फोटोग्राफीमा नयाँ प्रविधिको विकास – Nepal Press
सन्दर्भ: विश्व फोटोग्राफी दिवस

फोटोग्राफीमा नयाँ प्रविधिको विकास

फोटोग्राफी भन्ने शब्द ग्रीक भाषाबाट आएको हो । ग्रीक भाषामा फोटोको अर्थ लाइट र ग्राफीको अर्थ स्केच हुन्छ अर्थात् प्रकाशको माध्यमद्वारा तयार गरिने चित्र नै फोटोग्राफी हो । संसार आजभोलि क्यामेराको विविधताले सम्पन्न छ । प्रयोगका दृष्टिले सहज हुने सुविधायुक्त थुपै क्यामरा प्रचलनमा छन् । मनपर्ने तस्बिर खिच्न क्यामेराको बटम खिचिक्क पारेमात्र पनि पुग्छ । तर, आज हामीले जुन क्यामरा प्रयोग गर्छौं, त्यो एकै समयमा यो स्वरुपमा आएको भने होइन । आविष्कारका अन्य कुरा झैं यसले पनि डिजिटल युगसम्म आइपुग्न लामो यात्रा तय गरेको छ ।

तपाईं हाम्रो तस्बिर रसायनिक प्रक्रियाबाट निर्माण हुन्थ्यो । तर, अहिले यो प्रक्रिया डिजिटल भयो । भौतिक विज्ञान र रसायन विज्ञानका अनेकौं खोज, अनुसन्धान र प्रयोगका अनेकाैं प्रयासबाट आजको युगको फोटोग्राफीको विकास भएको हो । त्यसैले यसको विकासमा कुनै एक जनाको मात्र योगदान छैन । फोटोग्राफीलाई यो अवस्थासम्म ल्याइ पुर्‍याउन थुप्रै आविष्कारकको योगदान छ ।

विश्वको पहिलो फोटो

आजभन्दा करिब २४०० वर्ष अगाडि (ईसा पूर्व ३८४ देखि ३२२ सम्म) ग्रीक दार्शनिक एरिस्टोटलले फोटोग्राफीको पहिलो व्यवहारिक प्रयोग गरेको पाइन्छ । सूर्यग्रहण हेर्न एरिस्टोटलले प्रयोग गरेको प्रविधिलाई सन् १५५८ मा इटालियन वैज्ञानिक गिओभानी बाटिस्टाले क्यामेरा अब्स्क्युरा भनी नाम दिए । ग्रीक भाषामा ‘क्यामेरा अब्स्क्युरा’को अर्थ अँँध्यारो कोठा हुन्छ । यो प्रविधिमा एउटा ठूलो अँध्यारो कोठामा सानो प्वाल बनाइ कोठाको अर्को भागमा त्यस प्वालबाट भित्र छिरेको प्रकाशमा प्रतिविम्बलाई नियाल्ने गरिन्थ्यो ।

यो विधि प्रायः चित्रकारले दृश्य निर्माणका लागि प्रयोग गर्दथे । सन् १८२७ मा फ्रान्सका जोसेफ निसेफोर निप्सले ८ घण्टा लगाएर आफ्नै काम गर्ने कोठाको झ्यालबाट देखिएको दृश्यलाई स्थिर चित्रको रुप दिन सफल भए । उनले सो प्रविधिलाई होलियोग्राफी भन्ने नाम दिएका थिए । यही होलियोग्राफीलाई नै संसारको पहिलो फोटोग्राफी मानिन्छ । तसर्थ जोसेफ निसेफोर निप्सलाई फोटोग्राफीका आविष्कारक पनि मानिन्छ । ८ घण्टा लगाएर तयार पारिएको पहिलो तस्बिरपछिको अर्को सफलता कुर्न भने संसारलाई करिब १० वर्ष लाग्यो । निसेफोरको प्रयोगपछि फ्रान्सको डेगुएरिओले तामाको पातामा आयोडिन र मर्करीको प्रयोगले करिब २० मिनेटमा प्रतिविम्ब तयार पारे र सो प्रतिविम्बलाई सोडियम क्लोराइडको मद्दतले स्थायी चित्र बनाउन सफल भए । यससँगै क्यामेरा अब्स्क्युराको विकसित रुप अगाडिको भागमा लेन्स र पछाडिको भागमा रसायन जडित तामाको पाता राखेर प्रतिविम्ब तयार पार्ने प्रक्रियाले फोटोग्राफीको अगाडिको यात्रा तयार गर्‍यो ।

यसै बीचमा फ्रान्स सरकारले सन् १८३९ अगस्ट १९ मा ‘हाइपो’ उपयोगको प्रविधि पत्ता लगायो, जसले तस्बिरलाई जस्ताको तस्तै राखिराख्न सम्भव बनायो । जुन दिनको सम्झनास्वरुप अगस्ट १९ लाई विश्व फोटोग्राफी दिवसका रुपमा मनाइँदै आएको छ ।

यसरी अगाडि बढेको फोटोग्राफी प्रविधिमा विलियम हेनरी फक्सले ठूलो योगदान गरे । सन् १८३९ मा उनले नेगेटिभ र पोजेटिभ प्रक्रियाबाट धेरै तस्बिरलाई पुनः उत्पादन गर्न सकिने प्रविधिको विकास गरे । यही कारण हेनरी फक्सलाई आधुनिक फोटोग्राफीका पिता मानिन्छ ।

३ वटा मुख्य रंग रातो, नीलो र हरियो रंगबाट नै अरु सबै रंगहरु बन्न सक्छन् भन्ने महत्वपूर्ण कुरा १८औं शताब्दीतिर नै पत्ता लागेको भए पनि यी ३ कलरको मिश्रणबाट रंगीन फोटोग्राफीको अविष्कार हुन भने १९औं शताब्दीको मध्यसम्म कुर्नुपर्‍यो ।

‘You Press the button, We do the Rest’ यही विज्ञापनसँगै सन् १८८८ मा व्यवसायिक रुपमा बक्स क्यामेराको उत्पादन सुरु गरेको कोडाक कम्पनीले आधुनिक फोटोग्राफीको विकासमा क्रान्ति ल्यायो । यो प्रविधिको विकास अमेरिकी नागरिक जर्ज इस्टम्यानले गरेका हुन् । कोडाक स्थापनाको करिब २० वर्षपछि रंगीन फोटोग्राफीको समेत विकास भयो । यसको श्रेय लुमेक्स ब्रदरलाई जान्छ । उनीहरूकै प्रयासले सन् १९१० देखि १९२५ को दशकमा ३५ एमएमको नेगेटिभसमेत प्रचलनमा आयो । यसै समयमा कोडाकले फिल्म क्यामेराको विकासमा समेत फड्को मार्‍यो । त्यसैगरी लाइका क्यामेरा उत्पादकले सन् २००३ सम्म अत्यन्त प्रचलनमा रहेको ३६ वटा फोटो खिच्न मिल्ने नेगेटिभको निर्माण गर्‍यो । लाइकाले नै सन् १९३० मा लेन्स परिवर्तत गर्न मिल्ने क्यामेराको उत्पादन गर्‍यो । सन् १९४८ मा हेसलब्लेड १६०० एफ क्यामेराको उत्पादन सुरु भयो । नेगेटिभ र लेन्स परिवर्तन गर्न मिल्ने यो क्यामेराले फोटोग्राफीलाई अझ सहज र सुलभ बनाउँदै लग्यो ।

सन् १९४७ बाट सुरु भएको पोलोराइड (खिच्नेबित्तिकै फोटो निकाल्ने), सन् १९४८ बाट उत्पादन सुरु भएको निकोन, सन् १९५७ देखि सुरु भएको पेन्टेक्स, सन् १९८० को क्याननको अटोफोकस क्यामेरा, सन् १९८८ को कोनिका, सन् १९८९ को फुजी र सन् १९९१ को कोडाक डिजिटल क्यामेरा आजको सहज र सरल डिजिटल क्यामेरा प्रविधिको विकासका महत्वपूर्ण खुड्किला हुन् । साथै विभिन्न चरण पार गर्दै परिपक्व भएको रंगीन फोटोग्राफीको इतिहास पनि अत्यन्त महत्वपूर्ण रह्यो । ३ वटा मुख्य रंग रातो, नीलो र हरियो रंगबाट नै अरु सबै रंगहरु बन्न सक्छन् भन्ने महत्वपूर्ण कुरा १८औं शताब्दीतिर नै पत्ता लागेको भए पनि यी ३ कलरको मिश्रणबाट रंगीन फोटोग्राफीको अविष्कार हुन भने १९औं शताब्दीको मध्यसम्म कुर्नुपर्‍यो ।

डिजिटल फोटोग्राफी युग

आजको डिजिटल क्यामेराको विकास र टेलिभिजन प्रविधिको विकास सँगसँगै भएको मानिन्छ । सन् १९५० को दशकमा भिडियो क्यामेरा र डिजिटल क्यामेराको विकासले अग्रगामी छलाङ मार्‍यो । सन् १९८१ मा सोनीले भिडियोका लागि सोनी म्याभीका क्यामेराको उत्पादन सुरु गर्‍यो । सन् १९८६ मा कोडाकले पहिलो पटक १.४ मेगा पिक्सेलको डिजिटल क्यामेरा उत्पादन गर्‍यो । यसभन्दा अगाडि नै सन् १९७० मा नासाले अन्तरीक्षको संकेत पृथ्वीमा रहेको कम्प्युटरमा रेकर्ड गर्न सक्ने क्षमताको विकास गरिसकेको थियो । जसका कारण डिजिटल क्यामेरालाई कम्प्युटरमा जोड्न सकिने अवधारणाको विकास भइसकेको थियो ।

प्रथम विश्व युद्धताका खिचिएका र प्रकाशित भएका तस्बिरहरुले फोटो पत्रकारिताका सुरुवाती दिनको इतिहास लिपिबद्ध गरे । सन् १९९१ तिर कोडाकले फोटो पत्रकारलाई लक्षित गर्दै डिजिटल क्यामेराको उत्पादन सुरु ग¥यो, जसलाई पर्सनल कम्प्युटरमा तारको माध्यमबाट जोडी फोटो सार्न सकिन्थ्यो । यस प्रविधिलाई अझ विकसित बनाउन सन् १९९४ मा ओलम्पस, सन् १९९५ मा एप्पलको क्विकटेक, सन् १९९५ मै क्यासियो र सन् १९९६ मा सोनीको साइवरसटको उत्पादनलाई आधुनिक फोटोग्राफीका सुरुवाती उत्पादन मानिन्छ । यो समयसम्म कम्प्युटर र इन्टरनेटको विकासले समेत तीब्रता पाइसकेको थियो । जसका कारण एक ठाउँको तस्बिर अर्को ठाउँमा पुर्‍याउन सहज भयो र फोटोग्राफी आममानिसको दैनिकीको अभिन्न अंग बन्दै गयो ।

नेपालमा फोटोग्राफी

सन् १८५० मा राणा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत गएको बेला साथमा ल्याएको क्यामेरा नै नेपालमा पहिलो पटक भित्रिएको क्यामेरा भनेर मान्ने गरिएको छ । तर, त्यसको यकिन प्रमाण आजसम्म भेटिएको छैन । पछि सन् १८६३ मा बेलायती नागरिक क्लेरेन्स टेलरले नेपालमा धेरै तस्बिर खिचेको प्रमाण पाइन्छ । उनले त्यस बेलाका प्रधानमन्त्री, मन्त्रीका परिवारका पोट्रेट, काठमाडौं, पाटन र भक्तपुरका विभिन्न स्थानका तस्बिर खिचेका थिए । नेपालीको हकमा भने डम्बर शमशेरलाई पहिलो नेपाली फोटोग्राफरका रुपमा मानिँदै आएको छ । डम्बर शमशेरले सन् १८७० तिर नै फोटोग्राफीको व्यवहारिक ज्ञान हासिल गरेका थिए ।

सन् १९५५ तिर बखतबहादुर चित्रकारले भारतबाट फोटोग्राफीको औपचारिक शिक्षा लिएर नेपाल फर्केपछिको समयलाई नेपालमा फोटोग्राफीको नयाँ चरण मान्ने गरिएको छ । उनले सन् १९८६ मा प्राविधिक ज्ञानसहितको ‘फोटोग्राफी परिचय’ शीर्षकको पुस्तकसमेत प्रकाशनमा ल्याएका थिए ।

त्यसैगरी सो समयमा दरबारसँग सामीप्यता भएका तथा चित्रकारितामा दख्खल राख्ने काठमाडौंका रैथाने चित्रकार थरका केही व्यक्तिले नेपालमा व्यवसायिक फोटोग्राफीको अभ्यास गरेको पाइन्छ । पूर्णमान चित्रकार र दीर्घमान चित्रकार यो समयका उल्लेख्य नाम थिए । सन् १९०९ मा स्थापना भएको ग्य्राण्ड स्टुडियोलाई नेपालको पहिलो फोटो स्टुडियो मानिन्छ, जसलाई विष्णुध्वज जोशीले स्थापना गरेका थिए । जुन स्टुडियोमा त्यस बखतका प्रधानमन्त्री, मन्त्रीलगायतले तस्बिर खिचाउने गर्थे । जोशी त्यस समयका राजा त्रिभुवनका निजी फोटोग्राफर पनि थिए । सन् १९५५ तिर बखतबहादुर चित्रकारले भारतबाट फोटोग्राफीको औपचारिक शिक्षा लिएर नेपाल फर्केपछिको समयलाई नेपालमा फोटोग्राफीको नयाँ चरण मान्ने गरिएको छ । उनले सन् १९८६ मा प्राविधिक ज्ञानसहितको ‘फोटोग्राफी परिचय’ शीर्षकको पुस्तकसमेत प्रकाशनमा ल्याएका थिए ।

पहिलो विश्व युद्धताकाका तस्बिरलाई प्रकाशन गरेर सुरु भएको मानिएको फोटो पत्रकारिता नेपालमा भने अलि ढिलै सुरु भयो । ‘नेपालको पहिलोे फोटो पत्रकार को थिए ?’ भनेर सोध्दा कुनै एक व्यक्तिको नाम किटान गर्न सकिने स्पष्ट आधार नदेखिए पनि गोरखापत्रमा फोटोग्राफरका रुपमा नियुक्ति लिएका गोपाल चित्रकार र विन्दुराज सिंहलाई नेपालका अग्रणी फोटो पत्रकार मानिँदै आएको छ ।

आज हरेक मानिसले कुनै न कुनै रुपमा तथा कुनै न कुनै समयमा आफूलाई फोटोग्राफरको रुपमा प्रस्तुत गर्ने गरेको पाइन्छ । स्वतन्त्र तथा सौखिन फोटोग्राफरहरुको संख्या पनि बढ्दो छ । तथापि क्यामेराका कुनै पनि माध्यमबाट तस्बिर कैद गर्दैमा त्यस व्यक्तिलाई फोटोग्राफर मान्न भने सकिँदैन । फोटोग्राफर हुन केही आधारभूत ज्ञान, सीप र शैलीलाई पच्छ्याएको हुन जरुरी छ । फोटोग्राफर हुन क्यामेराको प्राविधिक र व्यवहारिक ज्ञान तथा दृश्य संयोजनको भाव तथा मर्म बुझेको हुनैपर्छ । आजको समयमा फोटोग्राफीमा ज्ञान हासिल गर्न आवश्यक शैक्षिक संस्थाहरुसमेत सञ्चालनमा छन् । युट्युब जस्ता ग्लोबल प्लेटफर्ममार्फत् समेत फोटोग्राफीको ज्ञान लिनसक्ने अवस्था छ ।

तपाईं हामी प्रायः सबैको हात-हातमा भएको आजको डिजिटल क्यामेराको विकासक्रममा पिनहोल क्यामेरा, बक्स क्यामेरा, कार्टिजलोडिङ क्यामेरा, फ्लपी डिस्क क्यामेरा, फोल्डिङ क्यामेरा, एपीएस क्यामेरा, डबल लेन्स रिफ्लेक्स क्यामेरा (DLR), डिस्पोजेबल क्यामेरा, कम्प्याक्ट क्यामेरा, सिंगललेन्स रिफ्लेक्ट क्यामेरा (SLR) र डिजिटल सिंगल लेन्स रिफ्लेक्ट क्यामेरा (DSLR) लाई लिन सकिन्छ ।

क्यामेरामा डिजिटल प्रविधिको विकाससँगै मोबाइल फोनमा समेत क्यामेरा जडान हुन थालेपछि फोटोग्राफीमा नयाँ युगको सुरुवात भएको छ । सन् २००० मा सार्पले बनाएको ०.३५ मेगा पिक्सेलको मोबाइल फोनलाई विश्वको पहिलो क्यामेरा फोनको रुपमा लिइन्छ । सन् २००७ मा रिलिज भएको एप्पलको २.० मेगा पिक्सेलको क्यामेरा जडित आइफोनको आगमनले त मोबाइल फोटोग्राफीलाई झन् उचाइमा पुर्‍यायो । त्यसलगत्तै सन् २००८ मा सामसुङले ८.० मेगा पिक्सेलको मोबाइल फोन बजारमा ल्याएपछि मोबाइल कम्पनीबीच सुविधा सम्पन्न क्यामेरा जडान गर्ने प्रतिस्पर्धा नै चल्यो । हाल बजारमा सामसुङ, वानप्लस, एसुस, रेडमी, ओप्पो, जिओमी जस्ता मोबाइल निर्माता कम्पनीले २००.० मेगा पिक्सेलका क्यामेरासहितका फोन बजारमा ल्याएका छन् । त्यसैगरी सन् २०२२ मा एप्पलले आफ्नो आइफोन १४ मा ४८.० मेगा पिक्सेलको क्यामेरा फोन बजारमा ल्यायो ।

एक समय थियो, एउटा फोटो तयार हुन करिब ८ घण्टा लागेको थियो । पछि यही फोटो २० मिनेटमा तयार हुन थाल्यो । तर, अहिले एकै सेकेण्डमा लाखौं फोटो खिच्ने प्रविधिको विकास भइसकेको छ । तपाईं हामीले दैनिक प्रयोगमा ल्याउने क्यामेराले समेत प्रतिसेकेण्ड १० देखि १५ वटा तस्बिर सजिलै खिच्न सकिन्छ ।

मुख्यतया तस्बिरको गुणस्तर त्यस क्यामेरामा जडान गरिएको सेन्सरको आकार तथा लेन्सको गुणस्तरले निर्धारण गर्दछ । कतिपय मोबाइल कम्पनीले ४८.० मेगा पिक्सेलको क्यामेरा जडान गरिएको भनेर प्रचार गरेको भए पनि त्यो वास्तवमा १२.० मेगा पिक्सेलको क्यामेरा हुने गरेको छ । त्यस मोबाइलमा प्रयोग गरिएको विशेष प्रकारको सफ्टवेयरले तस्बिरलाई ४ गुणा बढाएर ४८.० मेगा पिक्सेल बनाउने प्रविधि अपनाइएको हुन्छ । तसर्थ तस्बिरको गुणस्तरको लागि क्यामेराको मेगा पिक्सेलभन्दा पनि त्यसमा जडान भएको सेन्सर र त्यस क्यामेरामा प्रयोग गरिएको लेन्सको गुणस्तरमा ध्यान दिन जरुरी छ ।

सन् २०१० सम्म व्यवसायिक फोटोग्राफरले प्रयोग गर्ने डिजिटल क्यामेरा प्रायः ८.० देखि १२.० मेगा पिक्सेलसम्मका हुने गर्दथे । तर, ती क्यामेराको सेन्सर ठूलो हुने हुँदा तस्बिरको गुणस्तर अत्यन्तै राम्रो रहन्थ्यो । हाल संसारमा करिब २०.० देखि ६०.० मेगा पिक्सेलसम्मका फुल फ्रेम सेन्सर भएका क्यामेरा प्रयोगमा छन् । त्यसैगरी मिडियम फम्र्याट सेन्सरका ५०.० देखि १२०.० मेगा पिक्सेलसम्मका क्यामेरासमेत विश्व बजारमा प्रयोग भइसकेका छन् ।

क्यामेराको छनोट आफ्नो उपयोगिताअनुसार गर्नुपर्दछ । तस्बिर सामान्यतया अभिलेखको माध्यम हो । त्यसैले यसको प्रयोग त्यही महत्वका साथ हुनु राम्रो हो । हामीले सामान्य घरायसी प्रयोजनका लागि प्रयोग गर्ने क्यामेराको मेगा पिक्सेल १२.० मात्र छ भने पनि त्यसले उत्कृष्ट तस्बिर कैद गर्ने क्षमता राख्दछ । तर, क्यामेरामा जडित सेन्सरको आकार ठूलो हुनु जरुरी छ ।

फोटोग्राफीका पछिल्ला उपलब्धिलाई हेर्ने हो भने क्यामेरामा थ्रीडी प्रविधि (3D), भर्चुअल रियालिटी (VR), थ्री सिक्स्टी (360) आदिलाई लिन सकिन्छ । डिजिटल प्रविधिको विकाससँगै धेरै फोटोहरु जोडेर एउटा सिंगो फोटो बनाउने प्रचलन पनि बढ्दो क्रममा छ । फोटोग्राफीको सुरुवाती दिनमा प्रयोग भएका बक्स क्यामेराहरुमा ठूलो फोटोको लागि ठूलै क्यामेरा प्रयोग गर्नुपर्ने समय अब रहेन । सो समयमा करिब ५ बाई ६ इन्चको फोटो तयार गर्नुलाई ठूलै उपलब्धि मानिएको थियो । तर, अहिले सयाैं गिगा पिक्सेलका तस्बिरहरु बनिसकेका छन् ।

सन् २०१४ मा तयार गरिएको मलेसियाको कोलालाम्पुरको ८४६ गिगा पिक्सेलको तस्बिर करिब ३१ हजार फरक फरक फोटोहरुलाई जोडेर तयार गरिएको थियो । त्यसैगरी सन् २०१० देखि २०१३ को बीचमा करिब १० हजार फोटो जोडेर तयार गरिएको पृथ्वीबाट खिचिएको चन्द्रमाको ६८१ गिगा पिक्सेलको तस्बिर, करिब ७० हजार फरक फरक तस्बिरलाई जोडेर तयार गरिएको युरोपका फ्रान्स, इटली जस्ता देशहरुमा फैलिएको माउन्ट ब्लेन्सको ३६५ गिगा पिक्सेलको तस्बिर, करिब १२ हजार फोटो जोडेर तयार गरिएको चीनको सांघाईको २७२ गिगा पिक्सेलको तस्बिर विश्व चर्चित तस्बिरहरुमा पर्दछन् ।

यसरी हेर्दा फोटोग्राफीको विकास र विस्तार अत्यन्त तीव्र गतिमा भएको पाइन्छ । एक समय थियो, एउटा फोटो तयार हुन करिब ८ घण्टा लागेको थियो । पछि यही फोटो २० मिनेटमा तयार हुन थाल्यो । तर, अहिले एकै सेकेण्डमा लाखौं फोटो खिच्ने प्रविधिको विकास भइसकेको छ । तपाईं हामीले दैनिक प्रयोगमा ल्याउने क्यामेराले समेत प्रतिसेकेण्ड १० देखि १५ वटा तस्बिर सजिलै खिच्न सकिन्छ । यसरी दिनानुदिन फोटोग्राफीमा भइरहेको विकासक्रम र प्रयोग कहाँ गएर टुङ्गिने हो त्यो भने भविष्यको गर्भमै छ ।

(लेखक स्वतन्त्र फोटोग्राफर तथा प्रशिक्षक हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *