एसिया कपअघि मुद्दा नसल्टिँदा नैराश्यमा सन्दीप, पाकिस्तान जान मनाउने क्यानको प्रयास – Nepal Press

एसिया कपअघि मुद्दा नसल्टिँदा नैराश्यमा सन्दीप, पाकिस्तान जान मनाउने क्यानको प्रयास

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले हिजो सामाजिक सञ्जालमा एउटा निःशब्द स्टाटस राखे । उनले केही अक्षर नलेखी केवल ‘नमस्ते इमोजी’ मात्र राखेका थिए, जसमा तीन हजार ७ सयभन्दा बढी प्रतिक्रिया आएका छन् ।

हिजो जिल्ला अदालत काठमाडौंमा उनको मुद्दामाथिको सुनवाइ फेरि एकपटक स्थगित भयो । एकदमै मामुली कारण देखाएर न्यायाधीश राजुकुमार खतिवडाले मुद्दाको फैसलापछि धकेलिदिएका थिए । अदालतको सोही निर्णयपछि सन्दीपले नमस्ते इमोजी पोस्ट गर्दै आफ्नो मनोदशा प्रतिबिम्बित गरेका हुन् ।

एसिया कप खेल्नका लागि उच्च मनोबलमा हुनुपर्ने सन्दीप नैराश्यतामा पुगेको स्रोत बताउँछ । हिजो उनी फैसला सुनवाइ अघि बढ्नेमा विश्वस्त थिए । यदि सुनवाइ सुरु भएको भए एक-दुईदिनमै फैसला आउन सक्थ्यो । अदालतबाट सफाइ पाएर फ्रेस मुडमा एसिया कप खेल्न जानेमा आशावादी थिए सन्दीप । तर, उनको यो आशामा तुषारापात भएको छ ।

अदालतमा सुनवाइ स्थगित भएपछि नेपाल क्रिकेट संघ (क्यान) पनि तनावमा परेको छ । स्रोतका अनुसार सन्दीपले आफू मानसिक दबाबमा रहेको भन्दै एसिया कप खेल्नसक्ने अवस्था नरहेको जानकारी गराएका छन् । क्यानले भने उनलाई कन्भिन्स गर्न खोजिरहेको छ ।

क्यान प्रवक्ता दुर्गा पाठक भन्छन्, ‘फैसलामा ढिलाइ हुँदा सन्दिप निराश देखिएका छन् । हामीले उनको मनोबल बढाउने प्रयास गरिरहेका छौं । उनी जसरी पनि टिममा हुनैपर्छ भन्ने हाम्रो मान्यता हो ।’
एसिया कपमा सन्दीपको अनुपस्थिति सोच्नै नसकिने पाठक बताउँछन् ।

उनले भने, ‘सन्दीप नेपाली टीमका प्रमुख खेलाडी हुन् । नेपालको हरेक सफलतामा उनको नाम जोडिएको छ । एसिया कपजस्तो ठूलो इभेन्टमा सन्दीपको अनुपस्थित सोच्नै सकिँदैन । हामी उनलाई जसरी पनि जानुपर्छ भनेर अनुरोध गरिरहेका छौं ।’

पाठक थप्छन्, ‘सन्दीप एउटा आम व्यक्ति नभएर राष्ट्रकै प्रतिधित्व गरेर खेल्ने खेलाडी हो । मानसिक तनावका बीच मैदानमा कठिन प्रतिस्पर्धा गर्न सहज हुँदैन भन्ने हामीले बुझेका छौं । तर, पनि राष्ट्रका लागि खेल्नुभन्दा ठूलो केही हुँदैन । उसलाई यसरी नै सम्झाइरहेका छौं ।’

तर, सबै कुरा क्यानको हातमा नरहेको भन्दै उनले अदालत बढी संवेदनशील हुनुपर्नेमा जोड दिए ।

एसिया कप सुरु हुन १२ दिन मात्र बाँकी छ । अभ्यासका लागि नेपाली टिमलाई बुधबारै पाकिस्तान पठाउने तयारी भइरहेको छ । यता, हिजो स्थगन भएको सन्दीपको पेशी अब कहिलेलाई तोकिन्छ भन्ने टुंगो छैन । न्यायाधीशले जाहेरीकर्ताकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका छन् । जन्ममिति प्रमाणीकरण गर्ने कागजात प्राप्त भएको एक साताभित्र अर्को पेशी तोक्ने भनिएको छ । यसले गर्दा एसिया कपअघि सन्दीपको मुद्दा किनारा लाग्ने सम्भावना क्षीण बनेको हो ।

सन्दीप निकट स्रोतले उनी बुधबार राष्ट्रिय टीमसँगै पाकिस्तान जाने सम्भावना कम रहेको तर, अन्तिम निर्णय लिन बाँकी रहेको बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *