सीआईबीका संस्थापक प्रमुख भण्डारी भन्छन्- कानूनको हात लामो हुन्छ भन्थे यहाँ खुट्टा पो लामो भयो – Nepal Press
ललिता निवास प्रकरण

सीआईबीका संस्थापक प्रमुख भण्डारी भन्छन्- कानूनको हात लामो हुन्छ भन्थे यहाँ खुट्टा पो लामो भयो

काठमाडौं । ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानलाई लिएर एक पूर्व एआईजीले राजनीतिक गिरोहको छायामा परेको टिप्पणी गरेका छन् ।

सीआईबीका संस्थापक प्रमुख राजेन्द्रसिंह भण्डारीले ललिता निवास प्रकरणमा अनुसन्धानको धर्म नै मर्माहत भएको उल्लेख गरेका छन्।

सीआईबीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको भोलीपल्ट भण्डारीले सीआईबीमार्फत हिसाब किताब रफादफा गर्न सफल भएको उल्लेख गरेका छन्।

फेसबुकमा भण्डारीले लेखेका छन्, ‘अनुसन्धानको धर्मको मर्म लाई मर्माहतमा पारि, कानूनको दफा लाई दफनाएर हिसाब किताब रफादफा गर्न सफल सबैमा हार्दिक बधाई।’

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको प्रकरणमा तत्कालीन राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिइएपछि पूर्व एआईजी भण्डारीले मुख खोलेका हुन्।

यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरेर विशेष अदालतमा भ्रष्ट्राचार सम्बन्धी मुद्दा दायर गरेको थियो। तर सीआईबीले आरोपित पक्राउ गरी ५० दिनभन्दा बढी थुनामा राखेर गरेको अनुसन्धानमा कुनै नयाँ कुरा भेटाएको देखिएको छैन।

राजनीतिक गिरोहले सीआईबीलाई प्रयोग गरेर यति ठुलो मुद्दालाई टुंग्याएको भण्डारीको टिप्पणी छ।

‘कानुनको हात लामो हुन्छ भन्थे यहाँ त खुट्टा पो लामो र दह्रो देखियो, कानुन आफैँ लुखुरलुखुर निर्णयकर्ता र घटनाको जननिको घर दैलो मै पुगेर प्रसाद रुपी प्रमाणको भिक्षा थापेर मन्दिररूपी अदालतमा चढाएर त्रिलोक मुक्तिको मार्ग प्रस्तत गर्न सफल भयो’, भण्डारीले लेखेका छन्, ‘राजनीतिक गिरोहको लाचार छायामा प्रहरीको अनुसन्धान पर्दा सीआईबीको संस्थापक निर्देशक भएर काम गरेकोले होला मन बुझाउन नसकेर अलि अशोभनीय ढंगले लेख्न बाध्य भएँ।’

सीआईबीले दिएको अनुसन्धान प्रतिवेदन अध्ययन गरी काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार गरिरहेको छ।


प्रतिक्रिया

2 thoughts on “सीआईबीका संस्थापक प्रमुख भण्डारी भन्छन्- कानूनको हात लामो हुन्छ भन्थे यहाँ खुट्टा पो लामो भयो

  1. के सिआईबी चाहिँ भरपर्दो र विश्वसनिय छ?
    के साँच्चिकै ईमान्दारि काम गर्दैछन्?
    अनि ईमान्दार ब्यक्तिहरु हुन?
    वास्तवमै कमसेकम यहाँ त ईमान्दारिता पाइयोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर