्ट्रिय शक्ति नेकपा एमाले । उनले प्रतिपादन गरेको जबजका १४ विशेषताहरू यसप्रकार छन्:

१.संविधानको सर्वोच्चता : कुनै पनि वर्ग, व्यक्ति, संस्था वा पार्टी संविधानभन्दा माथि हुन सक्दैन । समाजको निरन्तर प्रगतिलाई संविधानले निकास दिन सक्नुपर्दछ ।

२. बहुलवादी खुला समाज : प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने, बोल्ने तथा आफ्ना अनुभूतिहरू अभिव्यक्त गर्ने स्वतन्त्रता हुनुपर्दछ । बाहिरी दुनियाँबाट अलग, बन्द र एकोहोरो समाज हुनुहँदैन ।

३. शक्ति पृथकीकरणको सिद्धान्त : शक्ति व्यक्तिको हातमा मात्र होइन, संस्थाको हातमा पनि अति केन्द्रीकरण हुनुहुँदैन । एउटै संस्था कार्यकारी, विधायकी र न्यायिक अधिकार प्रयोग गर्ने केन्द्रीय शक्ति हुनुहुँदैन ।

४. मानव अधिकारको रक्षा : साँचो अर्थमा कम्युनिष्टहरू नै मानव अधिकारको सबैभन्दा दृढ योद्धा हुन् र हुनसक्छन् । मानव अधिकारको रक्षा कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण तत्व हो र हुनुपर्दछ ।

कुनै पनि देश विचारको जडसूत्रतामा बाँधिएर प्रगति गरेको उदाहारण छैन । गतिशीलता नै प्रगतिको आधार हो । कम्युनिष्ट आन्दोलनमा लोकतान्त्रिक पाटोको प्रयोग विश्व राजनीतिमा हुन सकेको थिएन । तर, नेपालको मौलिकता सुहाउँदो प्रयोग गर्न जननेता मदन भण्डारी सफल भए । त्यसकै स्वरुप हो- आजको बलियो र देशकै ठूलो राष्ट्रिय शक्ति नेकपा एमाले ।

५. बहुदलीय प्रतिस्पर्धा प्रणाली : राज्य र त्यसका राजकीय निकायहरू सम्पूर्ण जनताको चासो र सरोकारका विषय हुन् । त्यसमा एउटामात्र पार्टीको एकाधिकार हुनुहुँदैन । वर्गीय विविधता भएको समाजमा अनेक राजनीतिक पार्टीहरू हुन सक्दछन् । तिनलाई संविधानबमोजिम राजनीतिक प्रतिस्पर्धा गर्ने स्वतन्त्रता दिनुपर्दछ ।

६. आवधिक निर्वाचन : जनताले एकपटक गरेको निर्णय संधैको निम्ति शाश्वत हुन सक्दैनन् । निर्वाचन विचार, कार्यक्रम र नीतिहरूको आधारमा निश्चित अवधिमा हुनुपर्दछ । एउटै नीति र कार्यक्रमभित्र व्यक्तिमात्र रोज्न पाउने व्यवस्था सारतत्वमा लोकतान्त्रिक हुन सक्दैन ।

७. बहुमतको सरकार र अल्पमतको विपक्ष : बहुदलीय पद्धतिको मूलतत्व संगठित प्रतिस्पर्धा हो । अर्को मूल तत्व बहुमतको सरकार र अल्पमतको विपक्ष हुने संवैधानिक व्यवस्था हो । सरकारको विपक्षमा वैधानिक रूपमा काम गर्न पाउने प्रणाली लोकतान्त्रिक प्रणाली हो ।

८. कानूनको शासन : कुनै पनि व्यक्तिमाथि कानूनअनुसार अधिकार प्राप्त निकायको औपचारिक निर्णयबाट मात्र दण्डित गर्न सकिने व्यवस्था । सरकार र शक्ति हातमा भएको कुनै पनि निकाय वा व्यक्तिले स्वेच्छाचारी ढंगले काम गर्न पाउने छैनन् र ती सबै प्रचलित कानूनअनुसार गरिने छन् ।

९. जनताको जनवादी व्यवस्थाको सुदृढीकरण : जनताको जनवादी व्यवस्था अपेक्षाकृत लामो समयसम्म रहने सामाजिक व्यवस्था भएको हुनाले यसलाई चरणवद्ध रूपमा अगाडि बढाइने छ ।

पहिलो चरण : पुरानो व्यवस्थाका शोषणका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने ।

दोस्रो चरण : नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने ।

तेस्रो चरण : समाजवादमा संक्रमणको निम्ति केन्द्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने ।

१०. विदेशी पूँजी र प्रविधि : वैदेशिक पूँजी र प्रविधिको सवालमा नीतिगत रूपमा ढोका बन्द गरिने छैन । संविधान र ऐन-कानूनको सीमाभित्र राष्ट्रिय हितलाई ख्याल राखेर वैदेशिक पूँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग गरिने छ ।

गतिशीलतामा विश्वास नगर्नेहरू, माटो सुहाउँदो विचारको परिमार्जन नस्वीकार्नेहरू राजनीतिक मैदानमा आज केवल दर्शकका रुपमा सीमित रहेका छन् । अनीति, सिद्धान्तको धरातललाई तिरस्कार गरेर राजनीति अघि बढाउन खोज्नेहरू आफ्नो अस्तित्व रक्षाका लागि विभिन्न शक्तिहरूसँग सम्झौता गर्न बाध्य छन् ।

११. क्षतिपूर्ति : नयाँ समाजको निर्माणमा सकारात्मक योगदान गर्न नचाहने र त्यसको विरोध र ध्वंसमा लाग्ने सामन्ती जमिनदारबाहेक अरूलाई जमिनको क्षतिपूर्ति दिइनेछ । क्षतिपूर्तिलाई उद्योग, व्यापार र व्यवसायतर्फ स्थानान्तरित गराउने नीति लिइने छ ।

१२. विदेश नीति : पञ्चशीलको सिद्धान्तअनुरूप वैदेशिक सम्बन्ध कायम गरिने । आफ्नै प्रत्यक्ष पहलबाट अन्तर्राष्ट्रिय समर्थन जुटाउने । क्रान्ति र निर्माणको ठोस व्यवहारिक विषयलाई बेवास्ता गरेर केवल सैद्धान्तिक आग्रहबाट मात्र वैदेशिक नीति निरुपित नहुने ।

१३. नेतृत्व र अधिनायकत्व : सेवा, पहलकदमी र प्रतिस्पर्धाद्वारा नेतृत्व प्राप्त गर्ने । अधिनायकत्व शब्दको सट्टा आम रूपमा जनताको जनवादी राज्यसत्ता शब्दको प्रयोग गर्ने ।

१४. जनताको बहुदलीय जनवाद : यो नेपाली सन्दर्भको नयाँ जनवाद हो । नयाँ जनवादी क्रान्तिको सारतत्व र यस कार्यक्रममा थप १४ विशेषतालाई व्यक्त गर्ने गरी जनताको बहुदलीय जनवाद नामकरण गरिएको हो ।

गतिशीलतामा विश्वास नगर्नेहरू, माटो सुहाउँदो विचारको परिमार्जन नस्वीकार्नेहरू राजनीतिक मैदानमा आज केवल दर्शकका रुपमा सीमित रहेका छन् । अनीति, सिद्धान्तको धरातललाई तिरस्कार गरेर राजनीति अघि बढाउन खोज्नेहरू आफ्नो अस्तित्व रक्षाका लागि विभिन्न शक्तिहरूसँग सम्झौता गर्न बाध्य छन् । न गगन थापाले भने जस्तो देशभन्दा विचार ठूलो हो न त रवीन्द्र मिश्रले भने जस्तो विचारभन्दा माथि देशको आडमा राजसंस्था पुनःस्थापना राय निर्माण गर्नु हो । विचारभन्दा माथि देश भनेको त राष्ट्रको मौलिकतासँग विचारको निर्माण र परिमार्जन हो ।


प्रतिक्रिया

One thought on “जनताको बहुदलीय जनवाद र विचारभन्दा माथि देश

  1. मिश्रआफैले नगरेकाे व्याख्या हजुरबाट आयाे । बहुदलीय जनबाद कुनै नयाँ सिध्दान्त हाेइन। जर्मनमा डिट्टाेले संशलेषण गरेकाे धारणालाई मदनले कार्यक्रम मात्र बनाउन खाेजेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *