अन्यायपूर्वक सरुवा गर्न लागिएपछि एआईजीपी राई असन्तुष्ट, आईजीपीलाई फोन गरेर के भने ?
काठमाडौं । आफूमाथि अन्यायको अन्तिम हतियार चलाउने तयारी बुझेपछि नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजीपी) टेकप्रसाद राईले आईजीपी वसन्त कुँवरलाई फोन गरेर असन्तुष्टि पोखेका छन् ।
३० वर्षे सेवा अवधिमा जम्मा तीन पटक मात्र इन्चार्जको जिम्मेवारी पाएका राईलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) बाट निकालेर कार्य विभागमा थन्क्याउने तयारी बुझेपछि उनले असहमति जनाएका हुन् ।
आईजीपी कुँवरको सचिवालयका एक उच्च अधिकृतका अनुसार राईले मंगलवार बिहान फोन गरेर ‘तपाईँहरूले अन्यायको चक्र चलाइरहनु भएकै छ, थन्क्याउने हो भने कार्य विभाग होइन, सुरक्षा परिषदमा पठाइदिनुस्, अरू तपाईँहरूको सरुवा म मान्दिन’ भनेका छन् ।
सरकारले नेपाल प्रहरीका एआईजीहरुको सरुवा गर्न लागेको छ । उपत्यका प्रहरी प्रमुख श्याम ज्ञवालीलाई एकेडेमीमा सरुवा गर्नका लागि टेकप्रसाद राईलाई त्यहाँबाट हटाउन खोजिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका अभियुक्तहरूलाई रानी पोखरीमा बोलाएर अख्तियार प्रमुख प्रेम राईलगायतको नाम लिन दबाब दिएका ज्ञवालीसँग कांग्रेस सभापति शेरबहादुर देउवा समेत रुष्ट छन् ।
मेट्रोपछिको शक्तिशाली मानिने एकेडेमीमा ज्ञवालीलाई लैजान राईमाथि अन्याय गर्न लागिएपछि प्रहरीका उच्च अधिकारीहरूमा समेत असन्तुष्टि बढेको छ । राईले आफ्नो जागिर अवधिमा दुईवटा जिल्ला इन्चार्जबाहेक एकेडेमी नै तेस्रो हो ।
आईजीपीको प्रतिस्पर्धामा दोस्रो नम्बरमा रहेका राईको राजनीतिक पहुँच नभएका कारण उनी सधैँ पछि पर्दै आएका छन् । २३ वर्षसम्म उनी ‘अन्डर कभर’ अपराध अनुसन्धानको भूमिकामा थिए । राई भएकै कारण अख्तियार प्रमुख प्रेम राईसँग नजिक रहेको भनेर उनीमाथि अन्याय गरिएको उच्च अधिकारीहरू बताउँछन् ।