हट्याे ट्रेडमार्क लिने झन्झट !
काठमाडौं । नेपालमा ट्रेडमार्क लिनेहरुको संख्या ह्वात्तै बढेको छ । ६ महिनाभित्रै ट्रेडमार्क लिनसक्ने व्यवस्था गरेपछि यो अवस्था आएको उद्योग विभागले जनाएको छ । यसअघि एउटा ट्रेडमार्क लिन २ वर्षसम्म धाउनुपर्ने बाध्यता थियो ।
विभागका अनुसार गत वर्षमात्रै ३ हजार २५४ वटा ट्रेडमार्क दर्ता भएका छन् । यससँगै नेपालमा दर्ता भएको ट्रेडमार्कको संख्या ५८ हजार पुगेको छ ।
व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिह्न, तस्बिर, आकार वा शब्द आदिलाई ट्रेडमार्क भनिन्छ । यसले उस्तै किसिमको सामान उत्पादन गर्ने अर्काे व्यवसायभन्दा फरक देखाउन मद्दत गर्छ ।
यद्यपि ट्रेडमार्क दर्ता सँगसँगै पछिल्लो समय एउटाले लिएको ट्रेडमार्कको नक्कल गर्दै सामान उत्पादन गर्ने तथा बेच्ने कम्पनीहरुको संख्या पनि बढेको छ ।
विभागका अनुसार ट्रेडमार्कको नक्कल गर्नेहरुमा विदेशीभन्दा नेपाली कम्पनीहरु धेरै रहेका छन् । ट्रेडमार्क कुनै पनि फर्म वा कम्पनीको सम्पत्ति हो । उसले लिएको ट्रेडमार्क जतिसुकै बेला पनि बिक्री गर्न सक्ने अधिकार हुने औद्योगिक सम्पत्ति शाखाका निर्देशक डिकबहादुर कार्कीले बताए ।
ट्रेडमार्क रजिष्ट्ररको रेकर्ड राख्ने विभागसँग कति ट्रेडमार्क प्रयोगमा छन् र कति छैनन् भन्ने एकिन विवरण भने छैन ।
सामान्यतया ट्रेडमार्क लिएको एक वर्षभित्र सम्बन्धित व्यक्तिले ट्रेडमार्कको अवस्था कस्तो छ, प्रयोगमा छ कि छैन भन्ने जानकारी विभागलाई गराउनुपर्ने हुन्छ । तर, यस्ता जानकारीहरु विभागमा खासै आएको देखिँदैन । रेकर्ड नराखिए पनि कार्कीले पहिलाभन्दा अहिले विभागले धेरै कुराको सिस्टम बसाल्दै गएको तर्क गरे ।
उनले १ लाख ८ हजार फाइल अहिले चाहेकै बेला पाउन सक्ने गरी व्यवस्थित गरेको र प्रणालीगत सुधारमा अगाडि बढेको बताए ।
‘पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ अनुसार कुनै पनि कम्पनीको स्वीकृति नलिई लोगोमात्रै उसको बनाएर वस्तु उत्पादन गर्न पाइँदैन’, उनले भने, ‘यस्तो गर्नु भनेको पेटेन्टको चोरी गर्नु हो र यसो गरिएको खण्डमा बढीमा एक लाखसम्म जरिवाना गर्न सकिने तथा उत्पादित वस्तु जफत हुने व्यवस्था छ ।’
६ हजारमै दर्ता हुन्छ ट्रेडमार्क
यदि कसैले ट्रेडमार्क लिन चाहेमा उद्योग विभागमा निवेदन दिनुपर्छ । रितपूर्वक निवेदन दिएकाहरुको हकमा ७ दिनभित्र ट्रेडमार्क दर्ता हुने नहुने जानकारी विभागले दिन्छ । यदि दर्ता हुने अवस्था छ भने पछिल्लो आवेदन दिएको ४५ देखि ६० दिनभित्र विभागले आफ्नो औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशन गर्छ । त्यसको ९० दिनभित्र दाबी/विरोध हुन्छ । यस आधारमा ६ महिनाभित्र सम्बन्धित व्यक्तिले सर्टिफिकेट (प्रमाणपत्र) पाउँछ ।
ट्रेडमार्क संघीय सरकारको एकल सूचीभित्रै पर्ने भएकाले यसको दर्ता संघीय संरचनाअन्तर्गत पर्दैन । विभागबाट मात्रै हुन्छ । यदि विदेशस्थित कम्पनीले विदेशमा ट्रेडमार्क दर्ता गरेको छ भने नेपालमा हक कायम गर्न विभागमा आवेदन दिनुपर्छ । जहाँ दर्ता भएको छ, त्यहाँको सर्टिफिकेटको आधारमा आवेदन दिएपछि ट्रेडमार्कको प्रक्रिया अघि बढ्छ ।
सुरुमा ट्रेडमार्क दर्ताको लागि आवेदन दिन एक हजार शुल्क लाग्छ भने प्रमाणपत्र पाउने बेलामा थप ५ हजार रुपैयाँ बुझाउनुपर्ने विभागले जनाएको छ ।
पैतृक सम्पत्ति हस्तान्तरण भए जस्तै एउटा कम्पनीबाट अर्को कम्पनीलाई सम्पूर्ण दायित्व सकार्ने गरिदियो भने ट्रेडमार्क बेच्न सकिन्छ । तर, एउटाको नाममा दर्ता भएको ट्रेडमार्क उसको अनुमतिबेगर अरु कसैले प्रयोग गर्छ भने त्यो गैरकानूनी हो ।
कस्तो अवस्थामा खारेज हुन्छ ट्रेडमार्क ?
ट्रेडमार्क दर्ता गरेको १ वर्षभित्र प्रयोग गरेन भने खारेज हुनसक्ने व्यवस्था छ । तर, त्यसका लागि ट्रेडमार्क प्रयोग भए नभएको जानकारी गराउनुपर्छ । एक पटक पाएको ट्रेडमार्कको अवधि ७ वर्षको हुने भएकाले कसैले पनि बीचमा प्रयोग भए नभएको जानकारी विभागलाई दिँदैनन् ।
यसकारण पनि धेरैजसो ट्रेडमार्कहरु प्रयोग नै नगरी होल्ड गरेर बसेको हुनसक्ने आशंका विभागको छ । प्रमाणपत्र पाएको मितिले सात वर्ष पुगेपछि ३५ दिनभित्र ट्रेडमार्क नवीकरण गर्नुपर्छ । सो अवधिभित्र पनि नवीकरण नगरे एक हजार जरिवाना लिएर थप ६ महिनाको समय दिइन्छ । सो समयभित्र पनि नवीकरण नभए ट्रेडमार्क स्वतः खारेज हुने विभागले जनाएको छ ।
ट्रेडमार्क एक पटक दर्ता गरेपछि बदल्न मिल्दैन । व्यापार चिह्न यस्तो चिह्न हो, जसले एउटा प्रतिष्ठानले उत्पादन गरेको वस्तु वा सेवालाई अर्को प्रतिष्ठानले उत्पादन गरेको वस्तु वा सेवाबाट अलग्याउँछ र पहिचान स्थापित गर्न मद्दत गर्छ ।