एक महिनाभित्र ‘खाल्डा-खुल्डीरहित काठमाडौं’ बनाउन मन्त्री ज्वालाको निर्देशन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समय सकिएलगतै ‘खाल्डा-खुल्डीरहित काठमाडौ’ अभियान सञ्चालन गर्ने भएको छ ।
काठमाडौंका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत प्राधिकरणसँग छलफल गरेपछि मन्त्रालयले अभियान थाल्ने मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
खानेपानी, नेपाल विद्युत प्राधिकरण र वर्षातले काठमाडौंका सडकमा धेरै खाल्डाखुल्डी देखिन थालेका छन् । संघीय सरकारको मातहतमा रहेका सडकहरु वर्षात हटेलगतै स्तरउन्नतीको काममा लाग्ने मन्त्री ज्वालाले बताएका छन् ।
मंगलवार चक्रपथ बुढानीलकण्ठको सडक अबलोकन गर्दै मन्त्री ज्वालाले खाल्डाखुल्डी रहित काठमाडौं बनाउने बताए ।
‘दैनिक लाखौ मानिस हिड्ने बाटो खाल्डा र खुल्डी हुँदा निकै सास्ती भयो, अब यो अबस्थालाई हामी छिट्टै अन्त्य गर्छौ’, मन्त्री ज्वालाले भने, ‘खाल्डा खुल्डी पुर्न र सडकको स्तरोन्नति गर्न मातहतका निकायलाई निर्देशन दिइसकेका छौ भने सडकको अवस्था हेर्न म आफै नियमित आउँछु ।’
खानेपानी, नेपाल बिद्युत प्राधिकरण र सडक विभागबीच राम्रो समन्वय नहुँदा सडकमा समस्या देखिने गरेको छ । खानेपानी, नेपाल विद्युत प्राधिकरण, सडक विभाग र काठमाडौं महानगरसहितको एउटा समिति पनि बनेको छ । समितिको बैठक छिट्टै बोलाउने मन्त्रालयका सचिव केशव शर्माले बताए ।
‘सडक विभागले सडक बनाउँदै जान्छ, खानेपानी र विद्युत प्राधिकरणले खन्दै जान्छ, बिग्रेको दोषजति मन्त्री र सचिवलाई आउँछ’, मन्त्रालयका सचिव केशव शर्माले भने, ‘अब यो अवस्था अन्त्य गर्न छुट्टै बैठक बस्छौ र स्थायी निकास निकाल्छौ ।’
वर्षात हटेलगतै भदौको दोस्रो साताबाट सडक मर्मत सम्भारको काम शुरु गरिने भएको छ । महाराजगञ्ज–बुढानीलकण्ठ सडकका धेरै ठाउँमा पानीको पाइप फुटेर सडक खाल्डा र खुल्डी परेको छ । यो समस्या तत्काल हल गर्न मन्त्री ज्वालाले निर्देशन दिएका छन् ।