उच्चस्तरीय छानबिन समिति : समाधान कि साजिस ?
वर्तमान सरकारले भ्रष्टाचार र तस्करीविरुद्ध चालेका पछिल्ला कदमहरूको जनताले उत्साहपूर्वक समर्थन र स्वागत गरेका छन् । तर, संसदको दोस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी एमालेले भने सरकारको उपरोक्त कदम र गृहमन्त्रीको अभिव्यक्ति फिटिक्कै मनपराएको छैन । एमाले बिच्किएको बिच्किएै छ । यतिबेला नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने फण्डा झिकेर संसदमा हतकण्डा मचाइरहेको छ ।
उच्चस्तरीय छानबिन समिति सुन्दा त गजबै लाग्छ । कतिपयलाई राम्रै कुरा उठायो भन्ने पनि लाग्दो हो । तर, नाम मात्रैले त के हुँदोरहेछ र ? उच्चस्तरीय छानबिन समिति र आयोगहरूको ‘काम’को इतिहास हेर्ने हो भने त्यति नै विरक्तलाग्दो छ । विगतका छानबिन समिति र आयोगहरूको नजीरहरूले त्यस्ता समिति तथा आयोगहरू दोषी पहिचान गरी कारबाही गर्ने उद्देश्यले भन्दा पनि मौजुदा नियम कानूनलाई काम गर्न नदिने र अलमल्याउने उद्देश्यका साथ गठन गर्ने गरेको आभास हुन्छ ।
अथवा समाधानको निम्ति भन्दा पनि साजिसको निम्ति त्यस्ता समितिहरू गठन हुने गरेका छन् । यदि छानबिन समितिको निर्णय र नेताहरूको स्वार्थ बाझियो भने प्रतिवेदनहरू गायब पार्ने र सार्वजनिक नगर्नेसम्मका हर्कतहरू हुँदै आएका कुरा सबैको सामु छर्लङ्ग छ । उदाहरणको रूपमा कैलालीको टीकापुर घटनाको बारेमा छोटो चर्चा गरिएको छु । त्यसो त अरू पनि थुप्रै घटना र आयोगहरू छन । तर, रेशम चौधरीको आम माफीपछि यो विषय विमर्शमा देखिएको हुनाले उदाहरणको रूपमा प्रस्तुत गरिएको हो ।
निःसन्देह, टीकापुर घटना अत्यन्त दुःखद र जति निन्दा गरे पनि चित्त नबुझ्ने घटना हो । कहिलेकहीं के हुन्छ भने घटनाको यथार्थ र मान्छेहरूको आग्रह-पूर्वाग्रह मेल खाँदैन । टीकापुर घटनामा पनि त्यस्तै भएको थियो । सत्यतथ्यले एक थोक भन्थ्यो । तर, खसआर्य समुदायका सत्ताभोगी जात व्यवस्थाका पक्षपाती शासकहरूले उक्त घटनाको अर्कै ढंगले प्रचार गरे । अनि त्यसको फाइदा राजनीतिलाई अपराधीकरण गर्नेहरूले लिए ।
अहिले संसदको दोस्रो ठूलो पार्टीले नेकपा एमालेले सुन तस्करीको प्रकरणलाई सीआईबीको हातबाट खोसेर उच्चस्तरीय छानबिन समितिलाई जिम्मा दिनुपर्ने माग गरिराखेको छ । उक्त माग पहिला पहिलाका आयोग र समितिहरूको जस्तै समाधानको निम्ति भन्दा पनि साजिसको निम्ति हो कि भन्ने आशङ्का उब्जाएको छ ।
स्मरणीय छ, टीकापुर घटनालगायत मधेस आन्दोलनको क्रममा भएका हत्या, हिंसा, आगजनीका घटनाहरूको सत्यतथ्य पत्ता लगाउन भनेर पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा आयोग बनेको थियो । तर, त्यसको प्रतिवेदन सार्वजनिक गरिएन । तत्कालीन सरकार तथा खसआर्य समुदायका सत्ताभोगी शासकहरूले के आरोप लगाएका छन् भने ‘प्रतिवेदनमा राजनीतिक प्रभाव देखिएको छ र आयोगले क्षेत्राधिकार नाघेको छ ।’ यही निहुँमा प्रतिवेदनलाई बन्धक बनाइएको छ ।
विभिन्न पत्रपत्रिकामा उल्लेख भएअनुसार उक्त प्रतिवेदनभित्र ‘खस आर्य समुदायका सत्ताभोगी शासक र एकल जातीय राष्ट्रवादको साँघुरो घेरामा मुलुक सीमित रहेको । ….र सरकारको पक्षबाट गैरन्यागिक हत्या भएको’ जस्ता वाक्यांशहरू त्यहाँ परेका छन् । अब खसआर्य समुदायका जात व्यवस्थाका पक्षपातीहरूको हालिमुहाली रहेको सरकारी निकायहरूले यस्तो अपाच्य सत्य कसरी पचाउनु ? अनि, आफ्नै खिलाफमा उक्त प्रतिवेदन कसरी सार्वजनिक गर्नु ?
अब उच्चस्तरीय छानबिन समिति तथा आयोगहरूको केही औचित्य भयो त ? भएन । लाल आयोगको लुकाइएको प्रतिवेदन र तत्कालीन सरकार तथा खसआर्य समुदायका सत्ताभोगी शासकहरूको रवैया हेर्दाखेरि टीकापुर घटना पञ्चायतले रचना गरेको छिन्ताङ काण्ड र पिस्कर काण्डकै तेस्रो अध्याय थियो भन्ने देखिन्छ । तर, परिणाम चाहिँ उनीहरूले सोचे जस्तो आएन । किनभने नेपालमा भएका राजनीतिक क्रान्ति र अभियानले जनतालाई धेरै सचेत बनाइसकेको थियो । १० वर्षे जनयुद्धले जनतामा प्रतिकार गर्ने हिम्मत र साहस हाल्दिसकेको थियो । राज्यको दमनलाई भाग्य वा अघिल्लो जन्मको पापको फल ठानेर चुपचाप सहने अवस्थामा जनता थिएनन् । त्यसैले परिणाम उनीहरूले सोचे जस्तो आएन ।
तत्कालीन सरकार तथा जात व्यवस्थाका पक्षपाती शासकहरूको मूल उद्देश्य त थारुहरूलाई दबाउनु नै थियो । हिजोका कमैयाहरू शीर ठाडो गरेर हिँडेको उनीहरूलाई सह्य भैरहेको थिएन । त्यसैले योजना- १ मा थारु आन्दोलनलाई दमन गर्ने थियो भने योजना- २ मा आयोग बनाएर थारु नेतालाई जेलमा सडाउनु थियो । तर, परिणाम उल्टियो । न भनेजसरी दमन गर्न सकियो न त आयोगले सोचेअनुसार रिपोर्ट नै दियो । बरु उल्टै मधेश केन्द्रित दलहरूलाई उदारवादी, लोकतन्त्रवादी र वास्तविक राष्ट्रवादी भूमिपुत्र भनेर प्रशंसा गरिदियो । अनि आफ्नै घुँडामा बञ्चरो हान्ने प्रतिवेदन कसरी सार्वजनिक गर्नु ? त्यसैले प्रतिवेदनलाई बन्धक बनाएर थारु नेताहरूलाई जेलमा हाल्ने काम भयो ।
अहिले संसदको दोस्रो ठूलो पार्टीले नेकपा एमालेले सुन तस्करीको प्रकरणलाई सीआईबीको हातबाट खोसेर उच्चस्तरीय छानबिन समितिलाई जिम्मा दिनुपर्ने माग गरिराखेको छ । उक्त माग पहिला पहिलाका आयोग र समितिहरूको जस्तै समाधानको निम्ति भन्दा पनि साजिसको निम्ति हो कि भन्ने आशङ्का उब्जाएको छ ।
यो सरकारलाई उक्त उच्चस्तरीय छानबिन समितिमा सहमत गराउन सकियो भने, लुक्न लुकाउन र दसी-प्रमाण नष्ट गर्न समय प्रशस्त पाइने भयो । सीआईबी आउने हो कि भन्ने डरले सधैंको नीद हराम पनि भएन । सुत्न पनि पाइयो । पुलिस देख्दा सधैंभरि झसङ्ग-झसङ्ग तर्सिरहनु पनि परेन ।
यदि गणितीय हिसाबले कमजोर यो सरकारलाई उक्त उच्चस्तरीय छानबिन समितिमा सहमत गराउन सकियो भने, लुक्न लुकाउन र दसी-प्रमाण नष्ट गर्न समय प्रशस्त पाइने भयो । सीआईबी आउने हो कि भन्ने डरले सधैंको नीद हराम पनि भएन । सुत्न पनि पाइयो । पुलिस देख्दा सधैंभरि झसङ्ग झसङ्ग तर्सिरहनु पनि परेन । आफ्नो स्वार्थ अनुकूल प्रतिवेदन आयो भने त खुदो भैगयो । आएन भने पनि मल्लिक आयोग, रायमाझी आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, लाल आयोग जस्तै गोदामतिर थन्क्याइ दियो, टन्टै साफ !
सुन तस्करीको पहिलो योजना-सेटिङ मिलाएर सुन बाहिर ल्याउनु नै हो । तर, उक्त सेटिङ एमालेले भने जस्तो वहालवाला मन्त्रीहरूले नै गरे भनेर ठोकुवा गर्ने आधार केही पनि छैन । बरु, हिजो सरकारमा हुनेहरूले बनाएर गएको सेटिङले काम गरेको हो कि भनेर आशङ्का गर्ने तार्किक आधार भने छ । सरकारलाई निष्पक्ष छानबिन गर भनेर दबाब र अनुगमन गर्नुको सट्टा अनुसन्धानलाई नै प्रभाव पार्नेगरी असहयोग गर्नुले यो सुन तस्करी पुरानै सरकारको सेटिङबाट भएको हो कि भन्ने आशङ्का गर्ने पर्याप्त आधार दिन्छ । त्यसैले नेकपा एमालेको उच्चस्तरीय छानबिन समितिको माग सुन मालिकलाई बचाउने पूर्वयोजनाकै दोस्रो पाटो हो कि भन्ने देखिन्छ । सचेत नागरिकहरूले विचार पुर्याउनै पर्छ कि उक्त फण्डा समाधानको लागि हो कि अपराधी जोगाउने अर्को साजिस हो ?
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो त्यत्ति कमजोर छैन । यदि सीआईबीको हात नबाँधिदिने हो भने ऊसित त्यो तागत, क्षमता र अनुभव छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश रणबहादुर बमको हत्यारालाई इन्टरपोलमार्फत साउदी अरबबाट झिकाउने छानबिन समिति थिएन, सीआईबी नै थियो । समस्या नेपाल प्रहरीको सीआईबीमा छैन, बरु नेपालका राजनीतिक पार्टीहरूमा छ ।
यो सुन प्रकरणमा सबै पार्टीहरूले दोषीलाई कानूनी सजाय दिन आआफ्नो ठाउँबाट निष्पक्ष छानबिनमा सहयोग पुर्याउनुपर्नेमा विभिन्न बखेडा खडा गरेर दोषीलाई भाग्न मद्दत पुर्याएको जस्तो देखिन्छ । सबै आआफ्नो स्वार्थ र पूर्वाग्रहको रोटी सेक्न व्यस्त देखिन्छन् । स्वयं नेकपा माओवादी केन्द्रकै नेताहरू सुन तस्करहरूसित उठबस र टेलिफोन सम्पर्कमा रहेको तथ्यहरू बाहिरिरहेका छन् । सीआईबीलाई अनुसन्धान त्यहीबाट सुरु गर्न दिएर, निष्पक्ष छानबिनको बाटो प्रशस्त गरिदिने हो भने सीआईबीले उच्च मनोवलका साथ काम गर्नसक्छ ।
भनाइ नै छ, ‘एउटा कुहेको आलुले बोराको सबै आलु बिगार्छ ।’ पार्टीभित्रको एउटा भ्रष्ट र तस्करलाई बचाउने प्रयासमा सिङ्गो पार्टीलाई किन बिगार्ने ? त्यसैले सबै दलका शीर्ष नेताहरूले सीआईबीको छानबिनलाई आफ्नै पार्टीबाट सुरुवात गर्ने बाटो प्रशस्त गरेर सहयोग गर्ने हो भने पार्टी पनि बच्छ, राष्ट्रको स्वाभीमान र प्रतिष्ठा पनि बच्छ । पार्टी र देशको गरिमा बचाउने कि तस्कर र भ्रष्टाचारीको ? सबै पार्टीहरूसामु गम्भीर प्रश्न उभिएको छ ।
(लेखक वैदेशिक रोजगारीको सिलसिलामा हाल साउदी अरबमा छन् ।)
लेखक को हुन र के भास्य बनाउदैछन भनिरहनु परेन। तर सुन तस्करीको प्रमाण र सबुतहरु बहालवाला प्रम र गृहमन्त्रीको
पार्टीका केही नेताहरु तर्फ नै सोझिदा हर तरहको छानबिन गर्नु त सरकारको कर्तब्य नै हो… त्यो पनि निश्पक्ष रुपमा। तर
सिङगो माओबादी पार्टी नै शन्काको घेरामा पर्दा उनिहरुले नै चलाएको गृहमन्त्रालयले उनिहरुलाई नै कसरी छानबिन गर्ला..???
त्यसैको लागि प्रतिपक्षले स्वतन्त्र छानबिन समिती भनेको हुनसक्छ,फेरी त्यो समिती एमालेको नेताको समुह बाट पनि बन्ने होइन,
कुनै पूर्व या बहालवाला न्यायाधिशकै नेत्रित्वमा बन्ने होला। यदी सो हो भने किन रुवाबाशी…??? दोशी कोइ पनि छुट्नु हुँदैन चाहे ओली होस् या देउवा…तर यि म्याउबादी साथीहरुलाई जेल जाने चिन्ताले कती सताएको होला,जो कुरा ध्रुवसत्य नै हो, जानु त अबस्य छ तर यती सारो छटपटाहट किन होला… बुझी नसक्नु छ।