ओलीको टिप्पणी- प्रधानमन्त्रीले पाकिस्तानी मोडेलको राजनीति थाल्नुभयो, यसको अन्त्य यहीँ हुँदैन (भिडिओ) – Nepal Press

ओलीको टिप्पणी- प्रधानमन्त्रीले पाकिस्तानी मोडेलको राजनीति थाल्नुभयो, यसको अन्त्य यहीँ हुँदैन (भिडिओ)

‘सरकारका मान्छेको विरोध गर्नेलाई सुनिल शर्माजस्तै हतकडी लगाएर उहिल्यै स्कुलमा चिट चोरेका अभियोग लगाउनेसम्मका तयारी छन्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पाकिस्तानी मोडेलको राजनीति शुरु गरेको भन्दै यसको अन्त्य यहाँ नहुने टिप्पणी गरेका छन् ।

गुरु प्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस सांसद सुनिल शर्माको गिरफ्तारी पाकिस्तानी मोडेलको राजनीतिको पछिल्लो रूप देखिएको बताए ।

ओलीले भने- मैले हिजो प्रधानमन्त्रीलाई पनि भनेको छु, तपाईँहरूले पाकिस्तानी मोडेलको राजनीति शुरु गर्नुभयो, यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन भनेर मैले भनेको छु । सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गरिएको छ । यो भन्दा नांगो नाच के हुन सक्छ ?

अध्यक्ष ओलीले सुनिल शर्माको गिरफ्तारी सामान्य घटना नभएको भन्दै विरोधमा बोल्नेलाई हतकडी लगाउने राजनीतिक प्रचण्ड र नारायणकाजी श्रेष्ठले शुरु गरेको बताए । उनले यो शुरुआतमात्र भएको भन्दै यसले गम्भीर मोड लिन बाँकी रहेको दावी गरे ।

ओलीले भने- सुनिल शर्माले के गरेका थिए ? सुन तस्करीको उच्चस्तरीय छानबिन होस, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा हतकडी लिएर उनको घरमा पठाइयो । यो के हो भने, हाम्रो विरोधमा कोही बोल्छ भने सुनिल शर्मा बनाउँछौ भनेको हो ।

स्कुल पढ्दा साथीको चिट चोरेको, प्रमाणपत्र केरमेट भएको जस्ता कुरा समेत उठाएर विरोधीलाई ठेगान लगाउने खेल शुरु भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर