कमल थापाको आत्मसमीक्षा : ‘राजा’ लाई एकोहोरो आरोपित गर्नु जीवनकै ठूलो भूल (भिडिओ)
‘भविष्यमा मन्त्री र उपप्रधानमन्त्री बन्दिनँ, प्रधानमन्त्रीको अवसर पाउन कठिन छ’
‘आजको दिनमा तपाईँ राजावादी कि गणतन्त्रवादी ?’
राष्ट्रिय झन्डा र पार्टीको झण्डाबीच कुर्सीमा अडेस लागेर आफ्नो ब्राण्डेड जुँगामुनि हल्का मुस्कुराइरहेका रहेका कमल थापालाई सोधिएको यो पहिलो प्रश्न थियो । उत्तर के देलान् भन्ने खासै कौतूहल भने थिएन, किनकि उनले गणतन्त्रबाट राजतन्त्रको एजेन्डामा फर्किन ब्याक गियर थिचिसकेका छन् । यद्यपि, उनले ‘स्ट्रेट फरवार्ड’ जवाफ दिएनन् ।
मुस्कान पन्छाएर चेहरामा गम्भीरता ल्याउँदै थापाले यसरी भूमिका बाँधे :
आफ्नो राजनीतिक चेतनाको विकास भएसँगै मैले नेपालका लागि राजसंस्था आवश्यक छ भन्ने मान्यतामा विश्वास गर्दै आएको हुँ । अनेक राजनीतिक आरोह–अवरोह पार गर्दै अहिलेको अवस्थामा आइपुगेको छु । जतिसुकै कठिन परिस्थितिका बाबजुद नेपालमा राजसंस्थाको आवश्यकता छ भन्ने मान्यताबाट हलचल भएको छुइनँ ।
२०७८ साल फागुन ७ गतेपछि हामीले राजसंस्थाप्रतिको मान्यता कायम राख्दाराख्दै नेपालमा राजसंस्था पुनर्स्थापनालाई पार्टीको एजेन्डा बनाएनौँ । आजका दिनसम्म पनि राप्रपा नेपालको एजेन्डामा राजसंस्था पुनस्र्थापना छैन । तर, अब हामी पार्टीले लिएको नीतिमा पुनर्विचार गर्दैछौं । देशको धरातलीय अवस्था पार्टी कार्यकर्ताको चाहना र मेरो आफ्नो अनुभवलाई दृष्टिगत गर्दै पार्टीको केन्द्रीय समिति बैठकले यो विषयलाई गम्भीरताका साथ छलफल गर्छ र राजसंस्थाको पुनर्स्थापनालाई कार्यनीति नबनाउने विगतको नीतिमाथि समीक्षा गरेर उपयुक्त निर्णय गर्ने अवस्थामा हामी पुगेका छौँ ।
भनेपछि, अहिले गणतन्त्रबाट राजतन्त्रको एजेन्डामा फर्किने संक्रमणकालमा हुनुहुन्छ ?
त्यस्तो पनि होइन । आधिकारिक रुपमा भन्नुपर्दा अहिले पनि हाम्रो घोषणापत्रमा प्रष्ट रुपमा नेपालको भूराजनीतिक अवस्था र धार्मिक सामाजिक परिवेशमा राजसंस्थासहितको प्रजातन्त्र उपयुक्त हुन्छ भनेर नै लेखिएको छ । तर राप्रपा नेपालले अहिले यसलाई कार्यनीति नबनाएको मात्र हो । अब चाहिँ यसमा पुनर्विचार गर्छौँ ।
यति छिटो पुनर्विचार गर्नुपर्ने के आइपर्यो ? यो त साह्रै अस्थिर राजनीति भएन ?
यो राम्रो प्रश्न सोध्नुभयो । यसका तीन वटा कारण छन् । पहिलो त, मेरो आफ्नो रियलाइजेसन नै हो । ०६३ सालपछि राजासहितको प्रजातन्त्रको अवधारणालाई मैले नै अघि बढाइरहेको थिएँ र यही नै मेरो लिगेसी थियो । यो डेढ वर्षको अनुभवको आधारमा, म आत्मालोचनासहित भनिराखेको छु, राजनीतिक जीवनको उत्तरार्द्धमा मैले आफ्नो लिगेसीलाई नै निरन्तरता दिनु उपयुक्त हुन्छ भन्ने रियलाइजेसन मलाई भएको छ ।
दोस्रो, हामीले राजसंस्था पुनर्स्थापनालाई कार्यनीति नबनाएको स्थितिमा देशमा तात्त्विक परिवर्तनको आशा बाँकी थियो । तर, त्यस्तो कुनै पनि संकेत देखिएन । देशको अवस्था झन्–झन् बिग्रिएको छ । यहाँबाट सुधारका लागि पनि हामीले आफ्नो कार्यनीतिमा पुनर्विचार गर्नुपर्ने भयो ।
तेस्रो, मैले यो डेढ वर्षको अवधिमा राजसंस्था पुनर्स्थापनालाई कार्यनीतिक एजेन्डा नबनाउँदा कतैबाट पनि सकारात्मक प्रतिक्रिया पाइनँ । गणतन्त्र पक्षधरले मलाई कुनै प्रोत्साहन दिएनन् । एक जना पनि गणतन्त्रवादी राप्रपा नेपालमा आकर्षित भएनन् । बरु धेरै राजसंस्था पक्षधर साथीहरू मसित दुखी, असन्तुष्ट र आक्रोशित भए । मैले धेरैको चित्त दुखाएँ । पार्टीभित्र बहुसंख्यकको धारणा पनि पुनर्विचार गर्नुपर्छ भन्ने भएपछि हामी यो बिन्दुमा पुगेका हौँ ।
पार्टीभित्रको चुनाव हारेपछि पूर्व राजालाई धाराप्रवाह गाली गरेकोमा अहिले आत्मग्लानि भएको हो ?
मैले त्यस बेला जे कुराहरू भनेँ, भाषा–शब्द ठिक भयो–भएन आफ्नो ठाउँमा छ । तर, मैले ज्यान हत्केलामा राखेर जुन राजसंस्थाको परिकल्पना गरेको थिएँ, त्यो एउटा आदर्श र सबैको साझा संस्था हो । त्यसले राजनीतिमा हस्तक्षेप गर्दैन भन्ने थियो । तर त्यो मेरो मान्यतामा आघात पुगेको महसुस मैले गरेकै हो । त्यसको प्रतिक्रिया स्वरुप अभिव्यक्तिहरू दिन पुगेँ ।
अहिले फर्केर हेर्दा वास्तवमा राजा भनेको राजनीतिक दल होइन, नेता होइन । जसले आफूमाथि लागेका आरोपहरू, आलोचनाहरूको जवाफ दिन सक्ने र खण्डन गर्न सक्ने स्थिति रहँदैन, त्यस्तो व्यक्ति वा संस्थाविरुद्ध मेरो प्रतिक्रिया ठिक भएन भन्नेमा आज सहमत छु । कुरा ठीक भए पनि शैली र माध्यम ठिक भएन ।
भनेपछि क्षणिक आवेश र उत्तेजनामा नै त्यसरी अभिव्यक्ति दिनुभएको थियो ?
कसैले पछाडिबाट छुरा हान्यो भने मुखबाट स्वतः ऐया निस्किन्छ । तर, मेरो प्रस्तुति ठीक भएन भन्ने म आफैँले महसुस गरेको छु । यसमा आत्मालोचना छ ।
छुरा चाहिँ हानिएकै हो ?
अहिले त्यता धेरै चर्चा गरिराख्नु उपयुक्त ठान्दिनँ ।
तपाईँले यु–टर्न लिनुका पछाडि पूर्व राजासँग भेटवार्ता भएर कुनै समझदारीमा पुग्नुभएको हो कि ?
राजासँग भेटघाट हुने–नहुने आफ्नो ठाउँमा छ । म त्यसलाई महत्त्व दिन चाहिन्न । विनम्रतापूर्वक मनको कुरा भनिराखेको छु, यो मेरो अन्तरात्माको रियलाइजेसन हो । कमल थापा अस्थिर र चञ्चल छ भन्ने पर्छ होला । तर, कमसेकम राजनीतिक जीवनको उत्तरार्द्धमा आफ्नो लिगेसीको निरन्तरता चाहन्छु ।
तपाईँ एउटा हिन्दूत्वको वकालत गर्ने नेता पनि हो । तर, हिन्दू धर्मको पवित्र ग्रन्थ गीता छोएर खाएको कसम तोड्दै राप्रपा फोर्नुभयो । त्यसमा चाहिँ आत्मालोचना छ कि छैन ?
प्राविधिक रूपमा मैले आफ्नो बचनबद्धतालाई तोडेको छैन भन्नेमा म विश्वस्त छु । तर प्रकारान्तरले मेरा सहयोगी र शुभचिन्तकमा नकारात्मक छाप पर्न गएको छ । गीता छोएर खाएको कसमको मूलभूत मर्मलाई मैले जोगाएको छु भन्ने लाग्छ, तर मान्छेले यसरी सोचेनन् । मैले जतिसुकै बचाउ गरे पनि मेरो कुरालाई बहुसंख्यक मान्छेले पत्याएनन् । यो पनि मैले महसुस गरेको छु ।
हिन्दूवादी भएर गीताको कसम त तोड्नुभयो भने तपाईँको राजनीतिमा अब कसले विश्वास गर्ने ?
गीताको कसम तोडेँ भन्ने पटक्कै लाग्दैन । धेरै सोचविचार गरेर कसम खाएको हुँ । कतै असर पर्छ कि पर्दैन भनेर विचार पुर्याएर राप्रपाबाट अलग भएको छु । पार्टी फुटाउन चाहेको भए त ४० प्रतिशतभन्दा बढी सदस्य लिएर कानून बमोजिम नै गर्न सक्ने हैसियतमा थिएँ ।
मैले कठिन बाटो रोजेको हुँ । एक्लै निस्किएको हुँ । मसित मेरो आफ्नै छोरी पनि आइनन् । भतिजा अभिषेक थापा राप्रपाको निर्वाचित केन्द्रीय हो । उसलाई पनि मसित आऊ भनेर ल्याइनँ । एक महिनापछि रियलाइज गरेछन् र आफैँ आएछन् । म त एक्लै गएको हो नि । यसलाई पार्टी फुटाएको भन्न मिल्दैन ।
म गीतामा बहुतै आस्था राख्ने व्यक्ति हुँ । गीताको नियमित पाठ र अध्ययन गर्छु । गीताका धेरै श्लोक कण्ठाग्र छन् । शब्द शब्द र भावनाबाट अभिप्रेरित छु । गीतामा कृष्णले अर्जुनलाई प्रेरित गर्ने क्रममा अन्याय–अत्याचारसँग सम्झौता गर्नु सबैभन्दा ठूलो अपराध हो भन्नुभएको छ । अन्तरात्माको आवाज सुन्न प्रेरणा दिनुभएको छ । म त्यो भावनाबाट प्रेरित छु ।
हो, मैले धेरै साथीहरूलाई चोट दिएँ । तर, म पनि साधारण चोटले ३० वर्ष काम गरेको, रगत पसिना बगाएको पार्टीबाट अलग भएको होइन नि ।
निर्मल निवासलाई आरोपित गर्ने, राजसंस्थाको एजेन्डा छोड्ने र राप्रपा फुटाउने कार्यले तपाईँको व्यक्तिगत लोकप्रियतामा कति ह्रास आएको महसुस भएको छ ?
ठूलो ह्रास आयो । कैयन् मानिसहरू दुखी छन् मसित । मेरो राजनीतिक यात्रामा धेरै नकारात्मक प्रभाव परेको छ । अब फेरि यसलाई सुधार र ‘रिपेयर’ गरेर अगाडि बढ्ने प्रयासमा छु । मसित अझै समय छ । विगतका त्रुटि–कमजोरीबाट पाठ सिकेर पार्टीका कार्यकर्ता–शुभचिन्तक र आमजनताको मन जित्न सक्छु भन्ने लाग्छ ।
राप्रपा छोडेकोमा पछुतो छ कि छैन ?
त्यो त छैन । म बस्न सक्ने अवस्था नै थिएन ।
तर, प्रजातान्त्रिक तवरबाट भएको निर्वाचनको परिणाम त तपाईँले स्वीकार्नुपर्थ्यो नि ? हारेपछि मैदान छोडेर भाग्न मिल्छ ?
यसमा पनि सत्यता छैन । मैले तीन महिना त पर्खेकै हो नि । महाधिवेशनको दुई महिनापछि अध्यक्ष राजेन्द्र लिङ्देन मेरो निवासमै आउनु आउनुभो । भावनात्मकरुमा प्रस्तुत हुनुभयो । म तपाईँलाई सहयोग गर्छु भनेँ, तर उहाँले मेरो सानो माग सुन्नुभएन ।
राजसंस्थालाई नै आदर्श मानेको पार्टीले राजामाथि छानबिन गर्ने तपाईँको माग सुनवाइ गर्न कसरी सम्भव थियो र ?
मैले राजामाथि छानबिन गर्ने भनेको थिइनँ । गलत भाष्य बनाएर म विरुद्ध दुष्प्रचार गरिएको मात्र हो ।
खैर, यो पुरानो कुरा भयो । अब राप्रपा नेपाललाई कसरी अगाडि बढाउनुहुन्छ ? चुनावमा त तपाईँको पार्टीले अस्तित्व जोगाउन सकेन ?
हामी सडक आन्दोलनको तयारीमा छौँ ।
के विषयमा आन्दोलन गर्ने ?
संघीय गणतन्त्रको नाममा कायम भएको भ्रष्ट व्यवस्था अन्त्य गर्नुपर्छ भन्ने हाम्रो मुख्य एजेन्डा हो ।
भनेको गणतन्त्रको अन्त्य हुनुपर्यो ?
अहिलेलाई मैले भनेको शब्द मात्रै उद्धृत गर्नुस, बाँकी केन्द्रीय समिति बैठकपछि खुलेर भन्न सकिन्छ ।
तपाईँले राप्रपासँग सहकार्यको कुरा पनि गर्न थाल्नुभएको छ । त्यस्तो सम्भावना पनि छ र ?
एकदम सम्भावना छ । नेतृत्वको समस्या छैन । राजेन्द्र लिङ्देनलाई नेता मानेर जान तयार छु । आवश्यक परे पार्टी एकता गर्न पनि तयार छु । तर, हाम्रो बटम लाइन भनेको जनसंघर्ष र जनआन्दोलनबाट आफ्ना मान्यता स्थापित गर्ने संकल्प हो । राप्रपाले सरकारमा जाने सोच त्याग्नुपर्यो । सडकमा आउनुपर्यो ।
त्यसो गरे राप्रपामा पार्टी मर्ज गराउन पनि तयार हुनुहुन्छ ?
केही फरक पर्दैन ।
एकताका लागि पहल अघि बढाउनुहुन्छ त ?
मैले सार्वजनिक रूपमा आह्वान गरेको छु । उहाँहरूले कुन रूपमा लिनुहुन्छ थाहा छैन ।
तपाईँले राप्रपा फेरि सरकारमा जाला र आफ्ना अलिअलि भएका नेता–कार्यकर्ता पनि त्यतै सोहोरिएलान् भन्ने त्राशले एकताको पासा फ्याँक्नुभएको भन्दैछन् नि राप्रपाका नेताहरू ?
यो मेरो इमानदारीपूर्ण प्रयास हो । म राजनीतिक जीवनको उत्तरार्द्धमा पुगेको छु । मलाई कुनै छलकपट गर्नु छैन ।
तपाईँ इमानको भन्दा अवसरवादीताको राजनीति गर्नुहुन्छ भन्ने त अस्तिको संसदीय चुनावमा पनि देखियो । आफू एउटा पार्टीको अध्यक्ष हुँदाहुँदै अर्को पार्टीको चुनाव चिन्हबाट चुनाव लड्नुभयो । यो निर्णय कति पछुताउनुभएको छ ?
यही कुरा अरू पार्टीका नेताहरूले गर्दा सहज र प्रजातान्त्रिक अभ्यास मानिएको छ । बहुदलीय संस्कार भनिएको छ । मेरो हकमा मात्रै प्रश्न उठाउनु उचित होइन ।
तर, अध्यक्षले नै अर्को पार्टीको चुनाव चिन्हबाट लड्दा पार्टी पंङ्तिमा कस्तो सन्देश गयो होला ?
पक्कै राम्रो सन्देश गएन । यसले धेरै ठूलो क्षति भयो । तर, यो नितान्त चुनाव जित्ने उद्देश्यले लिइएको निर्णय थियो । म एमाले अध्यक्ष ओलीलाई धन्यवाद नै दिन चाहन्छु । मेरै चुनाव चिन्हबाट लड्ने चाहनालाई सम्मान गरेको भए अझै धेरै आभारी हुन्थेँ ।
उहाँले तपाईँ जसरी पनि संसदमा आउनुपर्छ, चुनाव चिन्ह भनेको चुनावी प्रयोजन मात्र हो भनेर कन्भिन्स गर्नुभयो । ‘गाई’ भएको भए कर गर्दैनथेँ, ‘तीर’ कसैले चिन्दा पनि चिन्दैन, ‘सूर्य’बाट लड्नुस् भनेर अनुरोध गर्नुभएपछि मैले नाइँ भन्न सकिनँ । दुर्भाग्यवश हारियो । राजनीतिक यात्रामा यस्ता गल्ती कमजोरी हुन्छन् ।
अब फेरि अर्को चुनावसम्ममा तपाईँको राजनीतिमा नयाँ ट्वीस्ट आउने भयो होइन ?
मैले चुनावलाई केन्द्रबिन्दुमा राखेकै छैन । अर्को चुनाव लड्छु कि लड्दिन पनि ठेगान छैन । मेरो सत्ताप्रतिको मोह निकै घटिसकेको छ । यदि चुनाव लडेँ भने पनि सरकारमा जाने एक प्रतिशत पनि सोचाई छैन ।
आज यस्तो कुरा गर्दा मलाई ढोँगी भन्लान्, तर इमानदारीपूर्वक भन्दै छु । म भविष्यमा मन्त्री, उपप्रधानमन्त्री बन्दिनँ । म पदीय राजनीतिबाट अघाइसकेँ । पर्याप्त भइसक्या छ । मलाई त अब पार्टीमा पनि नेतृत्वदायी भूमिका चाहिएको छैन । यही अध्यक्ष पद पनि बोझ भइरहेको छ । राजेन्द्र लिङ्देन यदि महाधिवेशनको लाइनमा अडेर आन्दोलनमा आउनुहुन्छ भने उहाँलाई अध्यक्ष मानेर वरिष्ठ नेताका रूपमा आरामसँग सहयोग गर्न तयार छु ।
भविष्यमा कुनै लोटरी परेर प्रधानमन्त्री बन्ने मौका जुर्यो भने ?
प्रधानमन्त्री हुने स्थिति सहज बन्छ जस्तो लाग्दैन । त्यो स्थिति आएछ भने बेग्लै कुरा हो । हाम्रा मान्यताहरू स्थापित हुन सम्भव देखियो भने प्रधानमन्त्रीका लागि तयार हुन सकिएला । होइन भने मलाई अब सत्ताकेन्द्रीत राजनीति गर्नु नै छैन । हाम्रो पार्टीले चुनाव लड्छ, सरकारमा जाँदैन ।
अब मेरो प्राथमिकता आन्दोलन हो । एक–डेढ वर्ष तयारी गर्छु । मेची–महाकाली घुम्छु । संगठन निर्माण गर्छु र सबैलाई समेटेर निर्णायक आन्दोलनमा होमिन्छु ।
तपाईँको पार्टीसँग भएको झिनो संगठनले के निर्णायक आन्दोलन होला र ?
नभए मेरो के जान्छ ? अहिले के छ र के जान्छ ? मैले गुमाउने केही पनि छैन । इमानदारीपूर्वक प्रयास गर्ने हो । सफल भएँ भने म जिन्दगीभर मात्र होइन, मरेपछि पनि जनताले सम्झिराख्छन् । सम्मान गर्छन् । असफल भए पनि गुमाउने कुरा केही छैन ।
यो उमेरमा नयाँ पार्टी खोलेर शून्यबाट सुरु गर्नुपर्दा कत्तिको हैरानी भएको छ ?
त्यस्तो विल्कुल छैन । म अहिले पनि उत्तिकै ऊर्जावान् छु, जस्तो पहिले थिएँ । शारीरिक र मानसिकरुपमा एकदमै फिट छु । अझै पनि धेरै गर्न सक्छु भन्ने छ ।
पार्टी चलाउन कत्तिको धौधौ परेको छ ? पार्टीको आर्थिक व्यवस्थापन कसरी गर्नुहुन्छ ?
कठिनाइ त छ । तर, हामी सबैले आ–आफ्नो क्षमताअनुसार पार्टीमा योगदान गरिरहेका छौँ । म आफैँले महिनाको न्यूनतम ५० हजार रुपैयाँ पार्टीलाई दिन्छु । पार्टीमा ३० हजारसम्म दिने पदाधिकारी छन् । अनि, हरेक केन्द्रीय सदस्यले महिनाको ५ सय रुपैयाँ अनिवार्य लेवि तिर्नुपर्छ । तीन महिना लगातार लेवी बुझाएन भने केन्द्रीय सदस्य पद नै गुम्ने प्रावधान बनाइएको छ । यसरी नै चलिराखेको छ ।
एकाएक राष्ट्रिय राजनीतिको मेनस्ट्रिमबाट बाहिर हुँदा पट्यार लागेको छैन ?
यसको सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । चुनाव जितेको भए मैले आफ्ना विचार र मान्यताहरू संसदमा राख्न सक्ने थिएँ । त्यो अवसर गुमेको छ । सकारात्मक कोणबाट हेर्दा मैले अर्को आफ्नो पोलिटिकल लिगेसी सुदृढ गर्ने अवसर पाएको छु भन्ने पनि लाग्छ ।
०००
राप्रपाबाट बहिर्गमनसँग कमल थापा राष्ट्रिय राजनीतिको मूलधारबाट बाहिर हुत्तिएका छन् । उनको दल राप्रपा नेपाल अस्तित्व संकटमा छ । गएको चुनावमा पार्टीले शर्मनाक नतिजा ल्यायो । थापा स्वयम्ले एमालेको चुनाव चिन्हबाट लडेर पनि जित्न सकेनन् । आफ्नै पूर्ववर्ती पार्टीका ‘चेला’ दीपक सिंहबाट उनी पराजित भए, त्यसको बेग्लै चोट छ ।
हिङ नभए पनि हिङ बाँधेको टालो भने कमल थापासँग अवश्य छ । नेपाली राजनीतिमा उनी आफैँमा एउटा ब्रान्ड हुन् । सञ्चारमाध्यमहरूमा अहिले पनि डिमान्डेड नै छन् । उनका फेसबुक स्टाटसहरु समाचार बनिरहेकै हुन्छन् ।
थापाको राजनीति अनेकन् आरोह–अवरोहबाट गुज्रिँदै यो बिन्दुमा आइपुगेको हो । उनको राजनीतिक जीवनको पूर्वार्द्ध असाध्यै चम्किलो र आशालाग्दो थियो । पञ्चायतकालमै उनी फूलमन्त्री भइसकेका थिए । राजा वीरेन्द्र थापालाई २०४३ सालमा सञ्चारमन्त्री बनाउँदा उनको उमेर मात्र ३१ वर्ष थियो ।
अतितः सेनामा जान उमेर नपुग्दा मोडिएको बाटो
थापाको पुर्ख्यौली थलो तनहुँ हो, तर उनी काठमाडौंको डिल्लीबजारमा जन्मिएका हुन् । उनका बुवा, बाजे, बराजु सबै सेनामा थिए । बुवा कर्णेल छत्रबहादुर थापा राजा महेन्द्रसँग असाध्यै निकट थिए । सेनाबाट रिटायर्ड भएपछि राजाले नारायणहिटी राजदरबार बनाउने घर काजको प्रमुख छत्रबहादुरलाई बनाए । यति मात्र होइन, १७ सालको परिवर्तनपछि ओखलढुंगामा भएको भीषण विद्रोहलाई साम्य पार्न छत्रबहादुरलाई त्यहाँ बडाहाकिम बनाएर पठाइएको थियो । उनी सफल पनि भए ।
आन्दोलन निस्तेज पारेपछि पूर्वपश्चिम राजमार्गको जिम्मेवारी पनि उनले पाए । राजा महेन्द्रले दुई सेक्टरमा बाँडेर पूर्वपश्चिम राजमार्गको थालनी गरेका थिए । मेचीदेखि गैंडाकोटको भूभाग एउटा सेक्टरमा र गैंडाकोटदेखि महाकालीको भूभाग अर्को सेक्टरमा थियो । पूर्वी सेक्टरको कमाण्ड छत्रबहादुरले गरेका थिए । महेन्द्रको प्रभावबाट छत्रबहादुरले राजनीति पनि अलिकति चाखे । उनी राष्ट्रिय पञ्चायत सदस्यमा उठेर थोरै मतले पराजित भएका थिए ।
बुवा मात्र होइन, कमल थापाका दाइ नेत्रबहादुर थापा पनि सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल हुन् । विद्या भण्डारी राष्ट्रपति रहँदा दुवै कार्यकालमा नेत्रबहादुरलाई आफ्नो सुरक्षा सल्लाहकार बनाएकी छन् । कमल थापाका कान्छा भाइ गणेश थापा नेपाली फुटबलका हस्ति हुन् । उनले पहिले खेलाडीका रूपमा र पछि फुटबल संघको अध्यक्षका रूपमा नेपाली फुटबलको लामो समय सेवा गरे ।
कमल थापा पढाइ सानैदेखि पढाइमा अब्बल थिए । उनले एसएलसी १३ वर्षको उमेरमा पास गरेका हुन् । काठमाडौंको सेन्ट जेभियर्समा ३ कक्षा पढ्दापढ्दै छुटाएर बुवाले हेटौँडामा ७ क्लासमा भर्ना गरिदिए । हेडमास्टरलाई बोलाएर बुवाले भनेको सम्झिन्छन्, ‘मेरो बुढेसकालका छोराहरू हुन् । चाँडै एसएलसी गराउनुपर्छ, माथिल्लो क्लासमा राख्दिनुस् ।’ हेडमास्टरले नाइँ भन्ने सम्भावना नै थिएन ।
एकै पटक चार कक्षा टप्दा पनि थापा असफल भएनन् । एसएलसीको परीक्षा उनले काठमाडौंकै पद्मोदय हाइस्कुलबाटट दिए र उच्च अंक ल्याएर पास गरे । एसएलसीपछि डाक्टर बन्ने उद्देश्यसहित अमृत साइन्स क्याम्पस भर्ना गए । त्यहाँ बाबुराम भट्टराई र उपेन्द्र देवकोटा उनका सहपाठी थिए । उनीहरूसँग त्यति धेरै हिमचिम भने भएन ।
आइएस्सीपछि भने उनको डाक्टर बन्ने मोह हरायो । साइन्सको पढाइ छोडेर उनी त्रिचन्द्र कलेजमा बीए पढ्न थाले । बीए पढ्दापढ्दै सेनामा ट्राइ मार्न खोजेका थिए । तर, तीन महिना उमेर पुगेन । त्यसपछि प्रयास नै गरेनन् । राजनीतिमा रस पसिसकेको थियो ।
१६ वर्षको उमेरबाट राजनीतिमा लागेका थापा २०३१ सालमा राष्ट्रवादी विद्यार्थी मण्डलको संस्थापक अध्यक्ष भए । यही मण्डलको नाममा अहिले पूर्वपञ्चहरुलाई ‘मण्डले’ भन्ने गरिन्छ । २०३३ सालसम्म उनले सो मण्डलको नेतृत्व गरेका थिए । २०३४ सालमा उनी नारायणी अञ्चलमा गाउँ फर्क राष्ट्रिय अभियानको सदस्य सचिव बने ।
उमेर नपुगेका कारण २०३५ सालको राष्ट्रिय पञ्चायत चुनाव थापाले लड्न पाएनन् । २०३८ सालमा भने उनी चुनाव लडे, तर पराजित भए । त्यो चुनाव जितेको भए आफू २०४६ सालभित्रै प्रधानमन्त्री बन्ने उनको दाबी छ । उनी राजा वीरेन्द्रले निकै रुचाएका युवा थिए । राजाले आफूलाई सिधै मनोनीत गर्ने आश्वासन दिँदादिँदै आफू निर्वाचनमा होमिएको उनी बताउँछन् ।
‘मलाई राजाले तिमीलाई मनोनीत गरेर ल्याउँछु भनेर आश्वासन दिनुभएको थियो । तर, मैले राजाका मान्छे त जनताबाट अनुमोदित भएर आउने हो । म चुनाव जितिहाल्छु नि भनेर राजालाई आश्वस्त पारेँ । दुर्भाग्यवश चुनाव हारियो,’ उनले सम्झिए । २०४३ सालको चुनाव भने उनले जिते र सिधै सञ्चारमन्त्री नियुक्त भए ।
राजनीतिमा मात्र होइन, खेलमा पनि चम्किरहेका थिए कमल । अमृत साइन्स कलेजमा पढ्दा काठमाडौंको ए डिभिजन टीमबाट खेल्थे । उनले पहिले विद्यार्थी खेल मण्डलबाट र पछि संकटाबाट खेले । नारायणी अञ्चलको प्रतिनिधित्व गरेर दुई पटक नेशनल च्याम्पियन भए । राष्ट्रिय टिममा पनि छानिए । केही समय कप्तान पनि भए । २०३४ सालमा उनलाई राजाले राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा मनोनीत गरेका थिए । २०३६ सालमा उनी अखिल नेपाल फुटबल संघको अध्यक्ष भए, जति बेला उनी मात्र २३ वर्षका मात्र थिए ।
अवसरवादी राजनीतिको आरोप : मुसा प्रवृत्तिको कहावत
आलोचकहरू भन्छन्– कमल थापा अति अवसरवादी नेता हुन् । उनी निष्ठाको होइन, पदको राजनीति गर्छन् । यो अहिले मात्र लागेको आरोप होइन । एकताका उनले पार्टीभित्र देखाएको अवसरवादी चरित्रलाई ‘मुसा प्रवृत्ति’ को संज्ञा दिइएको थियो । यो २०५३ सालपछिको कुरा हो । तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पदबाट हटाउन उनकै सरकारमा रहेका कमल थापा लगायतका केही सांसदले भूमिका खेलेका थिए । यसलाई लिएर चन्दले पछि ती सांसदहरूलाई ‘जहाज प्वाल पार्ने मुसा’ को संज्ञा दिए ।
थापा २०५३ सालको देउवा मन्त्रिपरिषदमा कानून न्याय तथा स्थानीय विकास मन्त्री बनेका थिए । उक्त सरकार ढालेर एमालेले लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनायो । चन्द सरकारमा पनि थापा आवास तथा भौतिक योजना तथा परराष्ट्र मन्त्री भए । त्यो सरकार धेरै दिन टिकेन । त्यसपछि कांग्रेसको समर्थनमा राप्रपाकै सूर्यबहादुर थापा प्रधानमन्त्री बने । मन्त्रीको कुर्सीमा बसेर नै कमल थापाले सरकारको विपक्षमा मत हाले र सूर्यबहादुर थापातिर लहसिए । थापाले उनलाई परराष्ट्र र कृषि मन्त्री बनाए ।
प्रधानमन्त्रीबाट हटेपछि पार्टीका सांसदहरूको यस्तो प्रवृत्तिमाथि चन्दले भावुक टिप्पणी गरेका थिए ।
उनको भनाइको सार थियो, ‘यदि पानीजहाजमा मुसा पसे भने जहाजलाई नै प्वाल पार्न थाल्छन् । जब त्यो जहाज डुब्न थाल्छ, सबैभन्दा पहिले नै उनीहरू अर्को जहाजमा हाम्फाल्छन् । अर्को जहाजलाई पनि त्यसरी नै प्वाल पारेर डुबाइदिन्छन् । यस्ता मुसा बोक्न रहर गर्ने जहाजवालाहरू मेरो जहाज डुबेकोमा खुशी नहुनुहोला । यी मुसाले अन्ततः तपाईँको जहाज पनि डुबाइदिनेछन् ।’
चन्दको यो अभिव्यक्तिपछि यसरी पार्टीभित्र एकपछि अर्को क्याम्प बदल्ने सांसदको समूहलाई ‘मुसा सांसद’ भन्न थालिएको थियो । अहिले यो प्रसंगले सबैभन्दा कमल थापालाई पिरोल्छ । तर, उनी चन्दले आफूलाई मुसाको संज्ञा दिएको स्वीकार गर्दैनन् ।
‘लोकेन्द्रबहादुर चन्दले मलाई तोकेर कतै पनि भन्नुभएको छैन । पत्रिकाले जबरजस्ती मेरो नाम जोडिदियो र त्यही स्थापित भयो । जबकि त्यस बेला गुट बदल्नेमा प्रकाशचन्द्र लोहनी, पद्मसुन्दर लावती, बालाराम घर्तिमगरजस्ता सिनियर नेता पनि हुनुहुन्थ्यो । म त मझौला नेता थिएँ ।’
गुट बदलेकोबारे उनको प्रष्टीकरण छ, ‘पार्टीले चन्दलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने भनेर औपचारिकरुपमा निर्णय गर्यो । मैले लोकेन्द्रजीलाई साथ दिएँ । पछि पार्टीले नै औपचारिक रूपमा उहाँलाई राजीनामा गर्न निर्देशन दियो । उहाँले मान्नुभएन । त्यसपछि हामी पार्टीको निर्णयमा उभिएर उहाँको साथ छोड्यौँ । पार्टी निर्णयको अवज्ञा गर्ने आदर्शवादी र पार्टीको निर्णय पालना गर्ने गलत प्रवृत्ति हुन्छ ? यो ममाथि टार्गेटेड प्रपोगाण्डा बाहेक अरू केही होइन ।’
यद्यपि, २०५३ सालमा देउवा सरकारमै छँदा केही साथीहरूको उक्साहटमा प्रधानमन्त्री विरुद्ध चहलपहल गरेको उनको स्वीकारोक्ति छ ।
‘मन्त्री हुँदाहुँदै सरकार ढाल्ने भित्री खेलमा सहभागी हुनु चाहिँ गल्ती थियो जस्तो लाग्छ । यद्यपि, देउवा सरकार हाम्रो कारणले भने ढलेन,’ उनले भने ।
थापाको नजरमा तीन राजा: महेन्द्र सबैभन्दा अब्बल
थापाले राजा महेन्द्रसँग नजिक भएर काम गर्ने अवसर पाएनन् । उनी राजनीतिमा उदाउँदा नउदाउँदै महेन्द्रको अवसान भइसकेको थियो । आज उनी राजा महेन्द्रलाई नै आफ्नो आदर्श मान्छन् ।
थापाले राजा महेन्द्रलाई दुई पटक भेट्ने अवसर पाए । पहिलो पटक १० वर्षको उमेरमा हेटौँडाको भुटनदेवी स्कुलका विद्यार्थीहरूको समूहमा । त्यस बेला विद्यालयका प्रधानाध्यापकले विद्यार्थीहरूलाई सिकाएका थिए– राजासमक्ष ‘माध्यमिक विद्यालय चाहियो सरकार’ भनेर बिन्ती बिसाउनु । उनीहरूले त्यसै गरे । नभन्दै राजा महेन्द्रले माध्यमिक विद्यालय बनाइदिए पनि ।
दोस्रो पटक उनी तत्कालीन राष्ट्रवादी विद्यार्थी मण्डलको प्रतिनिधिमण्डलमा गएर भेटेका थिए । उक्त भेटमा महेन्द्रबाट औधी प्रभावित भए उनी ।
राजा महेन्द्रलाई उनी यसरी सम्झिन्छन्:
उहाँ एउटा राष्ट्र प्रेमी, चतुर र दूरदर्शी राजा हुनुहुन्थ्यो । अहिलेको पिँढीले थाहा पाइराख्नुपर्छ कि महेन्द्र राजगद्दीमा आउनुभन्दा अगाडि नेपालले कहिल्यै आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ताको पूर्ण उपयोग गर्न सकेको थिएन । २००७ सालभन्दा अगाडि राणाहरूले ब्रिटिस र नेहरुलाई रिझाएरै आफ्नो अस्तित्व जोगाउन खोजेका हुन् । नेपाल भारतको सुरक्षा छातामा रहनुपर्छ भन्ने नेहरुको मान्यता थियो ।
हामी २००७ सालको परिवर्तनपछि प्रजातन्त्र आयो भनेर गर्व गर्छौँ । तर, त्यो ‘प्रजातन्त्र’ भारतको पूर्ण नियन्त्रणमा थियो । भारतीय प्रतिनिधिले मन्त्रिपरिषदको बैठकमा बसेर निर्णयको माइन्यूट लेख्थे । राजाको सल्लाहकारका रूपमा दैनिक काममा सहयोग गर्ने पनि भारतीय थिए । नेपालको आफ्नो मुद्रा प्रचलनमै थिएन । नेपालको आफ्नो पाठ्यक्रम थिएन । अधिकांश भारतीय पाठ्यपुस्तकको पढाइ हुन्थ्यो । नेपालको आफ्नो हुलाक व्यवस्था थिएन । विदेशबाट आउने चिठी पत्र भारतीय दूतावासमा आउँथे र उसले नै सर्कुलेट गर्थ्यो । सानो समस्या पर्दा सिंगो क्याबिनेटका मन्त्रीहरू जहाज चढेर दिल्ली जान्थे र नेहरुको आदेश लिएर फर्किन्थे ।
नेपालमा प्रजातन्त्र ल्याउन र त्रिभुवनलाई पुनर्स्थापना गर्न नेहरुले धेरै ठूलो मद्दत गरेका थिए । त्यसैले राजा त्रिभुवन उनीप्रति अत्यधिक अनुग्रहित भए । नेपालको स्वतन्त्र अस्तित्व कायम रहोस् भन्ने त्रिभुवनको पनि चाहना थियो होला । तर, उनी नेहरुको आदेशमा चल्न अभिसप्त भए ।
जब महेन्द्र राजगद्दीमा आए, यो सबै स्थिति फेरियो । भारतको चंगुलबाट मुक्त गरेर नेपाललाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र बनाउन राजा महेन्द्रले धेरै ठूलो आँट गरेका हुन् । एक–एक कदम अगाडि बढाउँदै उनले नेपालको स्वतन्त्र अस्तित्व कायम गरे । ममा राष्ट्रियताप्रतिको चेतना र राष्ट्र भक्तिको भावना जगाउन महेन्द्रको प्रभाव छ ।
राजा महेन्द्रको महेन्द्रको धेरै चाँडो निधन भयो । ५२ वर्षकै उमेरमा उनी बिते । जम्मा १० वर्ष त हो काम गरेको । यति छोटो समयमा के मात्र गरेनन् । शीतयुद्धको बेलामा भारत, चीन, अमेरिका, रुस सबैको विश्वास जितेर, सहयोग जुटाएर नेपालको विकास अघि बढाए । सायद राजा महेन्द्र एकाध वर्ष थप बाँचेको भए नेपालमा त्यस बेला नै बहुदलीय व्यवस्था आउँथ्यो । त्यसको अन्तिम तयारी भइसकेको थियो । कीर्तिनिधि विष्ट प्रधानमन्त्री भएका बेलामा उहाँले गोप्यरुपमा संविधान संशोधनको तयारी गर्न लगाउनुभएको थियो । चितवनको दियालो बंगलामा निधनभन्दा केही दिनअघि कीर्तिनिधि र शम्भु ज्ञवालीलाई बोलाएर मस्यौदामा छलफल भएको थियो । सुवर्ण शमशेरलाई त्यहीँ बोलाइएको थियो । बिपीसँग फाइनल कुराकानी गर्ने तयारी थियो । तर, दूर्भाग्यपूर्णरुपमा राजा महेन्द्रको आकस्मिक निधन भयो ।
राजा वीरेन्द्रलाई सोझो र राष्ट्र प्रेमी राजाको रूपमा चिन्छन् थापा । महेन्द्रमा जस्तो चातुर्य नभए पनि वीरेन्द्रमा देशलाई आधुनिकीकरण गर्ने सोच भएको उनको मूल्यांकन छ । यद्यपि, देश विकासको काम जति हुन सक्थ्यो, वीरेन्द्रको पालामा त्यति नभएको थापा बताउँछन् ।
वीरेन्द्र पनि महेन्द्रजस्तै राष्ट्रवादी राजा हुन् भन्ने दर्शाउन उनले एउटा दृष्टान्त सुनाए:
पञ्चायतको अन्तिम कार्यकालमा म सञ्चार मन्त्री थिएँ । भारतले आर्थिक नाकाबन्दी लगाएको थियो, झण्डै १३/१४ महिना । भारतसँग घुँडा नटेकीकन नेपाली जनतालाई रासन, पानी, तेल, डिजेलको उपलब्धता गराउन त्यो बेलाको अवस्थामा कति कठिन थियो होला । तर वीरेन्द्रबाट सम्भव भयो ।
नाकाबन्दीको फाइदा लिएर पञ्चायतविरुद्ध आन्दोलन पनि भयो । एकातिर आन्दोलन थियो भने अर्कोतर्फ नाकाबन्दी । आन्दोलन चरमोत्कर्षमा भएको बेलामा भारतले विदेश सचिव एसके सिंहलाई नेपाल पठाएको थियो । उनी एउटा सन्धिको मस्यौदा बोकेर आएका थिए । त्यो सन्धिमा नेपाललाई भारतको छाताभित्र राखेर यहाँको सुरक्षा, परराष्ट्र र आर्थिक क्षेत्र उसको नियन्त्रणमा रहने आशय थियो । त्यो प्रस्ताव माने आन्दोलनलाई भोलि नै मत्थर पार्ने आश्वासन लिएर सिंह आएका थिए । प्रधानमन्त्री मरीचमान सिंह थिए भने म सञ्चार मन्त्री थिएँ ।
परराष्ट्र मन्त्रीबाट भर्खरै शैलेन्द्रकुमार उपाध्यायले राजीनामा दिनुभएको थियो । मरीचमान सिंहले एसके सिंहलाई राजाको सन्देश सुनाएर भन्नुभयो कि यो दस्ताबेजमा छलफल नै हुँदैन । आवश्यक परे आफ्नै जनतासँग झुक्छु तर, भारतसँग झुक्दिनँ भन्ने राजाको स्पष्ट अडान थियो ।
यद्यपि, राजा वीरेन्द्रका दुईवटा कमजोरी उनी खुट्याउँछन् । पहिलो– उनी बडामहारानीबाट बढी प्रभावित र निर्देशित थिए । दोस्रो, आवश्यकताभन्दा बढी सरल र सोझा थिए । अन्यथा वीरेन्द्र पनि जनप्रेमी र असल राजा भएको उनको ठम्याइ छ ।
अनि राजा ज्ञानेन्द्र ?
यतिबेला उनी राजा ज्ञानेन्द्रको आलोचना गर्ने मुडमा छैनन् । देश प्रेमी र केही गरौँ भन्ने हुटहुटी बोकेको राजाका रूपमा उनले ज्ञानेन्द्रको गुणगान गाए ।
थापा भन्छन्:
‘राजा ज्ञानेन्द्रको लामो कार्यकाल भएन । उहाँले २०६१ सालमा शासन सत्ता आफ्नो हातमा लिनुभयो । नेपालमा निरंकुश व्यवस्था स्थापना गर्ने वा पञ्चायत फर्काउने नियतले उहाँले त्यो कदम चाल्नुभएको थिएन । मैले राजाको कुराहरू सुनेको छु । उहाँसँग नजिक रहेर काम गरेको छु । उहाँले असल नियतले नै प्रत्यक्ष शासनको अभ्यास गर्नुभएको हो । तीन वर्षपछि दलहरूलाई नै फिर्ता दिने भन्ने थियो ।
राजाले सत्ता हातमा लिइसकेपछि राज्य सञ्चालनका निम्ति जुन पात्रहरूको छनोट भयो, त्यो उपयुक्त भएन । तीनै पात्रहरूको कारणले गर्दा राजा र दलहरूको दूरी बढेर गयो । राजाको टेकओभरपछि केही नेतासँग भेटघाट हुँदा उनीहरूले माओवादीलाई ठेगान लगाएमा समर्थन गर्छौँ भनेर ‘बेनिफिट अफ डाउट’ दिएका थिए । तर, बिस्तारै राजाले छनोट गरेका पात्रले दलहरूप्रति घृणा पैदा गर्ने काम गरे । शाही आयोग बनाएर पार्टीका नेतालाई छानिछानी जेल हालियो । त्यो कमजोरी भयो भन्ने लाग्छ ।
कतिपयले सोच्छन् कि ज्ञानेन्द्रले चाहेका भए सेनालाई प्रयोग गरेर राजसंस्था जोगाउन सक्थे । कम्तीमा त्यो प्रयास गर्न सक्थे । थापा के ठान्छन् ?
‘राजसंस्था जानुमा ज्ञानेन्द्रको दोष छैन । उहाँले त दलहरूसँग सम्झौता गरेर सेफ ल्यान्डिङ गरेको हो । सार्वभौमसत्ता पार्टीहरूलाई सुम्पिएको हो । तर त्यसपछि आन्दोलनको रापतापबीच देशी विदेशी शक्तिको दबाबमा राजालाई एम्बुसमा पारेर राजसंस्था समाप्त गर्ने काम भयो । त्यो निर्णयलाई पनि राजाले शालीनताका साथ स्वीकार गर्नुभयो । त्यो बेलासम्म नेपाली सेनाको परमाधिपति त राजै हुनुहुन्थ्यो । तर, आफ्नो अधिकारको एक्सरसाइज गर्नुभएन । मान्य हुन्थ्यो कि हुँदैनथ्यो आफ्नो ठाउँमा छ । तर, त्यतापट्टि सोचाई नै भएन ।’
देउवा, प्रचण्ड र ओलीको सरकारमा काम गर्दा
अहिलेका तीन शीर्ष नेताहरू शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल तिनैजनाको सरकारमा मन्त्री बनेका छन् थापा । देउवा र ओलीसँग त उनको दुई–दुई पटक सहकार्य भयो । प्रधानमन्त्रीका रुपमा यी तीन जना नेताको कार्यसम्पादनलाई उनी कसरी मूल्यांकन गर्छन् ?
शेरबहादुर देउवा– २०५२ सालमा उहाँ प्रधानमन्त्री छँदा म स्थानीय विकास मन्त्री थिएँ । त्यस बेला उहाँमा युवा जोश–जाँगर थियो । आफूले गरेका निर्णयमा अडान लिनुहुन्थ्यो । मन्त्रीहरूलाई पनि काममा उत्प्रेरित गर्नुहुन्थ्यो । त्यही सरकारमा स्थानीय विकास मन्त्री छँदा मैले पहिलो पटक देशमा महानगरपालिका स्थापना गरेको हुँ । उहाँको साथले काठमाडौं महानगरसहित थुप्रै नगरपालिकाहरूको घोषणा गर्न सफल भएँ । त्यस बेला मैले नै प्रत्येक वडामा एक महिलाको अवधारणा ल्याएको हो । स्थानीय सरकारको अवधारणा पनि हाम्रो हो ।
तर, दोस्रो पटक सहकार्य गर्दा उहाँमा कुनै ऊर्जा पाइनँ । उहाँ शिथिल भइसक्नुभएको थियो । कुनै कुरामा अड्न पनि सक्नुहुन्नथ्यो । कसैले दबाब दिए सजिलै झुक्नुहुन्थ्यो ।
केपी ओली: ओलीजीसँग सहकार्यको मेरो सुखद अनुभव छ । उहाँ पहिलो पटक प्रधानमन्त्री बन्दा भारतले कडा नाकाबन्दी लगाएको थियो । म परराष्ट्र मन्त्री थिएँ । भारतसँग अलिकति पनि नझुकिकन र राष्ट्रिय स्वाभिमानमा एक इन्च पनि आँच आउन नदिईकन नाकाबन्दीको सामना गर्न हामी सफल भयौँ । यसमा प्रधानमन्त्रीसँग मेरो ट्युनिङ मिलेको थियो ।
सोही कार्यकालमा नेपालले चीनसँग पारवहन सन्धि पनि गर्यो । यो अर्को ऐतिहासिक उपलब्धि हो । हामी भारतवेष्ठित मानसिकताबाट बाहिर निस्किन सफल भयौँ । चीनसँग व्यापार, पार वाहन, रेल, तेल र बिजुलीको क्षेत्रमा दीर्घकालीन सम्बन्ध एवं विकासको खाका कोर्न मैले पनि महत्त्वपूर्ण योगदान दिएको छु ।
पुष्पकमल दाहाल: प्रचण्ड जीसँग असाध्यै छोटो सहकार्य भयो । तर, उहाँ मप्रति औधी सकारात्मक हुनुहुन्थ्यो । वास्तवमा उहाँले मलाई माया गर्या हो । हाम्रा पार्टीको महाधिवेशनमा आएर भाषण गर्दा मेरो प्रशंसा गर्नुभएको थियो । कमल थापासँग राष्ट्रियताको कुरामा मेरो केमेस्ट्री मिल्छ भन्नुभएको थियो ।
उहाँको सरकारमा म उपप्रधानमन्त्रीका रूपमा सहभागी हुँदा विमलेन्द्र निधिले मर्यादाक्रमको झमेला उठाउन खोजे । तर, प्रचण्डजीले कमलजी तपाईँभन्दा सिनियर हो र मपछिको उपप्रधानमन्त्री कमलजी हो भनेर स्पष्ट शब्दमा भनिदिनुभयो । यसरी उहाँले मलाई सेकेन्ड म्यान बनाउनुभएको थियो । मैले राजीनामा बुझाउन जाँदा हातै समातेर भन्नुभो– कमलजी नछाड्नुस्, सँगै बसेर धेरै काम गर्न बाँकी छ ।
उहाँको एउटा गुण भन्ने कि अवगुण भन्ने, अलिकति अस्थिर स्वभावको हुनुहुन्छ । एक्स्ट्रीममा स्वीङ गर्न सक्ने लचकता छ । भावुक भएर पनि होला, मान्छेले पटक–पटक प्रयोग गरेको म देख्छु । मुटु चाहिँ राष्ट्र विरोधी छ भन्ने मलाई लाग्दैन ।
आफूले व्यहोरेका प्रधानमन्त्रीमध्ये क्षमता र कार्यसम्पादनका हिसाबले उनी कसलाई अगाडि राख्छन् ?
थापाले दुई नाम लिए– सूर्यबहादुर थापा र केपी ओली ।
निजी जीवन : बुढेसकालमा पनि फिट, पारिवारिक सन्तुष्टि
आफ्नो पारिवारिक जीवनसँग निकै सन्तुष्ट सुनिन्छन् कमल थापा । आफूले जुन बाटो लिए पनि परिवारका सदस्यहरूले बेहिचकिचाहट साथ दिन्छन् भन्ने आत्मिक सन्तोष उनलाई छ ।
थापा भन्छन्, ‘मेरा कतिपय कदमहरूमा परिवारका सदस्यको रिजर्भेसन पनि रहला, तर पनि उनीहरूले मेरा प्रत्येक कदममा मिलिट्यान्ट भएर साथ दिएका छन् । एकताबद्ध परिवार पनि मेरो शक्तिको स्रोत हो ।’
कमल थापाका एक छोरा, तीन छोरी र सात नातिनातिना छन् । उनका छोरा राजनीतिमा लागेनन् । व्यवसायिक काममा लागेर राम्रै आयआर्जन गरिरहेका छन् । दुई जुम्ल्याहा छोरीहरूमध्ये एउटी डाक्टर हुन्, जो ह्याम्स हस्पिटलमा कार्यरत छिन् । अर्की छोरी कम्प्युटर इन्जिनियर हुन् र बेलायतमा सेटल भएकी छन् । एमबीएसम्मको अध्ययन गरेकी कान्छी छोरी चाहिँ राजनीतिमा बुवालाई साथ दिइरहेकी छन् । उनी राप्रपाको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।
सबै जना आ–आफ्नो ठाउँमा सक्षम भएकाले थापालाई परिवारको आर्थिक दायित्व छैन । घर भाडा र बैंकको बचतबाट आउने ब्याजको पैसा पनि उनी पार्टीको काममा खर्च गर्छन् । मासिक न्यूनतम ५० हजार रुपैयाँ पार्टीलाई दिने गरेको थापाले बताए ।
राजनीतिमा लागेर कति पैसा कमाउनुभयो त ? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिए:
‘धेरै कम राजनीतिकर्मीमा म पनि पर्छु जसलाई भ्रष्टाचार गर्यो भनेर औँला ठड्याउने ठाउँ छैन । म पहिल्यै उच्चमध्यमवर्गीय परिवारको सदस्य हो । खान–लाउन बाबुबाजेले कमाइदिएको नै पर्याप्त छ । ५० वर्षको राजनीतिक यात्रामा राजनीतिकरुपमा धेरै पटक विवादित भएँ होला, तर नैतिकता र चरित्रको मामलामा प्रश्न उठाउन दिएको छैन । व्यापारीदेखि कर्मचारीसम्मलाई मेरो विषयमा सोध्नुभयो भने हुन्छ ।’
थापाको जीवनशैली पनि सरल र स्वस्थकर छ । आफूमा एउटा पनि खराब लत नभएको उनी बताउँछन् ।
‘मलाई रक्सीको टेस्ट अहिलेसम्म थाहा छैन । चुरोट, सुर्ती केहीको पनि अम्मल छैन । रेस्टुरेन्टमा गएर खाने खुवाउने मान्छे पनि म होइन । कुनै कफी सपमा ५ जनालाई कफी खुवाउनुपर्यो भने पनि बडो चिन्ता लाग्छ । दुई सय रुपैयाँको कफी खुवाउन पैसा पार्टीमा हाल्न पाएको भए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भने ।
उमेरले वृद्धावस्थामा लागे पनि शारीरिक र मानसिकरुपमा एकदमै फिट छन् थापा । शरीरलाई कुनै रोगले गाँजेको छैन । अहिले पनि दैनिक ब्याडमिन्टन खेल्छन् । बुढाहरूको ब्याडिमिन्टन र टेनिसमा हरेक वर्ष प्रतिस्पर्धा गर्ने गरेका छन् । यसपालि मात्रै ४ वटा प्रतियोगितामा पहिलो भए । अस्ति भर्खर दार्जिलिङमा जितेर आएका हुन् ।
उनी प्रत्येक दिन बिहान ३ किलोमिटरदेखि आठ–१० किलोमिटर हिँड्छन् । प्रत्येक हप्ता साइक्लिङ गर्छन् ।
‘हिजो मात्रै २८ किलोमिटर साइकल चलाएँ,’ बच्चाझैँ फुर्केर सुनाए ।
थापाको बिहानको रुटिनबाट चार काम कहिल्यै हट्दैनन्– दारी काट्ने, नुहाउने, पूजापाठ गर्ने र ब्याडमिन्टन खेल्ने । यीमध्ये कुनै एउटा काम गर्न पाएनन् भने पनि मरेझैँ हुन्छ । मन्त्री भएका बेला क्याबिनेट बैठक कहिलेकाहीँ बिहानै पर्दा उनी गाडीमै र्याकेट बोकेर हिँड्थेँ । क्याबिनेट मिटिङ सकिनासाथ कोर्टतिर कुदिहाल्थे ।
‘विगत २०–२५ वर्षदेखि दारी नकाटेको र ननुहाएको दिन छैन । ओछ्यानबाट उठ्दासाथ पहिलो कामै दारी काट्ने हो,’ सदाबहार ह्यान्डसम देखिनुको एउटा रहस्य उनले खोलिदिए ।
नजिकबाट चिन्नेहरू भन्छन् कमल थापाको चाँडै आवेशमा आउने कमजोरी छ । उनी तुरुन्तै प्रतिक्रिया दिन तम्सिहाल्छन् । यसलाई उनले करिब–करिब स्वीकारे ।
‘हो म अलिकति छिटो आवेशमा आउँछु । कसैले आफ्नोबारे नभएको कुरा बोल्यो वा लेख्यो भने एक छिन त रिस उठ्छ नि । तर, छिट्टै कुल डाउन पनि हुन्छु,’ उनी भन्छन् ।
आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा छन् कमल थापा । माथि नै उनले भने कि पदीय राजनीतिमा उनको मोह बाँकी छैन । त्यसो अब उनका अतृप्त आकांक्षाहरु के छन् त ?
‘म केवल अब आफ्नो लिगेसीको रक्षा गर्न चाहन्छ,’ उनी खुले, ‘एक पटक मौका पाए प्रधानमन्त्री बनौँ भन्ने चाहना छ । तर, चाहना राख्दैमा हुने होइन । हाम्रो पार्टीको संगठनात्मक शक्तिबाट यो असम्भवजस्तो देखिन्छ । यद्यपि, राजनीति हो । कहाँ पुगिन्छ भन्न सकिन्न ।’
अहिले ६८ वर्षमा हिँड्दैछन् थापा । अझै कति वर्ष राजनीति गर्लान् ? के आफैँले कुनै समय सीमा निर्धारण गरेका छन् ?
‘म शारीरिक र मानसिकरुपमा एकदमै सबल छु । त्यसैले आफ्नो विचारलाई निरन्तर अघि बढाउनका लागि म शरीर र मस्तिष्कले साथ दिउन्जेल प्रयास गर्छु । आफ्नो राजनीतिक एजेन्डा र मलाई साथ दिने साथीहरूको भविष्यको सुरक्षा गर्न सक्ने वातावरण भयो भने मलाई अब कुनै पदको आवश्यकता छैन ।
अतिरिक्त आकांक्षा केही छन् । पढ्न चाहेर घर ल्याएका किताबहरू थुप्रै छन्, तर पल्टाउन पाएको छैन । दोस्रो, देशभित्रकै पनि कयौँ ठाउँहरू घुम्न मन लागेर जान पाएको छैन । केही तीर्थस्थलहरू जान चाहन्छु । बढीभन्दा बढी समय परिवारको बीचमा बिताउन चाहन्छु ।
आफ्ना राजनीतिक जीवनका अनुभव संगालेर एउटा पुस्तक निकाल्ने तयारीमा छन् थापा । आफ्नो पुस्तकमा घटना मात्र नभएर विचार पनि हुने उनको भनाइ छ ।
‘लेखन कार्य धेरै अगाडि बढाइसक्या छु,’ उनले भने ।
अन्तिम प्रश्न: तपाईँले जीवनकालमा गरेको सबैभन्दा ठूलो गल्ती के हो ?
यसको जवाफमा उनले केही बेर गम खाए । अनि भावुकता मिश्रित आवाजमा भने, ‘मैले जानीजानी कुनै गल्ती गरेको छैन । तर, गलत निर्णय भनौँ वा विवेक नपुगेको भनौँ, मैले भावावेशमा आएर राजालाई जुन किसिमबाट सार्वजनिकरुपमा आरोपित गरेँ, यही नै सबैभन्दा ठूलो गल्ती हो जस्तो लाग्छ ।’
अहा – कस्ताे राम्राे स्पन्दनशील उन्नत विचार !
गीताकाे कण्ठाग्रता र श्लोकहरू बारे मधुरता पस्किएकाे देखेपछि ज्यादै आनन्द लाग्याे । किन्तु अलिकति ध्यानाकर्षण पनि गराउन चाहन्छु कि “परमात्माकाे गीत भनेकाे नै गीता” — जसले मानव जीवन लाई नित्य-सचेत र नित्य-नवीन बनाउछ भने सिहझैं निर्भय र मृगझैं सजगताले जीवन पद्धति चलाउन सिकाउछ । गीताले असल कर्म गरेर वास्तविक मानव जीवन सफल बनाउने उन्नत बाटाे देखाएर स्वाभाविक दिव्य आनन्दका साथ आत्मालाई परमात्मा संग एकाकार भएकाे अनुभूति दिलाउछ ।
श्रीमद्भागवत गीताले उपदेश गरेकाे सातवटा मेरूदण्डीय चक्र मध्ये आनन्द , ज्ञान र जीवन शक्तिको कृपा प्रदान गर्ने भनेकाे आज्ञा चक्र हाे जसलाई दिव्य नेत्र भनिन्छ । किन्तु त्याे चक्र बक्र भयाे भने अहंकार नामक राक्षसले त्यहाँ डेरा जमाएर राज गर्न थाल्छ । जब त्याे राक्षस बक्र भएकाे आज्ञा चक्रमा थर्पु जमाएर बस्छ त्यसपछि उसले प्रशंसा बाहेक अरू कुनै कुरा सुन्दैन भने चापलुसी बाहेक अरू सबैलाई चिन्न छाेड्छ ।
आज्ञा चक्र बक्र बनाएर बसेकाे राक्षस लाई सत्य तिताे लाग्छ त्यसकारण उसले चिनी जस्ताे गुलियाे मात्र खाेज्ने गर्दछ । चापलुसी र प्रशंसा भनेकाे त्याे क्षणिक र क्षणभंगुर हाे भन्ने उसले बुझ्दैन । त्यसैकारण मान्छेले हाेइन …. आज्ञा चक्रमा थर्पु जमाएर बसेकाे त्याे राक्षसले सधैं गुलियाेमा रमाउदा सत्य भेट्याे भने …. तिताे लागेर दुर्वासा भन्दै आफु नजिक बाट टाढा भगाउने गर्दछ ।
आलाेचनामा शुद्ध सुगन्ध हुन्छ तर आज्ञा चक्र बक्र भएर प्राणशक्ति भित्र राज गरेर बसेकाे त्याे राक्षसले त्यस्ताे स्वास्थ्यकर सुगन्धकाे सुमधुर आनन्द लिन मान्दैन । उसलाई प्रशंसाकाे दुषित दुर्गन्ध चाहिन्छ किनकि त्यसाे नभए त्याे अहंकार नामक राक्षस कामाेत्तेजक , कामुक , क्राेधित , लालसी र लिप्त हुनै सक्दैन ।
गीतामा उल्येख ज्ञान , कर्म र उपासना कण्ठाग्र गरेपछि मान्छेकाे इच्छाशक्तिले कल्पना गर्छ ……… आफ्नाे बाेली र व्यबहार लाई एकाकार बनाउन सकाैं अनि स-साना सङ्कल्प हरूपनि पूरागर्ने अभ्यासकाे थालनी गराैं । किन्तु इच्छाशक्ति प्रवल भएर पनि बक्र स्थानमा बसेकाे राक्षसले प्राणशक्ति भित्रकाे विवेकशक्ति अपहरण गरि कामेन्द्रिय वासनामा हिरिक्क बनाएर “आफु ताक्छु मुढाे — बन्चराे ताक्छ घुंढाे” भन्ने उखान चरितार्थ गराउदछ । किनकि इन्द्रिय आसक्त मन भनेकाे यस्ताे चन्चलता हाे … जसले चेतना र सत्व हटाएर मान्छेलाई आँखा भएर पनि अन्धाे बनाई दिन्छ ।
आफ्नाे इन्द्रियलाई नियन्त्रणमा राख्न नसक्नु , लालच र लिप्सालाई कर्मेन्द्रियले बांध्न नसक्नु , आफ्नाे विचारलाई आफ्नै धारणा संग लगेर सामंजस्य गर्न नसक्नु , आफैं भित्र रहेकाे बुराइकाे बिज नष्ट गर्न नसक्नु र आफुले आफैंलाई भराेसा गर्न नसक्नुकाे मूल कारण भनेकाे आज्ञा चक्र बक्र भएर हाे । त्यसैकारण महर्षि व्यास द्वारा रचित महाभारतमा माथि उल्येखित चरित्रलाई अन्धाे धृतराष्ट्र भनेकाे छ ।
अत: श्रीमद्भागवत गीता काे प्रसङ्ग उठेकाले यसैकाे सेरोफेरो बाट एकइन्च पनि तलमाथि नभई के निवेदन गर्दछु भने — आज्ञा चक्र बक्र बन्दा मस्तिष्कीय सिंहासनमा राज गरेर बसेकाे अहंकार नामक राक्षस लाई आफ्नाे प्राणशक्ति बाट हटाउनै पर्दछ । त्यसका लागि कसैकाे सहयोगकाे अपेक्षा नगरी आफ्नै चन्चल इन्द्रियलाई मनले , मनलाई बुद्धिले र बुद्धिलाई विवेकले नियन्त्रण गर्ने हाे भने …… बक्र भएकाे आज्ञा चक्र सुचक्र भई परम आनन्दकाे जीवन चक्र पुनः प्रारम्भ हुनेछ ।
पाण्डवहरू गुप्तवास जानु अघि श्रीकृष्णले भन्नु भएकाे छ – हे पार्थ ! सर्वश्व गुमेपनि धैर्यता गुमेन भने … सबैचिज फेरि प्राप्त हुन्छ किन्तु त्यसका लागि सत्य , चैतन्य र सजगताकाे अनिवार्य पालना हुनु पर्दछ ।
अन्तमा श्लोक बाटनै इतिश्री गर्दछु — “क्षमा वीरस्य भुषणम ” ।