निजामती ऐनमा आफ्ना माग नसमेटिए आन्दोलन गर्ने कांग्रेसनिकट कर्मचारी युनियनको चेतावनी
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले निजामती ऐनमा आफ्ना माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
राष्ट्रिय भेला तथा विधान अधिवेशन २०८० को निर्णय तथा घोषणापत्र सार्वजनिक गर्न आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले संघीय निजामती ऐन जारी हुँदै गर्दा सरकारले आफ्ना मागहरू सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको हो ।
युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले संघीय निजामती सेवा ऐन जारी हुने क्रममा रहेको र कर्मचारीले उठाएका मागहरू सम्बोधन गर्नका लागि राष्ट्रिय भेलाले दबाब बताए ।
सरकारले संघीय निजामती ऐन पास नगरे र पास गरिहाले पनि आफूहरुले उठाएका मुद्दालाई सम्बोधन नगरे कडा आन्दोलनमा उत्रने बताए ।
उनले सरकारसँग भएको छलफलमा आफ्ना मागहरू सम्बोधन भएको जानकारी पाएको र उच्च अहोदाका कर्मचारीले भने आफ्ना मागहरूको बारेमा केही अप्ठ्यारो गरिरहेको जिकिर गरे ।
घोषणा गरिएको २३ बुँदे प्रतिबद्धतामा केही कुराहरू आफूहरूले गर्ने र केही कुराहरू सरकारले लागू गर्नपर्ने उनले बताए ।