विवाहको अघिल्लो दिनसम्म पनि चामल कति रुपैयाँ किलो पर्छ थाहा थिएन: सलोन बस्नेत (भिडिओ)
काठमाडौं । अभिनेता सलोन बस्नेतले गत मंसिरमा करिश्मा केसीसँग विवाह गरे । तीन वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका थिए । अहिले ‘जय हो’ फिल्मको प्रचारमा रहेका बस्नेतले विवाहमाथि पनि खुलेर कुराकानी गरेका छन् ।
विवाहपछि आफू धेरै कुरामा बदलिएको र जिम्मेवारी पनि थपिएको महसुस गरेको सलोन बताउँछन । उनी भन्छन्, ‘विवाहअघि कति चिजहरुमा म इन्भल्भ नै हुँदिन थिएँ । कति धेरै कुराहरु थाहै थिएन । विवाहपछि चाहिँ परिवारमा अलि बढी एफोर्ट होस् । घर चल्ने चिजहरुमा ज्ञान लिउँ भन्ने हुँदो रहेछ । यी सबै कुरा कसैले गर भनेर भन्दा पनि आफैं स्वाभाविक रुपमा हुने रहेछ ।’
विवाहले आफूलाई धेरै बदलेको सलोनको स्वीकारोक्ति छ । विवाहपछि आफू धेरै परिवर्तन हुँदै गएको र त्यो परिवर्तन औधी मन परिरहेको उनी बताउँछन् । भन्छन्, ‘विवाहको अघिल्लो दिनसम्म पनि मलाई चामल कति रुपैयाँ किलो पर्छ भनेर थाहा थिएन । अहिले त घरमा चाहिने अति आवश्यक धेरै कुराहरु थाहा भइसक्यो । विवाह हुनेबित्तिकै म्याच्युर्ड भएर गइने रहेछ । अहिले त्यो परिवर्तन मलाई मन पनि परिरहेको छ । त्यसले छुट्टै खुशी दिँदोरहेछ ।’
केटा मान्छेले विवाह गरेपछि साथीभाइहरु गुमाउँछन् भने पनि आफूले भने नगुमाएको सलोनको अनुभव छ । श्रीमती र आफ्नो ह्याङआउट गर्ने सर्कल एकै भएका कारण पनि दुवैले रमाइलो गरिरहेको, कोही पनि नगुमेको उनको भनाइ छ । साथी श्रीमती कामले गर्दा बाहिरतिर गइरहने भएकाले साथीभाइसँग छुट्टै समय पनि बिताउँछन् ।
ससुरा बासँग पनि फ्रेण्डली सम्बन्ध भएका कारण आफ्नै बुवालाई नभन्ने कति कुराहरु ससुरालाई शेयर गर्ने गर्छन् सलोन । साथै प्रेमिका श्रीमतीको रुपमा रुपान्तरण भएपछि उनीहरु ढुक्क हुने सलोनको अनुभव छ । भन्छन्, ‘उनीहरु प्रेमिका श्रीमती भएपछि ढुक्क भएर बस्दा रहेछन् । गर्लफ्रेण्डमात्रै हुँदा कति कुरामा कहाँ हो, के भइराछ भनेर अलिकति शंकालु कुराहरु गर्थिन् । अहिले भने ए जहाँसुकै जा, फर्कने यही हो भन्ने हुँदो रहेछ ।’