कवि सुरज आचार्य ‘द मेटाफोरिकल’का बागबजारमाथि लेखिएका तीन कविता
काठमाडाैं । कवि सुरज आचार्य ‘द मेटाफोरिकल’ पेशाले प्राध्यापन गर्छन् । विशेष गरी कविता र गजल लेख्छन् । वामपन्थी धारका गुल्मीका आचार्यका कविताहरू प्रगतिशील विचारधारा हुन्छन् ।
एक कविता सङ्ग्रह र गजल सङ्ग्रहको अन्तिम तयारीमा रहेका उनै आचार्यको बागबजारमाथि लेखिएका तीन कविता प्रस्तुत गरेका छौँ ।
‘बदनाम छ बागबजार कीर्तिपुरमा’
एक दिन घुम्दै फिर्दै आइपुग्यो बागबजार कीर्तिपुरमा ।
आन्दोलन, राजनीति, विचार, दर्शन र गलफत्तीको ठेकेदारीबाट धेरै टाढा ।
जहाँ शान्त, स्निग्ध, मौन, अटल, निश्चल बनेर जो नियाली रहेछ काठमाडौंको कर्कश ध्वनि कीर्तिपुर ।
यहाँ विचार, दर्शन, राजनीति, विज्ञान रणनीति र तर्कका ठाउँमा रहर, चाहाना, इच्छा, आकाङ्क्षा, भावना र अनुभूतिले स्थान पाएको देख्दा ।
उसको वैज्ञानिक समाजवाद अल्पमतमा पर्ने डरले ।
आवाज ठूलो गरेर भन्यो तपाईँलाई बोल्न वर्जित छ ।
घोषणा गर्यो म भनेकै आन्दोलन हो आन्दोलन भनेकै म हु ।
यहाँ समाजवादको ढल छताछुल्ल भएर ह्वास्स नगन्हाएका कारण उसले मार्क्स लगायो ।
जो कालो थियो वा सेतो जर्मन थियो वा इटालियन कीर्तिपुरले याद गरेन ।
मान्छेका संवेदनालाई नियाल्न नसकेका कारण उसले चस्मा लगायो ।
जो रसियन थियो वा चाइनिज कीर्तिपुरले याद गरेन ।
चिया गफमा उसले चिया पिएन, आफ्नो लागि कफी अर्डर गर्यो जुन अमेरिकी ब्रान्डको अमेरिकानो थियो यो कुरा कीर्तिपुरलाई भलिभात्ती याद छ ।
कीर्तिपुरले आतिथ्यमा समर्पित गरेको रोटी खाएन बागबजारले पिज्जा लन्च गर्यो ।
यसरी आफूलाई सभ्य, सहरिया, सम्भ्रान्त र समाजवादी भएको ठहरायो ।
विश्वविद्यालयका सदियौँ लामा साधना, समालोचना, मेहनत, अनुसन्धान र डिग्रीहरू बागबजारलाई बुर्जुवा शिक्षाका उपयोगहीन कागजी खोस्टा लाग्छन् ।
जसले युनिभर्सिटी देखेको छैन उसलाई युनिभर्सिटी बेरोजगार उत्पादनको अखडा लाग्छ ।
सोझो कीर्तिपुर हेरिरह्यो तमासा ।
नियाली रह्यो सहरिया सभ्यता ।
अनुभूत गर्यो समाजवादी गुदी ।
बागबजारलाई हीनताबोध भयो कीर्तिपुर आउनुको ।
तैपनि सहानुभूति स्वरूप, वैज्ञानिक समाजवादको कुम्भ मेलामा सहभागी हुनुपर्ने गृहकार्य सुम्पेर फर्कियो बागबजार आफ्नै लयमा ।
त्यसै दिनदेखि बदनाम छ बागबजार कीर्तिपुरमा ।
‘बागबजार’
काठमाडौदेखि दूर दराजका आम मानिसलाई लाग्दो हो।
बाघको मुखौटो पहिरिएका डमीहरूको बजार ।
अथवा जिउँदा जाग्दा पाटे बाघहरूको चिडियाघर ।
वा लाग्दो हो बाघका छाला नङ्ग्रा दाह्रा खप्पर पाइने ठाउँ ।
यहाँ जिउँदा बाघहरूको हुङ्कार होइन अघाएका समाजवादी सम्भ्रान्तहरूको डकार सुन्न पाइन्छ । ढ्याऊ…
मार्क्स नपढेकोमा तपाईँलाई मान्छे स्वीकारिने छैन ।
बागबजारका गल्लीहरूबाट गुज्रिँदै गर्दा तपाईँले समाउनु पर्ने छ गोर्कीको कुनै उपन्यास ।
१८ औँ शताब्दीका नाराहरू घोकेर फलाक्न सकेकोमा तपाईँ विद्वान् कहलाउनु हुनेछ ।
तपाईँले घोषणापत्र नपढेकोमा हुर्मत लिइने छ तपाईँको ।
बागबजारका ढलहरूमा जन्मन्छ समाजवाद ।
टुकुचा पुग्दा नपुग्दै वैज्ञानिक सिङ हालेर जवान बन्छ । मिसिन्छ बाग्मतीमा र प्रदूषित गरिरहन्छ सारा काठमाडौं ।
बागबजार हुनेखाने, काठमाडौंमा घर हुने, अथवा बाउले कमाइदिएको सम्पत्तिमा रजाइँ गर्नेहरूको रच्छ्यान हो ।
उनीहरूकै बसिबियालो गर्ने चौतारी हो ।
जहाँ मञ्चन भइरहेछ समाजवाद शीर्षकको एउटा नाटक ढोङ्ग गरिरहेछन् कथित कम्युनिस्टहरू ताली पिटी रहेछौं हामी सोझा फगत दर्शकहरू ।
यहाँ अनन्तदेखि बाचिरहन्छन् त केवल उनीहरूका विचार, सिद्धान्त, दर्शन, कार्यदिशा, रणनीति र योजना ।
हरेक दिन आत्महत्या गरिरहेछन् । युवाहरूका जोश, जाँगर, उत्साह, सपना, सम्भावना, जीवन, जवानी, उमेर र अनेक सिङ्गा मानवहरू ।
अनि मलाई ह्वास्स गनाउन थाल्छ समाजवाद टुकुचा नजिकै थुपारिएको कुहिएर सडेगलेको फोहोरको डङ्गुरमाथी राज गरिरहेछ अनन्तदेखि अनन्तसम्म जसलाई समाजवाद भनिन्छ ।
‘बागबजारदेखि बागबजारसम्म’
हतारमा छु ।
म त समाजवादको व्यापारी सबेरै पुग्नु छ बागबजार ।
ल आर आर शङ्करदेव पिके क्याम्पस हुँदै भाउजूको चिया पसल, शान्ति बाटिका, जागरण पुस्तक पसल हुँदै दोबिल्ला पुगेर हेगेल, मार्क्स, एङ्गेल्स, लेलिन, स्तालिन, माओ, फिडेल, चे, र पुष्पलाल बेच्नु छ ।
सहिदहरूका सपना बेच्नु छ ।
उनीहरूको वैचारिकी छाटेरै सम्पन्न गर्नु छ, एउटा समाजवादको अविराम यात्रा बागबजारदेखि बागबजारसम्म ।
म त समाजवादको व्यापारी ।
भुट्नु छ युवाहरूको बुद्धि,
भस्मीभूत बनाउनु छ उसका सुनौला सपना,
बर्बाद बनाउनु छ उसको व्यक्तिगत जिन्दगी,
तर्कवितर्क गरेरै कन्फ्युज गराउनु छ उसको वैचारिकी,
बेच्नु छ समाजवादका नारा,
दिनु छ क्रान्तिका गफ,
अरु नाङ्ला व्यापारीहरूले उछिन्छन् कि भन्ने डर छ मलाई,
म हतारमा छु ।
सम्पन्न गर्नु छ एउटा समाजवादको अविराम यात्रा बागबजारदेखि बागबजारसम्म ।
बोयफ्रेन्ड/गर्लफ्रेन्ड माथिको स्वामित्वलाई लिएर गरिएको लुछालुछ र लछारपछार मिलाउनु छ म आफैले,
महिला अधिकारका बारेमा भाषण दिनु छ सबेरै,
न्याय दिलाउनु पर्ने छ ती तमाम उत्पीडितहरूलाई,
बोलिदिनु पर्ने छ आवाज विहीनहरूको आवाज,
कुनै पुस्तक विमोचनमा बेलैमा पुगेर एक गड्गडाहट ताली पनि बजाइदिनु पर्ने छ,
ओगट्नु छ आफ्नो भागमा परेको एक कप चिया र चार छ पाना बिस्कुट,
फेरि कोही चित्तमिलेको भेटिए त विषय बनाउनु छ अमुक व्यक्तिलाई,
उडाउनु छ उसलाई,
घटाउनु छ पेटको बोसो अलिकति हाँसेरै,
म एक्लो क्रान्तिकारी म एक्लो समाजवादी,
कसरी भ्याउनु जताततै त्यसैले हतारमा छु म ।
सम्पन्न गर्नु छ एउटा समाजवादको अविराम यात्रा बागबजारदेखि बागबजारसम्म ।
शब्दव्रह्म ! शब्दशैलीवाट अत्यन्तै प्रभावित भएको छु सुरजबाबुको !अबिरल शब्दप्रवाह होस् वधाई तथा शुभकामना !
thank you uncle .
निकै तार्किक लाग्यो कवितताहरु ।सव्दहरु वाटै वमबाण भयको ।।
कविहरूमा उम्रने विद्रोह थाहै नपाई जनमानसमा रुपान्तरण हुन्छ । विद्रोह चेतना मात्र होइन रुपान्तरणको एक शसक्त बाटो पनि हो ।
धन्यवाद प्रतिक्रियाका लागि ।