नेताको अगाडि जो आयो त्यहि कार्यकर्ता हो ? – Nepal Press

नेताको अगाडि जो आयो त्यहि कार्यकर्ता हो ?

कुनै पनि राजनीतिक पार्टी सञ्चालन गर्न कार्यकर्ताको निर्णायक भूमिका हुने गर्छ । कार्यकर्ता मूल्याङ्कन, परिचालन र रेखदेख हुन सकेन भने त्यो पार्टीले सफलता पाउन सक्दैन । एउटा जीवको लागि मेरुदण्डको जुन भूमिका हुन्छ, पार्टीको जीवनमा पनि कार्यकर्ताले त्यही महत्व राख्छन् । त्यस्ता कार्यकर्ता भएको पार्टीले निरन्तर प्रगति गर्छ । असल र इमानदार कार्यकर्ता नभएको पार्टीले सफलता प्राप्त गर्न सक्दैन । पार्टीका कार्यकर्ता कस्तो बनाउने ? उनीहरुको परिचालन कसरी गर्ने ? कार्यकर्ताको संरक्षण, विकास र मूल्याङ्कन कसरी गर्ने ? यी प्रश्नका सम्बन्धमा नीति बन्न सकेन भने योग्य र इमानदार कार्यकर्ताको पंक्ति निर्माण हुन सक्दैन । योग्य र इमानदार कार्यकर्ता नभएको पार्टीले आफ्नो नीति र निर्णयलाई जनताको बीचमा लिएर जान सक्दैन । त्यस्तो पार्टीले जनताको विश्वास प्राप्त गर्न सक्दैन । कार्यकर्ताले कम्युनिष्ट पार्टीका लागि मात्रै होइन, सबै किसिमका संगठन र पार्टीको विकासका लागि महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । कमरेड माओले भन्नुभएको छ- ‘कार्यकर्ताले सबै थोकको निर्णय गर्छन् । यसले के देखाउँछ भने यथार्थ रुपमा भन्ने हो भने कार्यकर्ता नै पार्टी सञ्चालनका मुख्य बाहक हुन् ।’

नेपालका सबै राजनीतिक पार्टीहरुको सफलता र असफलताको लागि पनि कार्यकर्ताको भूमिका महत्वपूर्ण छ । जुन पार्टीले कार्यकर्ता निर्माण, परिचालन र पदोन्नतिको सही नीति लिन सक्यो, त्यस पार्टीलाई सफलता प्राप्त भएको छ । जुन पार्टीले यसमा यथोचित ध्यान पुर्‍याउन सकेन, त्यस पार्टीको अद्योगति भएको छ । नेपालका राजनीति पार्टीको इतिहास हेर्ने हो भने संघर्षको कालमा पार्टी कार्यकर्ता निर्माण र परिचालनमा जति ध्यान गएको छ, सरकार र सत्तामा भएको समयमा यथोचित ध्यान गएको पाइँदैन । यसले ‘खोला तर्‍यो, लौरो बिर्स्याे’ भन्ने नेपाली उखानलाई चरितार्थ गरेको देखिन्छ । त्यस कारण पार्टी कार्यकर्ता नीतिको बारेमा व्यापक छलफल आवश्यक हुँदै आएको छ । यो लेख विशेष गरी नेकपा एमालेले लिनुपर्ने कार्यकर्ता नीतिसँग सम्बन्धित छ ।

के हो कार्यकर्ता नीति ?

पार्टी कार्यकर्ता नीतिको चुरो भनेको कार्यकर्ताको सर्वाेत्तम उपयोग गर्नु हो । कार्यकर्ताको पहिचान, विकास, संरक्षण र उनीहरुको सर्वाेत्तम उपयोग गर्न उनको समग्र पक्षको जानकारी आवश्यक पर्छ । मानिसको सम्पूर्ण पक्षको ज्ञानविना उनका राम्रा-नराम्रा, कमजोर र बलियो पक्षको बारेमा जानकारी हुँदैन । सही कार्यकर्ता नीतिका लागि निम्न लिखित चार विषयमा विशेष जोड दिनु आवश्यक छः

१) मानिसलाई राम्रोसँग बुझ्नुपर्छ

मानिसलाई राम्रो बुझ्नुपर्छ भन्दा सामान्य जस्तो लाग्नसक्छ । मानिसलाई राम्रोसँग बुझ्न सजिलो छैन । सामान्य जस्तो लाग्ने यो कुरा निकै कठिन छ । मानिसलाई हेर्ने द्वन्द्ववादी दृष्टिकोण हुन नसकेमा मानिसलाई राम्ररी जान्न सकिँदैन । एक पक्षीय रुपमा गरिएको मूल्यांकन सही हुन सक्दैन । कुनै मानिसको वर्तमान मात्रै हेर्ने, विगत नहेर्ने, कमजोर पक्षमात्रै देख्ने तर बलियो पक्षलाई नदेख्ने, गुण देख्ने, दोष नदेख्ने, बाहिरी पक्षलाई देख्ने तर भित्री पक्षलाई नदेख्ने जस्ता गल्तीले मानिसको सही मूल्यांकन हुन सक्दैन । विगत र वर्तमान, बलियो र कमजोर, बाहिरी र भित्री यी पक्षको बारेमा यथोचित मूल्यांकन गरेरमात्रै मानिसलाई राम्रोसँग चिन्न सकिन्छ । किनभने समाजका हरेक मानिस विभिन्न पृष्ठभूमिबाट आएका हुन्छन् । सबै मानिसका भिन्नभिन्न अनुभव, ज्ञान, रुचिहरु हुने गर्छन् ।

कुनै न कुनै क्षमता र गुण नभएको मानिस हुँदैन । उसमा रहेको क्षमता, योग्यता, अनुभव र विशेषताको समग्र जानकारी लिएर ज्ञान र रुचिअनुसारको काममा परिचालन गर्न सकेमा मात्रै पार्टीले कुनै पनि कार्यकर्ताबाट अधिकतम लाभ लिनसक्छ ।

सबै मानिसमा एकै प्रकारको गुणको खोजी गरियो भने त्यो वस्तुवादी हुन सक्दैन । मानिसका विशेषताहरु भिन्नभिन्न हुन्छन् भन्ने कुरालाई बिर्सियो भने कि हामी सबै मानिसलाई राम्रोमात्रै देख्ने गल्ती गर्छौं कि त सबै मानिसलाई खराबमात्रै देख्ने गल्तीको शिकार हुन्छौं । कुनै न कुनै क्षमता र गुण नभएको मानिस हुँदैन । उसमा रहेको क्षमता, योग्यता, अनुभव र विशेषताको समग्र जानकारी लिएर ज्ञान र रुचिअनुसारको काममा परिचालन गर्न सकेमा मात्रै पार्टीले कुनै पनि कार्यकर्ताबाट अधिकतम लाभ लिनसक्छ ।

मानिसको बारेमा समग्र जानकारी नै नलिइ उसप्रतिको दृष्टिकोण बनाइन्छ भने त्यो गलत हुनसक्छ । बेठीक भनी चित्रण गरिएको मानिसलाई पनि सकारात्मक लिइयो भने त्यसको सही उपयोग हुनसक्छ । उदाहरणका लागि हामी कसैलाई घमण्डी छ भनेर दुत्कार्छाैं, कसैलाई काँतर भनेर अपहेलना गर्छौं र कसैलाई शंकास्पद भनेर निन्दा गर्छौं । घमण्डी हुनु, काँतर हुनु वा शंकास्पद काम गर्नु अनुचित कुरा नै हुन् । तर, घमण्डी भनिएको मानिसमा आफ्नो योग्यता, अनुभव र विशेषज्ञताप्रतिको आत्मविश्वासलाई कतै हामीले घमण्डी भनिरहेका त छैनौं ? यस्तो विषयमा ध्यान जानुपर्छ । त्यस्तो व्यक्तिलाई उसको विशेषज्ञताको विषयमा बढी जिम्मेवारी दिएर कामका आधारमा सही मूल्यांकन गर्न सक्यो भने पार्टीलाई बढी लाभ हुनसक्छ । बलियो पक्षको अधिकतम उपयोग गर्ने र हठीपनाको आलोचना गर्ने गरियो भने आफ्ना कमजोरीलाई त्यो व्यक्तिले कामको लामो यात्रामा आफैंले हटाउन सक्छ । तर, घमण्डीको बिल्ला लगाइदिएर जिम्मेवारी दिइएन भने न त्यो व्यक्तिले आफूलाई सुधार्ने मौका पाउँछ न त पार्टीले त्यो व्यक्तिको विशिष्ट ज्ञानलाई उपयोग गर्नसक्छ ।

त्यस्तै काँतर व्यक्तिको कुरा गरौं । जसलाई हामी काँतर भनेर अपहेलना गर्छौं, त्यो व्यक्तिमा रहेको होसियारीलाई त हामीले काँतर भनिरहेका छैनौं ? काँतर भनिएको व्यक्तिलाई बढी होसियारी अपनाउनुपर्ने काममा लगाइयो भने त्यसमा सफलता प्राप्त हुनसक्छ । त्यस्तो व्यक्तिबाट सूचना संकलन गर्ने, भित्री योजना निर्माण गर्ने, सूचनाको प्रशारण, बैठक भेलाको आयोजना, दस्तावेज लेखन, अध्ययन जस्ता काममा लगाइयो भने उपलब्धि हुनसक्छ । काँतर भनेर अपहेलनामात्रै गरियो भने पार्टीलाई अधिकतम घाटा हुनसक्छ । यस्ता कुरामा यथोचित ध्यान जानुपर्छ ।

त्यस्तै विभिन्न मानिससँग सम्पर्क भएको मानिसलाई शंकास्पद व्यक्तिको रुपमा चित्रित गर्ने गरिन्छ । त्यस्तो व्यक्तिलाई पार्टीका जिम्मेवार नेताले विश्वास नगर्ने, कामको जिम्मेवारी नदिने समस्या अहिले हामीले व्यहोरिरहेका छौं । धैरै मानिसको सम्पर्कमात्रैका कारणले शंकास्पदको बिल्ला भिडाएर कामबाट बञ्चित गर्नु उपयुक्त तरिका होइन । उसका बारेमा सम्पूर्ण कुरा बुझेर खासगरी गोप्य योजनाको जानकारी लिने, विरोधीहरुका योजनाबारेमा सूचना प्राप्त गर्ने जस्ता कामको जिम्मेवारी दिइयो भने पार्टीलाई अवश्य हित हुन्छ ।

पार्टी नेतृत्वको वरिवरि रहनेहरुको बुद्धिमात्रैले अहिलेका आवश्यकतालाई परिपूर्ति गर्न सकिँदैन । सबै क्षेत्रका सक्षम, अनुभवी र विशिष्ट ज्ञान भएका व्यक्तिहरुलाई पार्टीले परिचालन गर्ने योजना बनाउनुपर्ने स्थिति टडकारो भएको छ ।

निचोडमा के भन्न सकिन्छ भने कुनै पनि मानिस आफैंमा योग्य वा अयोग्य हुँदैन । सबै मानिससँग एक वा अर्काे प्रकारको ज्ञान, क्षमता, गुण वा अवगुण हुन्छन् । मानिसमा रहेका ती गुण तथा विशेषताहरुको अधिकतम उपयोगको नीति बनाउनु जरुरी छ । व्यक्तिका गुणको स्वस्थ मूल्यांकन गरेर विगतदेखि वर्तमानसम्मको समग्र पक्षको मूल्यांकनको आधारमा जिम्मेवारी दिइनु उचित हुन्छ । अहिले नेकपा एमालेले आन्तरिक जीवनमा कार्यकर्ता निर्माण र परिचालनको सम्बन्धमा भोगिरहेको समस्यामध्ये कार्यकर्ताको उचित मूल्यांकन गर्न नसक्नु पनि एउटा प्रमुख हो । यस मामिलामा तुरुन्तै ध्यान जान जरुरी छ ।

२) व्यापक दृष्टिकोण लिनु आवश्यक

पार्टी सञ्चालनको लागि संकीर्ण सोचले नोक्सानी पुग्ने गर्छ । सफल पार्टीको लागि फराकिलो सोच आवश्यक पर्छ । जनताको विशाल पंक्तिमा फैलिएको पार्टीका लागि सोच व्यापक हुनु जरुरी हुन्छ । सानो घेरामा सीमित रहेर विशाल पंक्तिलाई परिचालन गर्न सकिँदैन । जनताको विशाल पंक्तिबाट खुला परिस्थितिमा धेरै प्रकारका मानिसहरु पार्टीको नजिक आउनु स्वाभाविक हुन्छ । यस्तो समयमा सबै प्रकारका मानिसहरुलाई विभिन्न काममा परिचालन गर्न संगठित गर्नुपर्ने हुन्छ । सीमित घेराभित्रका मानिसहरुलाई संगठित र परिचालन गर्न जति सहज हुन्छ, अवश्य पनि विशाल पंक्तिलाई संगठित र परिचालन गर्न कठिन नै हुन्छ । त्यसका लागि व्यापक दृष्टिकोण खाँचो पर्छ । धेरै प्रकारका मानिससँग व्यवहार गर्नु त्यति सहज हुँदैन । आग्र्रहपूर्ण व्यवहारले ठूलो पंक्तिलाई संगठित र परिचालत गर्न सकिँदैन । संकीर्णताले जनताको फराकिलो पंक्तिमा पार्टीलाई फैलाउन पनि सकिँदैन । जुन बेलामा पार्टी सीमित जनताको बीचमा काम गर्नुपर्ने अवस्था हुन्छ, त्यस्तो बेलामा सामान्य योजनाको आधारमा पनि काम चल्नसक्छ । तर, जब कामको दायरा फराकिलो हुन्छ, त्यसैबमोजिमको योजना बन्न सकेन भने विभिन्न प्रकारका आन्तरिक समस्याहरु उत्पन्न हुन सक्छन् ।

नेकपा एमालेले पञ्चायती निरंकुश व्यवस्थाको समयमा काम गर्दा भन्दा बहुदलीय व्यवस्थाको स्थापना भइसकेपछिको समयमा धेरै ठूलो दायरामा काम गर्नुपर्ने अवस्था सृजना भयो । तर, त्यसबमोजिम संगठनात्मक प्रणालीको व्यवस्थित योजना बन्न सकेन । वरिष्ठ र नयाँ कार्यकर्ताको बीचमा कस्तो सम्बन्ध कायम गर्ने ? त्यस्तो बेलामा उत्पन्न हुने वैचारिक र कार्यशैलीगत अन्तरविरोधको समाधान कसरी गर्ने भन्ने जस्ता विषयमा पनि खासै योजना बन्न सकेन । त्यस कारणले पार्टीमा मूल्यांकनको सहीपना नभएको भनी पुराना कार्यकर्ताहरु निराश भई निष्क्रिय हुने र नयाँ कार्यकर्ताहरु पनि उत्साहित भएर काम गर्न नसक्ने अवस्था उत्पन्न भयो ।

२०५४ सालको पार्टी विभाजनको समयमा त कार्यकर्ताहरुका बीचमा आपसी असमझदारी निकै बढेर गयो । त्यस समयमा असर र खराबको आधारमा भन्दा पक्षधरको आधारमा जिम्मेवारी पाउने र नपाउने स्थिति उत्पन्न भयो । नेता र कार्यकर्ताका बीचमा कमरेडली भावना मरेर गयो । विभाजनका लागि षड्यन्त्रमा लागेका प्रतिगामी र प्रतिक्रियावादी शक्तिले उक्त स्थितिको भरपुर उपयोग गरे । २०६२ सालको जनआन्दोलनपछि स्थिति झैन जटिल भयो । तर, जटिलताबाट मुक्ति पाउने उपायको खोजी जसरी हुनुपर्ने हो, त्यसरी हुन सकेको छैन । विचारको क्षेत्रमा पनि व्यापक दृष्टिकोण आवश्यक छ । तर, गहिरो वैचारिक बहसका लागि विशेष तयारी र पहलकदमीको अभाव रहेको छ । संघीयता र राज्यको पुनर्संरचनाको विषयमा त खासै बहस हुन सकेको छैन । परम्परागत शैली र मान्यताको आधारमा आजको नयाँ पुस्तालाई पार्टीको बृहत्तर हितमा परिचालित गर्न सम्भव छैन । यस क्षेत्रमा पनि दृष्टिकोणको व्यापकता आवश्यक देखिन्छ । पार्टी नेतृत्वको वरिवरि रहनेहरुको बुद्धिमात्रैले अहिलेका आवश्यकतालाई परिपूर्ति गर्न सकिँदैन । सबै क्षेत्रका सक्षम, अनुभवी र विशिष्ट ज्ञान भएका व्यक्तिहरुलाई पार्टीले परिचालन गर्ने योजना बनाउनुपर्ने स्थिति टडकारो भएको छ ।

कार्यकर्तालाई सन्तुष्ट, उत्साहित र क्रियाशील बनाउन नेतृत्वमा रहने व्यक्तिले अत्यन्तै हार्दिक हुन सक्नुपर्छ । कार्यकर्तालाई तर्कले जित्नेभन्दा पनि भावनाले जित्ने हुनुपर्छ । नेतृत्वसँग जुनसुकै कुरा गर्ने वातावरण भएन भने कार्यकर्ता कमजोर हुँदै जान्छन् र कार्यकर्तालाई विश्वासपूर्वक कामको जिम्मवारी दिन सकिएन भने उनीहरुको मनोबल उठ्न सक्दैन ।

३) मानिसहरुको राम्ररी उपयोग गर्ने सवाल

कार्यकर्ता नीतिको अत्यन्तै महत्वपूर्ण पक्ष भनेको उसको राम्रो उपयोग नै हो । हरेक मानिसको चाहना के हुन्छ भने उसले आफ्नो सामर्थ्यको अधिकतम उपयोग गर्न पाओस् । मानिसले आफ्नो क्षमताबमोजिमको काम पाउन सकेन भने ऊ सम्पूर्ण रुपमा सक्रिय हुन चाहँदैन, उत्साहका साथ काम गर्न पनि सक्दैन । कार्यकर्तालाई जति उत्साहित बनाएर काममा लगाउन सकिन्छ, पार्टी विस्तारको काममा त्यति नै सफलता प्राप्त हुन्छ । पार्टीमा भएका कार्यकर्ताको राम्रो उपयोगदेखि पछि अन्य पार्टीका कार्यकर्ता र पार्टीमा संलग्न नभएका मानिसहरु पनि पार्टीप्रति आकर्षित हुने गर्छन् ।

कार्यकर्तालाई सन्तुष्ट, उत्साहित र क्रियाशील बनाउन नेतृत्वमा रहने व्यक्तिले अत्यन्तै हार्दिक हुन सक्नुपर्छ । कार्यकर्तालाई तर्कले जित्नेभन्दा पनि भावनाले जित्ने हुनुपर्छ । नेतृत्वसँग जुनसुकै कुरा गर्ने वातावरण भएन भने कार्यकर्ता कमजोर हुँदै जान्छन् र कार्यकर्तालाई विश्वासपूर्वक कामको जिम्मवारी दिन सकिएन भने उनीहरुको मनोबल उठ्न सक्दैन । व्यवहारिक र सरलताले इमानदार कार्यकर्ता निर्माण गर्न सकिन्छ । नेतृत्वमा रहेको व्यक्ति नै अति कठोर छ भने कार्यकर्ताले भन्न खोजेको कुरा पनि पूरा भन्न सक्दैन । यसैले कार्यकर्ताको स्वतन्त्र अभिव्यक्तिको अधिकारलाई बढीभन्दा बढी प्राथमिकतामा राख्नुपर्छ । सानो गल्तीका लागि पनि कठोर सजाय दिइनु हुँदैन । आलोचना गर्दा पनि उसको उत्साहलाई मार्ने गरी गरिनु उचित हुँदैन ।

सामान्य स्वभावगत कुरालाई पनि सिद्धान्तको उच्च धरातलबाट हेरेर समाधान गर्ने गल्ती पनि गर्नुहुँदैन । स्वभावगत कमजोरीका लागि कुनै पनि कार्यकर्तालाई कुनै बिल्ला भिराउने काम गर्नु हानिकारक हुन्छ । स्वार्थी, लोभी, आत्मकेन्द्रित, आत्मत्यागको भावनाको अभाव र आत्म बलिदानको भावनाको अभाव भन्ने जस्ता कुरा सामान्य स्वभावजन्य कुराको आधारमा गरिनुहुन्न । आफ्नो हितमा अलि बढी ध्यान दिएबापत स्वार्थी, खानेकुरामा अलि बढी मन गरेवापत लोभी, आफ्नो सामानको प्रयोगमा उदारता देखाउन तयार नभएवापत आन्मकेन्द्रित, कडा कामका लागि तत्परता देखाउन कमी गरेबापत आत्मत्याग र बलिदानको भावनाको अभाव भएको जस्तो बिल्ला भिराउने र त्यसैका आधारमा जिम्मेवारीको निर्धारण गर्ने तरिका अपनाइयो भने यसले पार्टीलाई हानि पुर्‍याउँछ । निकै महत्वपूर्ण विषयमा गरिएका गल्तीका लागि त्यो पनि गहिरो अनुसन्धान र जाँचपडतालबाट निकालिइएको निष्कर्षको आधारमा मात्रै मानिसका बारेमा मान्यता बनाउनु उचित हुन्छ ।

कार्यकर्तालाई जिम्मेवार र सिर्जनशील बनाउन उसलाई यथोचित जिम्मेवारी दिने र कामको आधारमा सही मूल्यांकन गर्नु जरुरी हुन्छ । विनाआधार आलोचना नगर्नेमात्रै होइन, आलोचना संयमित, शिष्ट, सन्तुलित र सुधारको विकल्पसहितको हुनुपर्छ । निन्दायुक्त मनसाय राखिनु हुँदैन एकातिर भने अर्काेतिर कार्यकर्ताको वैचारिक र सांगठनिक स्तरको ख्याल गरिनुपर्छ । आफ्नो हरेक निर्देशनलाई अक्षरसः पालना गर्ने माग गर्नु उचित हुँदैन । निर्देशन आवश्यक ठाउँमा मात्रै गरिनुपर्छ । हरेक काममा कार्यकर्तालाई आफ्नो विवेकको सही प्रयोगको अवसर दिनुपर्छ । गल्तीबाट सिक्ने व्यवहारिक तरिकाबाट कार्यकर्तालाई समृद्ध बनाउने विधि अपनाइनु पर्छ । उत्साहित, कर्तव्यनिष्ट, क्षमतावान, अग्रसरता लिन सक्ने सिर्जनशील र रचनात्मकताको कौशल भएको कार्यकर्ताको निर्माणको लागि उनीहरुमा भरोषा गर्ने र आवश्यक ठाउँमा दिशा निर्देशन गर्ने तरिका अवलम्बन गर्नु आवश्यक छ । यसले आत्मनिर्भर कार्यकर्ताको विशाल पंक्ति निर्माण हुनेछ । त्यही पंक्तिले पार्टीलाई विशाल जनतामाझ स्थापित गराउने छ । नेकपा एमालेसँग विशाल कार्यकर्ता पंक्ति छ । तर, उनीहरुको अधिकतम उपयोग हुन सकेको छैन । यस विषयमा तुरुन्तै ध्यान दिनु जरुरी छ ।

कहिले एकदमै माथि पुर्‍याउने र कहिले एकदमै तल खसाउने गर्नुहुँदैन । कार्यकर्ताको कमजोरी हेरेर बस्ने र ठूलो गल्ती गरेपछि कडा सजाय गर्नाले पार्टीलाई ठूलो नोक्सानी हुन्छ । कार्यकर्ताको हरेक व्यवहारमा सधैं ख्याल गर्ने र समय समयमा उसको कमजोरीका लागि उचित सल्लाह दिने गर्नुपर्छ ।

४) कार्यकर्ताको रेखदेख र व्यवस्थापन

कार्यकर्ताको हेरचाह र संरक्षण, बढुवा जस्ता विषय एकदमै महत्वपूर्ण विषय हुन् । आमाबुबाले आफ्नो छोराछोरीको हितमा जसरी ध्यान दिने गर्छन्, त्यसरी नै कार्यकर्ताको जीवनका लागि पनि पार्टीले ध्यान दिनुपर्छ । पार्टीको हितका लागि जस्तोसुकै बलिदान गर्न पछि नपर्ने कार्यकर्ता नै पार्टीका वास्तविक मेरुदण्ड हुन् । उनीहरुको सर्वाेपरि हितको पक्षमा योजना बनाउनुपर्छ । कार्यकर्तासँग सन्तुलित व्यवहार र उसको राजनीतिक इमानदारी तथा पेशागत योग्यताको सर्वाेपरि मूल्यांकन गर्नुपर्छ । कहिले एकदमै माथि पुर्‍याउने र कहिले एकदमै तल खसाउने गर्नुहुँदैन । कार्यकर्ताको कमजोरी हेरेर बस्ने र ठूलो गल्ती गरेपछि कडा सजाय गर्नाले पार्टीलाई ठूलो नोक्सानी हुन्छ । कार्यकर्ताको हरेक व्यवहारमा सधैं ख्याल गर्ने र समय समयमा उसको कमजोरीका लागि उचित सल्लाह दिने गर्नुपर्छ ।

कार्यकर्ताको जीवनमा आइपर्ने विभिन्न समस्याको सम्बन्धमा व्यवस्थित योजना बनाएर समाधानका उपायहरु खोज्नुपर्छ । नेतृत्वले समस्यालाई ध्यानपूर्वक सुन्ने र समाधान गर्न गम्भीरताका साथ लाग्नुपर्छ । देश, जनता र क्रान्तिलाई नै सबैभन्दा महान चिजहरु भनेर हिँडेका कार्यकर्ताबाट हुन सक्ने गल्तीका लागि पार्टीबाट निष्कासन गर्ने जस्ता विषयमा निकै ध्यान दिनुपर्छ । यस अवस्थामा ठूलो नोक्सानी हुन सक्नेतर्फ पनि ध्यान जानुपर्छ । कार्यकर्ताको बारेमा आउने विभिन्न प्रकारका आरोपहरुका बारेमा पनि जाँचपडताल गरिनुपर्छ । प्रमाणित तथ्यलाई आधार बनाएरमात्रै कारबाही गर्नु उचित हुन्छ । कारबाही गर्दा उसको सुधारलाई नै केन्द्रविन्दू बनाउनुपर्छ । गल्तीको सम्बन्धमा विवेकयुक्त निर्णय गरिनुपर्छ ।

कम्युनिष्ट पार्टी निष्पक्ष छ र यसका नेताले कुनै पनि आग्रहपूर्ण व्यवहार गर्दैनन् भन्ने कुरामा कार्यकर्तालाई विश्वस्त तुल्याउन सक्नुपर्छ । यसका लागि वर्तमान गल्तीको क्षतिपूर्ति विगतको प्रशंसनीय कार्यले गर्नसक्छ । वर्तमान र अतितका गल्तीको क्षतिपूर्ति भविष्यको योगदानले गर्नसक्छ भन्ने मान्यतालाई आत्मसात गर्नुपर्छ । गल्तीलाई कुनै कार्यकर्तालाई समाप्त पार्ने अवसरको रुपमा प्रयोग गर्ने तरिका अत्यन्तै हानिकारक हुन्छ । कार्यकर्तालाई झूटा आश्वाशन दिने, अति प्रशंसा गर्ने, कमजोरीमा पर्दा हाल्ने जस्ता कामहरु नेतृत्वबाट हुनुहुँदैन । कार्यकर्ताको बेवास्ताले पार्टीलाई कमजोर बनाउँछ ।

निष्कर्ष

कार्यकर्ताको व्यवस्थित अध्ययन आजको आवश्यकता हो । व्यवस्थित अध्ययनले कार्यकर्ताको समग्र पक्षको ज्ञान पार्टीलाई हुनेछ । जो अगाडि आयो, त्यही कार्यकर्ता हुने वर्तमान अवस्थाबाट मुक्त नहुने हो भने भएका कार्यकर्ता गुम्नेछन् र पार्टी आफ्नो लक्ष्यमा पुग्न सक्ने छैन । समग्र जानकारी भएको कार्यकर्ताको बढुवा र जिम्मेवारीका लागि सजिलो हुनेछ, पार्टीमा पक्षपात हुने छैन । विभिन्न क्षमता भएका कार्यकर्तालाई उचित जिम्मेवारी दिन सकेमा देशभरको संगठनको काममा रक्तसञ्चार भर्न सकिनेछ । कार्यकर्तालाई व्यवस्थित सहायता दिने, उचित शिक्षादीक्षा दिने, विवेकसम्मत ढंगले नियन्त्रण र परिचालन गर्ने, आँट उत्साह भर्ने र सही दिशानिर्देश गर्ने काम गर्नु आवश्यक छ ।

यहाँ चर्चा गरिएको कार्यकर्ता नीतिको कुरा गर्दा सामान्य रुपमा हेर्दा एउटा पार्टी सञ्चालनका लागि मात्रै हो जस्तो लागे पनि देश चलाउन पनि उत्तिकै लाभदायक हुन्छ । जुन पार्टीले कार्यकर्ताको सही नीति बनाउन सक्दैन, त्यो पार्टीले देश चलाउनमा सफलता पाउने सम्भावना झनै हुँदैन । नेकपा एमाले नेपाली राजनीतिको लोकतान्त्रीकरण अगुवा पार्टी भएकाले कार्यकर्ताको सही नीति बनाउने, लागू गर्ने पार्टी पनि यही हुनुपर्छ । कार्यकर्ता नीतिका बारेमा पार्टीले व्यवस्थित कार्ययोजना बनाउन ढिलो गर्नुहुँदैन । अहिले नेकपा एमालेलगायतका देशका अन्य पार्टीले पनि जे जति समस्या पार्टीको आन्तरिक जीवनमा भोगिरहेका छन्, धेरै हदसम्म कार्यकर्ता नीतिको प्रष्टताले त्यो समस्याबाट मुक्त हुनेछन् । यो विषयलाई पार्टीको आन्तरिक प्रशिक्षणको एक महत्वपूर्ण विषयका रुपमा तत्काल समावेश गर्नु आवश्यक छ ।

(नेकपा एमाले स्थायी कमिटीको सदस्य तथा युवा तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापा राजनीतिक शास्त्रको विद्यावारिधिको विद्यार्थी हुन । यो आलेख उनको प्रकाशोन्मुख पुस्तकको एक भाग हो ।)


प्रतिक्रिया

3 thoughts on “नेताको अगाडि जो आयो त्यहि कार्यकर्ता हो ?

  1. नेता को अगाडी जो आयो त्यो कर्याकर्ता होइन भेडा गोरो सुँगुर हो । तिमीहरू जुस्तो दलाल को पछि जाने ।

  2. सैद्धान्तिक तथा वास्तविक नेता बन्नेकालागी अनुकरणीय लाग्याे! यथार्थमा व्यवहारिक रुपमा कसले बुझि दिने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *