गुहरीमा सार्वजनिक बिदा दिन प्रदेश र स्थानीय सरकारसँग माग


कैलाली। थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आइरहेका गुहरी पर्वका दिन बिदा दिन सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहसँग माग गरिएको छ ।
थारु समुदाय आबद्ध रहेका बिभिन्न ६ संस्थाले आज एक विज्ञप्ति जारी गर्दै बिदा माग गरेका हुन् ।
२०६७ सालदेखि धनगढीको गुहरी चोकमा यो पर्व मनाउँदै आइरहेको भन्दै ती संस्थाहरूले यस पटक बिदा नदिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
‘यहि भदौ ४ गते प्रदेश सरकार र स्थानीय सरकारको कार्य तालिकामा गुरहीको बिदा नदिएको देखिएकाले सो दिन तत्काल बिदा घोषणा गर्नको लागि अपिल गर्दछौँ’ आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
थारु कल्याण कारिणी सभा कैलाली, सखी सञ्जाल कैलाली, थारु लेखक संघ,राष्ट्रिय कलाकार मञ्च, थारु नागरिक समाज र थारु विद्यार्थी समाजले संयुक्त विज्ञप्ति जारी गरेर सरकारलाई बिदा दिन आग्रह गरेका हुन् ।
धनगढी उपमहानगर पालिका ८ गुहरी चोकमा ४ गते गुहरी असरैना कार्यक्रमको आयोजना गरिएको पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।