उपचार गर्न गएका बिरामीको मृत्यु, अस्पतालले लापरबाही गरेको भन्दै कारबाहीको माग
कैलाली । सेती प्रादेशिक अस्पतालमा उपचारमा गएका बिरामीको उपचार नपाएर मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका-१० बस्ने ४० वर्षीय अरुणकुमार रानाको उपचार नपाएरै मृत्यु भएको हो । सोमबार दिउँसो घरमा बेहोस भएपछि उनलाई सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
‘उहाँ उपचार गर्न भनेर आउनु भएको थियो परीक्षण नै नगरी ओपिडीको लागि टिकट लिन पठाउनु भयो’, मृतककी भतिजी सोनियम रानाले भनिन् ‘बिरामी आउनु भएको अङ्कललाई उपचार नै नगराई फेरि गर्मीमा टिकट काट्न पठाउनु भयो ।’
करिब अढाई घण्टासम्म पनि उपचार नभएपछि बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले कारबाहीको माग गरेका छन् । आकस्मिक कक्ष लगिएका अरुणलाई डाक्टरले उपचार नै नगरेको र त्यही कारणले मृत्यु भएको उनका दिदी मालामती रानाले बताइन् ।
पूर्व प्रदेशसभा सदस्य रानाले डाक्टरको लापरबाहीको कारण भाइको मृत्यु भएको भन्दै घटनाको छानबिन गरेर कारबाही नहुँदासम्म शव नउठाउने बताइन् ।
‘यो अस्पतालमा जहिल्यै लापरबाही हुने गरेको थियो । आज यहाँका डाक्टरको लापरबाहीका कारण मैले पनि आफ्नो भाइ गुमाएकी छु’, रानाले भनिन्, ‘घटनाको छानबिन गरी दोषीलाई कारबाही नगरेसम्म हामी शव उठाउँदैनौँ ।’
प्रादेशिक अस्पताल मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले रानाको मृत्यु भएको घटनाबारे बुझिरहेको बताउँदै त्यसपछि मात्र आधिकारिक प्रतिक्रिया दिने बताएका छन् ।