अरुले भ्रममा पारे कि आफैं भ्रमित भयौं – Nepal Press

अरुले भ्रममा पारे कि आफैं भ्रमित भयौं

म नेकपा एमालेका देशभरिका शुभेच्छुक र स्वाभीमानी आमनागरिकको रुपमा क्रियाशील सबै दाजुभाइ तथा दिदीबहिनीमा ठोकुवा गर्छु कि अहिलेको नेपालमा नेकपा एमाले जत्तिको जिम्मेवार दल र यो दलका नेता जति इमानदार र परिपक्व नेता अरु कोही छैनन् । समकालीन समयमा यो व्यवहारतः पुष्टि भएको कुरा हो ।

वेला वेलामा एमालेविरुद्ध विभिन्न भ्रम छरिन्छ, विपक्षीले भ्रमको खेती गर्नु स्वाभाविकै मानौं । अस्वाभाविक चैं के छ भने कहिलेकाहीं हामी एमालेजन र हाम्रा शुभेच्छुक पनि हो कि क्या हो भनेर भ्रममा पर्छौं । भ्रम छर्नेहरु त्यति वेला चुप लाग्छन् जति वेला हामी हो कि क्याहो भन्न छोड्छौं । यस्ता केही विषय संक्षेपमा हेरौं ।

गठबन्धन र कम्युनिष्टविरोधी चरित्र

संसारको जुनसुकै देशका उदाहरण हेर्नुस्, कम्युनिष्ट पार्टी निर्णायक तहमा पुगेपछि बुर्जुवा वा विपक्षी जो भन्नुस्, एक भएर पछि लाग्छन् । नेपालमा अहिले त्यही भएको हो । निर्णायक कम्युनिष्ट पार्टी भनेको यहाँ नेकपा एमालेमात्र हो । यो पार्टी अब सफल हुँदैछ, सफलताको स्पष्ट संकेत वुर्जुवाहरुले पाएका छन् । त्यसैले एमालेलाई रोक्न उनीहरु अहिले हुल बाँधेर आएका छन् । अहिलेको गठबन्धन त्यही हो, एमाले रोक्न राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले बनाइदिएको प्रतिक्रियावादीहरुको मोर्चा हो । यो मोर्चाको सुरुवात २०४८ सालदेखि नै भएको हो । उनीहरुले नेकपा एमालेको दूरदृष्टि-यात्रा त्यति वेलैदेखि आँकलन गरेका हुन् । अनि एमालेलाई रोक्न दृश्य अदृश्य धेरै प्रयास गरेका हुन् ।

वर्ग संघर्ष

वर्ग संघर्ष भनेको के हो ? मूलभूत रुपमा सबैले नबुझ्ने कुरा छैन । त्यसैले सजिलोसँग बुझ्न यति जानी राखौं कि अहिले श्रमजीवी जनताको राजनैतिक संघर्षको मुख्य थलोको रुपमा संसदमा छ । नेपालको मुख्य कम्युनिष्ट मूल प्रवाह हुनुको नाताले हामी आम श्रमजीवी जनताको तर्फबाट यसको सामना गरिरहेका छौं । अनि वर्ग सघर्ष निर्णायक तहमा पुगेको छ भन्ने मेरो बुझाइ हो । संसदमा नै यसको रुप देखिएको छ । कम्युनिष्ट पार्टी अर्थात एमाले पनि निर्णायक तहमा नै पुगिरहेको छ । अहिले जुन गठबन्धन छ, त्यो कम्युनिष्ट शक्तिलाई निर्णायक तहमा पुग्न नदिन गरिएको प्रयास हो । वर्ग संघर्षको मुख्य कडी यही नै हो कि उनीहरु कमजोर हुँदै गएकाले गठबन्धनसहित आएका छन् र हामी आम नेपाली जनताको साथमा रहेर निर्णायक हुँदै सामना गर्दैछौं ।

मूल शक्तिको विरुद्ध गठबन्धन

यो गठबन्धन होस् वा २०४६ को जनआन्दोलनपछि विभिन्न ऐनमौकाका गठबन्धन हेर्नुस्, उनीहरु पनि कम्युनिष्ट शक्ति अर्थात एमालेको विरुद्ध छन् । उहाहरण हेर्नुस्, २०४६ को आन्दोलनपछि हाम्रो पार्टीले प्रस्ताव गरेको बहुदलीय व्यवस्था आयो । तर, राजतन्त्र शक्तिहीन वा समाप्त भएको थिएन । थोरै पुरानो इतिहास सम्झौं त, त्यतिवेला हामीले भन्यौं- ‘नेपालको राजतन्त्रले हिजो पनि षड्यन्त्र गरेको थियो, भोलि पनि गर्नसक्छ । अहिलेको स्थितिमा आन्दोलनका प्रमुख शक्तिहरु नेकपा एमाले र नेपाली कांग्रेस मिलेर चुनाव लडौं ।’

अहिले जुन गठबन्धन छ, त्यो कम्युनिष्ट शक्तिलाई निर्णायक तहमा पुग्न नदिन गरिएको प्रयास हो । वर्ग संघर्षको मुख्य कडी यही नै हो कि उनीहरु कमजोर हुँदै गएकाले गठबन्धनसहित आएका छन् र हामी आम नेपाली जनताको साथमा रहेर निर्णायक हुँदै सामना गर्दैछौं ।

कमरेड मदन भण्डारीले नेपाली कांग्रेससँग यो प्रस्ताव गर्दा हामीले पनि १८-२० संसदीय क्षेत्र लिएर भए पनि मिलेर जानुपर्छ भन्ने मनस्थिति थियो । तर, कमरेड मदन भण्डारीलाई नेपाली काग्रेसका सभापति कृष्णप्रसाद भट्टराईले भन्नुभयो- ‘१५ सालमा कति सीट ल्याउनुभएको थियो तपाईंहरुले, थाहा छ ? ४ सीट । अहिले पनि तपाईंहरुले १० सीट ल्याउनुभयो भने त खसी काटेर भोज खुवाउँछु ।’

अनि हाँसोमा उडाउँदै भट्टराईले विश्वमा कम्युनिष्टहरु समाप्त हुँदै गएको युरोप अमेरिकाको उदाहरण दिन पनि भ्याउनुभएको थियो । परिवर्तनकारी दलहरु मिलेर जान सम्भव नदेखिएपछि फेरि अर्को प्रस्ताव राख्नुभयो कमरेड मदन भण्डारीले । कम्तीमा राजनैतिक दलका अध्यक्षहरु लडेको स्थानमा एक अर्काले छोडेर सहयोग गरौं, त्यसो गर्दा राष्ट्रिय अध्यक्ष सबै आउनुहुन्छ । प्रजातन्त्रको रक्षाको लागि सबै राष्ट्रिय अध्यक्ष संसदमा आउनु आवश्यक छ भन्नुभयो उहाँले । तर, भट्टराईले त्यो प्रस्तावमा पनि अत्यन्त हल्का ढंगले अभिप्राय प्रस्ट पार्नुभयो- ‘तपाईंहरु हार्ने डरले यस्ता कुरा ल्याइरहनु भएको छ । तर, हार्नेका कुरा यस्तै हुन्छ । तर, काग्रेसले छोड्दैन ।’

मैले भन्न खोजेको कुरा के हो भने २०४८ सालमा हामी त्यो पोजिसनमा थियौं । तर, हाम्रोबारेमा बुर्जुवा शक्तिको मूल्याकन त्यस्तो थियो । नेपाली कांग्रेसका सभापति भट्टराईले बुर्जुवा शक्तिको नेताको रुपमा हाम्रो मूल्याकंन त्यसरी गर्नुभएको थियो । अर्कोतिर नेपाली कांग्रेससहित वाममोर्चा मिल्न सम्भव नभएपछि वामपन्थी पार्टी एक भएर जान मदन कमरेडले कुराकानी गर्नुभयो । तर, त्यतिवेलाका वामपन्थी दलहरुले यति धेरै सीट मागे कि संसदमा भएका सबै दिँदा पनि अरुलाई भाग नपुग्ने भयो । एमालेले त एक सीट पनि नपाउने अवस्था आयो । अनि यो उपलब्धिलाई जोगाउने अनि देश निर्माणमा केही वर्ष सँगसँगै जाने एमालेको प्रस्ताव असफल बनाइयो ।

हामी बाध्य भएर एक्लै गयौं । परिणाम के भयो ? भट्टराईले चुनाव हार्नुभयो, मदन भण्डारीले सानदार ढंगले काठमाडौंका दुई स्थानमा जित्नुभयो । अमेरिकाको विश्व प्रसिद्ध पत्रिका न्युजविक लेख्न बाध्य भयो- ‘मार्क्स नेपालमा जीवितै छन् ।’ अरु वामपन्थी पार्टीहरुको हविगत पनि चुनावपछि देखियो नै । एक्लै चुनावको सामना गरेको एमालेले राम्रो हैसियत साथ चुनावमा शक्ति देखाउन सफल भयो ।

हाम्रो यात्रामा कति ठूल्ठूला व्यवधान ल्याइयो । हामीलाई रोक्न विभिन्न प्रयास भए । मदन भण्डारीको हत्यादेखि लिएर बारम्बार पार्टी फुटाउने, जनयुद्धको नामको कथित क्रान्ति गराएर हाम्रो पार्टीलाई रोक्ने, पार्टीलाई दिशाहीन बनाएर राख्ने जस्ता षड्यन्त्रमा विरोधी शक्तिको प्रत्यक्ष भूमिका थियो ।

हिजोको त्यो अवस्थाबाट आज हामी कहाँ पुगेका छौं ? हाम्रो यात्रामा कति ठूल्ठूला व्यवधान ल्याइयो । हामीलाई रोक्न विभिन्न प्रयास भए । मदन भण्डारीको हत्यादेखि लिएर बारम्बार पार्टी फुटाउने, जनयुद्धको नामको कथित क्रान्ति गराएर हाम्रो पार्टीलाई रोक्ने, पार्टीलाई दिशाहीन बनाएर राख्ने जस्ता षड्यन्त्रमा विरोधी शक्तिको प्रत्यक्ष भूमिका थियो । तर, पछिल्लो समयमा हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा हामी सबै मोर्चामा सही निर्णय लिँदै अगाडि बढ्यौं ।

नयाँ नयाँ फण्डा

सबै गर्दाखेरि पनि पछिल्लो कालमा झन मधेश प्रदेशमा हाम्रो प्रभाव पढेकाले मधेश आन्दोलनको सृजना गरियो । नेकपा एमालेको विरुद्धमा सम्पूर्ण मधेशलाई उराल्ने प्रयास भयो । तर, हामीले समय क्रममा त्यसलाई पनि चिर्‍यौं । अहिले मधेश प्रदेशमा एमाले सबैभन्दा ठूलो दल छ । मधेसवादी भनिने उपेन्द्रहरुको सबै कुरा उजागर भएपछि आज हामी मधेशमा पहिलो शक्तिमा उभिएपछि फेरि मधेशमा रोक्न अब के गर्ने भन्ने षड्यन्त्र सुरु भएको छ । भित्रभित्र टुनामुना हुँदैछ । त्यसैको लागि मधेशमा हर्नको आविस्कार गरियो । त्यसले नपुगेर थारुको बीचमा ढकी थपियो । शहरिया मध्यम र निम्न मध्यम वर्ग हामीसँग आकर्षित भएकाले त्यसलाई रोक्न सकिन्छ कि भनेर घण्टी बजाइँदैछ ।

यस्तो एउटा ‘सेन्टिमेन्ट’ बनाउन खोजियो, मानौं हामी खतरनाक छौं, जबकि नैतिक रुपमा भन्नुहुन्छ भने रवि लामिछाने जस्ता मानिसले आदर्शका वाक्यहरु ओकल्नु नै बेकार हो । यो देश काम लाग्दैन भनेर राष्ट्रियता नै त्यागेर हिँडेको मानिस हुनुहुन्छ उहाँ । नेपालको नागरिकतालाई काम नलाग्ने भनेर फ्याकेर हिँडेका हुन् । नेपालमा कानूनी छिद्रता खोज्नु एउटा कुरा हो । तर, नैतिक मूल्य भन्ने पनि कुनै तथ्य हुन्छ भने नेपालमा रवि वा कुनै चाइनिज वा अमेरिकी नागरिक सांसद, मन्त्री वा प्रधानमन्त्री हुनु एउटै कुरा हैन र ? विदेशीलाई नेपाली नागरिकता थमाएर अब नेपाली भइस् है भनेको हो । यसमा कुनै विवादको कुरा नै छैन । स्पष्ट छ ।

उहाँ नेपालमा जन्मेकोमात्र कुरा हो नि ! तर, जन्मेको देश काम नलाग्ने भनेर त्यागेको हैन र ? मेरो लागि यो देश काम लाग्दैन, म योभन्दा अर्काे देशको संविधान मान्छु, नियम मान्छु, अर्कै देशको हित गर्छु भनेर शपथ खाएको हैन र उहाँले ? उहाँलाई कसैले बोलाएको पनि हैन । अनि कसैले दमन गरेर भगाएको पनि हैन । यो अहिले नेकपा एमालेको लोकप्रियताले आत्तिएर यस्ता यस्ता शक्ति ल्याएर पो तै रोक्न सकिन्छ कि भनेर उत्पादन गरिएको हो, प्रयोग गरिएको हो ।

माओवादी र धरातल

नेकपा माओवादी केन्द्रको जुन कुरा छ, उसले किन र कसको भरमा यस्तो संघर्ष गर्‍यो, आडभरोस कसको थियो, किन उभ्याइयो भन्ने त प्रस्ट भएकै छ । २०४८ मा नै हामी शक्तिको रुपमा आयौं, हाम्रो विचार दूरगामी थियो । त्यो बुझेर बुर्जुवाहरुलाई छटपटी भयो ।

नैतिक रुपमा भन्नुहुन्छ भने रवि लामिछाने जस्ता मानिसले आदर्शका वाक्यहरु ओकल्नु नै बेकार हो । यो देश काम लाग्दैन भनेर राष्ट्रियता नै त्यागेर हिँडेको मानिस हुनुहुन्छ उहाँ । नेपालको नागरिकतालाई काम नलाग्ने भनेर फ्याकेर हिँडेका हुन् ।

२०५१ सालमा हामीले सरकार बनायौं, हामीले प्रतिस्पर्धाबाट समाजवादमा जान सकिन्छ भनेर पुष्टि गर्ने गरी काम गर्‍यौं । तर, माओवादी समग्र पद्धतिलार्ई नै चुनौती दिने गरी अगाडि बढ्यो । कानूनी छिद्रलाई प्रयोग गरेर हामीलाई अर्थात हाम्रो पार्टीका नेता कमरेड मनमोहन अधिकारीको नेतृत्वमा रहेको प्रथम कम्युनिष्ट सरकारलाई २०५१ मा अपदस्त गरेको न हो । हामी बहुमत ल्याएर अगाडि बढ्न सक्छौं भनेर पुष्टि हुँदै गएपछि एउटा बुँख्याचा तयार गर्न आवश्यक थियो, त्यो पनि क्रान्तिकारी कम्युनिष्ट पार्टीको लेपनमा त्यही गरियो । एमालेविरुद्ध शक्ति सृजना गर्न जनयुद्धको घोषणा भएको हो । एउटा समूहलाई संरक्षण गरेर जंगलतिर जाओ भनेर आदेश गरिएको हो । अब समयक्रमले त्यो कुरा पुष्टि भएको छ । एउटा निष्पक्ष इतिहास लेखिएला र नयाँ पुस्ताहरुले त्यो तथ्य पढ्ने नै छन् ।

केपी ओली, राष्ट्रियता र जबज

प्रतिक्रियावादीहरुले केपी ओली सरकारलाई अपदस्त गर्नमा मुख्य गरी तीन चार वटा तथ्यले काम गरे । सरकारमा रहँदा कमरेड केपी ओलीले मदन भण्डारीले ल्याउनुभएको कार्यक्रम जनताको बहुदलीय जनवादलाई कसरी लागू गर्न सकिन्छ भनेर त्यसको आर्थिक र राजनैतिक कार्यदिशालाई लागू गर्न अत्यधिक प्रयास गर्नुभयो । यो ऐतिहासिक विचारको संरक्षण गर्नुभयो ।

अर्को ‘सुखी नेपाली समृद्ध नेपाल’को मूल नाराका साथ छोटो समयमा नै नेपाललाई कसरी विकसित गर्ने भनेर रुपान्तरणको अभियान चलाउनुभयो । अनि राष्ट्रियताको सवालमा कसैसँग पनि सम्झौता नगर्ने एक चट्टानी अडान बोक्नुभयो । भारतको नाकाबन्दीमा अडान र समस्या समाधान, चीनसँग पारवहन सन्धि, राष्ट्रिय एकतासहितको चुच्चे नक्सालगायतका कमरेड केपी ओलीले गर्नुभएका काम इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ ।

सबैभन्दा ठुलो कुरा उहाँले कम्युनिष्ट आन्दोलनलाई जोगाउनु भयो । आज प्रचण्ड वा माधवको हातमा कम्युनिष्ट आन्दोलन गएको भए के हुन्थ्यो ? मान्छेहरुले प्रस्ट बुझे केपी ओलीले प्रचण्डलाई प्रधानमन्त्री वा अध्यक्ष वा माधवलाई तेस्रो अध्यक्ष बनाएको भए पार्टी फुट्दैन थियो भन्ने कुरा गलत रहेछ, झन पार्टी नै अर्कैको पोल्टामा पर्ने रहेछ । केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई बचाउन पो यति धेरै जोखिम मोलेर आउनुभएको रहेछ भन्ने बुझे । केपीको ज्यादतीले यस्तो भयो कि भन्नेहरुले पनि समयक्रममा सही कुरा बुझ्ने मौका पाएका छन् ।

यो पछिल्लो चुनावपछि सरकारको नेतृत्व गर्न पाइनँ भनेर रुँदै कराउँदै बालकोट पुगेपछि प्रचण्डलाई प्रधानमन्त्री एमालेले बनाएको हैन ? अनि माधव नेपाललाई राष्ट्रपति बन्नुस् भनेको हैन र ? तर, त्यस्तो सर्वोच्च पद छोडेर पनि आदेशको पालना गर्ने भने पछि भित्री रहस्य कस्तो रहेछ बुझिएन र ? आदेशको अगाडि देश र जनताको पक्षमा एउटा कम्युनिष्ट योद्धाले गर्न सक्ने योगदानलाई पनि तिलाञ्जली दिन सक्ने भनेपछि कम्युनिष्ट आन्दोलनविरुद्ध कति धेरै घुसपैठ भएको रहेछ ? अनि साथीहरु कति भित्र-भित्रसम्म प्रयोग भएका रहेछन बुझिएन र ? मेरो बुझाइ के हो भने हामी निर्णायक तहमा पुगेको हुनाले नै उनीहरु आफूसँग भएका सबै अस्त्रहरु प्रयोग गर्दैछन्, हामीलाई रोक्न सबै खालका षड्यन्त्र, शक्ति र अन्तिम बल लगाउँदैछन् ।

अन्तर्राष्ट्रिय शक्तिहरुले कम्युनिष्ट पार्टीभित्र छिराएका प्यादाहरु उजागर भए । तर पनि एमाले निर्णायक ठाउँमा छ । उनीहरुलाई डर छ भने एमालेसँगै छ । यति गर्दा पनि एमालेले नै बहुमत ल्याएर सरकार बनाउँछ र समाजवादी कार्यक्रम लागू गर्छ भन्ने उनीहरुलाई डर छ । आफ्ना सबै तागत प्रयोग गर्दा पनि एमाले झन झन अगाडि बढेकोमा उनीहरु त्रसित छन् ।

अनि उनीहरुलाई डर छ, सतिसाल जस्तै कठोर परिस्थितिमा पनि सुझबुझपूर्ण र साहसी नेतृत्व दिई रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग । उहाँको सक्रियतासँग, सही विचार, सन्तुलित नीति र दृष्टिकोण स्पष्ट छ । अनि देशी विदेशीले जति तानावाना बुन्दा पनि उनीहरु ढुक्कले सुत्न सकेका छैनन् । आम एमालेजन र न्यायप्रेमी जनसमुदायले यो कुरा अब बुझ्न बाँकी पनि छैन झैं मलाई लाग्छ । त्यसैले मैले सबै छलफलको सुरुतिरै भनेको त्यो वर्ग संघर्षको मुख्य केन्द्र अहिले संसद नै देखिएको हो । अहिले आन्दोलनको स्वरुप दलीय प्रतिस्पर्धात्मक राजनीति भएको हुनाले, कार्यनीति पनि त्यसैअनुसार भएको हुनाले हामीले संसदमा श्रेष्ठता हासिल गर्नु पर्नेछ । अहिलेको वर्ग संघर्षको केन्द्र त्यही हो । त्यसैलाई बलियो बनाउँदा नै अहिलेको आन्दोलन जोगिन्छ । हामी त्यतै लाग्नुपर्छ ।

अन्तर्राष्ट्रिय शक्तिहरुले कम्युनिष्ट पार्टीभित्र छिराएका प्यादाहरु उजागर भए । तर पनि एमाले निर्णायक ठाउँमा छ । उनीहरुलाई डर छ भने एमालेसँगै छ । यति गर्दा पनि एमालेले नै बहुमत ल्याएर सरकार बनाउँछ र समाजवादी कार्यक्रम लागू गर्छ भन्ने उनीहरुलाई डर छ ।

नीतिगत नेता एमाले

नेपालको प्रत्येक सफल आन्दोलन र २००७ सालदेखि अहिलेसम्मका न्यायपूर्ण संघर्षहरुमा कम्युनिष्ट पार्टी नै नीतिगत रुपमा सही र आन्दोलनलाई जनपक्षीय बनाउने भूमिकामा छ । झन २०३६ सालदेखि त आन्दोलनको नेताको रुपमा कम्युनिष्ट पार्टी मूलप्रवाहमा छ ।

अर्कै कुरा हो कि यो व्याख्या भएन र आम जनतासम्म यो तथ्य पुग्न बाँकी होला । स्थापना किन भयो कम्युनिष्ट पार्टी ? पुष्पलाल कमरेड त नेपाली कांग्रेसकै कार्यालय सचिव थिए । उहाँले नेकाले राष्ट्रियताको रक्षा गर्न सक्दैन, ऊ दलाल नोकरशाहीको पक्षपातीमात्र रहेछ । त्यसैले श्रमजीवीको पक्षधर ऊ कहिल्यै हुन सक्दैन भनेर बुझेर नै कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । श्रमजीवीको पक्षमा छुट्टै राजनैतिक दल र शक्ति चाहिने तथ्य पत्ता लगाउनुभयो । उहाँले नेका जस्ता दल त बुर्जुवाका पक्षपातीमात्र रहेछन् भनेर बुझेर नेपाल कम्युनिष्ट पार्टी बनाएको हो ।

कम्युनिष्ट पार्टीको स्थापना एक दलीय निरकुंश पारिवारिक शासनको विपक्षको लागि भएको हो । यसैबाट पुष्टि हुँदैन र ? हामीले सुरुदेखि नै दलीय प्रतिस्पर्र्धा मानेर पार्टी स्थापना गरेको हो । त्यसै तथ्यलाई कमरेड मदन भण्डारीले व्यवस्थित ढंगले व्याख्या गर्नुभयो । मार्क्सवादी कोणवाट सिद्धान्त प्रतिपादन गर्नुभयो । विश्व कम्युनिष्ट आन्दोलनमा धक्का आएको वेलामा नयाँ दिशा दिएर विश्वका श्रमजीवीको पक्षमा योगदान गर्नुभयो । कमरेड मदन भण्डारी नेपालको पर्नुभयो । तर, युरोप-अमेरिकामा जन्मिनुभएको भए अर्काे कुरा हुन्थ्यो । उहाँको प्रसिद्धि विश्वव्यापी हुन्थ्यो । विचार संसारभर फैलन सक्थ्यो । खैर, अहिले त्यता नजाऔं ।

२०२८ सालको झापा आन्दोलनपछि छरिएर रहेका कम्युनिष्टलाई एकीकृत गर्दै गर्दै २०३५/३६ सालदेखिको आन्दोलनको नेतृत्वकर्ता नै पूर्वमाले हुन पुग्यो । विद्यार्थीहरुले २०३६ सालमा ल क्याम्पसबाट आन्दोलन सुरु गरे । त्यो आन्दोलन जब जनआन्दोलनमा परिणत हुन थाल्यो, हाम्रो मार्क्सवादी व्याख्या के हो भने जनताले आफ्ना मागहरु अघि सार्ने र राजनीतिक माग थप गर्दै निरंकुशताविरोधी आन्दोलनमा परिणत गर्ने हाम्रो योजना थियो ।

तर, बीचमा नै खेल भयो, नेपाली कांग्रेसका तत्कालीन विद्यार्थी नेता बलबहादुर केसीहरु, मार्क्सवादीबाट विद्यार्थी नेता शरणविक्रम मल्ल, वर्मा मानन्धर समूहबाट कैलाश कार्कीहरु थिए आन्दोलनमा । उनीहरुले शासकसँग सम्झौता गरे । आन्दोलन तुहाउन खोजे । माग पूरा भयो भनेर सम्झौता गरेका हुन् उनीहरुले । अनि हामीले त्यो कुरा नमानेर उनीहरुलाई काठमाडौंको सडकमा ठेलामा हालेर घुमाएको हो, त्यो वेलाको इतिहास पढे हुन्छ । अनि फेरि आन्दोलनलाई जगाउनु पर्‍यो । बल्ल जनमत संग्रह गराउन राजा बाध्य भएका थिए । त्यही भएर नीतिगत नेता आन्दोलनको कम्युनिष्टहरु नै वा तत्कालीन माले हो । जुन आन्दोलनमा सम्झौता गरेर तुहाउन खोजियो, आन्दोलन रोक्न खोजे, अनि त्यो आन्दोलनको नेता कांग्रेस कसरी हुनसक्छ ?

२०४६ को जनआन्दोलनको कुरा गर्ने हो भने २०४५ मा हाम्रो पार्टीले चौथो महाधिवेशनमा कमरेड मदन भण्डारीको नेतृत्व स्थापित गर्‍यो । निर्दलीय तानाशाही व्यवस्थाविरुद्ध बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा जाने निर्णय गर्‍यो । महाधिवेशनको नीतिले नै सबै वामलाई एक ठाउँमा ल्याउने र नेकासँग वार्ता गर्ने वातावरण बनायो । बहुदलीय पक्षधरलाई एकीकृत गराएर आन्दोलनमा जाने निर्णय गर्‍यो । त्यो निर्णयअनुसार नै नीति लागू भयो । गिरिजाप्रसाद कोइराला त सुरुमा आन्दोलनमा आउन तयार हुनु भएकै थिएन । हामीले वातावरण बनाएको हो । हाम्रो सोच र मेहनतमा सात दलको आन्दोलन भएको हो । त्यो वेलाको नेता नेकपा माले हो । तर, राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणले गणेशमान सिंहलाई आन्दोलनको कमाण्डरको रुपमा अगाडि सारेको हो हामीले । गणेशमानको हैसियत के रहेछ भन्ने कुरा त अन्त्यमा उहाँले काग्रेस त्याग्नुपर्‍यो, देखिएन र ?

वर्ग संघर्षको मुख्य केन्द्र अहिले संसद नै देखिएको हो । अहिले आन्दोलनको स्वरुप दलीय प्रतिस्पर्धात्मक राजनीति भएको हुनाले, कार्यनीति पनि त्यसैअनुसार भएको हुनाले हामीले संसदमा श्रेष्ठता हासिल गर्नु पर्नेछ । अहिलेको वर्ग संघर्षको केन्द्र त्यही हो । त्यसैलाई बलियो बनाउँदा नै अहिलेको आन्दोलन जोगिन्छ । हामी त्यतै लाग्नुपर्छ ।

अब कुरा गरौं, २०६२/६३ को जनआन्दोलनको कुरा । जंगलमा बसेर राजाको फोटोमा गुलेली हानेर गणतन्त्र आउँछ ? बन्दुक तेर्साएर आउँछ ? सोझा सीधा गाउँलेलाई गोली हानेर मारेर परिवर्तन आउँछ ? परिवर्तन कसरी आउँछ ? राजाकै अगाडि तिमी गद्दी छोड भन्न सक्नुपर्‍यो नि ! हामीले त नारायणहिटी अगाडि राजतन्त्र मुर्दावाद भनेको हैन ? छातीमा गोली थापेको हैन ? पटक पटक गरिएका यस्ता आन्दोलनले नै २०६२/६३ को पृष्ठभूमि बनाएको हो ।

हो, जनआन्दोलनमा माओवादीले पनि भाग लियो । तर, सात दलको सम्झौता भनेको माओवादीले सशस्त्र आन्दोलन छोड्ने, शान्तिपूर्ण रुपले मात्र आन्दोलनमा भाग लिने र कसैमाथि हिंसात्मक काम नगर्ने भनेको हो । त्यसैले परिवर्तन बन्दुकले हैन, नेकपा एमालेसहितको शान्तिपूर्ण आन्दोलनले हो भन्न हिच्किचाउनु पर्दैन । आखिर माओवादीले पनि बन्दुकले गणतन्त्र ल्याउन सक्यो त ? सकेन । जनआन्दोलनबाट मात्र सम्भव हुने भन्ने विन्दूमा माओवादी पनि पुग्यो । अनिमात्र सफल भयो । यो जनआन्दोलनबाट परिवर्तन ल्याउने निर्णय हाम्रो हो । यो आन्दोलनमा हाम्रो नीति पारित भयो । हामीले कमिटीगत र राजनैतिक रुपमा गणतन्त्रको नीति पास गरेपछि राजतन्त्रको अन्त्यमा जान नेका बाध्य भएर लत्रिएको हो । हाम्रो भूमिकाले नै आन्दोलनले निर्णायक रुप लिएको हो । त्यो आन्दोलनको राजनैतिक नेता हामी नै हौं ।

अब कुरा गरौ, नेपालको संविधान जारी गर्दाको । पहिलो संविधानसभामा माओवादी ठूलो दल थियो । मधेशवादी दल मिल्दा त दुई तिहाइ हुन्थ्यो । हामी त थोरै थियौं । अनि किन संविधान बनेन त ? किनभने राजनैतिक नेतृत्व गर्ने क्षमता भएन उनीहरुसँग । जब दोस्रो संविधानसभामा एमाले एउटा शक्ति बनेर आयो, अनि बल्ल संविधान बन्यो । हरेक आन्दोलन परिवर्तनको नेता एमाले हो भन्ने कुराको तथ्य यही हो । त्यसैले आधुनिक नेपालको राजनैतिक इतिहास र परिवर्तनका हरेक मोडमा एमालेको भूमिका छ । हामी निरीह किन बन्ने ? यो दाबी किन प्रस्तुत नगर्ने ? आमजनता अनि एमालेजनले यसमा किन गर्व नगर्ने ?

केही केही नेता-कार्यकर्ता भन्छन्, यत्रो वर्ष पार्टीमा लागियो । तर, मैले के पाएँ ? तपाईंले व्यक्तिगत जागिर पाउनु भएन, कुनै चुनाव लड्ने मौका पाउनु भएन होला । तर, २०५१ सालको मनमोहन अधिकारीको सरकारदेखि केपी ओलीसम्मको सरकारले जुन सामाजिक सुरक्षाको कार्यक्रम ल्याएको छ । त्यो तपाईंले नै दुःख गरेको पार्टीले ल्याएको हैन र ? त्यो हाम्रो पार्टीको चिन्तनको आधारमा र जबजको प्रतिफल हो । कम्युनिष्ट पार्टीले गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्नुपर्ने भन्ने सिद्धान्त हामीले पक्रेको हैन ? सामाजिक सुरक्षा भत्ता सुरु गरेको, विकासको आधार गाउँगाउँलाई बनाएको हामीले नै हैन र ? अनि केही पाइनँ, पार्टीमा लागेर किन भन्नु ?

परिवर्तन बन्दुकले हैन, नेकपा एमालेसहितको शान्तिपूर्ण आन्दोलनले हो भन्न हिच्किचाउनु पर्दैन । आखिर माओवादीले पनि बन्दुकले गणतन्त्र ल्याउन सक्यो त ? सकेन । जनआन्दोलनबाट मात्र सम्भव हुने भन्ने विन्दूमा माओवादी पनि पुग्यो ।

एमालेले श्रमजीवी वर्ग बस्ने गाउँलाई नै विकासको मूल आधार मानेर काम गरेको हो । राजनीतिको सबैभन्दा बलियो शक्ति गाउँमा हुनुपर्छ भनेर पालिका बनाएको, पालिकालाई शक्तिशाली र विकासको आधार बनाउने दृष्टिकोण हामीले ल्याएको । अहिले जहाँ जानुहुन्छ, बाटो, अस्पताल, स्कुल देख्नुहुन्छ, यस्ता परिवर्तन कसरी भए ? त्यसको जग एमालेले राखेको हो । एमालेबाहेक कुन पार्टीले के काम गर्‍यो ? केही भन्न सक्नुहुन्छ । हामीले त गरेर देखाएका छौं । अनि झन एमालेजनहरु किन निरास हुनु ?

पार्टी सदस्यता

पछिल्लो समय नेकपा एमालेको पार्टी सदस्यता घट्यो भनिन्छ । म हाम्रा साथीहरुलाई स्मरण गराउन चाहन्छु, बहुदलीय व्यवस्था आउँदा कति थियौं सदस्य ? तर, प्रभावकारिता त झन राम्रो थियो । संख्याले मात्र हुन्छ ? त्यति वेलाको कुरा छोडौं । अहिलेको कुरा गर्ने हो भने माओवादीसँग पार्टी एकीकरण गर्दा बोराका बोरा विनाप्रमाण ल्याएका पार्टी सदस्य हामीले मान्नुपरेको बाध्यता थिएन र ? माओवादीहरुले हामी त भूमिगत अवस्थाको पार्टीका कार्यकर्ता, हामीसँग विवरणहरु केही छैन । सबैको नाम राख्नुपर्छ भनेपछि हामीले हुन्छ भन्नुपरेको हैन र ? बाध्य भएर हामीले मापदण्ड खुकुलो गर्‍यौं । प्रतिनिधि धेरै पठाउन कतिपय तत्कालीन नेताले मतदाता नामावली नै कपी गरेर सदस्यता सूचीमा राख्न लगाएको बुझियो । त्यसैले यस्ता सूची बोकेर हिँड्नुभन्दा त घटेकै जाति ।

अब त्यति वेला करिव ३० प्रतिशत वा कहींकहीं ४० प्रतिशत जस्तो उनीहरुका नाम सबै हटेका थिएनन् । अहिले सदस्यता नवीकरण अभियानमा ती सदस्यहरु पत्ता लागे, हटाइयो । अनि माधव नेपालहरु छुट्टिँदा ४/५ प्रतिशत त घट्यो होला । कसैको मृत्यु भयो, कसलाई नवीकरण गराउन मन लागेन । तर, पार्टीमा नै काम गर्छु भनेका छन् । कोही विदेशतिर छन् । त्यसकारण संख्याको विवादको अर्थ छैन । जबजको प्रतिबद्ध कार्यकर्ता सबैले सदस्यता नवीकरण गराएका छन् । केही पदभ्रष्ट, केही पलायनवादी, केही निराशावादी छन् र नवीकरण गराउँदैनन् भने किन टाउको दुःखाउनु ?

चौतर्फी हमला

अहिले एमालेमाथि चौतर्फी हमला छ । किनभने एमाले २०८४ मा सत्तामा आउला भन्ने त्रासले । हो, यो दिशामा एमाले अग्रसर छ र यो अग्रसरता अरु प्रभावकारी बनाउनु पर्छ । आम सचेत जनताले पनि बुझिसकेका छन् कि यदि एमालेले बहुमत नल्याए देश अधोगतिमा जान्छ । राष्ट्रियता खतरामा पर्छ । अहिले नै देखिएको छ, प्रधानमन्त्री पुष्पकमल दाहाल भारत गएर ‘प्रोपोगण्डा’ गर्नुभयो । तर, देशको पक्षमा के गर्नुभयो ? अब नेपालको सम्पूर्ण नदीनाला भारतलाई सुम्पिनुपर्ने वातावरण बनाइँदैछ । प्रचण्ड भारत गएर त्यसैलाई मलजल गरेर आउनुभयो । भारतलाई नेपालको सबै पानी र बिजुली कब्जा गर्नुछ । तर, २०८४ मा एमालेले आए, त्यो सम्भव छैन । अनि आतंक हुँदैन त ?

भूपरिवेष्ठित सुविधा खोज्दा भारतले सीमामा रोक्छ, यो के हो ? एमालेले बारम्बार भनेको छ । अहिले त्यही भएको छ, त्यो के भने कमजोर सरकार भयो भने राष्ट्रियताको रक्षा गर्न सक्दैन, सुशासन दिन सक्दैन । ललिता निवासको छानबिन के यिनीहरुले गरेका हुन् र ? केपी कमरेडको पालामा सुरु गरिएको हो । जलहरी र फलहरी भनेका थिए नि के रहेछ त ? एमालेलाई गलत देखाउन सकिन्छ कि भनेर रचिएको फण्डा त्यसै बिलाएन त ?

विमानस्थलमा हामी कतै जाँदा जुत्ता बेल्ट सबै खोल्छ, पर्स पनि निकाल भन्छ । त्यो ठाउँमा कसरी सुन उम्कन्छ ? दर्जनौं पटक सुन आयो कसरी ? अहिलेको सरकारले जिम्मेवारी लिनुपर्दैन ? पर्दैन भने यो देश कसले चलाएको त ?

विमानस्थलमा हामी कतै जाँदा जुत्ता बेल्ट सबै खोल्छ, पर्स पनि निकाल भन्छ । त्यो ठाउँमा कसरी सुन उम्कन्छ ? दर्जनौं पटक सुन आयो कसरी ? अहिलेको सरकारले जिम्मेवारी लिनुपर्दैन ? पर्दैन भने यो देश कसले चलाएको त ? यो प्रश्नको जवाफ कहाँ पाउने ? यस्तो संवेदनशील ठाउँ हो एयरपोर्ट, जहाँ हाम्रो चैं सियो नि भेट्ने अनि ठूलावडाको क्विन्टलका क्विन्टल सुन नदेख्ने ? यो देशमा कुनै सिस्टम छैन, एमाले सिस्टम राख्न खोज्छ । तर, अरु सिस्टम मान्दैनन् । किनभने सिस्टम भयो भने त लुट्न पाइन्न ।

कांग्रेस-माओवादीको सरकार बन्दा व्यापारीको एजेन्टले बजेट बनाउँछ । गाडी ल्याउँदा भन्सार-कर कम हुन्छ । अब १ हजार गाडी व्यापारीले नेपालभित्र छिराउँछन् अनि कर धेरै बढ्छ । विद्युतिय गाडी यस्तै सेटिङमा आएको हैन ? अनि यिनीहरुलाई नै छानबिन कसले गर्ने ? यो देश दलाल नोकरशाही पूँजीवादले चलाएको भनेको यही हो । त्यसैले जनताको सरकारको लागि एमालेले नै सत्ता सञ्चालन गर्नुपर्छ ।

कमरेड मदनले अफगानिस्तानमा सोभियत संघले आक्रमण गर्दा हामी हरेक हस्तक्षेपको विरोध गर्छौं भन्नुभयो । जनपक्षीय उम्मेदवार घोषणासभामा उहाँले भन्नुभएको थियो- ‘हामी हरेक हस्तक्षेपको विरोध गर्छौं, चाहे त्यो हस्तक्षेप हसियाँ हथौडाको आवरणमा आओस् वा अमेरिकन झण्डामा ।’ त्यसकारण हामी त्यो स्वाभीमानी आवाजलाई बुलन्द गर्ने क्षमता राख्छौं ।

प्रचण्डको पार्टीको के अर्थ छ ? त्यसले गरेको के छ ? यदि केपी कमरेडले रिस्क नलिनु भएको भए अहिले एमाले रहन्थ्यो होला तर कुन रुपमा रहन्थ्यो ? कुन रुपमा भने कांग्रेसकोे पछिलग्गूको रुपमा, दलालको रुपमा रहन्थ्यो । अहिले विदेशी हस्तक्षेपको तारिफ गरेर बस्थ्यो । अनि केपी कमरेडले कम्युनिष्ट आन्दोलनलाई जोगाउनु भयो, यस कुरालाई मुक्तकण्ठले प्रशंसा गर्न हामीलाई के अप्ठेरो हुन्छ ?

कुनै पनि पार्टी अगाडि बढ्न पहिले नीति अनि नेतृत्व ठीक हुनुपर्छ । हाम्रो नीति पनि ठीक, सिद्धान्त पनि ठीक र नेता पनि ठीक छ । अहिले देशको लागि अत्यावश्यक, निडर र राष्ट्रवादी लोकप्रिय नेता त केपी ओली नै हुन् । त्यस्तो नेता हाम्रो पार्टीमा क्रियाशील छन् भने एमाले कार्यकर्ता निराश हुनुपर्ने जरुरी छैन ।

(नेकपा एमालेका पोलिटव्युरो सदस्य तसुमनराज प्याकुरेलसँग चुडामणी वाग्लेले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया

2 thoughts on “अरुले भ्रममा पारे कि आफैं भ्रमित भयौं

  1. एकदम सही विष्लेषण । मलाई पनि यसरी नै लेखेर छाप्न मन लागेको थियो। प्याकुरेल कमरेडले मेरो र नेपाली जनताको मनको कुरा गर्नुभयो । धन्यवाद । हामी अझ सशक्त भएर यी दलालमाथि हावि हुनुपर्छ । एमालेलाई बहुमत दिलाएर देशको मुहान फेर्ने अभियानमा लाग्नुपर्छ ।

  2. कमरेड को कुरा सुन्न आनन्द आउछ तर वास्तवीकता ठिक विपरीत छ अव पनी यस्ता भ्रम छरेर राजनिती गर्ने समय छैन मानिसलाई एक चोटी मुर्ख बनाउन सकिन्छ सधै होइन तपाई आफै कन्फ्युज हुनुहुन्छ एमाले लाइ विपक्षी संग होइन आफ्नै संगठन का विभीषण हरुवाट खतरा हो लेखेर राख्नु 84 मा झन आत्मघाती हुनेछ तपाइ ले ज जसलाई लिएर हीड्नु भएको छ नि ती सव अवसरवादी पदखोर भ्रष्ट तत्व हुन त्यसैले ट्र्याक चेन्ज गर्नुस नत्र सगठन नै ध्वस्त भएको रमिता हेर्न तयार वस्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *