क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सीआईबीबाटै हुनुपर्ने कांग्रेसको निष्कर्ष – Nepal Press

क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सीआईबीबाटै हुनुपर्ने कांग्रेसको निष्कर्ष

ध्यानाकर्षण । सत्तागठबन्धन प्रमुख घटक नेपाली कांग्रेसले भन्सार जाँचपासपछि बरामद भएको एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नपर्ने निष्कर्ष निकालेको छ ।

३ दिनसम्म बसेको संसदीय दल बैठकको निचोड सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले सीआईबीलगायतका सरकारी निकायले छानबिन गरिरहेकाले यसलाई पारदर्शी, गम्भीरताका साथ ठीक ढंगले निष्कर्षमा पुर्‍याउनुपर्ने बताए । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन कांग्रेस नेतृत्वमा आन्तरिक दबाब थियो ।

सरकारका महत्वपूर्ण निकायको निगरानी हुने ठाउँमा सुन तस्करीजस्ता गैरकानूनी कार्य भइरहेकोप्रति कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

‘सरकारका महत्वपूर्ण निकायको निगरानी हुने ठाउँमा सुन तस्करी हुने र गैरकानूनी कार्य पूर्णरूपमा निस्तेज हुनुपर्छ । जोसुकै दोषीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ र निष्पक्ष स्वतन्त्र र गहिराई र स्वतन्त्ररूपमा छानबिन हुनुपर्छ’, निर्णय सुनाउँदै उनले भने ।

लेखकले दोषी नउम्किउन्, निर्दोष नफसुन् भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारीरूपमा काम गर्ने दलको बैठकको अर्को निचोड छ ।

उपभोग्य सामानको मूल्यवृद्धि, कालाबजारी नियन्त्रण, बाढीपहिरो, डुबान र लम्पीस्किन, डेंगु, आँखा पाक्ने रोगजस्ता विषयमा कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।

जनताका समस्या राख्ने थलो सदनलाई बन्धक बनाइएको भन्दै कांग्रेसले लामो समयसम्म सदनमा छलफल हुन नसक्ने गरी प्रतिपक्ष उत्रिनु गैरजिम्मेवारी भएको टिप्पणी गरेको छ । संसद खुलाउन सत्तारुढ दल र प्रमुख प्रतिपक्षसँग संवादको अग्रसरता लिएर सदन खुलाउन पहल थाल्ने निर्णय भएको पनि प्रमुख सचेतक लेखकले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर