शिखर घटनाका पीडक र पीडित मिलिसके, तेस्रो पक्ष विज्ञप्तिबाजीमा उत्रिए – Nepal Press

शिखर घटनाका पीडक र पीडित मिलिसके, तेस्रो पक्ष विज्ञप्तिबाजीमा उत्रिए

डोटी । डोटीको शिखर नगरपालिकामा साउन ३२ गते राति भएको घटनापछि विभिन्न क्षेत्रबाट विज्ञप्तिबाजी सुरु भएको छ ।

नगरपालिकाका ‘सहयोगी कर्मचारी’ राजेश ठगुन्नाले साउन ३२ गते राति करिब ११ बजे रगताम्य फोटो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै मेयर दीर्घबहादुर बलायरले आफूमाथि खुकुरी प्रहार गरेको उल्लेख गरेका थिए ।

उक्त पोष्टपछि राजेशले मेयर बलायरलाई गम्भीर आरोप लगाउँदै लगातार सात पोष्ट गरेका थिए । भाद्र १ गते उक्त घटनामा मिलापत्र भएपछि राजेशले आत्मालोचना गरेको सन्देश फेसबुकमै पोष्ट गरेका थिए । त्यसपछि घटना मत्थर भयो । तर, घटनासम्बन्धी विज्ञप्तिको ओइरो रोकिएको छैन ।

पीडित र पीडक भनिएकाबीच मिलापत्र भए पनि यस घटनाको परकम्प भने आइरहेको छ । घटनापछि लगातार विज्ञप्ति आउने क्रम जारी छ । सामाजिक सञ्जालमा पनि घटनाको पक्ष र विपक्षमा चर्को बहस भइरहेको छ ।

घटनापछि पहिलो विज्ञप्ति नगरपालिकाले जारी गरेको थियो । मेयर र सहयोगी कर्मचारीबीच ‘सामान्य भनाभन’मात्रै भएको दाबी गर्दै नगरपालिकाका प्रवक्ता धिर्कबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा समाचार र सामाजिक सञ्जालमा घटनालाई अतिरञ्जित गरिएको आरोप लगाइएको थियो ।

घटनापछि नेकपा एमालेको शिखर नगर कमिटी र राष्ट्रिय स्वतन्त्र पार्टीको डोटी जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग राखे । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष केशव बलायरद्वारा जारी विज्ञप्तिमा मेयर बलायर र ठगुन्नाबीच भएको विवादले समाजमा नकारात्मक सन्देश दिएको उल्लेख छ । विज्ञप्तिमा मेयरको यस्तो गतिविधिले समाजलाई भ्रमित पारेको आरोप लगाइएको छ ।

एमाले नगर कमिटी अध्यक्ष भीमबहादुर बलायरद्वारा जारी विज्ञप्तिमा सो घटनाले नगरपालिकाको चरित्र उदाङ्गो पारेको उल्लेख छ । बलायरले घटनासँगै अन्य ६ आरोप पनि लगाएका छन् ।

घटनाको विषयमा सञ्चारकर्मीहरुले समाचार नलेखेको भन्दै भाद्र १ गतेदेखि नै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । समाचार नलेखेको भन्दै केही व्यक्तिहरुले फेसबुकमा डोटीका सबै पत्रकारहरुलाई श्रद्धाञ्जलीसमेत दिएका छन् । पत्रकारहरुमाथि अनेकौं लाञ्छना लागिरहेका छन् ।

पत्रकारहरुप्रति लाञ्छना लगाएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लाले विज्ञप्ति जारी गरेका छन् । महासंघको जिल्ला शाखाले जारी गरेको विज्ञप्तिमा पत्रकारको मानमर्दन हुने गरी तुच्छ र अमर्यादित शब्दहरु प्रयोग गरेको भन्दै एमाले नेताहरुको नामै किटान गरिएको छ ।

महासंघका डोटी जिल्ला अध्यक्ष मोहन शाहीद्वारा जारी विज्ञप्तिमा नगरपालिकाले प्रकाशन गरेको विज्ञप्तिको पनि विरोध गरिएको छ । घटनाको बारेमा आएका समाचारप्रति नगरपालिकाले आपत्ति जनाउनु गलत भएको महासंघ अध्यक्ष शाहीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यस्तै महासंघको केन्द्रीय समितिले पनि सोमबार विज्ञप्ति जारी गरेको छ । केन्द्रीय महासचिव रोशन पुरीद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा शिखर नगरपालिकाको घटना उल्लेख गरिएको छैन । दल विशेषको नाम उल्लेख नगरी केही राजनीतिक दलका जिम्मेवार व्यक्तिहरुबाटै डोटीको पत्रकारिता क्षेत्रलाई असर पु¥याउने गरी सामाजिक सञ्जालमा अमर्यादित र अशोभनीय टीकाटिप्पणी गर्नु निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ ।

महासंघको सुदूरपश्चिम प्रदेश समितिले पनि सोही आशयको विज्ञप्ति जारी गरेको छ । प्रदेश समितिका महासचिव रामसिंह ठगुन्नाद्वारा जारी विज्ञप्तिमा प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न माग गरिएको छ ।

डोटीमा क्रियाशील वर्तमान सत्ता गठबन्धन दलसँग आवद्ध पत्रकारका संगठनहरु नेपाल प्रेस युनियन, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले पनि पत्रकारहरुमाथि भइरहेको प्रहारको विरोध गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । नेपाल प्रेस युनियनको सुदूरपश्चिम प्रदेश समितिले पनि विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर