बडीमालिकाका लागि ‘पेटारो’ प्रस्थान
डोटी । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बाजुराको बडीमालिकाका लागि डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) सहितको टोली प्रस्थान गरेको छ ।
बिहीबार डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विशेष पूजाआजा गरी पेटारो पठाएका हुन् ।
सो क्रममा सरकारी पूजा सामग्रीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टुकुडीले पेटारोलाई सलामी दिएको थियो । पेटारो पुर्याउने टोलीको नेतृत्व जिल्ला समन्वय समिति, डोटीका सवारी चालक छत्रबहादुर खड्काले गरेका छन् ।
पञ्चे बाजासहित जिल्ला प्रशासन कार्यालय, डोटीबाट निस्केको पेटारो सहितको टोली प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी बडीमालिका तिर लागेको हो ।
जनै पूणिर्माको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडीमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ । औपचारिक रूपमा पूजाआजा गर्नुपर्ने परम्परा अनुसार अछाम, डोटी, जुम्ला र कालीकोटको सरकारी पूजा सामग्री बडीमालिका जाने गर्दछ ।
यसअघि अनौपचारिक रूपमा बाजुराबाट पनि पूजा जाने भएको पनि २०७२ सालदेखि औपचारिक रूपमै सरकारी पूजा सामग्री जाने चलन चलाइएको छ ।
बिहीबार हिँडेको सरकारी टोली साँझ पूर्वी चौकी गाउँपालिका(१ फुलौटमा बास बस्नेछ । यस्तै शनिवार पूर्वी चौकी(५ मा रहेको धानुकाँडा बास बस्नेछ ।
यस्तै अछामको मार्कु, प्रसिद्ध धार्मिक स्थल बैद्यनाथ हुँदै बडीमालिका पुग्ने चलन छ । पूजा सामग्रीमा डोटी दिपायलको भुरुरी (धानको पात) र बैद्यनाथको अक्षता समावेश गरिएको हुन्छ ।
बडीमालिकाको सुदूर क्षेत्रकै सबैभन्दा सुन्दर पर्यटकीय क्षेत्र समेत हो । १४ हजार फिट उचाइमा रहेको भूमिमा २२ वटा समथर फाँटहरू, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूलहरू, त्रिवेणी, विष्णुपानी, खेतीवेती, लौरी विनायक, धर्मद्धार बडीमालिका क्षेत्रका मुख्य मनमोहक स्थलहरु हुन ।
खेतीबेतीमा परापूर्वकालदेखि खेत रोपिएको, धान रोप्नका तयार गरिएका गह्राहरु, त्यस बीचमा फालिएका बीउँका मुठाहरु जस्ताका तस्तै रहेको अनौठो दृष्य छन् ।
हिउँ पर्ने बेला त्रिवेणी पाटनमा हिउचिप्लेटी (आइस स्केटिङ) को सम्भावना छ । यो क्षेत्र जैविक विविधतामा समेत अत्यधिक धनी मानिन्छ ।
सयौँ प्रजातिका जडीबुटी यहाँ पाइने बन प्राविधिकहरू बताउँछन् । दुर्लभ बन्यजन्तुको बासस्थलसमेत बडीमालिका क्षेत्र हो ।