कर्णालीमा हवाई उडान प्रतिवन्ध कुनै पूर्वाग्रह राखेर गरिएको होइनः प्राधिकरण
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले कर्णालीमा मनसुन अवधिको लागि प्रतिवन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ ।
प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोक्किएर धेरै दुर्घटना भएको कारण हवाई सुरक्षा नीति अनुसार मनसुन अवधिभरका लागि प्रतिवन्ध लगाएको स्पष्ट पारेको हो ।
प्राधिकरणले कर्णालीका विमानस्थलहरुमा पूर्णरुपमा हवाई उडान प्रतिवन्ध लगाएको नभएर बढी हावा चल्ने समय १२ बजेपछि उडान गर्न नदिएको जानकारी दिएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोकिएर धेरै दुर्घटना हुने गरेकाले दुर्घटना न्युनिकरण गर्नका लागि यस्तो निर्णय गरेको बताए । विमानस्थलहरुलाई आइएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने साउन १९ गते प्राधिकरणले निर्णय गरेको थियो ।
जल तथा मौसम विज्ञान विभागको अध्ययन र विमानस्थल निर्देशिका २०७९ अनुसार बिहानको समय उडान भर्ने र अन्य समयमा उडान गर्दा साँझ हुँदा पाइलटहरुलाई काठमाडौं,नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको उनको भनाइ छ । मनाङ एयरको विमान दुर्घटना भएपछि प्राधिकरणले सधँैभरको लागि नभइ मनसुन अवधिभरका लागि मात्रै बन्द गरिएको भुलले बताए ।
उनले भिएफआर उडान हुने पहाडी क्षेत्रका विमानस्थलहरु तत्काल आइएफआर गर्ने सम्भवना नभएको बताए । उनले कर्णालीमा उडानको लागि बिहान कहिलेकाहीँ मौसम बिग्रेर उडान नहुने र धेरै पानी परेकाले गर्दा प्राधिकरणले तोकेको समयमा उडान नहुँदा समस्या भएको बताए ।
उनले भने ,‘दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरुको भिएफआर उडान हुने ठाउँमा पहाडमा ठोकिएर धेरै दुर्घटना भएका छन् । दुर्घटनाको देश भनेर विश्वले चिन्ने अवस्था भयो । जनताको सहजताको लागि बनाएको हवाई उडानबाट मान्छेहरु मर्न नपरोस् । जनताको सुरक्षाको लागि भनेर उडान बन्द गरेको हो । विमानस्थल बन्द गरेको होइन । नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान गरेको हवाई क्षेत्र र हिमाली पर्यटन छ । हिमाली पर्यटन भनेको माउण्टेन हवाई उडान हो । माउण्टेन उडानलाई नेपालले विश्वमा बद्नाम हुनबाट जोगाउनको लागि हवाई दुर्घटना न्युनिकरण हुनुपर्छ । यसको लागि हवाई सुरक्षाका नियमहरु लागू गर्नुपर्छ । भिएफआर र आइएफआरका नियमहरु कडाईका साथ लागू गर्नुपर्छ । यो निर्णय कुनै क्षेत्र र जनतालाई आग्रहपूर्वाग्रह राखेर गरेको निर्णय होइन ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडामा बन्देज लगाउने निर्णय गत साउन १९ गते गरेको थियो । उक्त निर्णयका करण एक सातदेखि कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प छन् । अस्पतालले रिफर गरेर पनि हवाइजहाज र हेलिकप्टर नजाँदा हुम्लामा ४ बालबालिकाको मृत्यु समेत भएको छ ।