सुदूरपश्चिममा निरन्तर बढ्दो छ सामाजिक अपराध
डोटी । सुदूरपश्चिम प्रदेशमा सामाजिक अपराधका घटना वर्षेनी बढेको एक तथ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार तीन वर्षमा प्रदेशमा दुई हजार २२३ सामाजिक अपराधका घटना भएका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा सामाजिक अपराधअन्तर्गत विभिन्न शीर्षकमा ६२९ वटा मुद्दा दर्ता भएका थिए । २०७८/०७९ मा उक्त संख्या बढेर ७९५ पुगेको थियो । आर्थिक वर्ष २०७९/०८० मा ७९९ वटा सामाजिक अपराधका घटना दर्ता भएको प्रदेश प्रहरीले जनाएको छ ।
समाजमा प्रत्यक्ष असर गर्ने खालका मुद्दालाई सामाजिक अपराध शीर्षकमा राखिएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए ।
‘अभद्र व्यवहार, जातीय छुवाछूत, लागुऔषध, सामाजिक विभेद जस्ता मुद्दालाई यस शीर्षकमा राखिएको छ’, सूचना अधिकारी महर्जनले भने, ‘अन्य जघन्य प्रकृतिका मुद्दाहरु छुट्टाछुट्टै शीर्षकमा राखेपछि बाँकी रहेका सबै मुद्दा यस शीर्षकमा राख्ने गरिन्छ ।’
तीन वर्षमा सबैभन्दा बढी कैलालीमा सामाजिक अपराधका घटना भएका छन् । यस जिल्लामा एक हजार ५७ सामाजिक अपराधका घटना भएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा २७१, २०७८/०७९ मा ३७८ र २०७९/०८० मा ४०८ सामाजिक अपराधका घटना भएका छन् ।
सबैभन्दा कम सामाजिक अपराधका घटना डडेल्धुरामा भएका छन् । यहाँ तीन वर्षमा ४३ सामाजिक अपराध भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यहाँ आर्थिक वर्ष २०७७/०७८ मा १५, २०७८/०७९ मा ११ र २०७९/०८० मा १७ वटा सामाजिक अपराधका घटना भएका छन् ।
कञ्चनपुरमा आर्थिक वर्ष २०७७/०७८ मा २१०, २०७८/०७९ मा २४९ र २०७९/०८० मा २५० गरी तीन वर्षमा ७०९ वटा सामाजिक अपराधका घटना भएका छन् । दार्चुलामा ८४ वटा सामाजिक अपराधका घटना भएका छन् । जसअनुसार आर्थिक वर्ष २०७७/०७८ मा २६, २०७८/०७९ मा २९ र २०७९/०८० मा २९ वटा घटना भएका छन् ।
अछाममा आर्थिक वर्ष २०७७/०७८ मा २१, २०७८/०७९ मा ३६ र २०७९/०८० मा २३ वटा घटना भएका छन् । यो अवधिमा बाजुरामा सामाजिक अपराधका ७१ वटा घटना भएका छन् । यहाँ आर्थिक वर्ष २०७७/०७८ मा २०, २०७८/०७९ मा २७ र २०७९/०८० मा २४ वटा घटना भएका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा २१, २०७८/०७९ मा २७ र २०७९/०८० मा १३ गरी डोटीमा ६१ वटा सामाजिक अपराधका घटना भएका छन् । बझाङमा तीन वर्षमा ५९ वटा सामाजिक अपराधका घटना भएका छन् । यहाँमा आर्थिक वर्ष २०७७/०७८ मा २४, २०७८/०७९ मा २३ र २०७९/०८० मा १२ वटा घटना भएका हुन् ।
बैतडीमा पनि तीन वर्षमा ५९ वटा घटना दर्ता भएका छन् । यहाँ आर्थिक वर्ष २०७७/०७८ मा २१, २०७८/०७९ मा १५ र २०७९/०८० मा २३ वटा घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।