‘लेफ्ट राइट’ : नेपालको सत्ता संघर्षमा भारत, चीन र अमेरिकाको दाउपेच – Nepal Press
पुस्तक चर्चा

‘लेफ्ट राइट’ : नेपालको सत्ता संघर्षमा भारत, चीन र अमेरिकाको दाउपेच

नेपाली राजनैतिक घटनाक्रम कुनै बेला अनपेक्षित रुपमा अघि बढ्ने गरेको र कुनै बेला कछुवा गति पनि चल्न नसक्ने गरेको हामीले पाइरहेका छौं । एमाले र माओवादीबीच चुनावी तालमेल हुँदै एकतासम्मको अवस्था होस् या एकतापछि देखिएका अन्तरविरोध र शक्ति संघर्षदेखि नेकपा विभाजन हुँदै एमाले विभाजनसम्म भारत, चीन र अमेरिकाको खेल नेत्र पन्थीले ‘लेफ्ट राइट’मा उल्लेख गरेका छन् ।

डेढ दशक अघिदेखि पत्रकारितामा सक्रिय पन्थीले पुस्तकमा सत्ता र शक्तिका लागि उठेका नियत, नियति र नैतिकताका प्रश्नहरू पनि उजागर गरेका छन् । राजनैतिक दलका नेताहरू एउटा एजेन्डामा र विषयमा पनि कसरी विभक्त भइरहेका छन् भन्ने विषय ‘लेफ्ट राइट’मा सविस्तार वर्णन गरिएको छ ।

एमालेको सहयोगमा प्रधानमन्त्री भएका प्रचण्ड १ महिनाभित्रै कांग्रेससँगको गठबन्धनमा कसरी जोडिन पुगे भन्ने विषय पनि रोचक ढंगले प्रस्तुत गरिएको छ । ‘कांग्रेसले धोका दिएपछि बालकोट गएर प्रचण्ड प्रधानमन्त्री भएको ३७औं दिन थियो । २०७९ माघ १७ मा प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गोप्य सम्झौता भयो । राष्ट्रपति कांग्रेसले पाउने तीन वर्ष प्रचण्डले सरकार सञ्चालन गर्ने र दुई वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्ने’ पुस्तकमा भनिएको छ, ‘डिनरसहित मध्यरातमा भएको सहमतिको साक्षी प्रचण्ड पुत्री गङ्गा र देउवा पत्नी आरजु थिइन् । गोप्य राख्न त्यो सहमतिलाई हस्तलिखित गरियो । त्यसमा प्रधानमन्त्री र देउवाले हस्ताक्षर गरे ।’

माघ १७ गते भएको सहमति पुस्तकमार्फत पहिलो पटक खुलासा गरेको लेखकले दाबी गरेका छन् । प्रचण्ड प्रधानमन्त्री भइसकेपछि उपयुक्त समयमा पाँच दलीय गठबन्धन ब्युँताउने र सम्भव नभए प्रचण्डको विकल्प खोज्नेसम्मको कोर्स अगाडि बढाउने दिल्लीको मार्गचित्र थियो । दिल्ली प्रचण्ड र बेइजिङ नजिक नहोस् भन्नेमा सचेत थियो । आफ्नो खेमाबाट प्रचण्डलाई बालकोट पुर्‍याएकोमा देउवा ओलीसँग रुष्ट थिए । दिल्ली र देउवाको स्वार्थ मिलेपछि एमालेसँग मिलिसकेको माओवादीको गठबन्धन टिक्न भने सकेन ।

एमालेसँग प्रचण्डले आफू प्रधानमन्त्री भए पनि राष्ट्रपति एमालेलाई दिने गरी गरेको भद्र सहमति अमेरिका र भारतको दबाबमा पुरा गर्न नसकेको पुस्तकमा उल्लेख छ । गैरकम्युनिष्ट राष्ट्रपति खोजिरहेका अमेरिका र भारतको दबाब पनि प्रचण्डमाथि थियो ।

एमालेसँग प्रचण्डले आफू प्रधानमन्त्री भए पनि राष्ट्रपति एमालेलाई दिने गरी गरेको भद्र सहमति अमेरिका र भारतको दबाबमा पुरा गर्न नसकेको पुस्तकमा उल्लेख छ । गैरकम्युनिष्ट राष्ट्रपति खोजिरहेका अमेरिका र भारतको दबाब पनि प्रचण्डमाथि थियो । पुस्तकमा राष्ट्रपतिको लागि भारतको पहिलो रोजाइ महन्त ठाकुर थिए भन्ने सङ्केत गरिएको छ ।

‘प्रचण्डले महन्तको नाममा अन्तर्राष्ट्रिय चर्चा छ भन्नुको उद्देश्य उनलाई दिल्लीले राष्ट्रपति बनाउन चाहेको अर्थमा भनेका थिए’, पुस्तकमा भनिएको छ, ‘उच्च राजनैतिक वृत्तमा महन्त राष्ट्रपतिको लागि दिल्लीका पात्र हुन् भन्ने पनि सन्देश थियो । प्रचण्डले ओलीले आफूलाई काम गर्न सकस पु¥याइरहेको भन्दै अर्काे गठबन्धनको तयारीमा थिए ।’

२०७९ पुस १० मा प्रचण्डको सरकार गठनदेखि राष्ट्रपति निर्वाचन फागुन २६ गतेसम्म अमेरिकी पक्षबाट श्रृंखलाबद्ध भ्रमण भएको उल्लेख गरिएको छ । प्रचण्डको छवि एक क्रान्तिकारी माओवादी नेताबाट संसदीय राजनीतिको चतुर खेलाडी कसरी बने भन्ने कुरा रोचक ढंगले पुस्तकमा प्रस्तुत गरिएको छ ।

प्रचण्डको पहिलो घेरामा परिवार, दोस्रोमा दलाल नोकरशाह र नवधनाढ्य, तेस्रोमा व्यापारी-उद्योगी र अन्तिममा पार्टीभित्रका नेता कार्यकर्ता राखेर त्यहीअनुसारको व्यवहार गरेको विषय पुस्तकमा उल्लेख छ । एमसीसीमा नेपाली नेताहरूलाई अमेरिकाले थेग्नै नसक्नेगरी दबाब दिएको र अमेरिकी दबाबपछि नेताहरूले आत्मसमर्पण गरेको लेखकको बुझाइ पुस्तकमा उतारेका छन् ।

चीन वाम गठबन्धन जोगाउने खेलमा लागेको तर कांग्रेस र भारत भत्काउने खेलमा लागेको लेखकको विश्लेषण छ । कृष्णबहादुर महरा र वर्षमान पुनले विमलेन्द्र निधि र रमेश लेखकलाई चुनाव रोकेर वाम गठबन्धन तोड्न सकिने सुझाव दिएको पनि पुस्तकमा खुलासा गरिएको छ । पछि गठबन्धनमात्रै भएन, एमाले र माओवादी एकता पनि भयो । तर, एकता अघि र पछिका शक्ति संघर्ष पनि पुस्तकमा अध्ययन गर्न पाइन्छ । सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि ओलीले लेखराज भट्टलाई सभामुख बनाउने चाहना राखेका थिए । तर, त्यो पूरा भएन ।

नेकपामा नेताहरूको लिखित युद्धबारे पनि प्रस्ट पारिएको छ । पाँच भाइको जवाफी हमला, प्रचण्डको दोस्रो पत्र, ओली हटाउने राजनैतिक प्रस्ताव, क्रिया, प्रतिक्रिया र अन्तरक्रियाका फेरिस्त छन् । दुई अध्यक्षका अलग अलग लिखित प्रस्ताव पार्टी विभाजनको लागि औपचारिक प्रस्थान विन्दू थिए । प्रचण्डको आरोप र ओलीको प्रत्यारोपले उनीहरुबीचको अप्राकृतिक र स्वार्थको सम्बन्ध सतहमा ल्याइलियो ।

चीन वाम गठबन्धन जोगाउने खेलमा लागेको तर कांग्रेस र भारत भत्काउने खेलमा लागेको लेखकको विश्लेषण छ । कृष्णबहादुर महरा र वर्षमान पुनले विमलेन्द्र निधि र रमेश लेखकलाई चुनाव रोकेर वाम गठबन्धन तोड्न सकिने सुझाव दिएको पनि पुस्तकमा खुलासा गरिएको छ ।

योबीचमा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता साझेदारी गर्ने र चुनावसम्मै जाने तयारी गरेको तर, कांग्रेसका अन्य नेताले नमानेपछि त्यो प्रयास अघि बढ्न नसकेको पनि पुस्तकमा सेमटिएको छ । पुस्तकमा त्यसपछि उत्पन्न घटनाक्रम, संसद विघटनदेखि पार्टी विभाजनसम्मका विषयवस्तुहरू छन् ।

लेखकले नेकपा भारत र अमेरिकाको विषय पनि सूक्ष्म ढंगले विश्लेषण गरेका छन् । पुस्तकमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सन्तकुमार गोयलले ओलीसँग भेटेर तीन महत्त्वपूर्ण मौखिक सहमति गरेको उल्लेख छ:

१) भारतविरोधी र चीनसँग निकट हुने नीति र छवि ओलीले पुनरावलोकन र सुधार गर्ने,

२) ओलीले चाल्ने राजनैतिक कदमको भारतले समर्थन गर्ने वा मौन समर्थन गर्ने, चुनावसम्म ओलीकै सरकार कायम राख्न गरिने प्रयत्नलाई सहयोग पुर्‍याउने र

३) ओली सरकारले भारतीय चासो र सरोकारको यथोचित सम्बोधन गर्ने ।

ओली-गोयलबीचको यही सहमतिअनुरूप तत्कालीन जनता समाजवादी पार्टीका महन्त ठाकुर-राजेन्द्र महतो समूहलाई विश्वासमा लिई ओलीको मन्त्रिमण्डलमा सामेल गर्न गराउन भारतले उल्लेख्य भूमिका खेलेको उल्लेख छ । कम्युनिष्ट पार्टीलाई नियन्त्रित अस्थिरताको अवधारणाअनुरूप भारतको रणनीतिसमेत रहेको सङ्केत पुस्तकमा दिइएको छ ।

‘गोयलले ओलीलाई उकास्न मीठो बचन दिएको हुन सक्थे । समानान्तर रुपमा उनीहरुको उद्देश्य ओलीलाई नै कमजोर पार्नु पनि हुन सक्थ्यो’, पुस्तकमा लेखिएको छ ।

नेकपाभित्र चीनको चालबारे पनि पुस्तकमा उल्लेख छ । ‘चिनियाँ पक्षको बुझाइ ओलीको विकल्पमा माधव नेपाल वा वामदेव गौतम हुन सक्दैनन् भन्ने थियो । चिनियाँ पक्षले ओलीको विकल्पमा प्रचण्डलाई चाहन्थ्यो । यता प्रचण्ड-माधव समूहले भने भावी प्रधानमन्त्रीको रुपमा माधव नेपालको नाम चर्चामा ल्याएको थियो । प्रचण्ड प्रधानमन्त्री नहुने भए माधव नेपाल र वामदेवभन्दा ओली नै ठीक भन्ने बुझाइ चिनियाँ पक्षको थियो’, पुस्तकमा लेखिएको छ ।

‘झलनाथलाई प्रधानमन्त्री बनाउँदा, संविधान जारी गर्दा र ओलीलाई प्रधानमन्त्री बनाउँदा प्रचण्डले भारतलाई छक्काएर जितेका थिए’, पुस्तकमा भनिएको छ, ‘तर ओलीले आफू प्रधानमन्त्री भएपछि प्रचण्डको भूमिका र महत्वलाई कम आँक्ने गरे । प्रचण्डलाई त्यो मनपरेको थिएन ।’

प्रधानसेनापति प्रकरणमा राष्ट्रपति रामवरण यादवसँग सोझै सम्पर्क गर्न सक्ने भारतीय राजदूत राकेश सुदले कटवाल प्रकरणमा प्रचण्ड सरकारको निर्णय अस्वीकार गर्न ठाडो निर्देशन दिएको विषय उल्लेख गरिएको छ । त्यसपछि प्रचण्डले राजीनामा दिएको उक्त राजीनामा बाबुराम भट्टराईले लेखेको, राजीनामा दिनुभन्दा पहिले भारतीय विदेशमन्त्री प्रणव मुखर्जीसँग कुरा गर्न खोजेको तर, मुखर्जीले अनिश्चितता देखाएको पनि पुस्तकमा छ ।

‘झलनाथलाई प्रधानमन्त्री बनाउँदा, संविधान जारी गर्दा र ओलीलाई प्रधानमन्त्री बनाउँदा प्रचण्डले भारतलाई छक्काएर जितेका थिए’, पुस्तकमा भनिएको छ, ‘तर ओलीले आफू प्रधानमन्त्री भएपछि प्रचण्डको भूमिका र महत्वलाई कम आँक्ने गरे । प्रचण्डलाई त्यो मनपरेको थिएन ।’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियुक्त गर्नुभन्दा अघि प्रधानमन्त्री केपी शर्मा ओलीले घण्टौंसम्म संवाद गरेको र एक-अर्कालाई कुनै अप्ठेरो नपार्ने र सकेसम्म सहयोग गर्ने एक-अर्काले प्रतिबद्धता जनाएको पुस्तकमा उल्लेख छ । ओलीको सेटिङमा रहेको आरोप लागेका जबरा संवैधानिक इजलासमा अल्पमतमा परेपछि त्यो अवसरलाई विपक्षी गठबन्धनतर्फ बार्गेनिङको हतियार बनाएको र शेरबहादुर, प्रचण्ड र माधवलाई स्वयं जबराले मागदाबीअनुसारको परमादेशसहित संसद पुनःस्थापना हुनेमात्रै होइन नयाँ मन्त्रिपरिषद्का लागि पात्रहरू खोज्नेसम्मको सूचना दिएको लेखकले खुलासा गरेका छन् ।

प्रचण्ड चितवनबाट गोरखा जानुका कारण उल्लेख गर्दै भनिएको छ, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध रवि लामिछाने वा दिनेश कोइरालामध्ये एक जनालाई उम्मेदवार बनाउन सक्ने सूचना प्रचण्डसँग थियो । त्योभन्दा ठूलो डर उनलाई आफूविरुद्ध अमेरिका, युरोपियन युनियन र भारतीय पक्षले हराउन भूमिका खेल्न सक्ने सूचना थियो । त्यसैमाथि गृहमन्त्री बालकृष्ण खाणले चुनाव हार्न सकिने रिपोर्ट प्रचण्डलाई दिएका थिए ।’

भारत नयाँ संविधानमा मधेसको मुद्दा छुटेकोभन्दा बढी चिन्तित हिन्दू राज्य नलेखेकोमा थियो । त्यसपछि प्रचण्ड थुप्रै धार्मिक कार्यक्रमहरूमा देखिन थाले । पुस्तकमा परिवारवादलाई प्रचण्डले गरिरहेको प्रश्रय पनि उल्लेख गरिएको छ । प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्दा परिवारभित्रकै बहुकेन्द्र सतहमा आउन थालेको थियो । दिदी रेणु र भाइ प्रकाशबीच केही दूरी थियो । प्रकाश प्रधानमन्त्रीका स्वकीय सचिव थिए । रेणुको हैसियत पूर्वसांसदको थियो र प्रकाश वीनालाई अघि बढाउन चाहन्थे । अर्की दिदी गङ्गा र भिनाजु जीवनसँग पनि प्रकाशको सम्बन्ध घनिष्ठ थिएन ।

पुस्तकमा भनिएको छ, ‘उनीहरुले बुवालाई प्रभावमा पार्न खोज्ने र त्यसले विवाद ल्याउने प्रकाशको बुझाइ थियो । २०७३ चैतमा देखापरेको आईजीपी काण्डमा पनि दिदीभाइको फरक मत थियो । दिदी रेणु जयबहादुर चन्दलाई आईजीपी बनाउन बाबु प्रचण्डकोमा धाइरहेकी थिइन् भने भाइ प्रकाश नवराज सिलवालको पक्षमा थिए ।’ दिदीभाइको टक्करमा वीना भने पर्दा पछाडिबाटै खेलिरहेकी थिइन् ।

प्रकाशको निधनपछि अहिले वीना र रेणुबीच प्रचण्डको उत्तराधिकारी को बन्ने भन्ने विषयमा भइरहेको विवादलाई पनि पुस्तकमा ठाउँ दिइएको छ । प्रचण्डले पारिवारिक छलफलमा जनार्दन शर्मा, वर्षमान पुन र शक्ति बस्नेतलाई उत्तराधिकारी बनाउन नचाहेको पुस्तकमा छ । ‘उनीहरूलाई आपसमा लडेको देखाएर पुराना नेतालाई साथमा लिने र उपयुक्त समय र सन्दर्भ मिलाएर नेतृत्व तेस्रो पुस्तामा अर्थात् परिवारभित्रै लैजाने रणनीति छ’, पुस्तकमा भनिएको छ, ‘प्रचण्ड परिवारको यो रणनीतिबारे शर्मा, पुन र बस्नेत जस्ता नेताहरू पनि जानकार छन् ।’

पुस्तकमा लेखकले प्रचण्डको अधुरो सपनाका रुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति रहेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *