नागपञ्चमीमा सियारी गाउँपालिकाका लगातार तीन विज्ञप्ति- सार्वजनिक बिदा छ, छैन, छ… – Nepal Press

नागपञ्चमीमा सियारी गाउँपालिकाका लगातार तीन विज्ञप्ति- सार्वजनिक बिदा छ, छैन, छ…

रुपन्देही । रूपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले नागपञ्चमीका दिन दुई बेग्लाबेग्लै विज्ञप्ति निकाले । उनीहरूको विज्ञप्तिमा विपरीत भाव थिए ।

गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदाको घोषणा गर्दै विज्ञप्ति जारी गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सार्वजनिक बिदा नभएको जानकारी गराएका थिए । उनीहरूमध्ये कसको विज्ञप्ति कार्यान्वयन हुन्छ भन्ने अन्योल भयो ।

गाउँपालिका अध्यक्ष घिमिरेले आइतबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ- ‘मिति २०८० साल भाद्र ४ गते सोमबार हिन्दु धर्मावलम्बीहरूको महान् पर्व साउन शुक्ल पञ्चमी ‘नागपञ्चमी व्रत’ को पावन अवसरमा यस गाउँपालिका मातहतका वडा कार्यालयहरू आकस्मिक सेवाबाहेक स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरू एवं संघ–संस्थाहरू लगायतका कार्यालयहरूमा सार्वजनिक बिदा हुने भएको ब्यहोरा अनुरोध छ ।

सोही मितिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले विद्यालयहरूलाई लक्षित गर्दै जारी गरेको विज्ञप्तिमा लेखिएको छ- ‘भोली मिति २०८०/०५/०४ गतेका दिन नागपञ्चमी सार्वजनिक बिदा नभएकोले सबै विद्यालयहरूले यथावत् रूपमा पठनपाठनको कार्य सुचारु गर्नुहुन सबै विद्यालयका प्रधानाध्यापकज्यूहरूलाई जानकारी गरिन्छ ।

यसरी दुई विज्ञप्ति निकालेर अन्योल सिर्जना गरिदिएका अध्यक्ष र अधिकृतले केही समय पत्रकारको पनि फोन उठाएनन् । अन्ततः दुवैले क्षमा याचनासहित एक साझा विज्ञप्ति जारी गरी विवाद थामथुम पारेका छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ- ‘प्रस्तुत विषयमा मिति २०८०/०५/०३ गते यस कार्यालयबाट जारी पहिलो सूचनामा स्थानीय सार्वजनिक बिदा दिने सम्बन्धमा कुनै निर्णय नभएको हुँदा सार्वजनिक बिदा नभएको भनी प्रमुख प्रशासकीय अधिकृत ज्यूबाट सूचना जारी गरिएको र पछि छिमेकी गाउँपालिकाहरूबाट समेत स्थानीय सार्वजनिक बिदा दिइएको साथै विभिन्न सरोकारवालाहरूबाट समेत बिदा गर्न सुझावसमेत प्राप्त भएको हुनाले यस गाउँपालिकाबाट निर्णय गरी पुनः दोस्रो सूचना जारी गरी स्थानीय बिदा दिनुपर्ने अवस्था सृजना भएको हुनाले गाउँपालिका अध्यक्ष ज्यूबाट जारी गरिएको सूचना आधिकारिक भएको ब्यहोरा जानकारी गराउँछौँ ।

यसै गरी अघि लेखिएको छ, ‘मिति २०८०/०५/०४ गते नागपञ्चमीको पावन अवसरमा सियारी गाउँपालिकाभरिका सरकारी कार्यालयहरू र विद्यालयहरूमा सार्वजनिक बिदा भएको ब्यहोरा जानकारीका लागि अनुरोध छ । साथै गाउँपालिकाबाट जारी पहिलो सूचना वेबसाइट र सामाजिक सञ्जालबाट हटाइएको भएता पनि सामाजिक सञ्जालमा दुवै सूचना राखी भ्रम सृजना गरिएको देखिएको हुनाले यसबाट सर्वसाधारण तथा सरोकारवालामा पर्न गएको दुबिधाप्रति गाउँपालिका परिवार क्षमा चाहन्छौँ ।

पछिल्लो विज्ञप्तिमा अध्यक्ष र अधिकृत दुवैले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *