व्यवसायीबाट बढी रकम नलिन बीमा प्राधिकरणको निर्देशन
रुपन्देही । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसिएशनले बीमा कम्पनीमा बुझाउने भन्दा धेरै रकम पेट्रोलियम पदार्थ ढुवानीकर्तासँग उठाएपछि नेपाल बीमा प्राधिकरणले तत्काल उनीहरूलाई धेरै रकम नलिन निर्देशन दिएको छ ।
रुपन्देहीलगायत विभिन्न ठाउँमा रहेका पेट्रोलियम पदार्थ ढुवानीकर्तासँग बीमा कम्पनीमा बुझाउने भन्दा धेरै शुल्क लिएको उजुरी पुगेपछि प्राधिकरणले विज्ञप्ति नै जारी गरेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एशोसिएशनले आफ्नो खर्च चलाउन ढुवानीकर्ताबाट बढी रकम असुल गरेको व्यवसायीले गुनासो गरेका छन् ।
पेट्रोलियम पदार्थ दुवानीकर्ताहरुको संस्था नेपाल पेट्रोलियम डिलर एसोसिएसन विभाजन भएपछि उक्त बीमाको नाममा धेरै रकम लिएका विषय सार्वजनिक भएका हुन् । एशोसिएशन विभाजनपछि नेपाल पेट्रोलियम व्यवसायी संघ भएको छ ।
अहिले व्यवसायीहरू पुरानो संघबाट बीमा गर्ने कि नयाँमा जाने भन्ने आआफ्नो निर्णय देशभर गर्दैछन् । रुपन्देहीमा पनि दुवै संस्थाहरू बीमाको रकम लिन थालेका छन् ।
रुपन्देहीको भलवारीबाट पुरानो संस्थाले लिने रेट भन्दा नयाँको कम भएपछि व्यवसायीहरु नेपाल पेट्रोलियम व्यवसायी सङ्घसँग सम्झौता गरेको नेको इन्स्योरेन्ससँग जोडिन थालेका छन् ।
पेट्रोलियम पदार्थ ढुवानीका क्रममा कुनै भवितव्य परी पेट्रोलियम पदार्थमा भएको क्षतिको भड्ताल गर्ने बीमा नीति ट्रान्जिट बीमा हो । यो बीमाले व्यापारिक तथा व्यक्तिगत रूपमा भएका क्षतिको शोधभर्ना गरिदिन्छ ।
संघका अनुसार निगमको डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा प्रत्येक व्यवसायीको नाममा प्रत्येक चलानअनुसार मूल्य अभिवृद्धि कर बिजकसहितको बीमा लेख नेको इन्स्योरेन्सबाट प्रत्यक्ष जारी गर्नेछ ।
पेट्रोलियम पदार्थ ढुवानी गर्दा ट्याङ्कर दुर्घटना भई पेट्रोलियम पदार्थमा हुने क्षतिको जोखिम बहन गर्न लागू गरिएको ट्रान्जिट बीमाले प्रत्यक्ष रूपमा व्यवसायीहरूलाई लाभ हुने संघले जनाएको छ ।
उक्त सम्झौताअनुसार गरिने बीमा नियमनकारी निकायद्वारा जारी भएको सामुद्रिक बीमादर निर्देशिकाअनुरूप हुने पनि संघका कार्यवाहक अध्यक्ष राजेन्द्र गुप्ता र महासचिव आत्मराम थापाले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
विगत आठ वर्षदेखि एशोसिएशनमा अध्यक्ष रहेका लिलेन्द्र प्रधानले व्यवसायीको हितमा काम गर्न नसकेपछि छुट्टै संघ गठन गर्नु परेको संघले जनाएको छ ।
एशोसिएशनमा विवाद बढेपछि व्यवसायीहरू कता लाग्ने भन्ने विषयमा अन्यौल भएका छन् ।