विपक्षको होहल्ला र नाराबाजीबीच कोशीका मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा (भिडिओ) – Nepal Press

विपक्षको होहल्ला र नाराबाजीबीच कोशीका मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा (भिडिओ)

संविधानको ठाडो उल्लंघन गर्दै प्रदेशसभाको अध्यक्षता गरेका मन्सुरीले बराबरी संख्या नभए पनि दिए निर्णायक मत

विराटनगर । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घोषणा गरिएको छ । सभाको अध्यक्षता गरिरहेका सांसदले मतदान गरेपछि विपक्षीको नाराबाजी र होहल्लाबीच थापाले विश्वासको मत पाएको घोषणा गरिएको हो ।

कोशी प्रदेश सभामा ९३ जना सांसद रहेकोमा सोमबारको बैठकमा ७७ जनामात्र उपस्थित भएका थिए । उपस्थित सांसदमध्ये मुख्यमन्त्री थापाको पक्षमा ४७ मत प्राप्त भएको छ भने विपक्षमा ३० मत प्राप्त भएको घोषणा गरिएको छ ।

कोशी प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि लफडा भएको थियो ।

मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले विश्वासको मत दिएका हुन् । मत फिर्ता लिने समय चलिरहेका बेला उनले तिम्सिनालाई अध्यक्षता ग्रहण गर्न बोलाएका थिए ।

उपसभामुख सिर्जना दनुवारसहित केही ज्येष्ठ सदस्यहरू अनुपस्थित रहने भएपछि कांग्रेसका इस्राइल मन्सुरीले सभाको अध्यक्षता गरेका थिए । प्रदेशसभामा सत्तागठबन्धनको ४७ सीट छ । तर, अन्सारीले बैठकको अध्यक्षता गरेपछि ४६ मतमात्र थियो । विश्वासको मत पाउनका लागि ४७ मत आवश्यक पर्छ ।

सभाको अध्यक्षता गर्ने व्यक्तिले दुवैतर्फ मत बराबर भएमात्र निर्णायक मत दिन पाउने संवैधानिक व्यवस्था रहेको वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले बताए ।
संविधानको धारा १८६ मा भनिएको छ, ‘प्रदेशसभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ । अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन । तर, मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिनेछ ।’

संविधानको यति प्रष्ट व्यवस्था हुँदा हुँदै पनि मन्सुरीले विश्वासको मत दिएमा संविधानको उल्लंघनमात्र नभएर दण्डनीय अपराध हुने अधिवक्ता समेत रहेका एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

सत्ता गठबन्धनले पहिलोपटक गरेको संविधान उल्लंघनलाई अदालतले सच्याएकोमा फेरि सोही बाटोमा गएको आरोप एमालेको छ ।

विश्वासको मत लिने प्रयोजनमा भने उपस्थित सदस्यको नभएर तत्काल कायम रहेको प्रदेश सभा सदस्यको संख्याको बहुमत आवश्यक पर्ने कुरा संविधानको धारा १८८ को उपधारा ३ मा उल्लेख छ । त्यसैले गठबन्धनले सभामा उपस्थितको बहुमत देखाएर विश्वासको मतको बहुमत जुटाउने भने पनि संविधानको धारा १८८ ले नदिने र तत्काल कायम रहेको संख्याकै बहुमत आवश्यक पर्ने भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर