४० भन्दा बढी भिडन्त भाेगेका पूर्वलडाकुकाे आक्रोश- नेताहरूले शिर ठाडो पारेर हिँड्न नसक्ने बनाए – Nepal Press

४० भन्दा बढी भिडन्त भाेगेका पूर्वलडाकुकाे आक्रोश- नेताहरूले शिर ठाडो पारेर हिँड्न नसक्ने बनाए

इलाम । गोपाल बराल इलाम स्वास्थ्य कार्यालयमा मेडिकल ल्याब अधिकृत छन् । ताप्लेजुङको फुङलिङमा २०४६ सालमा जन्मिएका बराल ९ कक्षा पढ्दै गर्दा माओवादी कार्यकर्तासँग नजिक भए । १३ वर्षका उनलाई सुरुमा फकाएर र पछि प्रशिक्षण दिएर माओवादी जनमिलिसिया बनाइयो ।

बराल भूमिगत भइरहँदा माओवादी सेनाको कम्पनी कमान्डरसम्म भए । सशस्त्र युद्धमा सहभागी हुँदा उनले ४० भन्दा बढी सानाठूला युद्ध लडे । युद्धका क्रममा उनले सयौं सहयोद्धा गुमाए । उनका सयौं साथीहरू अहिले पनि घाइते र अपाङ्ग छन् । केही बेपत्ताको सूचीमा छन् ।

युद्धका क्रममा उनले नजिकबाट मृत्यु देखे, कष्ट र दुःख भोगे । पूर्वी नाका पशुपतिनगरदेखि रामेछापसम्म भएका आक्रमणमा बराल विभिन्न भूमिकामा प्रत्यक्ष सहभागी भएका थिए ।

झापाको सुरुङ्गामा रहेको प्रहरी चौकी आक्रमणका क्रममा घाइते भएका बरालको एउटा हातमा चोट छ । चोट बल्झिरहन्छ । माओवादी शान्ति प्रक्रियामा आएपछि भने उनी सामान्य जीवनमा फर्किए ।

अहिले उनी नेपाल सरकारको छैटौं तहको अधिकृत छन् । सशस्त्र युद्धका बेला देखेको सपना, सामान्य जीवनमा कमब्याक हुन गरेको आफ्नो संघर्षबारे बरालले नेपाल प्रेससँग सुनाएका छन् ।

देशको आमूल परिवर्तनका लागि सशस्त्र सङ्घर्ष गर्नु परेको बताउने उनी माओवादी नेतृत्वले सत्ताका लागि गरेको हर्कत भने सधैं अमिलो र नमीठो लाग्छ । हजारौंको बलिदानी जगमा बनेका नेताहरुको व्यवहारले उनको मन पोलिरहन्छ । आफू सरकारी जागिरे भएर जीवन धान्न सक्ने भए पनि आफूसँगै लडेका साथीहरू खाडीमा पुग्दा उनलाई निको लागेको छैन ।

उनी युद्धका क्रममा घाइते र अपांगता भएकाहरूलाई भेट्न सक्दैनन् । सेल्टरदाता परिवारका सदस्य देख्दा तर्केर हिँड्न परेको सुनाउँछन् । उनीसँग ती परिवारले सोध्ने प्रश्नको जवाफ छैन । उनलाई आफ्नो जीवनप्रति कुनै गुनासो छैन । तर, आफैंले लडेर ल्याएको व्यवस्था र आफ्नै कमान्डरहरुसँग भने सन्तुष्ट छैनन् । उनीसँग आफ्नै सुप्रिमोप्रति गुनासोको पोको छ ।

भने जस्ता लुगा, मागे जस्तो खाना

बरालको परिवार लेखपढ गर्ने परिवारमा पर्थ्यो । उनी कक्षाको पहिलो विद्यार्थी थिए । माओवादीको सशस्त्र आन्दोलन उत्कर्षमा थियो ।
स्कुलमा माओवादी कार्यकर्ताहरू आइरहन्थे । उनी माओवादीको सम्पर्कमा पुगे । एकदुई दिन कार्यक्रममा सहभागी भएर फर्कन एक जना स्थानीय नेताले बराललाई आग्रह गरे । बरालले उनको आग्रह स्वीकार गरे । यो २०५९ सालको कुरा हो ।

माओवादी कार्यकर्ताको अनुरोधमा फुङलिङबाट तत्कालीन फावा खोला गाविसमा हुने भनिएको कार्यक्रममा सहभागी हुन गएका बराल त्यसपछि विद्यालय फर्किन पाएनन् ।

‘माओवादीको कार्यक्रममा जाँदा सेना र पुलिसको थ्रेट हुन्छ भन्ने थाहा थियो । तर, माओवादीको मोटिभेशनका कारण जाने हो भन्ने अवस्थामा पुगिएछ । त्यो बेलाको कलिलो दिमाग न हो’, उनले भने, ‘मैले अरू साथीहरूलाई पनि जाम भनें । मेरो आग्रहमा अन्य ५ जना साथी पनि जान तयार भए । हामी माओवादी कार्यकर्ताको पछि लागेर हिँड्दै हिँड्दै फावा खोला पुग्यौं । फावा खोलामा खास कार्यक्रम थिएन । एउटा मिटिङ जस्तो रहेछ ।’

आजभोलि भन्दै उनीहरुलाई फर्काउन माओवादीले आनाकानी गरे । फावा खोला गाउँभर हल्ला चल्यो । स्कुलबाट माओवादीको कार्यक्रममा सहभागी भएकाहरूलाई सेनाले खोजिरहेछ । गाउँमा सेनाले सर्च गरिरहेको छ । तपाईंहरुलाई सुरक्षा चुनौती हुन्छ । नफर्किनुस्, सुरक्षा थ्रेट छ ।

‘सेनाले खोजिरहेको छ भनेपछि डरले गाउँ र स्कुल फर्किने कुरा भएन । पछि बुझ्दा थाहा भयो, यो त माओवादीले नै स्कुल नफर्कियोस् भनेर चलाएको हल्ला रहेछ’, बरालले थपे, ‘सुरुका दिनहरूमा घरको याद आइरह्यो । तर, फर्कन सक्ने अवस्था थिएन । घरको सम्झना नआओस् भनेर हामीलाई माओवादीले गर्ने व्यवहार भने एकदमै राम्रो थियो । पाहुनाको जस्तो व्यवहार गरे । भने जस्ता जुत्ता आए । भने जस्ता लुगा ।’

उनका अनुसार घरमा हुँदा कहिल्यै लाउन नपाएका जुत्ता र लुगा लाउन पाउँदा उनीहरू मख्ख भए । उनले सम्झिए, ‘माओवादीमा गएपछि राम्रा राम्रा लुगा जुत्ता लाउन पाइयो । खानामा पनि मीठो मसिनो नै दिए । यो एक महिनासम्मको कुरा हो ।’

मिलिसिया तालिम

ठाउँ पनि उस्तै, संगत पनि उस्तै । एक महिनासम्ममा बराललाई माओवादी पार्टी र सिद्धान्त मन पर्न थाल्यो । उनी अब गाउँ फर्कनेभन्दा उतै रमाउन थाले । एक महिना बित्यो । त्यसपछि उनका कष्टका दिन पनि सुरु भए । उनले पहिलो पटक मकैका च्याँख्ला खाए । इस्कुसको झोल तरकारी हुन थाल्यो ।

एक महिनापछि मिलिसियाको तालिम लिन थाले बरालले । जङ्गलमा लुक्ने, शत्रु पहिचान कसरी गर्ने, हिट रन कसरी गर्नेलगायत सिके । दुई महिनापछि उनले अर्धसैनिक बलको तालिम सके । उनी मिलिसिया बन्दै अर्धसैनिक फोर्समा सहभागी भए । तालिम सकिँदा उनी जनमिलिसियाका सहायक कमान्डर बने । त्यसपछि उनले वास्तविक सशस्त्र आन्दोलन थाहा पाए । उनलाई २ महिनामा संसारै यही हो जस्तो लाग्न थाल्यो ।

उनका अनुसार मिलिसियाको फौजमा सामान्य लेखपढ गर्न जान्नेहरू पनि कम थिए । लेखपढ गर्न नजान्नेहरूका बीचमा नौ कक्षासम्म पढेकाले आफूलाई सहायक कमान्डर बनाइएको बरालको भनाइ छ ।

मिलिसियामा हुँदा माओवादीको च्यानलबाट जे कुरा आउँछ, त्यही पढ्थे । उनले विश्व कम्युनिष्ट आन्दोलन, विभिन्न देशमा भएका कम्युनिष्ट आन्दोलन र सशस्त्र युद्धका बारेमा पढे । कम्युनिष्टले पालना गर्नुपर्ने अनुशासनका कुराले उनलाई लाग्यो, ‘यो युद्ध साँच्चै राम्रोको लागि भएको रहेछ । आमूल परिवर्तनकै लागि मैले घर छाडेछु ।’

उनी देश बनाउने काममा सहभागी भएकोमा खुशी थिए ।

पहिलो सैन्य कारबाही

मिलिसियामा हुँदा सामान्य हतियारमात्रै हुन्थ्यो । भूमिका पनि खास थिएन । उनलाई सेनामै भर्ना हुन अफर आयो । उनलाई हतियारविना लुकीलुकी हिँड्दा कतिखेर मरिन्छ भन्ने लागिरहेको थियो ।

सेना भएपछि हतियार बोक्न पाइन्छ, आइपरे ठोक्न पाइन्छ भनेर उनी सेनामा भर्ना हुन तयार भए । ‘कुकुर जस्तो मारिनुभन्दा मारेर मर्नु ठीक हो । हतियार भएपछि भागेर मरिँदैन भन्ने लाग्यो’, उनले भने, ‘यही सोचेर मिलिसियाबाट जनमुक्ति सेनामा भर्ना भएँ ।’

तालिम ६ महिना चल्यो । हिँड्दै गरिने तालिममा उनले हतियार चलाउन नै एसएलआरबाट सिके । २०६० साल फागुन १९ गते भोजपुर सदरमुकाममा भएको आक्रमण उनी सहभागी भएको पहिलो सैन्य कारबाही थियो । पश्चिमतिर माओवादीले विभिन्न आक्रमणहरू गरिरहेको थियो । पूर्वी कमान्डअन्तर्गत भने माओवादीले ठूलाखाले आक्रमण गर्न सकेको थिएन ।

योजनाअनुसार ठूलोखाले आक्रमण गर्नुपर्छ भन्दै सेनालाई पश्चिमतर्फ मुभ गराइयो । तर, कहाँ र कहिले आक्रमण गर्ने भन्ने चाहिँ थाहा थिएन । मिसनका लागि जाने हो तर, मिसन कहाँ र कहिले भन्ने जानकारी थिएन ।

ताप्लेजुङ कार्यक्षेत्र भएको पूर्वी कमान्डअन्तर्गतको १९ नम्बर बटालियनको ए कम्पनीका सदस्य बराल एक महिना अघिबाट फौजसहित पश्चिमतर्फ लागे । उनी पहिलो पटक लडाइँमा सहभागी भएका कारण उनको भूमिका भने सर्पोटिङ फोर्सको रूपमा मात्रै थियो ।

‘सीधै आक्रमण गरेर फायर गर्नु उनको जिम्मेवारी थिएन’, उनले सुनाए, ‘आक्रमणका क्रममा घाइते भएकाहरूलाई उपचार स्थलसम्म ल्याउने, मृत्यु भएकाहरूको शवको व्यवस्थापन गर्ने जिम्मा मेरो थियो ।’

उनले भोजपुरमा भएको आक्रमणमा घाइतेहरूको उद्धार र मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्ने काम गरे । उनी खाली हात यता र उता कमान्डरको आदेशमा कुदे । लडाइँमा दोहोरो गोली चलिरहेको बेला घाइतेलाई बोकेर उपचार स्थलसम्म पुर्‍याए ।

‘अहिले सम्झन्छु, त्योभन्दा खतरा केही हुँदैन रहेछ । भोजपुर आक्रमणका बेला रातभरि घाइतेको उद्धारमा लागे’, बरालले स्मरण गरे । रातभरि चलेको युद्धमा माओवादीतर्फ पनि ठूलो क्षति भएको थियो । उनी अहिले पनि भोजपुर आक्रमणमा यति नै माओवादी र सेनाको मृत्यु भयो भन्न सक्दैनन् ।

हिमाल खबर पत्रिकामा छापिएको समाचारमा भने भोजपुरमा भएको आक्रमणमा नेपाल प्रहरीका २० र नेपाली सेनाका १३ जनाको मृत्यु भएको उल्लेख छ । सो समाचारमा माओवादीका ६० जनाभन्दा बढीको मृत्यु भएको दाबी छ ।

बरालले भने, ‘हाम्रोतर्फबाट पनि ठूलो क्षति भयो । तर, माओवादीले भोजपुर आक्रमणलाई जीतको रूपमा लिएको छ । हतियारहरू कब्जा गरेका थियौं । सेनासँग पूर्वी कमान्डमा पहिलो पटक भिडेर जितेका थियौं ।’

‘अरुण तरेर नाना, तमोर तरेर’ गीतको सृजना

मणि थापाले सृजना गरेको र प्रदीप देवानले गाएको ‘अरुण तरेर नाना तमोर तरेर’ गीत माओवादीहरूका बीचमा खुब लोकप्रिय छ । शान्ति प्रक्रियामा आएपछि माओवादी सम्बद्ध सांस्कृतिक समूहले हरेक कार्यक्रममा यो गीतमा नृत्य प्रस्तुत गर्थे । यो गीत पूर्वी क्षेत्रमा चर्चित थियो । यो गीतको सृजना सत्यमा आधारित भएको बताउँछन् बराल ।

भोजपुर आक्रमणका लागि माओवादी सेनाले सोलुको सोताङ एरियामा सैन्य अभ्यास गरेको थियो । पछि खोटाङको ऐ‌सेलु खर्कको जङ्गलमा पनि सैन्य अभ्यास गर्‍यो । कुनै ठूलो आक्रमण गर्नुअघि उस्तै भूगोल भएको स्थानमा माओवादी सेनाले अभ्यास गर्ने गर्थे । सैन्य अभ्यासमा रहेको माओवादीको सेनामाथि ऐंसेलु खर्कमा नेपाली सेनाले रातको समय आक्रमण गर्‍यो ।

त्यो भिडन्तमा बटालियन कमान्डर, सहायक कमान्डर र कम्पनी कमान्डरलगायतको मृत्यु भयो । यो भिडन्त हुँदा सँगै थिए तत्कालीन माओवादीका नेता मणि थापा । ऐ‌ंसेलु खर्कमा भएको भिडन्तमा अलैंचीको पातभरि रगतको छिर्का थियो । बाटोभरि रगत थियो । यो भिडन्त भएपछि भोजपुर आक्रमण भएको थियो । भोजपुर आक्रमणलाई विजयको रूपमा लिँदै ‘अरुण तरेर नाना तमोर तरेर, आयौं हामी वीरताको गाथा कोरेर’ बोलको गीत रचिएको बरालले बताए ।

‘भोजपुर आक्रमणपछि हामी हाम्रो कार्यक्षेत्र ताप्लेजुङतर्फ फर्किंदै थियौं । सँगैका साथीहरू मारिएका थिए । केही घाइते थिए । बाटोमा फर्कंदा हामीसँगै रहेका सांस्कृतिक समूहका साथीहरूले यही गीत गाएका थिए । हामी यही गीतमा नाच्दै रमाइलो गर्थ्यौं’, उनले भने ।

पशुपतिनगर आक्रमण र ४२ जना प्रहरी नियन्त्रणमा

मेची कोशीमा माओवादी सेनाको २ वटा बटालियन थियो । १८ नम्बर र १९ नम्बर बटालियन । यी दुई सेनाको बटालियनले पूर्वमा अर्को सापेक्षित केन्द्रीकृत आक्रमणको योजना बनायो ।

मेची कोशी ब्युरोको योजनामा पशुपतिनगरमा भएको आक्रमणमा भने बरालले आफ्नो भूमिका पाए । उनको भूमिका थियो, भारतीय सीमा सुरक्षा बल एसएसबीलाई रोक्ने । उनी एके फोर्टी सेभेन हतियारसहित युद्धको मोर्चामा सहभागी थिए ।

सुरुमा भारतीय सुरक्षाकर्मीलाई यो लडाइँ तिमीहरूसँग होइन । हाम्रो आन्तरिक मामिला हो भनेर सम्झाउने, सम्झाउँदा पनि नमाने ठोक्ने योजना बन्यो । इलामको जमुना भन्ने ठाउँमा आएर माओवादीले डिटेल योजना बनाएको थियो । नयाँ बजार गोर्खे हुँदै उनीहरू पशुपतिनगर आक्रमणका लागि हिँडे ।

‘मेरो जिम्मा पूर्वपट्टि भारतीय सीमा सुरक्षा बललाई रोक्ने थियो । हामीले माइकिङ गरेर आक्रमण गर्दैछौं । नेपालको मुद्दा भएकाले तपाईंहरु चुप लागिदिनुस्, हामी केही गर्दैनौं’, बरालले सुनाए, ‘पशुपतिनगरमा फायर खोलेपछि एसएसबीले केही राउन्ड फायर खोल्यो । पछि उनीहरूले केही गरेनन् । हामीले पनि केही गरेनौं ।’

माओवादी सेनाले आधा घण्टामा नै प्रहरी चौकी कब्जा गर्‍यो । भिडन्तमा इन्स्पेक्टरसहित एक जना हवल्दार मारिए । ४२ जना प्रहरीले आत्मसमर्पण गरे । यो २०६० साल चैत २५ गतेको घटना थियो । चौकीमा भएका हतियार, अन्य सामग्रीसहित ४२ जना प्रहरीलाई कब्जामा लिएर पहिले आएकै बाटोबाट माओवादी सेना फर्कियो ।

माओवादीले कब्जामा लिएका प्रहरीलाई ९ दिनपछि संखुवासभाको गुफा पोखरीमा ल्याएर मानव अधिकारकर्मी र आईसीआरसीको जिम्मा लगाइयो ।

पशुपतिनगरबाट इलाम, पाँचथर, ताप्लेजुङको उच्च हिमाली क्षेत्र हुँदै संखुवासभाको गुफा पोखरीसम्म आउँदा पटक पटक सेनासँग भिडन्त भएको भयो । सेनाले गौडा गौडामा छेक्थ्यो । कहिले हेलिकप्टरबाट आक्रमण हुन्थ्यो त कहिले लङ रेन्ज प्रहार गर्ने हतियारबाट ।

‘खान बोकेको चिउरा र सातु कब्जामा लिएका प्रहरीलाई खुवाउनु पर्‍यो । पशुपतिनगरमा आक्रमण गरेको तीन दिनसम्म केही नखाइ हिँडियो । तीन दिनपछि हात थापेर अलिकति सातु खाएँ । भोकभोकै पहाडी र हिमाली भाग काटियो’, बरालले भने, ‘बाँच्न खानु थियो । अघाउनलाई होइन । पाँचथरको फालेलुङमा साथीहरूले चौंरी काटेछन् । पकाउन आगो बालेको धुवाँ देख्नासाथ सेनाले हेलिकप्टरबाट आक्रमण गर्‍यो । चौंरीको काँचै मासुसमेत खान पाइएन ।’

पाँचथरको रोल कल र बन्दीपुर भिडन्त

पशुपतिनगर आक्रमणपछि नर्मल अवस्था थियो । कुनै ठूलो आक्रमण भएको थिएन । पाँचथरमा भएको बेला अचानक रोल कल भयो । कमान्डरले सोधे एसएलसी पास गरेका को को हुनुहुन्छ, पास हुनेले हात उठाउनू ? नौ कक्षा पढ्दापढ्दै मिलिसिया भएका बरालले वरिपरि हेरे । हात उठाउने कोही देखेनन् । उनलाई लाग्यो पक्कै केही अवसर हुनसक्छ । त्यसपछि उनले डराइ डराइ हात उठाए ।

कमान्डरले सोधे, ‘साँच्चै पास गरेको हो ?’

बरालले भने, ‘म कक्षाको पहिलो विद्यार्थी हुँ । एसएलसी दिँदादिँदै सेनाले टार्गेट बनायो । परीक्षा सकेर पार्टीमा लागेको रिजल्ट हेरेको छैन । मलाई विश्वास छ, पास हुनुपर्छ ।’

यसपछि उनको भूमिका फेरियो । उनी मेडिकलको तालिममा सहभागी हुन पाए । एक महिना मेडिकल तालिममा सहभागी भएपछि उनले युद्धमा घाइते भएकाहरूको उपचार गर्नुपर्‍यो । माओवादीले नै आयोजना गरेको तालिममा उनी द्वितीय भए । मेडिकल तालिममा दोस्रो भएपछि उनी पूर्वी कमान्ड कार्यालयमा सरुवा भए । पूर्वी कमान्ड कार्यालयमा त्यो बेलाका प्रमुख थिए, रामबहादुर थापा बादल । उनी बादलसँगै बसेर काम गर्न थाले । त्यसपछि उनले आईसीआरसीले दिएको वार क्याजल ट्रिटमेन्टको तालिम लिए ।

द्वन्द्व ग्रस्त मुलुकका विद्रोहीहरूलाई वार क्याजल ट्रिटमेन्टसम्बन्धी तालिम दिने नर्वेजियन डाक्टरबाट बरालले लाइफ सेभिङ सर्जरीको तालिम पाए । त्यसपछि उनले युद्धमा घाइते भएकाहरूको उपचार कसरी गर्ने, ज्यान कसरी बचाउने भन्ने आधारभूत ज्ञान पाए । माओवादीमा लागेपछि गोपालबाट शक्ति भएका बराल त्यसपछि भने डा. शक्ति नामले परिचित भए ।

उनले अब युद्धस्थलमै गएर घाइते सेनाको उपचार गर्न थाले । उनलाई सधैं सम्झनामा आइरहने भिडन्त भने सिरहाको बन्दीपुर भिडन्त हो । त्यहाँ सेनाको ब्यारेकमा आक्रमण गरिएको थियो । सो आक्रमणमा माओवादीतर्फ ठूलो हताहती भयो । ४० जनाभन्दा बढी माओवादी सेनाको मृत्यु भएको थियो । २५० भन्दा बढी घाइते भए । उनले त्यही रात ६० भन्दा बढी घाइतेलाई प्राथमिक उपचार गरे ।

उनले सम्झिए, ‘हामीले लन्चर, रकेट र मोर्टार हानेपछि सेना बस्ने घर भत्किन्छ भन्ने अनुमान गरेका थियौं । तर, जति हान्दा पनि भवन भत्किएन । हाइवेमा भएको बिजुली काट्न नसकेपछि उताबाट ताकी ताकी गोली हानियो । हाम्रोतर्फ ठूलो क्षति भयो । रातभरि भएको भिडन्तमा माओवादी सेनाका सबै गोली सकिए । बाध्य भएर मोर्चा छाडियो । लडाइँबाट भागियो । यो घटना २०६२ साल वैशाख २६ गतेको हो ।

चुलाचुली शिविरको बास, औपचारिक पढाइको आस

माओवादी शान्ति प्रक्रियामा आएपछि बराल फस्ट डिभिजनअन्तर्गत टाँडीमा रहेको शिविरमा बस्न थाले । शिविरमै बसेका बेला उनले खुला विद्यालयबाट प्रथम डिभिजनमा एसएलसी पास गरे । शिविरको बसाइमा उनले विराट हेल्थ कलेजबाट सीएमए पास गरे । उनले अहेब सँगसँगै प्लस टु पनि गरे ।

शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन काम भइरहँदा उनले विराट हेल्थ कलेज विराटनगरमा ल्याब टेक्निसियन पढ्न थाले । उनको पढाइमा विभिन्न दातृ निकायले आर्थिक सहयोग गरे । उनले उर्लाबारी क्याम्पसमा व्याचलर पनि पढ्न थाले ।

शिविरमा पढाइप्रति एकदमै नकारात्मक धारणा थियो । उनले सुनाए, ‘कमान्डर भएकाहरूको क्वालिफिकेशन थिएन । मैले एकेडेमिक प्रमाणपत्र लिन्छु भनेर पढ्नलाई शिविरमा ठूलो लडाइँ गर्नुपर्‍यो । बुर्जुवा शिक्षा लिनुहुँदैन भनेर मलाई पढ्नबाट वञ्चित गर्न खोजियो ।’

कमान्डरहरूबाटै पढ्नलाई रोक्न खोजे पनि उनी रोकिएनन् । माओवादी सेना समायोजन हुने बेलासम्ममा उनले ल्याब टेक्निसियन र व्याचलर दुवै सके ।

सेना समायोजन हुँदा सेनामा अधिकृत भएर जान चाहन्थे । तर, लडाकुमा भर्ना हुँदा एसएलसी पास गरेकाहरूलाई मात्रै सेनाको अधिकृत बनाउने मापदण्ड कायम भयो । उनले माओवादी सेनामा जाँदा नौ कक्षामात्रै पढेका थिए । उनले सेनाको सपना हापे र ६ लाख रुपैयाँ लिएर सामान्य जीवनमा फर्कने निधो गरे ।

सामान्य जीवनमा फर्किएसँगै उनी लोकसेवाको तयारीमा लागे । पहिलो पटक वैकल्पिकमा परेका बरालले दोस्रो पटकमा छैटौं तहको अधिकृतमा नाम निकाले ।

सकिएन छाती चौडा र शीर ठाडो पारेर हिँड्न

शान्ति प्रक्रियामा आएपछि माओवादी माओवादी जस्तो नभएकोमा उनलाई गुनासो छ । ‘जो ज्यान दिन तयार भए उनीहरुले ज्यान दिएबापत के पाए ?’, उनको प्रश्न थियो, ‘पार्टीको लागि ज्यान दिन सक्ने फोर्सको सम्पत्ति भएको माओवादी नेतृत्वले मिसबिहेव गर्‍यो । माओवादी सकिनुको कारण त्यहीबाट सुरु भयो ।’

उनले अहिले माओवादी आन्दोलन र पार्टी क्षतविक्षत अवस्थामा पुगेको बताए । चैते कमरेडहरूले पार्टी बिगारेको बताउँदै उनले भने, ‘हिजो आएका कमरेडहरूलाई च्याप्ने काम नेताहरूले गरे । नेताहरूले त्यहीबाट गल्ती सुरु गरे ।’

‘घाइते, अपाङ्ग भएका र सहिदका परिवार देख्दा रुन मनलाग्छ । अहिले पनि घाउ बल्झियो भनेर साथीहरूले फोटो हाल्छन् । आफ्नै पनि हातमा भएको चोट बल्झिरहन्छ । सम्झँदा रुन मनलाग्छ । हामीलाई गर्नुपर्छ भन्ने थिएन । हाम्रो आफ्नो स्वार्थ भन्ने नै थिएन । हाम्रो माग पनि केही थिएन । राष्ट्रियस्तरको परिचयपत्रको खोस्टे देऊ भन्ने थियो’, उनले भने, ‘अरूले त दिएनन् दिएनन्, आफ्नै नेता पटक पटक प्रधानमन्त्री हुँदा पनि हामीलाई साइन गरेर एउटा प्रमाणपत्रसम्म दिएनन् ।’

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनबाटै माओवादी आउट अफ ट्याक भएको बराल बताउँछन् ।

‘अहिले त माओवादी नेताहरूमा माओवादीको कुनै गुण नै छैन । हिजो नेताहरूका लागि ज्यान दिन भोलेन्टियर रूपमा बन्दुक पड्काएको कुरा त सुनाउन पनि लाज हुने स्थिति आएको छ । छाती खोलेर मैले देशको लागि रगत बगाएको हो भन्न सक्ने अवस्था पनि आएन’, उनले भने, ‘माओवादी नेताहरूले छाती खोल्ने र शीर ठाडो पार्ने अवसरसम्म दिएनन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *