राप्रपाले कुनै पनि नामको गुटबन्दी थेग्न सक्दैन, नेताहरु हो ! राजेन्द्र लिङदेनलाई साथ देऊ
२०७८ मंसिरमा सम्पन्न केन्द्रीय महाधिवेशनवाट एउटा गर्विलो जीत निकालेका राजेन्द्रप्रसाद लिङदेनले अहिले सहज ढङ्गबाट राप्रपाको नेतृत्व गरिरहेका छन् । महाधिवेशनबाट नेतृत्व युवा पुस्तामा पुस्तान्तरणपछि पार्टी स्थापनाकालदेखिकै सदस्य भएको तथा विगत लामो समयदेखि राजनीतिक भट्टीमा इमानदारीपूर्वक खरो रूपले उत्रिएका उनको नेतृत्व क्षमता अब्बलै रहेको अहिलेको राप्रपाको स्थितिले पनि जनाउ गर्छ । विगतको तीतो सत्य राप्रपा मालीगाँउ, लोकन्थली, विजयवास, धुम्बाराही, विशालनगरको गुटबन्दीको शिकार हुँदा पार्टी सघन रूपमा अगाडि बढ्न सकेन । कार्यकर्ताको मनोवल कमजोर भयो । जसले बढी नेताको ढोका चहार्छ, उही कार्यकर्ता अब्बल हुने परिपाटी विकास भयो ।
यस्तो विषम परिस्थितिलाई चिरेर अहिले कार्यकर्ताहरू पार्टी केन्द्रीय कार्यालयमा अध्यक्षसँग आँखामा आँखा जुधाएर आफ्नो समस्या राख्न सक्ने भएका छन् । सबै समस्याको समाधानको थलो पार्टी कार्यालय नै बनेको छ । पार्टी गुट वा शक्ति केन्द्रमा विभाजित छैन । विगतमा करिब करिब समाप्त भएको पार्टी संघमा आज १ बाट १४ तथा प्रदेशमा ३ बाट २८ गरी ४२ सीटको प्रतिनिधित्व गर्दै राष्ट्रिय पार्टी बनेको छ । यो नयाँ नेतृत्वको सफलता हो । त्यसैले मैले विगतमा कमल थापालाई सहयोग गरे तापनि अध्यक्ष एउटा संस्था भएको र संस्थालाई बलियो बनाउँदा पार्टी बलियो हुन्छ भन्ने मान्यताका साथ राजेन्द्र लिङदेनलाई सहयोग गरिरहेको छु । पार्टीको आन्तरिक प्रतिस्पर्धा चुनाव आउने वेला गर्न सकिन्छ । पार्टीको आन्तरिक एकता थप मजबुत बनाउनुपर्ने वेला गुट उपगुटको नाममा पार्टीलाई कमजोर बनाउने छुट कसैलाई छैन ।
हो, अहिले राप्रपालाई चौतर्फी घेराबन्दी छ । पार्टीको सशक्त मुद्दा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दू राष्ट्रको स्थापना, संघीयताको खारेजीको जगमा समृद्ध नेपाल निर्माण गर्ने हाम्रो अभिभारा कायम छ । हामी कहींकतै चुक्यौं भने समाप्त हुने र फेरि उठ्नै नसक्ने खतरा पनि छ । पार्टीको नितान्त झिना मसिना कुराहरूलाई मिडियाले कसरी उछालेका छन् र पार्टीको विषयमा बोल्नैपर्ने थुप्रै विषयमा मिडियाहरू किन मौन छन् ? यसैबाट सबै कुरा बुझ्न सकिन्छ ।
विगतमा करिब करिब समाप्त भएको पार्टी संघमा आज १ बाट १४ तथा प्रदेशमा ३ बाट २८ गरी ४२ सीटको प्रतिनिधित्व गर्दै राष्ट्रिय पार्टी बनेको छ । यो नयाँ नेतृत्वको सफलता हो । त्यसैले मैले विगतमा कमल थापालाई सहयोग गरे तापनि अध्यक्ष एउटा संस्था भएको र संस्थालाई बलियो बनाउँदा पार्टी बलियो हुन्छ भन्ने मान्यताका साथ राजेन्द्र लिङदेनलाई सहयोग गरिरहेको छु ।
राप्रपा अध्यक्ष सबै कार्यकर्ताका साझा हुन् । उनले विगत महाधिवेशनमा आफूलाई सहयोग गर्नेहरू, अन्य पक्षबाट निर्वाचित हुने पदाधिकारी सदस्यहरू तथा महाधिवेशनपछि नयाँ प्रवेश गरेर पार्टी नेतृत्वमा स्थापित नेता कार्यकर्ताको व्यवस्थापनमात्र नभई निर्वाचनमा पराजित भएका, दूरदराजमा रहेका विगतमा पार्टीबाट न्याय नपाएका तथा नयाँ प्रवेश गर्न चाहने सबैको व्यवस्थापन गर्नुपर्ने दायित्वसमेत रहेको छ । सबैलाई समदूरीमा राखेर विगतको आधारमा भन्दा अहिलेको योग्यता कार्यक्षमताको आधार पहिचान गरी जिम्मेवारी दिनुपर्ने दायित्व छ । यस्तो विषम अवस्थामा पार्टी हितको लागि नेतृत्वलाई सबैले समर्थन गर्नु आजको आवश्यकता हो ।
अहिले पार्टी नवीन राप्रपा कार्ययोजनाको साथ अघि बढेको छ । सबै वडा तहसम्ममा नेताहरूको भूगोल केन्द्रित जिम्मेवारी तोकिएको छ । नेताहरू उत्साहप्रद तरिकाले काममा खटिएका छन् । वर्षात सकिनासाथ राप्रपाको संगठनले थप उचाइ हासिल गर्नेछ । राप्रपाको इतिहासमा नै यो सबैभन्दा ठूलो नेता कार्यकर्ता पंक्तिको परिचालन हो । यो कार्यक्रम सफल गराउन सकेमा पार्टीले छलाङ मार्नेमा कुनै दुविधा छैन । नवीन राप्रपा यतिमा मात्र सीमित छैन । ४० वर्षमुनिका युवा महिला सीधै नेतृत्वमा प्रवेश गर्ने बाटो खोलिएको छ । ३३५ महिला सहभागिता सुनिश्चित गरिएको छ । पार्टी हाम्रो एजेन्डा स्थापित गर्ने गरी निर्णायक आन्दोलनको मुडमा छ । यस्तो अवस्थामा हामी पुनः कुनै पनि नामको गुटबन्दीको शिकार भयौं भने पार्टीको भविष्य के होला ? नयाँ मान्छेहरू पार्टीमा प्रवेश गर्ने वातावरण कसरी बन्छ ? यो गम्भीर प्रश्न हो ।
हामीले पार्टीलाई पछाडि फर्काउने कि अग्रगमनमा लाने ? हाम्रो ठूलो जिम्मेवारी छ । पार्टीमा उठेको विधि, विधानको पालना, कारबाही, नियुक्तिलगायतका तमाम विषय विधानमा सबै पदाधिकारी सदस्य तथा अध्यक्षको काम कर्तव्य निर्दिष्ट छ । केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति, निर्देशन समितिलगायतका आधिकारिक फोरममा राखेर सबै विषयको निरूपण गर्न सकिन्छ । यस्तो सरल व्यवस्था हुँदाहुँदै पार्टीको केन्द्रीय अध्यक्षलाई बाइपास गरेर नबोलाई अन्य सीमित पदाधिकारी तथा सदस्यमात्र बसेर गरिएको कार्य कुनै न कुनै रूपको गुटबन्दी नै हो भन्ने कुरा आमकार्यकर्ताले लिएका छन् । यसमा पार्टीको समग्र तह र तप्का चिन्तित छ । विगतमा पार्टी क्षतविक्षत हुँदा र हाम्रो पुस्ता पार्टी गुटबन्दीको शिकार हुँदा आजसम्म सबै अवसरबाट वञ्चित भएका छौं ।
सबै वडा तहसम्ममा नेताहरूको भूगोल केन्द्रित जिम्मेवारी तोकिएको छ । नेताहरू उत्साहप्रद तरिकाले काममा खटिएका छन् । वर्षात सकिनासाथ राप्रपाको संगठनले थप उचाइ हासिल गर्नेछ । राप्रपाको इतिहासमा नै यो सबैभन्दा ठूलो नेता कार्यकर्ता पंक्तिको परिचालन हो ।
अहिले मुलुकको मुख्य अग्रणी बनिसक्नुपर्ने पार्टी बल्ल तङ्ग्रिएको छ । यसलाई उचित मलजल गरी अब बलियो राप्रपा बनाउनु हामी सबैको कर्तव्य हो । पार्टीलाई यो वा त्यो बहानामा गुटबन्दीको शिकार बनाउने, कमजोर बनाउने छुट कसैलाई छैन । कहींकतै शुद्धीकरण हुनुपर्ने भए, आफ्ना असन्तुष्टि, गुनासो, पार्टीलाई अगाडि बढाउने नीति, कार्यक्रम कसैसँग भए पार्टी केन्द्रीय समितिमार्फत अभिव्यक्त गर्न सकिन्छ । र, त्यसलाई पार्टीले सम्पत्तिको रूपमा ग्रहण गर्ने ठाउँ छँदैछ । राप्रपा जहिले पनि फुट्ने पार्टी हो, सानो निहुँमा, नेताको जुँगाको लडाइँको कारणले यो पटक पटक फुटेको छ । एक भएर बस्न सक्दैन भन्ने भाष्य निर्माण गर्न केही देशी-विदेशी, दृश्य-अदृश्य शक्ति केन्द्रहरूले अहिले चलखेल गरिरहेको घाम झैं छर्लङ्ग छ । यसलाई विगत महाधिवेशनले दिएको म्यान्डेटको आलोकमा नयाँ नेतृत्व तथा तमाम कार्यकर्ताहरूले राप्रपालाई अग्रगमनको दिशातर्फ अगाडि बढाउँदै चिर्नेछन् ।
अहिले केही गणतन्त्रका पोष्य पुत्रहरूले राप्रपालाई बदनाम गर्ने, राष्ट्र निर्माताको सालिक फाल्ने, हाम्रो लोकप्रियता देखेर तिल्मिलिएर अनेक बहानाबाजीमा हाम्रो मुद्दा एजेन्डा कमजोर गर्ने खेलमा लागिरहेको प्रस्ट नै छ । यस्तो अवस्थामा नेतृत्व पंक्ति थप सजग भएर आफ्नो अभिव्यक्ति, काम कारबाही अगाडि बढाउनुपर्ने चुनौती पनि थपिएको छ । यो विषम परिस्थितिमा हामीले मेचीदेखि कालीसम्मका कार्यकर्ताहरूलाई उत्साहित हुने कार्यक्रम, कार्यदिशा र भावी योजना बनाउँदै मिसन २०८४ मा राप्रपालाई मुलुककै अग्रणी पार्टीको रूपमा रूपान्तरण गर्ने सोच र शैलीको विकास गरौं । एकताबद्ध भएर नवीन राप्रपा कार्ययोजना कार्यान्वयन गरौं । यसपछि राप्रपालाई मुलुकको अग्रणी पार्टी बन्नबाट कसैले रोक्न सक्दैन ।
जय राष्ट्र ।
(खड्का राप्रपाका सहायक महामन्त्री हुन् ।)
पार्टी ठूलो बनाउन सबैको योगदान चाहिन्छ, नेतृत्वको अझ भढी चाहिन्छ। एकपटक फेरि पार्टी विशाल हुने प्रस्थान बिन्दुमा छ। गुट उपगुट निर्माण गरिनुहुदैन। पार्टीले जनमानसले गरेको बिश्वास र मतदाताको कदर बचाउन सक्नुपर्छ। सकिएन भने नेताहरु कसैको पनि राजनीतिक हैसियतमा प्रश्न चिन्ह खडा हुनसक्छ। हामी नेता भन्दा नीति निष्ठ छौँ। नवीन राप्रपाको अबधारणामा आईसकेपछी पार्टी स्थापनाकालकै चरित्रमा उतृनुहुदैन। सबै एक भएर अघि बढ्नुको बिकल्प छैन। अझ, राप्रपाको राजनीतिक आदर्श र एजेण्डा स्विकार्नेहरुलाई समेत सहर्ष सम्मानका साथ भित्र्याउनुपर्छ, पार्टीलाई अझ शक्तिशाली बनाउनुपर्छ। अकारण नेतृत्व परिवर्तन अहिलेको आवश्यकता होईन। पार्टी दुर्घटना किमार्थ स्विकार्य छैन।बिद्यमान नेतृत्वमा सबै एक ढिक्का भएर आन्दोलनमा जाने हो, सरकारमा जान आन्तरिक लडाई नहोओस।