महिलाको हत्यापछि फरार भएका शिवराम ६ वर्षपछि केन्द्रीय कारगारमै भेटिए
काठमाडौं । झन्डै ६ वर्षअघि काठमाडौंमा भएको एक हत्यामा संलग्न व्यक्ति केन्द्रीय कारागार सुन्धारामा भेटिएका छन् । तर, उनी हत्याको घटनामा सजाय पाएर जेल परेका होइनन् ।
काठमाडौंको बल्खुमा २०७४ पुस ३० गते अपरान्ह ५० वर्षीया अप्सरा भनिने नारायणी तिमल्सिना शरिरमा चोट लागेको अवस्थामा मृत भेटिएकी थिइन् । तर हत्याराको पत्तो लागेन । प्रहरीले मृतकको साथबाट बरामद भएको मोबाइलका आधारमा उनको हत्या धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थायी घर भएका ४६ वर्षीय शिवराम अधिकारीले गरेको निष्कर्ष निकालेको थियो ।
त्यसयता प्रहरीले शिवरामको खोजी गरिरहेको थियो । तर, परिवारले घटना भएको दिनदेखि शिवराम सम्पर्कबाहिर रहेको बताउँदै आएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त घटनाको फलोअप गर्दै हालै शिवरामको परिवार बस्ने घर पुगेर सोधखोज गरेको थियो ।
यस क्रममा शिवरामकी श्रीमतीको केन्द्रीय कारागारमा कसैसँग नियमित सम्पर्क भएको पाइयो । अनुसन्धानका क्रममा उनको सम्पर्कमा रहेका व्यक्ति अर्जुन अधिकारी भएको पुष्टि भयो । तर गहिरो अनुसन्धानपछि प्रहरी नै जिल्ल पर्यो । हत्या अभियुक्त शिवराम नै अर्जुन अधिकारीका नाममा जेल सजाय भोगिरहेका रहेछन् ।
प्रहरीका अनुसार पक्राउबाट जोगिनका लागि हत्यापछि शिवरामले आफ्नो परिचय फेरेका थिए । घटनापछि उनी चोरी गर्दागर्दै समातिए । प्रहरीलाई उनले आफ्नो नाम अर्जुन अधिकारी बताएका थिए । चोरी मुद्दामा अदालतले तीन वर्ष जेल सजाय सुनाएपछि शिवराम केन्द्रीय कारगारमा सजाय भुक्तान गरिरहेका छन् ।
प्रहरीका अनुसार शिवराम र अप्सरा दुवै ज्यामी काम गर्थे । आपसी विवादमा उनले अप्सराको हत्या गरेको प्रहरीको दाबी छ ।