महिला बाँच्न पाठेघर फाल्नुपर्ने हो ? – Nepal Press

महिला बाँच्न पाठेघर फाल्नुपर्ने हो ?

बैतडीको पञ्चेश्वर गाउँपालिकाले २०७६ को पुस १ गते गाउँसभाले ‘मर्यादित महिनावारी व्यवस्थापन निर्देशिका २०७६’ पारित गर्‍यो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले छाउपडीजस्ता सामाजिक कुरिती र अन्धविश्वास हटाउने स्थानीय सरकारको दायित्व भनी स्पष्ट उल्लेखलगायतका कानूनी आधारमा टेकी तयार गरिएको निर्देशिका हो यो ।

२०७६ पुस १ गतेदेखि नै लागू भएको यस निर्देशिका ६ वटा परिच्छेद र १९ बुँदामा विभाजित छ । जसमा दण्ड पुरस्कारदेखि छाउपडी नियन्त्रणको कार्ययोजनासम्म समेटिएको छ ।

यति राम्रो निर्देशिका लागू भएको यस पालिकामा १६ वर्षीया एक किशोरीले छाउगोठमै बसेको कारण ज्यान गुमाइन् । गाउँमै पुगेको सिंहदरबारले कागजमा बडा राम्रा व्यवस्थासहित महिनावारी अर्थात् स्थानीय भाषामा छाउ हुँदा गरिने अमर्यादित व्यवहार नियन्त्रण गर्न कानूनसरह लागू गर्नेगरी निर्देशिका बनाएकै पालिकामा किशोरीको ज्यान गयो । गत बुधबार १६ वर्षकी अनिता चन्दको ज्यान जाने कारण थियो महिनावारीको चौथो दिन अछुत भएर गोठमा बस्दा सर्पको टोकाइ ।

०००

अघिल्लो हप्ताको शुक्रबार चितवनमा ३५ वर्षकी महिलाको ज्यान गयो । उनको मृत्यु चाहिँ गर्भावस्थामा भएको थियो । ५ वर्षकी छोरीकी आमा । जो दोस्रो गर्भ आफूभित्र हुकाइरहेकी थिइन् । शुक्रबार साँझपख घरबाट अस्पताल आउँदासम्म सकुशल थिइन् उनी ।

अस्पतालमा डाक्टरसँग सल्लाह भयो । गर्भ जाँच भयो । भरतपुर महानगरपालिका २६ घर भएकी ३५ वर्षीया नविना महतोका श्रीमान् मणिक महतोले भने अनुसार, गर्भ जाँचपछि गर्भपतन गर्ने निष्कर्षमा उनीहरूको दम्पती पुगे । उनकै अनुसार १६ हप्ताको गर्भ थियो । डाक्टरले पनि हुन्छ भनेर गर्भपतनको लागि तयार भए ।

तर, शुक्रबार साँझ भरतपुरको मनकामना अस्पताल दुई ज्यान सकुशल छिरेकी नबिना कहिल्यै फर्किइनन् । गर्भपतनकै क्रममा उनको ज्यान गयो । मृत्युको कारण के थियो, अस्पतालको आधिकारिक धारणा एक सातासम्म आएको छैन ।

०००

उल्लेखित यी दुई प्रतिनिधिमूलक एउटा सुदूरपश्चिम अर्को बागमती प्रदेशको हो । बागमती यसै पनि देशकै मानव विकास सूचांक बढी भएको प्रदेश । साक्षरता बढी, समग्रमा विकास नै बढी भएकोमा गनिने प्रदेश हो ।

चितवन जिल्लालाई त सचेतहरूको जिल्ला पनि ठानिन्छ । यहाँ कुरीतिजन्य व्यवहार पनि कम हुने जिल्लामा गनिन्छ । त्यसैले पनि यस्ता घटना नियन्त्रणमा भनेर राज्य र राज्य बेगरका निकायहरुको लगानी खासै देखिँदैन । तर, सुदूरपश्चिम प्रदेश कुरीतिजन्य सामाजिक व्यवहार हटाउन सबैभन्दा लगानी बढी भएको प्रदेश । जसको एउटा उदाहरण जनचेतना, जागरण, भेला छलफलका कार्यक्रमै कार्यक्रम राखेर पञ्चेश्वर गाउँपालिकाले तयार गरेको निर्देशिका नै छ ।

किशोरीको मृत्यु प्रकरणमा सीधै कुरीति देखिएपनि गर्भवतीको मृत्यु प्रकरण त्यस्तो लाग्दैन । तर, यी दुवैजनाको मृत्युको जरो केलाएर मृत्युसम्मको अवस्थालाई विश्लेषण गर्दा एउटै कारण देखिन्छ- दुवैसँग भएको ‘पाठेघर’ ।

पाठेघर महिलाका सन्तान उत्पादन गर्ने सुन्दर ठाउँ हो । किशोरावस्था प्रवेशसँगै उनीहरूको शरीरले शारीरिक परिपक्वताका प्रकृया देखाउन थाल्दछ । उमेरसँगै विस्तारै प्रजनन क्षमता विकास हुन थाल्दछ । महिनावारी हुन थाल्छन् महिला । सन्तान जन्माउनसक्ने क्षमता उनमा विकसित हुँदै जान्छ । अन्ततः आमा बन्द सक्षम हुन्छिन् र आमा बन्छिन् ।

मानव प्रजातिको जन्मजस्तो सुन्दर सिर्जना गर्न सक्ने उनी त्यही कारणले कमजोर समूहको भाष्यमा पर्दै आएको त जगजाहेर नै छ । किशोरावस्थामा महिनावारी हुँदा बग्ने रगतसँगै महिलाको सिंगो शरीर अछुत भन्ठानेर गोठमा पठाउने गलत संस्कार, अमर्यादित व्यवहार कागजका कानून र निर्देशिकाहरूले परिवर्तन गर्न सकेनन् ।

१६ वर्षकी अनिताको मृत्यु भवितव्य होइन । न त कालगती । यो त सिंगो समाजले मिलेर उनी र उनीजस्ता महिलाका प्रजनन क्षमतामा गरेको अपमानको परिणति हो । यसमा राज्यले बनाएको छाउपडीविरुद्धको फौजदारी कानूनको दफा समाउन को जाने ? वा प्रहरीले कसलाई कानूनी अनुसन्धानमा ल्याउने ?

मानव प्रजाति यसै पनि सत्ताको भोको भएको विवेकशील प्राणी हो । आफ्नै मायाले सिर्जना गरेको संसार पनि आफ्नो मातहत चलोस् भन्ने उसले हुर्किदैमा आफूमा अन्तरनिहीत गर्छ सायद । जब सत्ताको डाडूपन्यू बोकेका मानिस सत्ता हस्तान्तरणको परिकल्पना गर्छ उसलाई स्वतः आफ्नो प्रजाति खोजी हुन्छ । त्यही भूलभूलैयामा आमाहरू पनि रमाइदिन्छन् ।

१६ वर्षकी कलकलाउँदी किशोरीको मृत्युको जिम्मेवार को- किशोरीकी आमा ? भारतमा रहेका उनका बाबु ? वा कागजमा अति सुन्दर नीति बनाउने पालिकाका प्रमुख ?

चितवनकी नबिनाको मृत्युसम्म पुर्‍याउने कारखाना त झन् अनिताको भन्दा डरलाग्दो छ । यी सबैको एउटै कारखाना घर हो । चितवनमा केही महिनाअघि भएको सार्वजनिक छलफलमा सामाजिक अभियन्ता डा. मीना पौडेलले भनेकी थिइन्- महिलाहरूलाई कमजोर करार गर्ने पहिलो कारखाना घर हो ।

नबिनाको घरमा उनको ५ वर्षीया छोरी छन् । उनको त्यो दोस्रो गर्भ थियो । सामान्य अवस्थामा त्यो गर्भ किन फाल्न तयार होलिन् एक आमा ? ती ५ वर्षीया छोरीले आमाको गर्भमा अर्की आफूजस्तै छोरी भएकोले गर्भपतन गर्न लाग्दा आमाको ज्यान गएको थाहा पाए उनमा के बित्ला ? ती छोरी आफ्नो पाठेघर अर्की त्यस्तै छोरी जन्माउनको लागि सुरक्षित राख्न तयार होलिन् ?

आफूले १६ हप्ता पाठेघरमा बोकिसकेको लगभग गर्भावस्थाको पहिलो चरण पार हुन लागेको अवस्थामा यो सन्तान जन्माउँदिन भन्ने अवस्थामा एउटी आमा किन पुग्लिन् ?

नेपालको २०७८ को जनगणनाको लैँगिक अनुपात २०६८ कोसँग तुलना गरे यसको दृष्य एकै शब्दमा छर्लङ्ग हुन्छ । २०७८ को जनगणना अनुसार अहिले प्रति १०० जना महिलामा पुरुषको संख्या ९५ दशमलव ५९ रहेको छ जबकी २०६८ सालको जनगणनामा लैँगिक अनुपात ९४ दशमलब १६ थियो । घट्दो लैँगिक अनुपातको अर्थ छोरीहरुको जन्म छोराको तुलनामा कम हुँदैछ भन्नु हो ।

छोरीहरूमाथि भएको जन्मकै विभेद प्रष्ट्याउने अर्को पनि जनगणनाकै तथ्यांक छ । नेपालको नयाँ जन्मको विश्लेषणमा जन्मेदेखि ४ वर्ष, ५ देखि ९ वर्ष, १० देखि १४ वर्ष, १५ देखि १९ वर्षसम्म छोराको जनसंख्या बढी छ । यसले पनि के देखाउँछ भने मानसिकतामा भएको लैँगिक विभेदको दायरा तथ्यांकले पनि फराकिलो देखाउँदै गएको छ ।

आमाहरू पनि उत्तिकैको संख्यामा सन्तान जन्माउने प्रकृयामा सामेल भएका कारण मर्ने गरेका छन् । जनगणनाकै प्रतिवेदनअनुसार जनगणना भएको समयसम्म हिसाब गर्दा १२ महिनाको अवधिमा मृत्यु भएका कूल महिलामध्ये ६ प्रतिशत महिलाको मृत्यु गर्भावस्थासँग सम्बन्धित थियो ।

यी सबको पछाडि ‘घर’ नामको एउटा अपराध जन्माउने कारखाना जिम्मेवार देख्छु म । जहाँ हामी बस्छौँ । जहाँ आमाबुबा अर्थात् सन्तानको पहिलो अभिभावक बस्छन् । श्रीमान्-श्रीमती जीवनको लामो यात्रा सँगसँगै तय गरेका उनीहरु बस्छन् । सन्तान बाआमाको लाड-प्यारमा हुर्किएको मानव बस्छन् । सबैले माया पाउने घर । सुरक्षित महसुस गर्ने घर । त्यहाँबाट किन पाठेघर लिएर जन्मिएका मानिसहरुको दर्जा फरक बनाउन सिकाइन्छ ? कसरी उत्पादन हुन्छ एउटा मानिसमा कसैलाई कमजोर करार गर्ने विचार ?

मानव प्रजाति यसै पनि सत्ताको भोको भएको विवेकशील प्राणी हो । आफ्नै मायाले सिर्जना गरेको संसार पनि आफ्नो मातहत चलोस् भन्ने उसले हुर्किदैमा आफूमा अन्तरनिहीत गर्छ सायद । जब सत्ताको डाडूपन्यू बोकेका मानिस सत्ता हस्तान्तरणको परिकल्पना गर्छ उसलाई स्वतः आफ्नो प्रजाति खोजी हुन्छ । त्यही भूलभूलैयामा आमाहरू पनि रमाइदिन्छन् ।

आमाहरू संसार बुझ्न खोज्दैनन् होला । आफ्ना छोरीहरूलाई लिंग छुट्याएर सुन्दर संसार देख्नबाट वञ्चित गराउने अस्पताल नामका बजारमा किन पुग्छन् होला आमाहरू ? पाठेघरबाट बगेका पवित्र रगतलाई अशुद्ध नामको लाहछाप लगाइदिने लाइनमा उभिदा आमाहरूलाई किन छोरीहरूको स्वतन्त्रताले पोल्दैन होला ?

उनीहरूलाई पक्कै थाहा छ जसरी चितवनमा साढे २७ लाख ज्यानको मूल्य तिरेर सग्लो साथ आएकी श्रीमतीको मृत्युमा सहभागी हुन श्रीमान्‌लाई अप्ठ्यारो लागेन । त्यसैगरी बैतडीमा पनि केही लाख राहत पालिकाले घोषणा गर्नेछन् । तिनै नाममा कयौँ आईएनजीओहरूले बिजनेश पाउने छन् । तर, पाठेघर बोक्ने छोरीहरूमाथिको सामाजिक ज्यादती घट्ने होइन यसैगरी संख्यामा थपिँदै जानेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *