‘सिनियर प्रहरी अधिकृतको सरुवा सम्बन्धी मापदण्ड, २०७९’ जारी
कार्यालय प्रमुखबाट कार्यालय प्रमुखककै जिम्मेवारी पाउने गरी सरुवा र पदस्थापन नगरिने
काठमाडौं । नेपाल प्रहरीमा कार्यरत उच्च प्रहरी अधिकारीको सरुवा सम्बन्धी मापदण्ड जारी भएको छ । प्रहरी प्रधान कार्यालय नीति निर्माण समितिको बैठकबाट साउन २८ गते पारित ‘सिनियर प्रहरी अधिकृतको सरुवा सम्बन्धी मापदण्ड, २०७९’ उपप्रधान एवम गृहमन्त्री नाराणणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार स्वीकृत गरेका हुन् ।
प्रहरी नियमावली २०७१ (संशोधन सहित)को नियम ४९ को उपनियम नौ को अधिनमा रहेर प्रहरी कर्मचारीको सरुवालाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउन सरुवा समयतालिका (सरुवा क्यालेण्डर)समेत समावेश गरी मापदण्ड जारी भएको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) कुवेर कडायतले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार मापदण्डमा प्रहरी कार्यालय सहयोगीदेखि जुनियर प्रहरी अधिकृतसम्मको सरुवा सम्बन्धी व्यवस्था समेटिएको छैन ।
दर्जागत रूपमा सिनियर प्रहरी अधिकृत कार्यालय प्रमुख रहने कार्यालयको श्रेणीगत विभाजनमा स्पष्टता नभई सरुवा कार्यान्वयनमा चुनौती देखिएकोले त्योसमेत समेटी उक्त मापदण्डलाई नीति निर्माण समितिको बैठकबाट संशोधन गरी ‘प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९’ (संशोधन सहित)तयार गरी लागू गरिएको प्रवक्ता कडायतले जानकारी दिए ।
के छ मापदण्डमा ?
सरुवालाई आवधिक, पारदर्शी र अनुमानयोग्य बनाउन, सेवा विशिष्टिकरणको आधारमा अवसर प्रदान गर्न, विशिष्टिकृत सेवाको अवधारणा अनुरुप सहि व्यक्ति सहि ठाउँको मर्मलाई लागू गर्न मापदण्ड जारी भएको हो ।
प्रहरी संगठनको संस्थागत आवश्यकता र प्रहरी कर्मचारीको व्यक्तिगत अपेक्षा तथा अनुकूलतासमेतलाई दृष्टिगत गरी सरुवा गरिने, भौगोलिक, सामाजिक र साँस्कृतिक विविधतासँग सन्तुलन कायम हुने गरी सरुवा गरिने, कार्यक्षमता, कार्य सम्पादनस्तर, योग्यता, तालिम, सेवा विशिष्टिकरण र अनुभवको आधारमा सरुवा गरिनेछ मापदण्डमा उल्लेख छ ।
मापदण्ड अनुसार कार्यालय प्रमुख र सहायकको रुपमा आलोपालो हुने गरी सरुवा गरिने, रोलक्रमानुसार कार्यसम्पादन स्तरसमेतको आधारमा अवसरको समान वितरणलाई पहिलो प्राथमिकता, सांगठनिक आवश्यकता र व्यक्तिगत क्षमतालाई दोस्रो प्राथमिकतामा राखी सरुवा गरिने छ ।
मापदण्ड प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी उपरीक्षक एसपीसम्मको पदमा सरुवा गर्दा लागू हुने उल्लेख छ । मापदण्ड प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीदेखि प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीपीसम्मको पदमा सरुवा गर्दा गृह मन्त्रालयमा सिफारिस गर्ने मापदण्डको रुपमा लागू हुनेछ ।
प्रहरी कर्मचारीको स्थायी ठेगाना भएको जिल्लामा सरुवा नगरिने, तर काठमाण्डौ उपत्यकाको हकमा भने यो प्रावधान लागू नहुने जनाइएको छ । कुनै प्रहरी कर्मचारीले बसाईसराई गरेमा अनिवार्य रुपमा स्थायी बसाईसराईको प्रमाणपत्र पेश गरी अभिलेखमा आफ्नो स्थायी ठेगाना अद्यावधिक गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
प्रहरी कर्मचारीको सरुवा गर्दा भौगोलिक हिसावले तराई, पहाड, हिमाल र सुविधाको हिसावले शहरी, ग्रामिण तथा सुगम र दुर्गम क्षेत्रमा आलोपालो हुने गरी गरिने भनिएको छ । विशिष्टिकृत सेवा प्रवाह गर्ने प्रहरी कार्यालयमा सम्बन्धित सेवामा आवश्यक पर्ने तालिम प्राप्त नगरेका प्रहरी कर्मचारीलाई जिम्मेवारीमा खटाईने वा सरुवा नगरिने उल्लेख छ । कार्यालय प्रमुखको रुपमा खटिने प्रहरी कर्मचारीको हकमा कार्यालय प्रमुखबाट कार्यालय प्रमुखको जिम्मेवारी पाउने गरी सरुवा तथा पदस्थापन नगरिने उल्लेख छ ।
स्वभाविक अपेक्षा राख्ने बाहेक अनुचित दवाव वा प्रभाव श्रृजना गरी सरुवा तथा काज माग गर्ने प्रहरी कर्मचारीको अभिलेख राखी त्यसै बमोजिम मूल्याङ्कन गरी सरुवा गरिने, सामान्यतया कार्यालय प्रमुखको रुपमा एक बर्ष सेवा अवधि पुरा गरेपछि अन्यत्र सरुवा गरिने, कार्यालय प्रमुखको जिम्मेवारी दिँदा कार्य क्षमता, नेतृत्व, तालिम, अनुभव र उसले प्राप्त गरेका अवसरसमेतलाई मूल्र्याकनसमेत गरिनेछ ।
एउटै दर्जामा दोहोर्याएर कार्यालय प्रमुख दिँदा एक कार्यालय प्रमुखबाट अर्को कार्यालय प्रमुखबीचको समय अन्तर दर्जागत रुपमा आवश्यकता अनुसार निर्धारण गरिने, सामान्यतया कार्य सम्पादनस्तर सन्तोषजनक नभएका, प्रहरी आचरण विपरीत कार्य गरेका, प्रचलित कानूनद्वारा कारवाही भएका, कार्य क्षमता कमजोर भएको कारणले कार्यालय प्रमुखको जिम्मेवारीबाट हटाइएका र सुपरिवेक्षकले कार्यालय प्रमुख दिन उपयुक्त नहुने भनी कैफियत गरिएका प्रहरी कर्मचारीलाई कार्यालय प्रमुखको रुपमा दोहो¥याएर सरुवा नगरिने मापदण्डमा व्यवस्था गरिएको छ ।
प्रहरी कर्मचारीको सरुवा गर्दा एउटै दर्जामा पूर्व दरवन्दी पर्ने गरी सरुवा नगरिने र सामान्यतया अन्य दर्जामा पनि पूर्व दरवन्दी रहेको कार्यालयमा सरुवा नगरिने, सरुवा तथा पदस्थापन भएको दरवन्दीमा हाजिर नहुने प्रहरी कर्मचारीलाई त्यसै बमोजिम मूल्यांकन गरी अन्यत्र सरुवा गरिने उल्लेख छ । नेपाल प्रहरीमा विशिष्टिकृत सेवा प्रवाह गर्ने कार्यालयको छुट्टै आन्तरिक नीति भएमा त्यसै बमोजिम वा सम्बन्धित कार्यालयको सिफारिसमा सरुवा गरिने उल्लेख छ ।
दरबन्दी भन्दा बढी संख्यामा प्रहरी कर्मचारी खटाउनुपर्ने भएमा दरबन्दी थपका लागी ओएनएम गर्न प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालयलाई लेखिपठाउनुपर्ने र तत्काल दरबन्दी थप नहुने भएमा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालयको सिफारिसमा मात्र खटाईने छ ।
प्रहरी ईकाईलाई जनघनत्व, क्षेत्रफल, अपराधिक क्रियाकलाप, मुद्दा दर्ता संख्या, सुरक्षा संवेदनशिलता, सुगम तथा दुर्गम, यातायातको पहुँच लगायतको आधारमा क, ख र ग श्रेणीमा वर्गिकरण गरिएको छ । वर्गिकरण गर्ने क्रममा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, अन्वेषण योजना निर्देशनालय, बजेट शाखा, उपत्यका प्रहरी कार्यालय, प्रदेश कार्यालयबाट प्राप्त विवरणको विश्लेषणपछि नीति निर्माण समितिको बैठकबाट पारित भएको हो ।
सहायक दरवन्दीमा खटन पटन गर्दा सामान्यतया विविध कार्यालयबीच आलोपालो हुने गरी, कार्यालयको आवश्यकता तथा प्रकृति र प्रहरी अधिकृतको व्यक्तिगत दक्षता तथा अनुभव, सुगम, दुर्गम, हिमाल, पहाड, तराई आलोपालो हुने गरी प्राथमिकता क्रममा राखिने मापदण्डमा उल्लेख छ । यस्तै ठेगाना प्रदेश भित्र तथा बाहिर हुने गरी, सेवा विशिष्टिकरणलाई उपयोगी हुने गरी र प्रशासन, व्यवस्थापन, अपराध अनुसन्धान, अपराध नियन्त्रण, सुरक्षा, प्रशिक्षण र अन्य कार्यालयमा कार्यविविधताको अनुभव हासिल हुने गरी प्राथमिकता क्रममा राखिनेछ ।
सरुवा माग गर्दा प्रहरी कर्मचारीले प्रहरी नियमावली २०७१ (संशोधन सहित)को अनुसुची–१३ बमोजिमको फाराम भरी विद्युतिय माध्यम वा पत्रद्वारा सम्बन्धित कार्यालयमार्फत सरुवा गर्ने कार्यालयमा पठाउनुपर्ने, व्यक्तिगत सिफारिस, फोन तथा म्यासेज लगायतका माध्यमबाट माग गरिएका सरुवा सिफारिस सम्बोधन नहुने उल्लेखछ । दरवन्दीका कर्मचारी नखोज्ने कार्यालय प्रमुखको कार्यलाई जनशक्तिको उचित परिचालन नगरेको वा जनशक्तिको दुरुपयोग गरेको तथा अनुशासन र आदेशको पालना नगरेको विषय बनाई प्रहरी नियमावली २०७१ ९संशोधन सहित० बमोजिम कारबाही गरिने पनि उल्लेख गरिएको छ ।
सरुवा पदस्थापनापछि तोकिएको समयावधिभित्र रमाना नलिने प्रहरी कर्मचारी र रमाना नदिने जिम्मेवार प्रहरी कर्मचारीको कार्यसम्पादन र कार्यदक्षता मूल्याङ्कन त्यसै अनुसार गरिने मापदण्डमा उल्लेख छ । स्वीकृत मापदण्डमा ‘पूर्व दरवन्दी भएको जिल्ला वा कार्यालय र ठेगाना जिल्लामा सरुवा नगरिने’ भन्ने व्यवस्था भएका कारण पूर्व दरवन्दी भएको जिल्लास्थित कतिपय कार्यालयमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी निरीक्षकलाई अन्यत्र जिल्लामा रहेका कार्यालयमा कार्यालय प्रमुखकै रुपमा सरुवा गरिएको उल्लेख छ ।