संसद अवरोधबारे सत्ता पक्ष र विपक्षका नेताहरुको आ-आफ्नै दाबी – Nepal Press

संसद अवरोधबारे सत्ता पक्ष र विपक्षका नेताहरुको आ-आफ्नै दाबी

काठमाडौं । राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभा अवराेधबारे सत्तारुढ दल र प्रतिपक्षी दलका सांसदहरुले आ-आफ्नै दाबी गरेका छन् ।

एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षकै कारण संसद बैठक अझै खुल्ने सुनिश्चित नभएको बताएका छन् ।

नेता दाहालले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउने विषय सत्तापक्षकै कारण अझै निर्णयमा पुगिनसकेकाले संसद बैठक सुचारु हुने कुरा सुनिश्चिन नभएको जिकिर गरेका हुन् । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रतिपक्षलाई सत्तोसराप गर्ने काम नगर्न पनि सरकार र सत्तापक्षलाई आग्रह गरे । समयमा आफ्नो काम नगर्ने तर प्रतिपक्षलाई सराप्ने काम सत्तापक्षले गर्न नहुने नेता दाहालको भनाइ थियो ।

‘सम्माननीय अध्यक्ष महोदय, झन्डै एक महिना भइसक्यो । यो सदन अवरुद्ध छ । र, यो सदन अवरुद्ध चाहीँ सत्तापक्षले नै गरेको छ भन्ने हामीले आरोप लगाएका छौं । कारण के त भन्दाखेरी अब लगभग नजिकनजिक उच्चस्तरीय छानबिन समिति बन्दैछ भन्ने कुरा सुनियो । तर पनि त्यो बनिसकेको छैन । त्यसले गर्दा सदन अझै पनि अवरुद्ध नै छ । अव त्यो के हुन्छ ? अझै भन्न सकिँदैन’, उनले भने, ‘सयममा हामीले ध्यान दिँदैनौं । त्यसले गर्दाखेरी प्रतिपक्षतिर फर्केर सत्तोसराप गर्ने हाम्रो एउटा प्रचलन छ । त्यसलाई अन्त्य गर्नुपर्छ भन्ने मलाई लाग्छ । सम्माननीय अध्यक्षज्यूमार्फत म यो कुरा संवद्ध सबै पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छु । ’

नेता दाहालले सरकारले समयमै ध्यान नदिँदा राष्ट्रिय महत्वका हरेक सवालहरु ओझेलमा पर्ने गरेको बताए । बाढी, पहिरोलगायतका पीडितलाई समेत सरकारले समयमै राहत दिन नसकेकोमा उनको आपत्ति थियो ।

त्यस्तै, सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार आले मगरले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन प्रतिपक्षले सुनियोजित रुपमा संसद बैठक अवरोध गरेको आरोप लगाए ।

मगरले प्रतिपक्षले संसद बैठक नियतवश र सुनियोजित रुपमा गरिररहेको बताए । उनले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन र ऐन, कानूनहरु निर्माण गर्न नदिनका लागि संसद बैठक अवरोध गरिएको बताए ।

उनले प्रमुख प्रतिपक्ष दलले सत्तापक्ष हुँदापनि संसद विघटन गरेको र प्रतिपक्ष हुँदा पनि स-सानो कुरामा बखेडा झिकेर बैठक चल्न नदिएको बताए । प्रतिपक्षको अवरोधको कारण संसद आफ्नो अधिकार र कर्तव्यबाट बिमुख हुनुपरेको उनले बताए ।

‘चाहे सत्तापक्षमा होस् । चाहे प्रतिपक्षमा होस् । एउटा अक्षरको साहारा लिएर उहाँले यो सदनलाई अवरोध पु¥याइरहनुभएको छ । एउटा अक्षर ख । ख अक्षरको साहाराले । सत्तापक्ष हुँदाखेरी प्रतिनिधि सभामाथि खड्ग प्रहार गर्ने । प्रतिपक्ष हुँदापनि खडेखडे भएर यो सदन अवरोध गर्ने खालको कुरा भयो’, उनले भने, ‘सत्तापक्ष हुँदा पनि सदनमाथि प्रहार । सत्तापक्ष नहुँदा उभिएर साना–साना कुरामा बखेडा झिकेर सदन चल्न नदिने गतिविधि भएका छन् । त्यसले गर्दा संसद आफ्नो कर्तव्य, दायित्वबाट बिमुख हुनुपरेको छ । सदनलाई एउटा नियतवश, सुनियोजित तरिकाले अगाडी बढ्न नदिने, जनताको समस्यामा केन्द्रित हुन नदिने, महत्वपूर्ण ऐन, कानूनहरु निर्माण गर्न नदिने भन्नेखालको हो भन्ने हामीलाई लाग्दछ । त्यसकारणले यो कुराको अन्त्य हुनुपर्दछ भन्ने म मेरो धारणा राख्न चाहन्छु । आज अन्त्य हुन्छ भनेको थिए भएनछ । आज पनि त्यही कथा दोहोरिएजस्तो हामीले बुझेका छौँ ।’

उनले संसद बैठक सुचारु गर्न सबैको ध्यान जानुपर्ने बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर