कविता : चराको देश हुँदैन – Nepal Press

कविता : चराको देश हुँदैन

चरा मलाई मन पर्छ
किन कि चराको देश हुँदैन

ऊ धर्तीको हुन्छ
ऊ आकाशको हुन्छ
त्यसैले चरा मलाई मन पर्छ
किन कि चराको देश हुँदैन

तर हाम्रो देश हुन्छ
देशको भूगोल हुन्छ

इतिहासमा हामी चरा जस्तै उड्यौँ
पँखेटा फिजायौँ र बेग मार्‍यौँ
कहिले टिस्टा पुग्यौँ
कहिले सतलज पुग्यौँ
जहाँ पुग्यौँ त्यहीका भयौँ
हामीलाई छोडेर उडे केही
ती कहिल्यै फर्किएनन्
फर्किए तर आफ्ना भएर आएनन् ।

उडी जानेहरूसँगै
कोरलेर बच्चाहरू
जङ्गल छोडी जाने निष्ठुर माउ चरी जसरी
बनाएर दलिनमा गुँड
भीरमा फर्किजाने
गौँथली जसरी
फर्कि गयो देश पनि

तर हामी उही छौँ
जहाँ पुर्खाले टेकेका थिए
वीरशाली पाइला
दिग्विजयको अभियानमा
बसाए सभ्यताको बस्ती
त्यहीँ माटोको भएर
सम्हाली रहेछौँ आफ्नो विरासत
हामीले देश छोडेको होइन
देशले हामीलाई छोडेको हो ।

हामीले
जति चौडा बनाए पनि छाती
खुम्चिँदै जाने त देशको नक्सा हो
टिस्टामा बगेको आँशु
सतलजमा बगेको रगत सम्झिएर
नरुने मन देशको हो
हाम्रो होइन ।

जसरी सक्दैन
बगेको खोलालाई तरबारले टुक्राउन
उडेको हावालाई हत्केलाले छेकेर कैद गर्न
त्यसरी नै
युद्ध विभिषिकामा कोरिएका
मानचित्रका रेखाहरूले
सक्दैन हामीलाई अलग्याउन
किञ्चित सक्दैन
जहाँ बसे नि हामी एकै हौँ
जहाँ पुगे नि हामी एकै हौँ
सपाट हृदयको पत्रपत्र पोतिएका
हाम्रो भावनाको मसी एउटै हो
राष्ट्रियताको कुनै सिमाना हुँदैन ।

त्यसैले मलाई चरा मन पर्छ
चरा कहिले साइबेरियाको हुन्छ
चरा कहिले अफ्रिकाको हुन्छ
चरा कहिले भारतको हुन्छ।
चरा कहिले नेपालको हुन्छ
त्यसैले मलाई चरा मन पर्छ
किन कि चराको कुनै देश हुँदैन ।

– कविता राई


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *