गृहमन्त्रीको दाबी- तस्करका संरक्षकले घेराबन्दी गर्न खोज्दैछन्, कसैको धम्कीले सुशासनको अभियान रोकिन्न (भिडिओ)
गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभियान रोक्न आफूमाथि घेराबन्दी र धम्की दिन खोजिएको बताएका छन् । गोरखामा आयोजित कार्यक्रममा श्रेष्ठले ठग,तस्कर र भ्रष्टाचारीका संरक्षकहरुले सरकारलाई अप्ठेरोमा पार्न खोजेको बताए ।
श्रेष्ठले भने, ‘मन्त्रीलाई धम्की दिएर, पख्लास् भनेर, घेराबन्दीमा राख्छौं भनेर कसैले नसोचे हुन्छ । हामी पदका लागि गएका होइनौं, देश र जनताको सेवा गर्न गएका हौं । जुन दिनसम्म सरकारमा रहन्छौं यो सुशासनको अभियान रोकिन्न ।’
गृहमन्त्री श्रेष्ठले सरकारलाई भाँजो हाल्न सकिन्छ भनेर तस्कर तथा भ्रष्टाचारीका संरक्षकहरूले तैँ चुप मैँ चुप गर्न खोजेको भन्दै अब त्यो सम्भव नरहेको बताए । उनले कसैको घेराबन्दीले सुशासनको अभियान नरोकिने बरु सरकार छाड्ने बताए ।