सिटिजन्स बैंकको संरक्षित बचत खातामा आकर्षण, २० प्रकारको खातामा कति कति पाइन्छ ब्याज ?
काठमाडौँ । सिटिजन्स बैंकले सञ्चालनमा ल्याएको २० प्रकारका खातामध्ये संरक्षित बचत खातामा निक्षेप कर्ताको आकर्षण देखिएको छ ।
बीमाको विशेषता भएको संरक्षित बचत खाता भएका निक्षेपकर्ताले ५० हजारसम्मको औषधी उपचार बिमा र ५ लाखसम्मको दुर्घटना बिमा पाउने बैंकका डिपोजिट हेड पारस थापाले बताए । तर यस खातामा एक हजार रुपैयाँ न्यूनतम ब्यालेन्स भने हुनुपर्छ ।
थापाका अनुसार हरेक उमेर समूहका लागि फरक फरक खातामार्फत सिटिजन्सले निक्षेप संकलन गरिरहेको छ ।
कर्मचारीका लागि तलब बचत खाता, विदेश गएका नेपालीका लागि मातृभूमि बचत खाता, रेमिट्यान्स बचतका लागि सिटिजन्स इन्टरनेशनल सेभिङ अकाउन्ट रहेको छ ।
सिटिजन्स इन्टरनेशनल सेभिङमा भने सबैभन्दा उच्च ब्याजदर रहेको छ । मातृभूमि बचत खातामा एक सय रुपैयाँ न्यूनतम मौज्दात हुनुपर्छ ।
नगद रहित कारोबारलाई प्रोत्साहन गर्न सिटिजन्सले स्मार्ट बचत खाताको अवधारण समेत ल्याएको छ ।
जसलाई ग्रिन प्रोडक्टको संज्ञा दिइएको छ । स्मार्ट बचत खातामा जम्मा भएको रकम इन्टरनेट बैंकिङ, मोबाइल बैकिङ मार्फत मात्र प्रयोग गर्न पाइनेछ ।
यसका ग्राहकले चेक पाउँदैनन् भने स्टेटमेन्ट प्रिन्ट पनि गरिँदैन । सबै काम अनलाइन बाटै हुने बैंकले जनाएको छ ।
साउनको सोमबार खाता खोल्ने महिलाका लागि गिफ्ट योजना ल्याएको बैंकले तिजमा पनि जित विशेष योजना सार्वजनिक गर्ने जनाएको छ । अहिले महिला बचत खाता अन्तर्गत महिलालाई लकरमा २५ प्रतिशत सम्म छुट दिँदै आएको छ ।
सिटिजन्सले लकरको साइज अनुसार वार्षिक ३ हजार रुपैयाँ देखि ८ हजार रुपैयाँसम्म लकर शुल्क लिँदै आएको छ । यही शुल्कमा महिला बचत खाता अन्तर्गतका निक्षेपककर्ताले २५ प्रतिशतसम्म छुट पाउनेछन् ।
यस्तै प्रिमिलेज सेभिङ अन्तर्गत न्यूनतम १ लाख रुपैयाँ नगद मौज्दात हुनुपर्नेछ । अहिले बैंकले ५.४ प्रतिशत देखि ७.४ प्रतिशतसम्म बचतको ब्याज दिइरहेको छ ।
आर्थिक वर्ष २०७९/८० को असार मासन्तसम्म सिटिजन्सले ग्राहकबाट १ खर्ब ६८ अर्ब ४ करोड २१ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो बर्ष (२०७८/७९) को तुलनामा साढे १० प्रतिशतले बैंकको निक्षेप बढेको हो ।
अहिले बैंकमा मुद्दती अन्तर्गतको निक्षेपको हिस्सा बढ्दै गएको छ । डिपोजिट हेड थापाका अनुसार ६० प्रतिशत निक्षेप मुद्दती (फिक्स्ड) रहेको छ भने ४० प्रतिशत साधारण निक्षेप रहेको छ ।
कुन खाता अन्तर्गतका निक्षेपकर्ताले कति पाउँछन् ब्याज ?
सिटिजन्स साधारण खाता, महिला बचत खाता, मुना बचत खाता, मातृभूमि बचत खाता, ज्येष्ठ नागरिक बचत खाता, सिटिजन्स ब्रान्चलेस बचत खाता, जिटुपी बचत खाता, घरदैलो बचत खाता, दशक खाता, सरल बचत खाता, विशेष बचत खातामा ५.४० प्रतिशत ब्याजदर रहेको छ छ ।
यस्तै इन्टरप्राइज फण्ड खाताका लागि भने ६.४० प्रतिशत ब्याजदर रहेको छ । रेमिट्यान्स आइपिओ बचत खातामा भने सबैभन्दा बढी व्याज दिइएको छ । यसको ब्याजदर ७.४ प्रतिशत रहेको बैंकले जनाएको छ ।
हाल सिटिजन्स बैंकमा १३ लाख ७४ हजार ५ सय निक्षेप खाता रहेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरका आफ्ना १ सय ८८ वटा शाखा, १४७ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरूबाट १६ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानीका लागि प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको बताएको छ ।